मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ पौष १४ बिहीबार १२:२९:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

दुई वर्षपछि विद्युतमा पूर्ण आत्मनिर्भर हुने प्राधिकरणको लक्ष्य

अहिले वर्षात्मा विद्युत् निर्यात र हिउँदमा आयात गर्नुपर्ने बाध्यता

Read Time : > 2 मिनेट
२०७९ पौष १४ बिहीबार १२:२९:००

प्रक्षेपण गरेअनुसार जलविद्युत् आयोजना सञ्चालनमा आएमा र खपत वृद्धिदर पनि अहिलेकै ट्रेन्डमा रहेमा दुई वर्षपछि हिउँदमा समेत नेपाल विद्युत्मा आत्मनिर्भर हुने देखिएको छ । अहिले वर्षात्मा नेपालबाट विद्युत् निर्यात हुने गरे पनि हिउँदमा भने आयात नै गर्नुपर्र्ने बाध्यता छ । यस्तो बाध्यता आर्थिक वर्ष ०८१–८२ को हिउँददेखि अन्त्य हुने नेपाल विद्युत् प्राधिकरणको प्रारम्भिक अनुमान छ ।

हाल नेपालको राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत्को कुल जडित क्षमता २३ सय मेगावाट छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले केही समयअघि गरेको एक अध्ययनले चालू आर्थिक वर्ष ०७९–८० मा ८०८ मेगावाट र आगामी आव ०८०÷८१ मा ९०० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिने अनुमान गरेको छ ।

साथै, आव ०८१/८२ को पहिलो चार–पाँच महिनामा पनि थप दुई–तीन सय मेगावाट विद्युत् प्रणालीमा थपिने सम्भावना छ । त्यसअनुसार ०८१–८२ को हिउँदसम्म राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत्को कुल जडित क्षमता ४२०० मेगावाट हारहारी पुग्नेछ । त्यसले हिउँदको समयमा १८ सयदेखि दुई हजार मेगावाटसम्म विद्युत् उत्पादन गर्न सक्ने अनुमान छ । जुन बिजुली हिउँदका लागि पर्याप्त हुने प्राधिकरणको भनाइ छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वर्ष ०८१ को हिउँद (२०२४) देखि विद्युत् आयात गर्नुपर्ने अवस्था नहुने बताए । ‘यो र आगामी वर्षको हिउँदमा विद्युत् आयात नै गर्नुपर्छ । हामीले अनुमान गरेअनुसारको आयोजना सञ्चालनमा आएमा दुई वर्षपछि भने हिउँदमा पनि विद्युत्मा आत्मनिर्भर हुन सक्छौँ,’ उनले भने, ‘सम्भवतः वर्ष ०८१ को हिउँददेखि विद्युत् आयात गर्नुपर्दैन ।’

हाल पिक–आवरमा विद्युत्को माग १६ सय देखि १७ सय मेगावाट छ । अबको दुई वर्षमा त्यो बढेर बढीमा दुई हजार मेगावाटसम्म पुग्ने अनुमान छ । हिउँदमा एसी, पंखा, रेफ्रिजेरेटरजस्ता विद्युतीय उपकरण चल्दैनन् । त्यसअनुसार गर्मी समयको तुलनामा हिउँदमा विद्युत्को माग कम हुन्छ । यस्तो अवस्थामा जलाशययुक्त, पिआरओआर आयोजनामार्फत हिउँदको विद्युत् मागलाई सन्तुलनमा ल्याउन सकिने प्राधिकरणको विश्वास छ । 

अहिले विद्युत्को कुल जडित क्षमता २३०० मेगावाट हुँदा उत्पादन भने १५ सय मेगावाट हाराहारी छ । त्यसमा १०७ मेगावाटको जलाशययुक्त कुलेखानी जलविद्युत् आयोजना पिक–आवरमा पूर्ण क्षमतामा सञ्चालन गरिएको छ । यस्तै, १४० मेगावाटको कालीगण्डकी, ४५६ मेगावाटको अपर तामाकोसीजस्ता पिकिङ रन अफ रिभर (पिआरओआर) आयोजना पनि पिक–आवरमा सञ्चालन गरिएको छ । फलस्वरूप पिक समयमा १५ सय मेगावाटसम्म बिजुली उत्पादन गर्न सकिएको छ । त्यसअनुसार अहिले स्वदेशी माग धान्न भारतबाट २०० मेगावाट हाराहारी विद्युत् आयात गर्दै आइएको छ ।

