मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०७९ मङ्सिर १९ सोमबार ०९:२८:००
Read Time : > 3 मिनेट
विश्व प्रिन्ट संस्करण

जनसंख्या वृद्धि गर्न दक्षिण कोरियाले डेढ दशकमा २ खर्ब डलर खर्चियो, तैपनि प्रजननदर झन्झन् घट्दै

जनसंख्यालाई स्थिर राख्न औसत प्रजननदर २.१ चाहिन्छ, तर दक्षिण कोरियाका महिलामा औसत प्रजननदर ०.७९ मा झरेको छ

Read Time : > 3 मिनेट
२०७९ मङ्सिर १९ सोमबार ०९:२८:००

 दक्षिण कोरियामा अहिले ‘बेबी फेयर’ अर्थात् मातृशिशुका लागि चाहिने सरसामान (प्रेग्नेन्सी गुड्स, फिडिङ सप्लाई, स्किन केयर, बेडिङ, लुगाफाटालगायत) प्रदर्शनीको मौसम सुरु भएको छ । यो प्रदर्शनीमा सयौँ विक्रेताले सम्भावित आमाबाबुलाई उनीहरूका नवजातका लागि चाहिने सम्पूर्ण चिज बेच्ने प्रयास गर्छन् । तर, पछिल्लो समय ग्राहकको आकार घट्दै गएकाले यो व्यवसाय संकुचित हुँदै गएको छ । 

दक्षिण कोरियाले विश्वकै न्यून प्रजननदरको आफ्नै पूर्ववर्ती कीर्तिमानी तोडेको छ । गत नोभेम्बरमा सार्वजनिक तथ्यांकअनुसार दक्षिण कोरियाली महिलाको औसत प्रजननदर अर्थात् महिलाले आफ्नो जीवनकालमा जन्माउने बच्चाको औसत संख्या प्रतिमहिला ०.७९ मा झरेको छ । यो दर जनसंख्यालाई स्थिर राख्न चाहिने औसत २.१ भन्दा निकै न्यून हो । यो दर अमेरिका र जापानजस्ता प्रजननदर खस्किँदै गएका विकसित मुलुकहरूको भन्दा पनि निकै कम हो । विकसित मुलुकहरूमा प्रजननदर १.३ बच्चा प्रतिमहिला रहेको छ । 

जनसंख्यामा वृद्धहरूको हिस्सा बढ्दो रहेको यो मुलुकका लागि यो टाउको दुखाइको विषय बनेको छ । यहीकारण, दक्षिण कोरिया पछिल्लो समय आफ्नो पेन्सन प्रणालीलाई धान्नै कठिन हुने गरी कामदारहरूको कमी बढ्दो रूपले सामना गरिरहेको छ ।

यो समस्याको मुख्य दोष आर्थिक कारकलाई दिइने गरिएको छ । घरजग्गाको उच्च मूल्य, शिक्षाको उच्च लागतजस्ता आर्थिक कारकले युवाहरूलाई घरजम गरेर बच्चा जन्माउन निरुत्साहित गरिरहेको छ । तर, प्रजननदर बढाउन जतिसुकै पैसा खर्च गरे पनि यो समस्या एकपछि अर्काे सरकारको असफलता बनिरहेको छ । आलोचकहरू यसले प्र्रजननको समस्या अर्थशास्त्रीय मात्रै नभएको र सम्बोधन विधिमा परिवर्तन आवश्यक भएको ठान्छन् । 

१५ सेप्टेम्बर, दक्षिण कोरियाको सियोलमा आयोजित ‘बेबी फेयर’को एक स्टल । 

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले गत सेप्टेम्बरमा एक शिशु स्याहार कक्षको भ्रमणका क्रममा जनसंख्या वृद्धि गर्ने प्रयासस्वरूप गत १६ वर्षमा दुई खर्ब डलरभन्दा धेरै पैसा खन्याइसकेको स्वीकार गरेका थिए । गत मेमा पदभार ग्रहण गरेदेखि नै युन प्रशासनले यो समस्या समाधानका लागि पहिलेकै नीतिलाई निरन्तरता दिनेभन्दा पनि केही विचार अघि सारेको छ । युन प्रशासनका अनुसार बच्चा जन्मिएको एक वर्षसम्म दिइने मासिक भत्ता सन् २०२३ देखि हालको तीन लाख वनबाट बढाएर सात लाख वन (२३० डलरबाट ५४० डलर) बनाइने र त्यसलाई २०२४ सम्ममा १० लाख कोरियन वन (७७० डलर) पुर्‍याइनेछ । 

शिशु स्याहार भ्रमणको क्रममा युनले शिशुहरूको हेरचाह घरमै नगरिएकोमा आश्चर्य व्यक्त गरेका थिए । उनले ६ महिनाको बच्चा टुकुटुकु हिँड्न सक्षम हुनु सामान्य भएको, तर घरमा देखभालको कमीका कारण बच्चा टुकुटुकु हिँड्ने औसत उमेर १२ महिनाभन्दा बढी भएको भन्दै आलोचना गरेका थिए ।

युन प्रशासनका अनुसार बच्चा जन्मिएको एक वर्षसम्म दिइने मासिक भत्ता सन् २०२३ देखि हालको तीन लाख कोरियन वनबाट बढाएर सात लाख वन बनाइने र त्यसलाई २०२४ सम्ममा १० लाख वन पुर्‍याइनेछ

