१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरू बिहीबार संघीय संसद् भवनमा पद तथा गोपनीयताको शपथ लिँदै । तस्बिर : अमूल थापा/नयाँ पत्रिका
अनिल यादव काठमाडाैं
२o८१ जेठ १ मंगलबार o७:५९:oo
Read Time : > 3 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

२७० सांसदले लिए शपथ

Read Time : > 3 मिनेट
अनिल यादव, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o७:५९:oo

अधिकांश सांसद राष्ट्रिय पोसाकमा देखिए, २५ सांसदले विभिन्न १३ मातृभाषामा लिए शपथ

समावेशी र समानुपातिक प्रतिनिधित्व, नेपालको संविधानले कल्पना गरेको प्रतिनिधिसभाको मूल चित्र र चरित्र हो । प्रतिनिधिसभामा यसको पूर्ण कार्यान्वयन हुन नसके पनि बिहीबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा  शपथग्रहण हुँदै गर्दा केही नवनिर्वाचित सांसदहरूले यसको सौन्दर्य झल्काए ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले नवनिर्वाचित दुई सय ७० सांसदलाई पद तथा गोपनीयताको शपथ गराए । बाँकी चारजना भने व्यक्तिगत कारण देखाउँदै अनुपस्थित भए । उपस्थितमध्ये २५ सांसदले विभिन्न १३ मातृभाषामा शपथ लिए । धेरैजसो सांसदहरू राष्ट्रिय पोसाकमा आएका थिए, तर करिब तीन दर्जन सांसदहरू आफ्नो समुदायको संस्कृति झल्काउने पोसाकमा देखिए । उनीहरूको तर्क थियो, ‘जुन क्लस्टर या समुदायको प्रतिनिधित्व गर्दै हामी संसद्मा आयौँ, त्यसैको मर्मलाई आत्मसात् गर्दै आफ्नै भाषा र पहिरनमा शपथ लिएका हौँ ।’

संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार बिहीबार २५ सांसदले विभिन्न १३ भाषामा शपथ लिए । जसमा उर्दू, तामाङ, भोजपुरी, थारू, कोयू, मैथिली, नेपाली खस, मधेसी, सन्थाली, नेपाल, अवधी, मुस्लिम र संस्कृत भाषा छन् । अनुपस्थित भएका नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले भने शुक्रबार हिन्दी भाषामा शपथ लिने जानकारी गराएका छन् । नेपालीबाहेकको भाषामा शपथ लिनेमा सबैभन्दा बढी माओवादीबाट सात, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पाँच, जनमत पार्टीका चार, नागरिक उन्मुक्ति पार्टी र जनता समाजवादी पार्टीबाट तीन–तीन, कांग्रेस र एमालेका एक–एक र स्वतन्त्र निर्वाचित दुई सांसद छन् ।

सबैभन्दा बढी ६ जनाले थारू भाषामा शपथ लिए । नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित तीन सांसद रञ्जिता श्रेष्ठ, अरुणकुमार चौधरी, गंगाराम चौधरी र स्वतन्त्र निर्वाचित रेशम चौधरीका बुबा लालवीर चौधरी थारु पहिरन र थारु भाषामा शपथ लिए । माओवादी सांसद रूपा सोसी चौधरी र राष्ट्रिय स्वतन्त्र पार्टीका अशोककुमार चौधरीले थारू भाषामै शपथ लिए । माओवादीका हितबहादुर तामाङ, सूर्यमान तामाङ दोङ र मीना तामाङले मातृभाषा तामाङमा शपथ लिए । जसपाका प्रदीप यादव र रामसहायप्रसाद यादव तथा माओवादीकी उमरावतीदेवी यादवले भोजपुरी भाषामा शपथ लिए । स्वतन्त्र पार्टीका मनीष झा र जसपाकी रञ्जुकुमारी झाले मैथिली भाषामै शपथ खाए । 

