Skip This
आहा-रारा पोखरा गोल्डकपकाे उपाधिनजिक संकटा क्लब
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २० बुधबार
  • Saturday, 27 July, 2024
२o७९ पौष २० बुधबार १८:४४:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

आहा-रारा पोखरा गोल्डकपकाे उपाधिनजिक संकटा क्लब

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष २० बुधबार १८:४४:oo

संकटा क्लब पोखरामा जारी २२औँ संस्करणको आहा-रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिनजिक पुगेको छ।

प्रतियोगिताअन्तर्गत बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन विभागीय टोली सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै संकटाले अन्तिम दुईमा आफ्नो स्थान सुरक्षित गरेको हो।

उपाधिका लागि अब संकटाले चर्च ब्वाइज युनाइटेड क्लब र पाहुना टोली भुटनिज युथ स्पोर्टस् क्लब अमेरिकाबीच बिहीबार हुने खेलको विजेतासँग शनिबार हुने फाइनल खेल भिड्नेछ। ०७६ सालको उपाधि चुमेको संकटा दोस्रोपटक उपाधिनजिक पुगेको हो।

संकटाले फाइनल यात्रा तय गर्दा एपिएफसँगै दुई विभागीय टोलीलाई पराजित गर्यो। बाई पाएर क्वार्टरफाइनलको यात्रा तय गरेको संकटाले अर्को विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मीलाई ३–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको थियाे। यसैगरी, बाई पाएर क्वार्टरफाइनलको यात्रा तय गरेको एपिएफले धरान फुटबल क्लबलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो। 

संकटाको जितका दुई विदेशी खेलाडी निर्णायक बनेका थिए। खेलमा उनीहरूले दुई /दुई गोल गर्न सफल भए। खेलको सुरुमै अर्थात् ५ मिनेटमा खेलका म्यान अफ दी म्याच स्टेफन बिनोङले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। मेसुकेले दिएको पासलाई उपयोग गर्दै रुटेफनले बललाई सीधै जाली चुमाउन सफल भएका थिए। 

खेलको ४३औँ मिनेटमा मेसुकेले टोलीको अग्रता दोब्बर पार्ने क्रममा स्टेफनले मिलाइदिएको क्रसपासलाई उपयोग गरेका थिए। उनले डिबक्सनजिकैबाट हानेको बलले सीधै जाली चुमेको थियो।

पहिलो हापमा दुई गोलले अग्रता लिएको संकटाका लागि खेलको ६१औँ मिनेटमा स्टेफनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे। आन्द्रेले दिएको लामो पासलाई उनले उपयोेग गरेका थिए।

खेलको ७४औँ मिनेटमा एपिएफका हरि कार्कीले गोल गर्दै खेललाई ३–१ को अवस्थामा झारे। खेलको ५६औँ मिनेटमा युवराज खड्काको स्थानमा मैदान छिरेका कार्कीले बिकु तामाङले डिबक्स क्षेत्रमा मिलाइदिएको छोटो पासलाई पेनाल्टी क्षेत्रबाट सीधै जाली चुमाउन सफल भएका थिए।

८६औँ मिनेटमा संकटाका लागि मेसुकेले खेलमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्न सफल भए। मैदानको मध्यभागबाट आन्द्रेले दिएको पासलाई मैदानको करिब ३० याडबाट मेसुकेले पोस्टको दिशा दिन सफल भएका थिए। 

खेलको सुरुदेखि नै संकटा आक्रामक रूपमा प्रस्तुत भएको थियो। खेलको सुरुमै गोल खाएपछि एपिएफ दबाबमा परेको थियो। खेलमा सुरुदेखि नै संकटाले काउन्टर एट्याक्मा जोड दिएको थियो। 

पहिलो हापको तुलनामा दोस्रो हापमा केही सुधारिएको खेल प्रस्तुत गरेको एपिएफले केही अवसर सिर्जना गरे पनि उपयोग गर्न भने सकेन। खेलको ३ मिनेटमा एपिएफका युवराज खड्काको प्रहार विपक्षी आन्द्रेले विफल पारिदिँदा खेलमा सुरुवाती अग्रता लिन सकेन। १६औँ मिनेटमा बिकु तामाङले हानेको बल क्रसबारनजिकैबाट बाहिरिएको थियो। 

४०औँ मिनेटमा बुद्धिमान राईले हानेको हेड संकटाका किपर टिकेन्द्रसिंह थापाको हातमा परेको थियो। ६५औँ मिनेटमा बिकुले हानेको बल संकटाका किपरको खुट्टामा लागेर रिबाउन्ड हुन पुग्यो। ६८औँ मिनेटमा संकटाका स्टेफनले पेनाल्टी क्षेत्रबाट हानेको प्रहार सेकेन्ड बार नजिकिँदैबाट बाहिरिएको थियो। ७८औँ मिनेटमा मेसुकेले ३० यार्डबाट हानेको कडा प्रहार एपिएफका किपरको हातमा पुगेको थियो।  

 खेलको अन्तिम समयमा सनिस श्रेष्ठले हानेको हेड संकटाका किपरले विफल पारिदिँदा गोल अन्तर घटाउनबाट एपिएफ चुकेको थियो। संकटाका प्रशिक्षक सल्यान खड्गीले खेलाडीले योजनाअनुसार खेलेको प्रतिक्रिया दिए। 

यस्तै, एपिएफका प्रशिक्षक रत्नकाजी महर्जनले खेलाडीले केही मिस्टेक गरेकाले सुरुमै गोल खानुपरेको बताए। हारे पनि खेलाडीको खेलप्रति आफू सन्तुष्ट रहेको बताए। बिहीबारको खेल चर्च ब्वाइज युनाइटेड क्लब र पाहुना टोली भुटनिज युथ स्पोर्टस् क्लब अमेरिकाबीच हुनेछ।