विज्ञहरू हालको आर्थिक सहयोगको विधि एकपक्षीय भएको र यसको सट्टा बच्चाको जीवनभर निरन्तर सहयोग दिने उपाय उचित हुने ठान्छन् । यसै महिना दोस्रो बच्चा जन्माउन गइरहेकी किम मिन जियोङलाई थप रकम उपलब्ध गराउने सरकारको प्रतिबद्धतालाई पन्छाउँदै भन्छिन्, ‘उनीहरूले सहयोगको नाम परिवर्तन गरेका छन् र भत्ताहरूलाई मर्ज मात्रै गरेका छन् । हामी जस्ता आमाबाबुका लागि त्यहाँ कुनै थप लाभ छैन ।’

उनले पहिलो बच्चा जन्मिएदेखि नै काम गर्न नपाएकाले आफू र श्रीमान्लाई बच्चाको हेरचाह गर्न कठिन भएको बताइन् । सरकारी शिशु स्याहार निःशुल्क त छन्, तर हालैका केही घोटाला र अनुचित व्यवहारका केही घटनाका कारण आमाबाबुहरू त्यहाँ शिशु राख्न अनिच्छुक छन् ।

समस्या : शुद्धतावादी दृष्टिकोण
आमाबाबु बन्न चाहने सम्भावित दम्पतीका लागि आर्थिकभन्दा पनि सामाजिक समस्या बढी छन् जुन पैसा खन्याएर मात्रै समाधान हुनेछैन । दक्षिण कोरियामा समाजले अझै पनि अविवाहित आमाबाबुलाई घृणा गर्छ । अस्पतालको आधिकारिक तथ्यांकअनुसार एकल महिलालाई आइभिएफको उपचार उपलब्ध छैन । ‘एकल आमाप्रति हामीमा अझै पनि निकै शुद्धतावादी सोच छ,’ सामाजिक मुद्दामा अखबारी स्तम्भ लेखन गर्ने कानुनका प्राध्यापक चो ही केयोङ भन्छन्, ‘विवाह नगरी गर्भवती हुनुलाई अपराधजस्तो ठानिन्छ ।’

युन प्रशासनका अनुसार बच्चा जन्मिएको एक वर्षसम्म दिइने मासिक भत्ता सन् २०२३ देखि हालको तीन लाख कोरियन वनबाट बढाएर सात लाख वन बनाइने र त्यसलाई २०२४ सम्ममा १० लाख वन पुर्‍याइनेछ

दक्षिण कोरियाले समलिंगी विवाहलाई पनि मान्यता दिँदैन । यसैगरी, अविवाहितलाई पनि शिशु जन्माउन अनुमति छैन । युवापुस्तामा विवाह नगर्ने, गरे पनि बच्चा नजन्माउने प्रवृत्तिबारे पुस्तक लेखेका ली जिन सोङ जन्मदर बढाउने नीतिले पुरुष र महिलाबीचको विवाहको परम्परागत धारणाबाहेकलाई पनि अंगीकार गर्नुपर्ने बताउँछन् । फरक क्षमता, रोग वा कमजोर प्रजनन स्वास्थ्य समस्या भएकालाई परम्परागत विवाहको नीतिले नसमेट्ने उनको धारणा छ ।

एक्लै रहने चाहना 
ली पितृसत्तात्मक समाजमा खासगरी पछिल्लो दशकयता विवाह गर्न, बच्चा जन्माउन र बच्चाको स्याहारका लागि महिला निकै ठूलो बलिदान दिनुपर्ने ठान्छिन् । त्यसैले, महिलाहरूले विवाह नगरी राम्रो जीवनको सम्भावनाको खोजी गर्न थालेका छन् ।प्राध्यापक चो पिताले कम्पनीका लागि र आमाले परिवारका लागि बलिदान गर्नुपर्ने दीर्घ सामाजिक अपेक्षा रहेको स्वीकार गर्छन् । जब कि महिलाले पनि उत्तिकै काम गर्छन् । 

दक्षिण कोरियाको व्यावसायिक संस्कृति बच्चा हुर्काउन समय दिन चाहने पुरुषका लागि अनुकूल छैन । यहीकारण, कागजमा प्रसूति बिदा बढेको भए पनि निकै थोरै पुरुषले मात्र यो लिन सहज महसुस गर्छन् । यहाँ परिवारलाई पहिलो प्राथमिकता दिने व्यक्तिको प्रमोसन विरलै हुने भय निकै व्याप्त छ । सात वर्षभन्दा कम उमेरका दुई छोराकी आमा ली सेइउन आफूले घरमा पतिको धेरै समयको अपेक्षा गरे पनि उनी विरलै घरमा बस्ने बताउँछिन् । कम्पनीहरूले बालबच्चा भएका कामदारलाई डिनर वा राति अबेरसम्म बस्नुनपर्ने व्यवस्था गरिदिए राम्रो हुने उनको बुझाइ छ । 

दक्षिण कोरियामा कार्यालय बन्द भए पनि काम समाप्त हुँदैन । कार्यालयपछिको समयमा ‘टिम निर्माण’को संस्कृति छ । यसमा छुट्नुलाई उति राम्रो मानिँदैन । आफ्नै स्टार्ट–अप सुरु गर्नुअघि ली एउटा ब्रोकरेजमा काम गर्थिन् । तर, उनले सात वर्षदेखि काम गरेकी छैनन् । उनले आफ्नो छोरालाई शिशु स्याहारमा राख्न चाहिनन् । त्यसैले उनलाई आफ्नो करिअरलाई जारी राख्ने विकल्प नै भएन । ‘बच्चा हुर्काउनु व्यक्तिगत दृष्टिकोणबाट धेरै मूल्यवान, अर्थपूर्ण  कुरा हो, तर कहिलेकाहीँ यस्तो लाग्छ कि यसको समाजमा कुनै कदर छैन’, ली भन्छिन् ।
–एजेन्सी