१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १७:११:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

जुम्लाको ‘रारा’ गाउँमा खानेपानी अभाव

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:११:oo

जुम्लाको तिला गाउँपालिका– १ रारागाउँमा खानेपानीको अभाव भएको छ।  ४३ वर्षअघि बनेको दुम्कली खानेपानी आयोजना जीर्ण हुँदै र मूल सुक्दै गएपछि गाउँमा खानेपानीको अभाव भएको हो।

रारा गाउँकोमुनि कर्णाली राजमार्ग छ। सो सडकमुनि अनवरत बगिरहेको तिला नदी भएपनि नदीमा पिउन योग्य पानी बग्दैन। पानी अभावले गाउँवरिपरीको जमीन मरुभूमी सरह भएको छ। करेसावारी बाँझो हुँदा आयातित तरकारी र खाद्यान्न खानुपर्ने बाध्यता रहेको स्थानीय धनराज रावतले बताए।

‘उत्पादन हुने जमिन छ, तर सुख्खा छ। नदीको पानी खेर गइरहेको छ। सुख्खा जमिनमा उभिएर तल कलकल बगिरहेको तिला नदीलाई हेर्छाैं,’ रावतले भने, ‘कैयौं बालबालिकाले पानी भर्नकै लागि विद्यालय छुटाउँछन्। यो गाउँका विद्यार्थीलाई बिहान र बेलुका आफ्नो गृहकार्य भन्दा घरमा पानी छ कि छैन भन्ने पिरलो हुन्छ।’

खानेपानीकै लागि दैनिकजसो गाउँमा झगडा हुने गरेको स्थानीय नन्दबहादुर बुढाले बताए। ‘तीन दशकसम्म खानेपानीको अभाव झेलेको रारा गाउँमा सरकारी तथा गैरसरकारी संघसंस्थाबाट सरसफाईमा ध्यान दिनुपर्ने सन्देश पुग्यो, तर खानेपानी पुगेन,’ उनले भने।

सरसफाईका लागि सबैभन्दा बढी समस्या महिनावारी हुने महिला, जेष्ठ नागरिक र बालवालिकालाई भइरहेको अर्की स्थानीय दन्तकला बुढाको भनाइ छ। उनले भनिन्, ‘गाउँमा भएका चार धारामा दैनिक २ घण्टा मात्रै पानी आउँछ।  १० हजार लिटरको ट्यांकी छ।’ राष्ट्रिय जनगणना २०७८ अनुसार २६८ घरधुरी भएको यस गाउँमा एक हजार ६२६ जनसंख्या छ। रारा क्षेत्रमा पानीको मुहान छैन। रारा ‘एक गाउँ एक वडा’ भएको बस्ती हो।

संघीय खानेपानी आयोजनाले चालु आर्थिक वर्षमै खानेपानी समस्या समाधान गरिदिने बाचा गरेको तिला– १ का वडाध्यक्ष जंगबहादुर बस्नेतले बताए। रारा गाउँको इलाकामा वनजंगल नहुँदा पनि पानीका मुहान छैनन्। छिमेकी वडाबाट पानी ल्याउनुबाहेक अन्य विकल्प नभएको बस्नेतले बताए।  उनले भने, ‘यो गाउँको लागि बृहत खानेपानी योजना निर्माणाधिन अवस्थामा छ। संघीय खानेपानी आयोजनाले न्यून बजेट विनियोजन गरेकाले आयोजना सम्पन्न हुन सकेको छैन।’

यही योजनाका कारण गाउँपालिकाले रारागाउँमा खानेपानीको अर्को योजना बनाएको छैन। संघीय खानेपानी आयोजनाले आयोजना निर्माण गर्न आश्वासन दिएको वडाध्यक्ष बस्नेतको भनाइ छ। स्थानीय सरकार पाएको ६ वर्षसम्म पनि खानेपानीको समस्या समाधान नहुँदा राराका स्थानीय असन्तुष्ट छन्।