
काठमाडौं विश्वविद्यालय (केयू)का कार्यक्रमहरू भारतका विभिन्न सहरका शैक्षिक संस्थामा सञ्चालनका लागि अध्ययन सुरु भएको छ ।
काठमाडौं विश्वविद्यालयको अन्तर्राष्ट्रियकरण अभियानअन्तर्गत योगिक साइन्स, हेल्थ मेनेजमेन्ट, हस्पिटालिटी मेनेजमेन्टलगायतका कार्यक्रमहरू भारतीय सहरहरूमा सञ्चालन गर्ने सम्भाव्यताका लागि तयारी भएको हो ।
सम्भाव्यता अध्ययनका लागि आन्द्र प्रदेशको तिरुपतिस्थित विश्वेश्वरा योग रिसर्च इन्स्टिच्युटसँग लेटर अफ इन्टेन्ड अर्थात् आशय–पत्रमा बुधबार हस्ताक्षर भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा विश्वविद्यालयका सहकुलपति देवेन्द्र पौडेल र केयूका उपकुलपति प्राडा भोला थापाकाे उपस्थितिमा सहमति–पत्रमा तिरुपतिमा हस्ताक्षर भएको हो ।
बुधबार भएको समझदारी–पत्रमा केयुको अन्तर्रास्ट्रिय सम्बन्ध महाशाखाका प्रमुख डा. उद्धव प्याकुरेल र विश्वेश्वरा योग रिसर्च इन्स्टिच्युटसकी सचिव डा. एन श्रीदेवीको हस्ताक्षर छ ।
केयूको टिम तिरुपति पुगेर हस्ताक्षर गरेको छ । मन्त्रीको नेतृत्वमा उपकुलपतिसहितको टिम भारत पुगेर विभिन्न शैक्षिक संस्थासँग सम्झौता गरेको छ ।
यसअघि भारतको मद्रासस्थित आइआइटी र केयूले संयुक्त डिग्री दिने गरी सुरु गरेको स्नातकोत्तरस्तरको एमटेक इन इनर्जी सिस्टम कार्यक्रमका विद्यार्थीको अध्यापन, इन्टर्नसिपलगायतका सुविधा उपलब्ध गराउनेबारे डिफिनिटिभ समझदारी–पत्र गत सोमबार हस्तान्तरण भएको थियो ।
केयू र आइआइटीबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको गत मेमा भएको नेपाल भ्रमणका वेला दुई देशका प्रमको रोहवरमा सो विषयको संयुक्त कार्यक्रम सञ्चालनबारे सम्झौता भएको थियो ।
मन्त्री तथा सहकुलपति देवेन्द्र पौडेलले यसरी कार्यक्रम विस्तार गर्दा आउन सक्ने चुनौतीको सहजीकरणमा सरकारले सहयोग गर्ने बताए । सहकुलपतिको नेतृत्वमा उपकुलपति, प्राध्यापक विवेक बरालसहितका केयू टिमले सोमबार नै चेन्नाईस्थित मद्रास डाइबेटिक रिसर्च सेन्टरसँग डाइबेटोलोटीमा संयुक्त विधावारिधि कार्यक्रम सञ्चालनको सम्भावनाबारे छलफल गरेको थियो ।