१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format ११:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्णालीमा आज छोरातिहार मनाइँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:१३:oo

भाइतिहार सकिएको दुई महिनापछि आज कर्णालीवासीले छोरातिहार मनाएका छन्। नेपालमा अन्यत्र कतै नमनाइने छोरातिहार प्रत्येक वर्ष पौष शुक्ल द्वितीयाका दिन कर्णाली प्रदेशको जुम्ला, डोल्पालगायतका जिल्लामा धुमधामका साथ मनाइएको हो।

यस दिन बिहानै आमा र छोरा दुवैले नुहाइधुवाई गरेर छोराहरूले आमाको हातबाट टीका थाप्ने प्रचलन रहेको छ। भाइटीकाजस्तै छोरातिहारमा पनि आमाले छोरालाई निधारमा अक्षता, गलामा फूलको माला लगाइदिएर सगुनको रूपमा घरमा बनाइएको सेलरोटी, फिनीरोटी, चिनीरोटीजस्ता परिकार खुवाउने प्रचलन छ।

टीका लगाइसकेपछि छोरालाई सुख, शान्ति, दीर्घायु र प्रगतिको कामना गर्दै आशीर्वाद दिइन्छ। छोराले पनि आमाको हातबाट टीका र आशीर्वादपछि दक्षिणाको रूपमा सक्दो पैसा, धोतीचोलीजस्ता कोसेली दिएर गोडामा ढोग्ने चलन छ।

जिल्लाबाहिर रहेका छोराहरू पनि आमाको हातबाट टीका थाप्न आजको दिन जसरी पनि घर पुग्ने गर्छन्। कामविशेषले घर पुग्न नसक्ने छोराहरूले फोनलगायतका माध्यमबाट आशीर्वाद लिने र आमाले छोराका लागि बनाएको कोसेली छुट्याएर राखिदिने गरिन्छ।

छोरातिहारमा आमाको हातबाट टीका थापिसकेपछि सम्पूर्ण पुरुष जम्मा भई प्रत्येक घर तथा गाउँबस्तीहरूमा पुगेर भाइटीकामा देउसी भनेजस्तै भैलो खेल्ने प्रचलन छ। यसरी भैलो खेलेर उठेको रकमबाट धारा, पँधेरा, बाटोलगायत सार्वजनिक सम्पदा मर्मतसम्भार गरिन्छ भने बचेको रकमबाट (पाठीभात) वनभोज जाने गरिन्छ।

यस दिन महिला पनि सार्वजानिक स्थलहरूमा भेला भएर चुट्किला, देउडा खेलेर रमाइलो गर्ने र एक–अर्काको पिर–व्यथा साटासाट गर्ने  गर्छन्। यस तिहारमा आमा नहुनेहरूले भने स्थानीय मठ मन्दिरमा गएर पुजारीको हातबाट टीका–अक्षता लगाएर मनाउने गर्छन्।

परापूर्वकालदेखि मनाउँदै आएको भए पनि यो तिहारको रौनक पछिल्लो समय घट्दै गएको त्रिपुरासुन्दरी नगरपालिका– १ का स्थानीय दुर्गाप्रसाद देवकोटाले बताए।