Skip This
चेपे ‘ए’ जलविद्युत् आयोजनामा  भएको तोडफोडप्रति इप्पानको विरोध
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ मङ्सिर २६ सोमबार
  • Monday, 10 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर २६ सोमबार ११:३२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

चेपे ‘ए’ जलविद्युत् आयोजनामा  भएको तोडफोडप्रति इप्पानको विरोध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर २६ सोमबार ११:३२:oo

गएको शनिबार चम्पादेवी हाइड्रोपावर लिमिटेडको प्रवर्द्धनमा लमजुङ र गोरखा जिल्लामा निर्माणाधीन सात मेगावाट क्षमताको चेपे ‘ए’ जलविद्युत् आयोजनाको साइट अफिस तथा पावरहाउसमा भएको तोडफोडप्रति स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)ले विरोध जनाएको छ । उक्त साइट अफिस तथा पावरहाउसमा एक समूह प्रवेश गरी कार्यालयका सामान र सवारीसाधन तोडफोड र आगजनी गरी करिब तीन करोड रुपैयाँबराबरको क्षति पुर्‍याएको घटनाले स्तब्ध बनाएको इप्पानले प्रेस विज्ञप्तिमार्फत उल्लेख गरेको हो । 

विज्ञप्तिमा भनिएको छ, ‘राइनास नहरसँगको सरोकारको विषयमा भएको असमझदारीपश्चात् घटाइएको यस्तो उच्छृंखल तथा अराजक घटनाको इप्पान घोर भत्र्सना र निन्दा गर्दछ ।’ हरेक आयोजनाहरू र त्यसका सरोकारवाला पक्षहरूबीचको कुनै पनि असमझदारी आपसी संवाद र छलफलबाटै समाधान गर्न सकिने इप्पानले जनाएको छ । विगतदेखि नै जलविद्युत् आयोजनाहरूले यस्ता थुप्रै अप्रिय घटनाहरूको सामना गरिरहनुपरेको संस्थाको भनाइ छ । 

एकपक्षीय ढंगले आफ्ना माग पूरा गराउन आयोजनालाई गम्भीर क्षति पुर्‍याउने तथा प्रवर्द्धक एवं कर्मचारीलाई मानसिक र भौतिक रूपमा डर–त्रास पैदा गराउने नियोजित उद्देश्यले त्यस खालका उच्छृंखल, अराजक र उद्दण्ड गतिविधि हुने गरेको र यस प्रकारका आपराधिक गतिविधिले ऊर्जा क्षेत्रमा ठूलो नकारात्मक सन्देश प्रवाह भएको इप्पानको भनाइ छ । यसले ऊर्जा क्षेत्र निरुत्साहित हुने भन्दै सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण हुनुपर्ने संस्थाले जनाएको छ ।  

परियोजनाहरूको कार्यस्थलमा हुने गरेका यस्ता घटनाहरूलाई निरुत्साहित गर्न तत्काल छुट्टै सुरक्षा संयन्त्र निर्माण गर्न इप्पानले माग गरेको छ । त्यस्तै, जलविद्युत् आयोजनाहरूमा यस्ता कार्यहरू निरुत्साहित गरी सुरक्षाको प्रत्याभूति गराउनुका साथै तत्काल यस घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कानुनी कारबाही गर्न तथा पीडक पक्षबाटै पीडित पक्षको क्षतिपूर्ति भराउने व्यवस्था मिलाउन इप्पानले माग गरेको छ ।