मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
टेकराज थामी काठमाडाैं
२०७९ मङ्सिर २९ बिहीबार ०८:२२:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पाँचपटक ट्राफिक नियम तोडे ६ महिना ‘लाइसेन्स’ निलम्बन

Read Time : > 3 मिनेट
टेकराज थामी, काठमाडाैं
२०७९ मङ्सिर २९ बिहीबार ०८:२२:००

यसअघि एउटै कसुरमा लगातार पाँचपटकसम्म ट्राफिक नियम उल्लंघन गरे ‘लाइसेन्स’ निलम्बन हुँदै आएकोमा अब जुनसुकै कसुरमा लगातार पाँचपटकसम्म कारबाही भए ‘लाइसेन्स’ निलम्बन हुने

जुनसुकै कसुरमा लगातार पाँचपटकसम्म ट्राफिक निलयम उल्लंघन गर्ने सवारीचालकको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) निलम्बन हुने भएको छ । ट्राफिक प्रहरीले पहिलो चरणमा २६ वटा ‘लाइसेन्स’ निलम्बन गरिसकेको छ ।

ट्राफिक प्रहरीले यसअघि एउटै कसुरमा लगातार पाँचपटकसम्म ट्राफिक नियम उल्लंघन गर्ने सवारीचालकको हकमा मात्रै ‘लाइसेन्स’ निलम्बन गर्दै आएको थियो । तर, अब जुनसुकै कसुरमा लगातार पाँचसम्म कारबाही भएको छ भने पनि सवारीचालकको ‘लाइसेन्स’ खारेज हुने भएको छ । 

गत २१ कात्तिकदेखि ट्राफिक प्रहरीले यो नियम कार्यान्वयनमा ल्याएको हो । कारबाहीमा परेका २६ वटा ‘लाइसेन्स’ यही अवधिका हुन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्र भट्टले अब जुनसुकै कसुरमा लगातार पाँचपटकसम्म कारबाही भएको छ भने त्यस्ता चालकको ‘लाइसेन्स’ निलम्बन हुने जानकारी दिए । 

उनले भने, ‘पहिला लगातार एउटै कसुरमा पाँचपटकसम्म कारबाही भएको छ भने त्यस्ता चालकको ‘लाइसेन्स’ निलम्बन हुन्थ्यो । अब लगातार पाँचपटक जुनसुकै ट्राफिक नियम उल्लंघन गरेको खण्डमा पनि ‘लाइसेन्स’ निलम्बन हुनेछ । पहिलो चरणमा हामीले २६ वटा ‘लाइसेन्स’ निलम्बन गरिसकेका छौँ । यो नियम कडाइका साथ लागू हुनेछ ।’

उल्लंघन बढेपछि नयाँ नियम
ट्राफिक नियम उल्लंघनकर्ताको दर लगातार बढ्न थालेपछि नियन्त्रण गर्न ट्राफिक प्रहरीले यो नियम कार्यान्वयनमा ल्याएको हो । कार्यालयका अनुसार उपत्यकाभित्र मात्रै अहिले प्रत्येक दिन सरदर तीन हजार पाँच सय यात्रु ट्राफिक कारबाहीमा पर्छन् । कारबाही धानिनसक्नु भएपछि चालकलाई सचेत गराउन ‘लाइसेन्स’ निलम्बन प्रक्रिया अघि बढाइएको कार्यालयका प्रवक्ता एसएसपी भट्टले बताए । 

उनले भने, ‘ट्राफिक नियम उल्लंघन गर्ने दैनिक सरदर तीन हजार पाँच सय पुग्छन् । यो संख्या उच्च हो । यसलाई घटाउन जरुरी छ । यसका लागि चालकलाई नै सचेत गराउने हो । यही उद्देश्यले लगातार जुनसुकै नियम उलंघन गरे पनि त्यस्ता चालकको ‘लाइसेन्स’ निलम्बन गर्ने प्रक्रिया अघि बढाइएको हो ।’

६ महिनासम्म निलम्बन हुने
उपत्यका ट्राफिक कार्यालयका अनुसार त्यस्ता ‘लाइसेन्स’ ६ महिनासम्म निलम्बन हुनेछन् । फुकुवाका लागि ट्राफिक कार्यालयले नै सिफारिस गर्नुपर्नेछ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ६० ले पनि चालकले पालन गर्नुपर्ने सर्त पाँचपटकभन्दा बढी उल्लंघन गरे त्यस्ता चालकको सवारीचालक अनुमतिपत्र ६ महिनाका लागि निलम्बन हुने व्यवस्था गरेको छ । 

ऐनको दफा ६० मा भनिएको छ, ‘यो ऐन वा यस ऐनअन्तर्गत बनेको नियमबमोजिम चालकले पालन गर्नुपर्ने सर्तहरू पाँचपटकभन्दा बढी उल्लंघन गरेको प्रमाणित भएमा अधिकारप्राप्त अधिकारीले त्यस्तो चालकको चालक अनुमतिपत्र ६ महिनासम्मका लागि निलम्बन गर्न सक्नेछ ।’

