मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
टेकराज थामी काठमाडाैं
२०७९ पौष २१ बिहीबार ०६:११:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

टी–२० मा ‘म्याच फिक्सिङ’ प्रकरण : वेस्टइन्डिजका खेलाडी प्रहरीको उच्च निगरानीमा 

Read Time : > 1 मिनेट
टेकराज थामी, काठमाडाैं
२०७९ पौष २१ बिहीबार ०६:११:००

विराटनगर सुपर लिगका क्याप्टेन वेस्टइन्डिजका खेलाडी आन्द्रे म्याककार्थीलाई क्यानले लगायो बाँकी खेलमा रोक

काठमाडौंमा जारी टी–२० क्रिकेट लिगमा ‘म्याच फिक्सिङ’को आशंकापछि प्रहरीले वेस्टइन्डिजका खेलाडीलाई उच्च निगरानीमा राखेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले पनि फिक्सिङको आशंकापछि उनीहरूलाई खेल्न अनुमति दिएको छैन । 

नेपाली क्रिकेट टिमका पूर्वकप्तान तथा काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले सार्वजनिक रूपमै ‘म्याच फिक्सिङको अफर आएको’ भनेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले एसपीको नेतृत्वमा अनुसन्धान टोली नै गठन गरेको छ । टोलीले विशेषतः वेस्टइन्डिजका खेलाडीलाई उच्च निगरानीमा राखेको छ । जसमध्ये विराटनगर सुपर लिगबाट खेल्ने क्याप्टेन आन्द्रे म्याककार्थीलाई सिआइबीले विशेष निगरानीमा राखेको छ ।

सिआइबीका एसएसपी दिनेश आचार्यले टी–२० लिगमा म्याच फिक्सिङको आशंकापछि प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको बताए । उनले भने, ‘काठमाडौंमा टी–२० लिग चलिरहेको छ । यसमा बेटिङभन्दा पनि हामीले फिक्सिङलाई हेरिरहेका छौँ । पक्राउ त कोही परेका छैनन् । तर, केही खेलाडी हाम्रो उच्च निगरानीमा छन् ।’

‘म्याच फिक्सिङ’को आशंकापछि क्यानले पनि वेस्टइन्डिजका खेलाडीलाई खेलमा रोक लगाएको छ । क्यानका अनुसार टी–२० लिगमा ‘म्याच फिक्सिङ’भन्दा पनि ‘स्पट फिक्सिङ’को आशंका गरिएको छ । ब्याटिङ तथा बलिङमा अब्बल खेलाडीलाई क्याप्टेनले खेलमै सहभागी नगराउनुलाई ‘स्पट फिक्सिङ’ भनिन्छ । 

क्यानका एक उच्च अधिकारीले भने, ‘टी–२० लिगमा ‘म्याच फिक्सिङ’भन्दा पनि ‘स्पट फिक्सिङ’को आशंका छ । विशेषगरी वेस्टइन्डिजका खेलाडी शंकाको घेरामा छन् । जसमध्ये आन्द्रे म्याककार्थीलाई हामीले उच्च निगरानीमा राखेका छौँ । उनलाई तत्कालका लागि खेल्न पनि रोकेका छौँ । प्रहरीले पनि अनुसन्धान गरिरहेको होला । तर, पक्राउ भने कोही परेका छैनन् । आशंकाकै भरमा पक्राउ गर्नु पनि उचित नहोला ।’ 

क्यानकै आयोजनामा टी–२० लिग कीर्तिपुरस्थित क्रिकेट रंगशालामा १२ दिनदेखि जारी छ । लिगको व्यवस्थापन भने भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस्ले गरिरहेको छ । उससँग क्यानले आगामी आठ वर्षका लागि लिगको व्यवस्थापन गर्न सम्झौता गरेको छ । 

टी–२० लिगकै क्रममा १३ पुसमा पनि प्रहरीले रंगशालाबाट बेटिङ गरेको आशंकामा रुपन्देही तिलोत्तमा नगरपालिका– ३ का २८ वर्षीय प्रकाश पाण्डेसहित तीनजनालाई पक्राउ गरेका थियो । त्यस दिन रंगशालामा काठमाडौं नाइट्स र जनकपुर रोयल्सबीच खेल चल्दै थियो । बेटिङकै आशंकामा प्रहरीले ३ मंसिरमा पनि कीर्तिपुर क्रिकेट रंगशालाबाट ५० जनालाई पक्राउ गरेको थियो ।

त्यसवेला रंगशालामा नेपाल र युएईको तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल चल्दै थियो । पक्राउ परेकामध्ये ६ जनालाई प्रहरीले सोधपुछपछि छाडेको थियो । बाँकी ४४ जनालाई भारतीय प्रहरीको जिम्मा लगाएको थियो । दर्शकदीर्घाबाट पक्राउ गरिएका उनीहरू सबै भारतीय नागरिक थिए । उनीहरूले मोबाइलमार्फत क्रिकेटमा ‘लाइभ’ बेटिङ गरेका थिए । हारजितको रकम भने उनीहरूले अनलाइनबाटै लेनदेन गर्ने गरेको प्रहरीको भनाइ छ ।