१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
उदयपुर सिमेन्ट उद्योग
२o८१ बैशाख ३१ सोमबार १८:१४:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

सिमेन्ट उद्योगवरिपरिका स्थानीय प्रदूषणको मारमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १८:१४:oo

उदयपुरको त्रियुगा नगरपालिका– ५ कुसुमटारकी ५० वर्षीया शिवलक्ष्मी नेपाली अहिले श्वासप्रश्वासको बिरामी छिन्। जसको कारण उनलाई दैनिक जीवनयापनमा समेत असहज भएको छ। उनी भन्छिन्, ‘परिवारका प्रायः सबैलाई श्वासप्रश्वासको समस्या देखिएको छ।’

शिवलक्ष्मी मात्र होइन, कुसुमटारकै ७४ वर्षीय खड्कबहादुर खत्रीलाई पनि आँखा चिलाउने, जिउ चिलाउने, घाउ खटिरा निस्कने, श्वासप्रश्वासलगायतको समस्या छ। ‘अस्पताल जाँदा पटक-पटक चिकित्सकहरूले धुलो र धुवाँबाट समस्या आएको भन्नुभएको छ,’ खत्रीले भने।

पूर्ण रूपमा सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग लिमिटेडसँग जोडिएको कुसुमटार गाउँका तीन दर्जन घरपरिवारको स्वास्थ्य समस्या खत्री र नेपालीको जस्तै छ। वषौँदेखि उद्योगको धुवाँ धुलोमा स्थानीय जीवन निर्वाह गरिरहेका छन्। नजिकैको उद्योगका कारण स्थानीयले विभिन्न स्वास्थ्य समस्या भोगिरहेका छन् भने कृषि उत्पादन पनि प्रभावित भएको छ।

सिमेन्ट उद्योगले धुलैधुलो भएको आलु खेती देखाउँदै त्रियुगा नगरपालिका–५ कुसुमटारकी ५० वर्षीया शिवलक्ष्मी नेपाली ।
सिमेन्ट उद्योगले धुलैधुलो भएको आलु खेती देखाउँदै त्रियुगा नगरपालिका–५ कुसुमटारकी ५० वर्षीया शिवलक्ष्मी नेपाली ।

उद्योगबाट निस्किएको धुवाँ धुलोका कारण आफूहरू समस्यामा परेको उनीहरूको गुनासो छ। स्थानीय कुमारसिंह तामाङ भन्छन्, ‘उद्योग छेउछाउ बस्नेको न स्वास्थ्य राम्रो छ न खेतीपाती नै राम्रो हुन्छ।’ उद्योग सञ्चालनमा रहेको वेला चौबीसै घण्टा धुलो र धुवाँमा बस्नुपरेको उनको भनाइ छ।

उद्योग स्थापना भएदेखि नै मारमा परेका स्थानीयको गुनासोमा अहिलेसम्म कुनै निकायले पनि ध्यान दिएका छैनन्। उदयपुरको त्रियुगा नगरपालिका ६ जलजले नजिकै स्थापना भएको उदयपुर सिमेन्ट उद्योगले वातावरणीय प्रभावको वास्तै नगरी लापर्बाही गर्दा स्थानीय समस्यामा परेका उनै स्थानीय तामाङले बताए।

उद्योगबाट सिमेन्ट उत्पादन हुँदा धुवाँ र धुलाले बादल लागेजस्तै गरी अँध्यारो हुन्छ। जमिनमा लगाइएको बाली उद्योगबाट निस्केको सिमेन्टको धुलोले छोपिएको हुन्छ। बस्तीको बीचमा खोलिएको यो उद्योगले गर्दा त्यस क्षेत्रमा प्रदूषण बढ्नुका साथै स्थानीयवासीमा विभिन्न प्रकारका रोगको समस्या बढाउँदै लगेको स्थानीयको भनाइ छ।

प्रदूषणबाट पुग्ने असरका लागि उद्योगले पनि विभिन्न कामहरू गरिरहेको उद्योगका महाप्रबन्धक गोपी न्यौपाने बताउँछन्। उनले उद्योगको प्रदूषणले उद्योग वरिपरी रहेका त्रियुगा नगरपालिका–४, ५, ६, ७, ८, १२ र १६ नम्बर वडा प्रभावित हुने गरेको जानकारी दिँदै स्थानीय तहमार्फत प्रदूषणको रकम दिने गरेको पनि बताए। उनले भने, ‘उद्योगको प्रदूषण प्रभावित क्षेत्रमा स्वास्थ्यचौकीलाई एम्बुलेन्स, स्वास्थ्य शिविर सञ्चालनलगायतका कामहरू गर्दै आएका छौँ।’

उनले उद्योगलाई पूर्ण मर्मत गरेर आधुनिक प्रविधिमैत्री बनाउँदै प्रदूषणरहित बनाउन आवश्यक रहेको स्विकारे। उनले भने, ‘२०५० सालमा स्थापना भएको उद्योगलाई प्रदूषणरहित बनाउन आवश्यक छ।’ कुनै वेला गुणस्तरीय सिमेन्ट उत्पादन गरेको उदयपुर सिमेन्ट पछिल्लो समय राजनीतिक कारण पनि उचित व्यवस्थापन हुन सकेको छैन। उचित व्यवस्थापन अभावका कारण थिलथिलो अवस्थामा पुगेको उद्योगले आसपासका बस्तीहरूको समस्या सुन्ने समय पाएको छैन।

ad
ad