‘यो यथार्थ हो कि हामी अन्तरिक्ष दौडमा छौँ,’ नासाका प्रमुख बिल नेल्सनले नयाँ वर्ष १ जनवरीमा भने । यदि अमेरिकाले पुनः चन्द्रमामा अवतरण गर्नुअघि नै चीन त्यहाँ पुग्न सफल भयो भने उसले चन्द्रमाको स्रोत आफ्नै लागि कब्जामा राख्नेसमेत नेल्सनले दाबी गरे । उनले त्यस अवस्थामा पछि पुग्ने अमेरिकालाई चीनले आफ्नो क्षेत्रबाट टाढै रहन चेतावनी दिने प्रक्षेपण गर्न भ्याए । नेल्सनले अन्तरिक्ष दौडको पूर्वानुमान गर्नु सही भए पनि उनको ध्यान गलत स्थानमा केन्द्रित छ ।
चन्द्रमा अवतरणको प्रतीकात्मक मूल्य भए पनि त्यहाँका कुनै स्रोत सजिलै पृथ्वीमा ल्याउन सकिने अवस्था छैन । खासमा अहिलेको वास्तविक अन्तरिक्ष दौड रुसले युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको छ । यो चन्द्रमाभन्दा निकै वर चलिरहेको छ । र, यो दौडमा एउटा निजी कम्पनीको सहायताले अमेरिकाले जित हासिल गरेको छ ।
हामीले चर्चा गरेको निजी कम्पनी हो, स्पेसएक्स । मंगल ग्रहमा मानव बस्ती बनाउने दीर्घकालीन लक्ष्य बोकेको स्पेसएक्स एलोन मस्कले स्थापना गरेको कम्पनी हो । यो कम्पनीले उलेख्य रूपमा सस्तोमा पुनः प्रयोग गर्न सकिने रकेट प्रक्षेपण गर्न थालेको पनि धेरै भइसक्यो । स्पेसएक्सले बनाएका रकेटका पहिलो खण्ड माथिल्लो वायुमण्डलसम्म पुगेर फर्किन्छन् र अत्यन्त सानदार रूपमा अवतरण गर्छन् । यी रकेटको सहायतामा स्पेसएक्स अन्तरिक्ष महाशक्ति बनिसकेको छ ।
पछिल्लो समय विश्वका सबै निजी कम्पनी र देशले गर्ने कुल प्रक्षेपणभन्दा बढी स्पेसएक्स एक्लैले गरिरहेको छ । सन् २०१९ देखि यो कम्पनीले आफ्नो क्षमतालाई स्टारलिंक प्रणाली विकासमा प्रयोग गरिरहेको छ । स्टारलिंक परियोजनाअन्तर्गत स्पेसएक्सले पारम्परिक ब्रोडब्यान्डको पहुँच नभएका ठाउँमा इन्टरनेट सिग्नल प्रसारण गर्ने गरी अन्तरिक्षमा हजारौँ उपग्रहहरूको सञ्जाल तयार पारिसकेको छ ।
तीन वर्षभित्रै स्पेसएक्सले स्टारलिंकअन्तर्गतका झन्डै ३५ सय उपग्रहहरू प्रक्षेपण गरिसकेको छ, जुन अहिले कक्षामा रहेका सक्रिय उपग्रहहरूको कुल संख्याको लगभग आधा हो । कम्पनीले यो परियोजनाअन्तर्गत ४० हजारसम्म भूउपग्रह प्रक्षेपण गर्ने लक्ष्य लिएको छ ।
स्टारलिंक उपभोक्ताप्रति लक्षित छ । रुसले युक्रेनमाथि आक्रमण गरेपछि त्यहाँको सरकारले स्पेसएक्सलाई उसका स्टारलिंक सञ्जाल जोड्ने साना र सहजै ओसारपसार गर्न सकिने छाताजस्तो उपकरण सहायता माग्यो । रुसले युक्रेनभरका इन्टरनेट काटिदिएको अवस्थामा अहिले स्टारलिंक युक्रेनी युद्ध प्रयासमा निकै महत्वपूर्ण साबित भएको छ । युक्रेनी सैनिकले यसलाई सञ्चारका लागि रुसी निसाना पहिचान गर्न र युद्ध क्षेत्रका उच्च गुणस्तरका भिडियो फुटेज अपलोड गर्न प्रयोग गर्छन् ।
भूउपग्रहले फ्याँक्ने इन्टरनेट सिग्नल कुनै नयाँ विचार होइन, न युद्ध क्षेत्रमा तिनको प्रयोग नै नयाँ हो । तर, स्टारलिंक दुई तरिकाले फरक देखिन्छ । एउटा यसले प्रदान गर्ने उच्च क्षमता नै हो । सुरुमा भूउपग्रहीय सिंग्नल मुख्यतः वरिष्ठ अधिकारी, मुख्यालय र ड्रोन पाइलटलाई मात्र प्रदान गरिएको थियो । बाँकी प्रयास सञ्चार कार्य रेडियो सिंग्नलमार्फत भइरहेको थियो । तर, स्टारलिंकको सहायताले युद्धमोर्चाबाट सैनिकहरूले मोबाइल नेटवर्कको पहुँचभन्दा बाहिर भए पनि वास्तविक समयमा भिडियो, फोटो र सन्देश प्रसार गर्न सहज हुने देखिएपछि सबै युक्रेनी सैनिकलाई यसको पहुँच दिइएको छ । यसले आधुनिक युद्धमा महत्वपूर्ण रणनीतिक अग्रता प्रदान गरेको छ ।
