Skip This
सबै दल र स्वतन्त्र सांसदलाई विश्वासको मत दिन माओवादीको आग्रह
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ पौष २५ सोमबार
  • Tuesday, 11 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष २५ सोमबार १४:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सबै दल र स्वतन्त्र सांसदलाई विश्वासको मत दिन माओवादीको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष २५ सोमबार १४:२३:oo

नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा रहेका सबै दल तथा स्वतन्त्र सांसदलाई सरकारको पक्षमा विश्वासको मत दिन आग्रह गरेको छ। 

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको बैठकले सबै राजनीतिक दल र स्वतन्त्र सांसदलाई विश्वासको मत दिन आग्रह गर्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए। 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा यही पुस १० गते नयाँ सरकार गठन भएको थियो। सरकारले मंगलबार विश्वासको मत लिँदै छ।

सरकार गठनको क्रममा कुल एक सय ६९ सांसदको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रधानमन्त्रीमा नियुक्त भएका थिए। संविधानअनुसार सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ। 

माओवादी केन्द्रको संसदीय दलको आजको बैठकमा राष्ट्रिय सभातर्फका दलका नेता एवं उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सांसदहरूले निर्वाह गर्नुपर्ने समग्र भूमिकाबारे दिशानिर्देश गरेको प्रमुख सचेतक पाण्डेले जानकारी दिए।  

बैठकमा दलका नेता एवं प्रधानमन्त्री दाहालले सबै सांसदलाई व्यक्तिगत रूपमा पनि सरकारको पक्षमा विश्वासको मत दिने वातावरण बनाउन र अन्य दलका सांसदहरूसँग पनि छलफल गर्न आग्रह गरेको उनले बताए।  

बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकार गठनको क्रममा समर्थन गर्ने दल र सांसदका अलावा नेपाली कांग्रेसलगायतका अन्य दल तथा सांसदहरूसँग पनि छलफल भएको जानकारी गराए।  

बैठकमा प्रतिनिधिसभाको बैठकमा सांसदहरूले निर्वाह गर्ने भूमिकालाई रचनात्मक र जनपक्षीय बनाउने विषयमा समेत छलफल भएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।