नियम उल्लंघन गर्ने चालकको ‘लाइसेन्स’ निलम्बन गर्ने कार्य कानुनअनुसार नै कडाइ गर्न खोजिएको उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता एसएसपी भट्टको भनाइ छ । यसअघि व्यावहारिक पक्षलाई हेरेर मात्रै एउटै कसुरमा लगातार पाँचपटक कारबाही भोग्नेको ‘लाइसेन्स’ निलम्बन गरिएको उनको भनाइ छ ।

उनले भने, ‘कानुनमा फरक–फरक कसुरमा लगातार पाँचपटक कारबाही भोग्नेको ‘लाइसेन्स’ निलम्बन हुने व्यवस्था कानुनमा प्रस्ट छ । तर, व्यावहारिक पक्षलाई हेरेर यसअघि कानुन कडाइका साथ कार्यान्वयन गरिएको थिएन । अब त्यस्तो हुँदैन । नियम उल्लंघन गर्ने जोसुकैको ‘लाइसेन्स’ निलम्बन हुनेछ ।’

ट्राफिक प्रहरीले लाइसेन्स निलम्ब गर्ने प्रक्रिया ०७० देखि कार्यान्वयनमा ल्याएको थियो । त्यसयता हालसम्म दुई सय ९३ ‘लाइसेन्स’ निलम्बन भइसकेका छन् । विशेषगरी सर्वजनिक सवारीसाधन चलाउने सवारीचालकको ‘लाइसेन्स’ सबैभन्दा धेरै निलम्बन परेका छन् । ओभरलोड, सिट संख्याभन्दा धेरै यात्रु राख्ने, मापसे, लेन अनुशासन, कागजात दुरुस्त नहुनेलगायत कसुरमा चालकको ‘लाइसेन्स’ निलम्बन गरिएका छन् ।

एउटै चालकबाट ३८ पटकसम्म नियम उल्लंघन 

फरक–फरक कसुरमा पाँचपटकसम्म कारबाही भोग्नेहरूको ‘लाइसेन्स’ निलम्बन गर्ने कानुन कार्यान्वयन गर्ने भएपछि ट्राफिक प्रहरीले कारबाही भोग्ने चालकको तथ्यांक पल्टायो । यही क्रममा एउटै चालकले ३८ पटकसम्म ट्राफिक नियम उल्लंघन गरेको भेटियो । उपत्यका ट्राफिक कार्यालयका अनुसार ३८ पटक ट्राफिक नियम उल्लंघन गर्ने चालक चित्रबहादुर खड्का हुन् । सार्वजनिक सवारीसाधन चलाउने उनले बसमा सिट संख्याभन्दा धेरै यात्रु चढाएका थिए । पटक–पटक कारबाही गर्दा पनि गतिविधिमा सुधार नभएपछि ट्राफिक प्रहरीले उनको ‘लाइसेन्स’ निलम्बन गर्न सिफारिस गरेको छ । त्यस्तै, सार्वजनिक यातायात नै चलाउने सुनबहादुर तामाङले ३५ पटक ट्राफिक नियम उल्लंघन गरेका छन् । उनले २९ पटक ‘अभोरलोड’ र ६ पटक लापरबाही गरी सवारीसधान चलाएका थिए । सार्वजनिक सवारीसाधन चलाउने अर्का रामराम सिलवालले २४ पटक ट्राफिक नियम उल्लंघन गरेका छन् । उनले पनि ‘ओभरलोड’ र लापरबाही गरी सवारीसाधन चलाएका थिए । जति कारबाही गर्दा पनि व्यवहारमा सुधार नआएपछि दुवैको ‘लाइसेन्स’ निलम्बनका लागि ट्राफिक प्रहरीले यातायात व्यवस्था विभागमा सिफारिस गरेर पठाएको छ ।

११ वर्षमा पौने चार लाख मापसे कारबाही
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार गएको ११ वर्षमा उपत्यकाभित्र मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउने तीन लाख ७४ हजार ६ सवारीचालक कारबाहीमा परे । जसमध्ये दुई हजार सात सय ८५ महिला थिए । यो कुल मापसे कारबाही संख्याको ०.७४ प्रतिशत हो । त्यस्तै, मापसे कारबाहीमा परेका पुरुषको संख्या भने तीन लाख ७१ हजार दुई सय २१ रहेको छ । 

ट्राफिक नियम उल्लंघन गर्ने कुल कारबाहीको दर विश्लेषण गर्दा मापसे सबैभन्दा अघि देखिएको छ । आठ वर्षको तथ्यांक विश्लेषण गर्दा उपत्यकाभित्र कुल ट्राफिक कारबाही पाँच लाख चार हजार पाँच सय ९७ रहेको छ । सोही अवधिमा मापसे कारबाही दुई लाख २७ हजार पाँच सय २४ रहेको छ । यो कुल कारबाही संख्याको ४५.०९ प्रतिशत हो । त्यसो हुँदा काठमाडौं उपत्यकाभित्र सबैभन्दा धेरै कारबाही मापसे हुने गरेको तथ्यांकले पुष्टि गर्छ ।