पिएफसी इमर्जिङ कप २०७९ को उपाधि सोनाङ जीव एकेडेमी जगतपुरले जितेको छ। सोमेश्वर माध्यमिक विद्यालयलाई ६-० को फराकिलो गोल अन्तरले पराजित गर्दै सोनाङ जीव एकेडेमीले उपाधि जितेको हो।
जितसँगै उसले नगद ४० हजार मेडल, ट्रफी र प्रमाणपत्र पाएको छ। प्रतियोगिताको उपविजेता बन्दै सोमेश्वर माध्यमिक विद्यालयले नगद २५ हजारमा चित्त बुझाएको छ।
प्रतियोगिताको सेमिफाइनलमा पुग्ने अमर माध्यमिक विद्यालय पटिहानी र आदिकवि भानुभक्त माध्यमिक विद्यालयलाई नगद पाँच पाँच हजारबाट पुरस्कृत गरिएको प्रतियोगिताको संयोजक शिव रानाभाटले जानकारी दिए।
उनका अनुसार प्रतियोगिताको अनुशासित टिम चतुर्मुखी माध्यमिक विद्यालय घोषणा हुँदा सोनाङ जीव एकेडेमीका विष्णुबाबु मगर प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, निराजन शाही उत्कृष्ट डिफेन्डर, सुशील बन सर्वाधिक गोलकर्ता र अमन श्रेष्ठ उत्कृष्ट गोलकिपर बने। सोमेश्वर माध्यमिक विद्यालयका सुमन दर्जी उत्कृष्ट फरवार्ड बन्दै पुरस्कृत भएका थिए।
पश्चिम चितवनको भरतपुर १४ स्थित सुन्दरवस्ती खेलमैदानमा ‘शिक्षासँगै खेलकुद’ भन्ने नाराका साथ पटिहानी फुटबल क्लबको आयोजनामा प्रतियोगिता सञ्चालन भएको थियो।
क्लबका अध्यक्ष पोस्टराज तिमिल्सिनाका अनुसार प्रतियोगिता उद्देश्यअनुसार जिल्लामा भएका नयाँ खेलाडीहरूको पहिचान गर्ने र शिक्षासँग खेलकुद जोड्न पर्ने प्रेरणा दिन सफल भएको छ। प्रतियोगितामा चितवनका ३२ माध्यमिक विद्यालय सहभागी रहेको जानकारी दिए।
स्थापनादेखि नै यस क्लबले फुटबलमा नयाँ खेलाडी उत्पादनको लागि तालिमसँगै विभिन्न गतिविधि गर्दै आएको छ।