मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
Invalid date format १६:१३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

चितवनकी सञ्चारकर्मी रिना आमालाई दागबत्ती दिएर किरिया बस्दै 

गलत मान्यता बदल्दै छोरी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:१३:oo

हिन्दू परम्पराको नाममा आमाबाबुको चितामा छोराले दागबत्ती दिइँदै आएको छ । पछिल्लो समय भने यो मान्यतामा केही बदलाव देखिन्छ । अर्थात्, मुखाग्नि दिनेदेखि आमाबुबाको किरिया बस्ने छोरीहरू बढ्दै गएका छन् । 

चितवनको भरतपुर महानगरपालिका– ११ मा रहेको सलेनी टोलकी २२ वर्षीया सञ्चारकर्मी रिना श्रेष्ठ त्यस्तै एक उदाहरण बनेकी छिन् । मंगलबार बिहान निधन भएकी ४४ वर्षीया आमा संगीतालाई उनले देवघाटस्थित नारायणी नदीमा मुखाग्नि दिइन् । 

स्तन क्यान्सरसम्बन्धी रोगबाट पीडित आमाको हेरचाह उनै रिनाले गर्दै आएकी थिइन् । ‘आमाबाबुले हुर्काउन, बढाउन र पढाउन कुनै विभेद गर्नुभएन भने उहाँहरूको निधनपछि गरिने कर्ममा छोरीमाथि किन विभेद ?’ उनले नयाँ पत्रिकासँग भनिन्, ‘बिरामी हुँदै सधैँ हेरचाह गरेकी आमाको अन्तिम संस्कार पनि गर्छु ।’

उनले १३ दिनको किरियामा बस्ने जानकारी दिइन् । संगीताका दुई सन्तानमध्ये रिना जेठी हुन् । कान्छी छोरी १६ वर्षीया रचना एसइईको तयारी गर्दै छिन् । 

कलिलै उमेरदेखि सञ्चारकर्ममा लागेकी रिना सात वर्षदेखि चितवनको सिनर्जी एफएममा कार्यक्रम चलाउँछिन् । एफएम रेडियोका स्रोतामाझ रिना परिचित नाम हो । सञ्चारकर्मी भएको नाताले पनि उनलाई आफू उदाहरणीय बन्न प्रेरित गरेको छ । 

‘आमा बिरामी हुँदा महिनौँसम्म अस्पतालमा उहाँको हेरचाहका लागि बसेँ । आमाको हेरचाह गर्न सक्ने म संस्कार पनि गर्न सक्छु । छोरीले मलामी जानुहुँदैन, किरिया गर्नुहुँदैन भन्ने मान्यता गलत हो,’ उनले भनिन्, ‘मेरो आमाको सन्तान बहिनी र म मात्र हौँ, आमाले हामीप्रति गरेको त्यागको सम्मान गर्दै दागबत्ती दिने र किरिया बस्ने निर्णय गरेको हुँ ।’ 

उनको यो निर्णयमा आफन्त र छिमेकीले पनि सहजीकरण गरे । रिनाले समाजमा छोरीमाथिको भेदभावविरुद्ध सन्देश दिएको स्थानीयहरू बताउँछन् । 

यसअघि पनि चितवनको माडीमा २२ वर्षीया रेजिना र २० वर्षीया अनुसा पुरी बाबुलाई दागबत्ती दिँदै किरिया बसेका थिए ।