१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष २१ बिहीबार ०७:२२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सुन तस्करीमा भारतीय र सुडानी नागरिकको गिरोह सक्रिय 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष २१ बिहीबार ०७:२२:००

भारतीय गिरोहले सुडानी नागरिकलाई प्रयोग गरी नेपालबाट सुन तस्करी गर्न थालेका छन् । गत साता १९ किलो सुनसहित पक्राउ परेका सुडानी नागरिकमाथि अनुसन्धान गर्ने क्रममा दुबईबाट नेपाल हुँदै उनीहरूले भारतमा सुन तस्करी हुँदै आएको तथ्य खुलेको हो । 

८ पुसमा विमानस्थलमा भन्सार जाँचका क्रममा सुडानी नागरिक मोहम्मद अहमद डाफल्ला साराफेल्दिन पक्राउ परेका थिए । केमिकल प्रयोग गरी अर्धठोस रूपमा रहेको सुन उनले कम्मरमा बाँधेर तस्करी गर्न खोजेका थिए । दुबईमै बस्ने एक सुडानी व्यक्तिले तीन लाख सुडानी पाउन्ड (करिब ७० हजार नेपाली रुपैयाँ) दिएर सो सामान ओसार्न लगाएको बताएका छन् । हाल उनी भन्सारको हिरासतमा छन् । 

सो सुन लिन गएका अर्का सुडानी नागरिक अहमद मोहम्मद इब्राहिम मोहम्मदलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनले सो सुन भारत लैजाने जिम्मा पाएका थिए । प्रारम्भिक अनुसन्धानमा पहिला पनि उनले तस्करीको सुन भारत लगिसकेका थिए । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले थुनामा राखी उनीमाथि अनुसन्धान गरिरहेको छ । ‘यसरी दुबईबाट आउने सुन उनले झापा र मोरङका नाका हुँदै भारत लैजाने गरेको देखियो,’ सिआइबीका एक अधिकारीले भने । उनी दोस्रोपटक नेपाल आएका हुन् । पहिलोपटक ३ नोभेम्बरमा आएर ६ नोभेम्बरमा फर्किएका थिए । पछिल्लोपटक उनी २१ नोभेम्बरदेखि नेपालमा बस्दै आएका छन् । नेपालमा बसेर दुबईबाट आउने सुन भारत पठाउने उनको जिम्मेवारी थियो । उनका माध्यमबाट सुन तस्करीमा संलग्न केही भारतीय नागरिकको संलग्नता प्रहरीले पत्ता लगाइसकेको छ । त्यसमा नेपालीको संलग्नता हालसम्म देखिएको छैन । भारतीय र सुडानी नागरिकको गिरोहमाथि सिआइबीले अनुसन्धान अघि बढाएको छ । 

विमानस्थलका प्रमुख भन्सार प्रशासक अरुण पोखरेल चेकजाँचमा झुक्याउन केमिकल मिसाएर सुन तस्करी गर्ने प्रवृत्ति देखिएको बताउँछन् । ‘एक्सरे तथा वाक थ्रु गेटमा पत्ता नलागोस् भनेर केमिकल मिसाउने प्रवृत्ति देखिएको छ,’ उनले भने, ‘हामीले फिजिकल चेकजाँच बढाएका छौँ । साथै, जोखिम क्षेत्रमा निगरानी बढाएका छौँ ।’ दुबईमा भन्दा नेपाल तथा भारतमा एक तोला सुनमा करिब १० हजार रुपैयाँ मूल्यको फरक भएकाले तस्करीमा अन्तर्राष्ट्रिय गिरोह सक्रिय छन् । भारतीय विमानस्थलमा भन्दा नेपालमा कमजोर चेकिङ प्रणाली रहेको आकलनका आधारमा गिरोहले नेपाललाई ट्रान्जिट बनाएका हुन् । नेपाल–भारतबीच खुला सीमा भएकाले पनि यसरी तस्करीका लागि सहज भएको हो ।