पछिल्लो समय स्पेसएक्स एक्लैले विश्वका सबै निजी कम्पनी र देशले गर्ने कुल प्रक्षेपणभन्दा बढी प्रक्षेपण गरिरहेको छ । अन्तरिक्ष दौडमा यही एक निजी कम्पनीको सहायतामा अमेरिकाले जित हासिल गरेको छ ।
स्टारलिंकको दोस्रो फाइदा यसको निर्बाध सिग्नल हो । हालसम्म स्टारलिंकका सिग्नल जाम गर्ने वा ह्याक गर्ने प्रयास भए पनि त्यो सफल हुन सकेको छैन । युक्रेनमा प्रयोग भएकाले यो प्रणाली वैध सैन्य निसानामा रहेको रुसको दाबी छ । तर, विगतमा सानो संख्याका ठूला तथा जटिल भूउपग्रहमार्फत प्रदान गरिने परम्परागत उपग्रहका सिग्नल एन्टी–स्याटेलाइट मिसाइलको निसानामा पर्थे, जुन खतरा स्टारलिंकलाई छैन । स्टारलिंक सञ्जालमा ठूलो संख्याका उपग्रह हुनु र कुनै उपग्रह खसालिए स्पेसएक्सले तत्कालै तिनलाई प्रतिस्थापन गर्न सक्ने भएकाले केही उपग्रह खसालिँदा पनि केही प्रभाव पर्नेछैन । स्पेसएक्सले सन् २०२२ मा औसतमा हरेक हप्ता रकेट प्रक्षेपण गरेको थियो र यो वर्ष प्रक्षेपण थप छिटो–छिटो हुने अपेक्षा छ ।
तथापि अत्यावश्यक पूर्वाधारका लागि एक लहडी धनाढ्यमा भर पर्नुका केही जोखिम भने छँदै छन् । मस्कले केहीअघि युक्रेनलाई स्टारलिंकको निःशुल्क प्रयोग गर्न दिँदाको उच्च खर्चबारे कुरा उठाए । मस्कका अनुसार युक्रेनलाई स्टारलिंकको प्रयोग गर्न दिँदा १० करोड डलर वा सोभन्दा बढीको खर्च उठिसकेको छ । व्यापक खर्चिलो भएको भन्दै सेवा अवरुद्ध गर्ने घोषणाप्रति ठूलो विरोध भएपछि मस्क उनको निर्णयबाट पछि हटे ।
तथापि उच्च खर्चबारे मस्कको गुनासो भने जायज नै देखिन्छ । दानबाट युद्ध चल्दैन : कसैले पनि लोकहिड मार्टिनले मिसाइल दान गरोस् भन्ने आशा गर्दैनन् । अमेरिकी सरकारले युक्रेन युद्धका अन्य ठूलो रकम तिरिदिएजस्तै यो सेवाको पनि भर्पाई गरिदिनु उपयुक्त हुन्छ । अक्टोबरमा मक्सले युक्रेन युद्ध अन्त्यका लागि युक्रेनले क्रिमिया सधैँका लागि रुसलाई दिनुपर्ने सुझाब दिएपछि पुनः युक्रेन सरकार र मस्कबीच दरार उत्पन्न भएको थियो । हुन त दुई पक्षबीच सम्बन्ध सुधारिएको छ (कम्तीमा सार्वजनिक रूपमा), तर स्पेसएक्स युक्रेनलाई रुसले कब्जा गरेका क्षेत्र र रुसी भूमिभित्र आक्रमण गर्न उसको प्रणाली प्रयोग गर्न दिन अनिच्छुक छ ।
सामान्य विवाद उठे पनि स्टारलिंक प्रणाली युक्रेन युद्धमा निकै उपयोगी साबित भएको छ । सन् २०२२ बाट स्पेसएक्सले ‘स्टारसिल्ड’ विभाग अनावरण गर्यो, जसले आगामी दिनमा सरकारी तथा सैन्य ग्राहकलाई सेवा दिनेछ । (अमेरिकी सेनाले युक्रेनमा आक्रमण हुनुअघिदेखि स्टारलिंकमा विभिन्न प्रयोग गरिरहेको थियो ।) युक्रेन युद्धमा स्टारलिंकको सफल प्रयोगमा अमेरिकाका मित्रशक्ति तथा प्रतिद्वन्द्वीहरूले ध्यान दिइरहेका छन् ।
विगतमा ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) अति उपयोगी साबित भएपछि अन्य मुलुकले तिनको आफ्नै सार्वभौम प्रणाली विकास गरेझैँ युरोप, चीन र रुस आफ्नै स्टारलिंकजस्तो प्रणाली निर्माणको दौडमा लागेका छन् । चीन र रुसले स्टारलिंकलाई आक्रमण गर्न वा अवरोध गर्ने उपाय खोज्नसमेत लागिपरेका समाचार सार्वजनिक भएका छन् । नयाँ अन्तरिक्ष दौड जारी छ । यद्यपि अहिलेका लागि स्पेसएक्सको सहयोगमा अमेरिकाले धेरै ठूलो अग्रता हासिल गरेको छ ।
– द इकोनोमिस्टबाट