१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ५ मंगलबार
  • Sunday, 11 May, 2025
२o७९ पौष ५ मंगलबार २१:४o:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

ट्रम्पमाथि राज्यद्रोहको मुद्दा चलाउन सिफारिस

क्यापिटल हिल दंगा प्रकरण :

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष ५ मंगलबार २१:४o:oo

करिब दुई वर्षअघि अमेरिकी संसद् भवन रहेको क्यापिटल हिलमा भएको दंगाबारे छानबिन गरेको संसदीय समितिले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले राज्यद्रोहसहितको फौजदारी अभियोग सामना गर्नुपर्ने जनाएको छ । 

डेमोक्र्याटिक नेतृत्वको समितिले ट्रम्पविरुद्ध अभियोग दायर गर्न कानुन मन्त्रालयलाई सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको छ ।
 
समितिले ट्रम्पकी पूर्वसहयोगी होप हिक्सले ट्रम्पलाई उनको विरासतबारे चेतावनी दिएको एउटा भिडियो क्लिपसमेत प्रसारण गरेको छ । वर्तमान राष्ट्रपति जो बाइडेनलाई राष्ट्रपतिमा प्रमाणीकरण गर्ने प्रक्रियाबीच सन् २०२१ को जनवरी ६ मा ट्रम्पका समर्थकहरूले क्यापिटल हिलमाथि आक्रमण गरेका थिए । 

संसदीय समितिद्वारा ट्रम्पलाई चार अभियोग लगाउन सिफारिस । ट्रम्पमाथि विद्रोहलाई उक्साएको, औपचारिक प्रक्रियामा अवरोध गरेको, देशलाई घात गरेको र झुटो बयान दिने षड्यन्त्र गरेको अभियोग लगाउन सिफारिस गरिएको छ ।

ट्रम्पले भने आरोप अस्वीकार गर्नुका साथै यो समितिलाई ‘कंगारु कोर्ट’को उपमा दिँदै विज्ञप्ति निकालेका छन् ।

क्यापिटल हिल दंगामाथि करिब १८ महिनाको अनुसन्धानपछि तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले गठन गरेको छानबिन समितिले सोमबार आफ्नो अन्तिम बैठकमा ट्रम्पलाई चारवटा अभियोग लगाउन सिफारिस गरेको छ । 

ट्रम्पमाथि विद्रोहलाई उक्साएको, सहयोग गरेको, सहजीकरण गरेको, औपचारिक प्रक्रियामा अवरोध गरेको, देशलाई घात गरेको र झुटो बयान दिने षड्यन्त्र गरेको अभियोग लगाउन सिफारिस गरिएको हो । 

ट्रम्पलाई अभियोग लगाउने वा नलगाउने विषयमा विचार गरिरहेका न्याय मन्त्रालयका अभियोजनकर्ताहरूका लागि संसदीय समितिको यो सिफारिस बाध्यकारी भने हुँदैन ।
 
यद्यपि, समितिका कार्यहरू प्रतीकात्मक भए पनि समितिका सभापतिले प्रस्तावित अभियोगलाई ‘न्यायको रोडम्याप’का रूपमा व्याख्या गरेका छन् । 

न्याय मन्त्रालयका प्रवक्ताले सिफारिसबारे टिप्पणी गर्न अस्वीकार गरेको बिबिसीले लेखेको छ । 

‘संयुक्त राज्य अमेरिकाको प्रतिकारविरुद्धको विद्रोह राज्य द्रोह हो,’ समिति सदस्य तथा डेमोक्र्याट पार्टीबाट मेरिल्यान्डका कंग्रेसम्यान जेमी रस्किनले भने, ‘यो संविधानमै उल्लेख भएको एक गम्भीर संघीय अपराध हो ।’

समितिका सात डेमोक्र्याट्स र दुई रिपब्लिकन सदस्यले सोमबार आफ्नो प्रारम्भिक १६१ पृष्ठको कार्यकारी सारांश जारी गरेका थिए । यसले ट्रम्पलाई क्यापिटल हिल दंगा र दंगाको क्रममा मतदाताले भोटमार्फत व्यक्त गरेको अभिमतलाई विफल पार्न ‘बहुपक्षीय षड्यन्त्र’ गरेको आरोप लगाएको छ ।
 
संसदीय समितिले ट्रम्पले राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको भ्रम फैलाएर आफ्नो पराजयलाई उल्टाउन राज्यका अधिकारी, कानुन मन्त्रालय र उपराष्ट्रपतिलाई दबाब दिएको तर्क गरेको छ । 

समितिले ट्रम्पमाथि बाइडेनलाई शान्तिपूर्ण सत्ता हस्तान्तरण रोक्ने अन्तिम प्रयासस्वरूप संसदमा दंगा भड्काएको आरोप लगाएको छ । सयौँ पृष्ठको पूर्ण प्रतिवेदन भने बुधबार सार्वजनिक हुँदै छ ।
बिबिसी