जनमत पार्टीका चन्द्रकान्त राउत (सिके), विनिताकुमारी सिंह र अनिता देवीले संसदीय इतिहासमै पहिलोपल्ट ‘मधेसी भाषा’मा शपथ लिए । मधेसमा बोलिने मैथिली, बज्जिका, अवधि, भोजपुरीलगायत सबै भाषा मिसाएर बोलीचालीमा बढी प्रयोग आउने ‘मधेसी भाषा’ रहेको र त्यही कारण यसरी शपथ खाएको उनीहरूको तर्क छ । नेपालको संघीय संसद्मा मधेसी भाषामा शपथ लिएर आफ्ना सांसदहरूले मधेसी भाषालाई संस्थागत गर्ने पहिलो पहल सुरु गरेको पार्टीका नेता बिपी साहले बताए । एमाले सांसद सराज अहमत फारुकीले उर्दू, कांग्रेस सांसद कान्तिका सेजुवाल र राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनिता कठायतले नेपाली खस, माओवादीकी दुर्गा राईले कोयू, जनमत पार्टीका सोनु मुर्मूले सन्थाली, स्वतन्त्र पार्टीका असिम साहले नेपाली÷उर्दू, सुमना श्रेष्ठले नेपाली र लक्ष्मी तिवारीले अवधि भाषामा शपथ लिएका थिए । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबराले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएपछि बिहीबार अन्य सांसदको शपथ गराएका हुन् । नेपालको संविधानको धारा ८८ बमोजिम संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि संघीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ ।

हत्या र भ्रष्टाचारका अभियुक्त दुई सांसदले पनि लिए शपथ
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनअनुसार भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध बिक्री–वितरण तथा निकासी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसुर लागेकाहरू उम्मेदवार नै नपाउने उल्लेख भए पनि हत्या र भ्रष्टाचार अभियोगमा मुछिएका दुई सांसदले पनि शपथ लिएका छन् । 

हत्या अभियोग खेपिरहेका महोत्तरी १ बाट निर्वाचित एमाले सांसद लक्ष्मी महतो कोइरी र ३१ करोडको भ्रष्टाचार अभियोग खेपिरहेका मनाङबाट निर्वाचित कांग्रेसका सांसद टेकबहादुर गुरुङले शपथ लिएका हुन् । उनीहरूले खेपिरहेको मुद्दाबारे कहीँकतैबाट उजुरी या जानकारी नआएका कारण शपथ लिएको संसद् सचिवालयको तर्क छ । ‘सांसदहरू महिन्द्र राय यादव, प्रेमबहादुर आले, माया राई र रामकुमार राईबाहेक अन्य सबै सांसदले शपथ खाए । कसैले पनि शपथ लिन नमिल्ने अवस्था देखिएन,’ संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले भने । व्यक्तिगत समस्याका कारण यादवले शुक्रबार शपथ लिने तय भए पनि आलेले पारिवारिक शोकमा भएका कारण शपथमा आउन नसकेको संसद् सचिवालयमा जानकारी गराएका छन् । त्यस्तै, राई सुत्केरी भई अस्पतालमा रहेको, राई प्लेन छुटेकाले शपथमा आउन नसकेको सचिवालयले जनाएकोे छ ।

पहिलोपटक संस्कृत भाषामा शपथ
संसद् सचिवालयका अनुसार रौतहट २ बाट निर्वाचित स्वतन्त्र सांसद किरणकुमार साहले नेपालको संसदीय इतिहासमा पहिलोपटक संस्कृत भाषामा शपथ लिए । ‘मेरो मातृभाषा बज्जिका हो । तर, हराउँदै गएको संस्कृत र संस्कृतिको संरक्षणका लागि संस्कृत भाषामा शपथ लिएको हुँ,’ साहले भने । उनले सात कक्षासम्म संस्कृत पढेको र त्यसपछि औपचारिक रूपमा भने संस्कृत भाषाको अध्ययन नगरेको बताए ।

सांसदको तलब–भत्ता विपतमा परेकाहरूका लागि खर्च गर्ने बजगाईंको घोषणा

गोरखा १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कांग्रेस सांसद राजेन्द्र बजगाईंले सांसद भएबापत पाउने तलबभत्ता आफ्नो क्षेत्रका विपत्मा परेका नागरिकका लागि खर्च गर्ने घोषणा गरेका छन् । 

बिहीबार प्रतिनिधिसभा सदस्यको शपथ लिएपछि उनले यस्तो घोषणा गरेका हुन् । ०७२ को भूकम्पले ठूलो क्षति पुर्‍याएको गोरखामा पछिल्लो समय गत असारमा बाढीपहिरोले पनि सास्ती दिएको थियो ।

‘गोरखाको विकट भूगोल र भिरपखेरामा विपत्तिमा रेखदेख पुगोस् भन्ने अभिप्रायको निरन्तरता आज एक सांसदको रूपमा शपथ लिँदै गर्दा मत मागिरहेको वेला लिएको शपथ सम्झेको छु । मैले सांसदका रूपमा पाउने तलब भत्ता गोरखा १ मा विपत्मा परेकाका लागि खर्चिने घोषणा गरेको छु,’ बजगाईंले भने । 

ad
ad