उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा कन्दमूल र तरुलको व्यापार बढ्न थालेको छ । कालिमाटी तरकारी बजारका व्यवसायी गीताप्रसाद आचार्यले अघिल्लो वर्षको माघेसंक्रान्तिमा १६ सय टन तरुल र १५ सय टन कन्दमूल खपत भएको बताए । यस वर्ष तरुलको मूल्य ५ प्रतिशतले बढेको उनको भनाइ छ ।
माघेसंक्रान्तिलाई लक्षित गर्दै १८ किसिमका तरुलहरू भित्रिएको कालीमाटी तरकारी बजारका व्यवसायीले बताएका छन् । बजारमा पाँचऔँले, सिँगाने पिँडालु, दुधेपिँडालु, घरतरुल, वनतरुल, सिमलतरुल, पानीतरुल, हात्तीपाइले, पातले, आकासे तरुल, नेपाली तरुल, रातो तरुललगायतका तरुल रहेका छन् । हात्तीपाइले तरुलको मूल्य प्रतिकेजी ६० देखि ७० रुपैयाँसम्म पर्छ । त्यस्तै, सिमलतरुलको मूल्य प्रतिकिलो ५० रुपैयाँदेखि ६० रुपैयाँसम्म पर्नेछ । वनतरुलको प्रतिकिलो सय रुपैयाँदेखि एक सय ३० रुपैयाँसम्म्म पर्नेछ । स्कुसको जरा (तरुल) प्रतिकिलो एक सय रुपैयाँदेखि एक सय ३० रुपैयाँसम्म पर्ने व्यवसायीहरूले बताएका छन् ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठका अनुसार केही हप्तादेखि दैनिक नौ टनसम्म तरुल र कन्दमूल आइरहेका छन् । माघे संक्रान्ति लक्षित गरी गत वर्ष नौ सय ६३ टन तरुल, पिँडालु दुई सय ३१ टन र सखरखण्ड दुई सय ५४ टन भित्रिएको थियो । यस वर्ष हालसम्म आठ सय टन तरुल, एक सय २० टन पिँडालु, सखरखण्ड तीन सयभन्दा बढी टन भित्रिएको छ ।
व्यवसायीहरूका अनुसार कालीमाटी तरकारी बजारमा आइपुग्ने अधिकांश कन्दमूल र तरुल नेपालमै उत्पादन भएका हुन् । हरेक वस्तुमा भारतीय बजारमा निर्भर हुनुपरे पनि तरुलका लागि भने नेपाल आन्तनिर्भर रहेको श्रेष्ठले बताए । उनका अनुसार यस वर्ष करिब ४० टन मात्र भारतीय तरुल र कन्दमूल भित्रिने अनुमान छ ।
नेपालमा तरुलको मुख्य उत्पादक जिल्ला सर्लाही हो । त्यसबाहेक चितवन, नवलपरासी, सिन्धुली, धादिङ, नुवाकोट, पाल्पालगायतबाट पनि तरुल काठमाडौं भित्रिन्छ । माघे संक्रान्ति नजिकिएसँगै केही दिनयता दैनिक तीनदेखि चार लाख रुपैयाँसम्मको व्यापार भइरहेको छ ।
काठमाडौंको टोखा र ललितपुरको पाटनलगायतका क्षेत्रमा चाकुको उत्पादन र व्यापार बढ्न थालेको हो । जाडोमा गर्मी बढाउन अर्थात् शरीरलाई तातो बनाउन यो उपयोगी मानिन्छ । माघे संक्रान्ति मनाउन अनिवार्य परिकारअन्तर्गत पर्ने भएकाले पनि अहिले काठमाडौंका व्यवसायीहरू चाकु बनाउन व्यस्त छन् । चाकुको मूल्य भने गत वर्षको भन्दा फरक नरहेको पाटनका चाकु उत्पादक कृष्ण महर्जनले बताए । गर्मी महिनाभन्दा जाडो महिनामा चाकुको व्यापार धेरै हुने भएकाले मागअनुसारको उत्पादन गर्न नसकेको उनले बताए ।