 विद्युतीय गाडी र चुलोको प्रयोग बढेमा समस्या उस्तै 
यद्यपि, विद्युत्को माग उच्चदरले बढेमा स्वदेशी उत्पादनले नै माग धान्न नसकिने अवस्था आउने सम्भावना पनि उत्तिकै छ । सरकारले विद्युतीय गाडी, विद्युतीय चुलोको प्रयोय बढाउनमा जोड दिँदै आएको छ । त्यसअनुसार विद्युतीय गाडी र चुलोको प्रयोग पनि बढ्दै गएको छ । यसका अलावा औद्योगिकलगायतका क्षेत्रमा पनि विद्युत् विस्तार हुने क्रम जारी छ । त्यस्तो अवस्थामा अबको दुई वर्षपछि पनि हिउँदमा स्वदेशी उत्पादनले नै विद्युत्को माग धान्न गाह्रो हुन सक्ने मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवाल बताउँछन् । विद्युत् खपत वृद्धिदर यही ट्रेन्डमा कामय भए दुई वर्षपछि विद्युत्मा पूर्ण आत्मनिर्भर हुन सकिने उनको भनाइ छ । 

 उत्पादनको पनि छैन ग्यारेन्टी 
 नेपालमा जलविद्युत् आयोजना अनुमान गरेअनुसार समयमै सञ्चालनमा आउन सकेका छैनन् । कानुनी व्यवस्थामा हुने परिवर्तन, नीतिगत व्यवस्था, निर्माण कार्यमा हुने ढिलासुस्ती, प्रतिकूल मौसम, भौगोलिक जटिलता, झन्झटिलो सरकारी प्रक्रियालगायतका कारण नै आयोजना समयमा नबन्नुको मुख्य कारण हुन् । यस्तो अवस्थामा दुई वर्षमा सरकारले अनुमान गरेअनुसार विद्युत् उत्पादन हुने ग्यारेन्टी नभएको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराई बताउँछन् । 
‘विभिन्न कारणले गर्दा समयमै आयोजना बन्ने सम्भावना छैन । यस्तो अवस्थामा विद्युत्मा आत्मनिर्भर हुने पनि उत्तिकै चुनौती छ,’ उनले बताए । यस्तै, जलाशययुक्त आयोजना पनि तत्काल सञ्चालनमा आउने सम्भावना छैन । त्यस्तो अवस्थामा हिउँदमा पनि आरओआर आयोजनामै निर्भर हुनुपर्ने बाध्यता रहेको छ ।

 किन हुन्छ हिउँद र वर्षात्को विद्युत् उत्पादनमा असन्तुलन ? 
नेपालमा विद्युत्को मुख्य स्रोत जलविद्युत् हो । त्यसमा पनि अधिकांश जलविद्युत् आयोजना नदी प्रवाह (आरओआर) मा आधारित छन् । वर्षात्मा खोलामा पानी बढी हुँदा आयोजनाबाट पूर्ण क्षमतामै विद्युत् उत्पादन गर्न सकिन्छ । त्यतिवेला भारतमा विद्युत् निर्यातसमेत गर्न सकिन्छ । तर, हिउँदमा भने खोलामा पानी कम हुँदा विद्युत् उत्पादन पनि स्वतः घट्छ । हिउँदमा आरओआर आयोजनाबाट कुल क्षमताको ४० प्रतिशत हाराहारीमा विद्युत् उत्पादन हुने गर्छ । अहिले नेपालको कुल विद्युत् जडित क्षमता कम हुँदा हिउँदमा पुग्ने गरी बिजुली उत्पादन हुन सकेको छैन । अहिले हिउँद लागेसँगै विद्युत् उत्पादनमा कमी आइसकेको छ । साथै, आन्तरिक माग धान्न गत मंसिरदेखि नै भारतदेखि विद्युत् आयात गर्न सुरु गरिएको छ ।

दुई वर्षपछि आत्मनिर्भर हुन्छौँ
कुलमान घिसिङ, कार्यकारी निर्देशक, विद्युत् प्राधिकरणका

वर्ष ०८१ को हिउँददेखि विद्युत् आयात गर्नुपर्ने अवस्था आउँदैन । यो र आगामी वर्षको हिउँदमा विद्युत् आयात नै गर्नुपर्छ । हामीले अनुमान गरेअनुसारको आयोजना सञ्चालनमा आएमा दुई वर्षपछि भने हिउँदमा पनि विद्युत्मा आत्मनिर्भर हुन सक्छौँ ।