
पाँचथरको फिदिम नगरपालिका– ८ घुमाउनेटारमा गएराति एक स्थानीयको घरमा आगलागी हुँदा दुईजनाको जलेर मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् । स्थानीयवासी मेघबहादुर गुरुङको घरमा गएराति १:३५ बजे अचानक आगलागी हुँदा उनकी बुहारी २३ वर्षीया आसाङसिं थेबे र २२ वर्षीया छोरी ममता गुरुङको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।
आगलागीमा परी मेघबहादुर र विजेन्द्र गुरुङ सामान्य घाइते भएका र अन्य तीनजना भने भाग्न सफल भएका थिए । आगलागीबाट घर पूर्ण रूपमा क्षति हुँदा त्यहाँ भएको अन्नपात, गरगहना, किराना पसलसमेत गरी अनुमानित ५० लाखबराबरको धनमाल क्षति भएको हुन सक्ने खतिवडाले बताए । अन्य कारण नदेखिएको हुँदा विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान छ ।
आगलागी नियन्त्रणका लागि रानीटारस्थित अस्थायी प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक रोशन श्रेष्ठको कमान्डमा खटिएको पाँचजनाको टोली तथा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक हरि खतिवडाको कमान्डमा थप २५ प्रहरी परिचालन गरिएको थियो । स्थानीयवासी, दुईवटा वारुणयन्त्र तथा प्रहरीको सक्रियतामा तीन घन्टापछि आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । अग्निपीडितलाई छिमेकीको घरमा राखिएको छ ।
प्रमुख जिल्ला अधिकारी गणेश गैरे, फिदिम नगरप्रमुख मित्रप्रसाद काफ्ले, फिदिम नगर उपप्रमुख राधाकृष्ण न्यौपानेलगायतको टोली घटनास्थल पुगी पीडितलाई जिल्ला दैविक विपत् व्यवस्थापन समिति तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखामार्फत खाद्यान्न तथा लत्ताकपडा दिने तयारी भइरहेको बताइएको छ ।