मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ मङ्सिर १७ शनिबार १३:१४:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्मचारी दरवन्दी स्वीकृत नहुँदा क्षेत्रीय कारागार संचालनमा ढिलाई

Read Time : > 1 मिनेट
२०७९ मङ्सिर १७ शनिबार १३:१४:००

सरकारले कर्मचारीको दरवन्दी स्वीकृत नगर्दा नौवस्तास्थित क्षेत्रीय कारागार संचालनमा ढिलाई भएको छ। बाँके जिल्ला कारागारमा रहेका कैदीलाई स्थानान्तरणको तयारी गरेपनि कर्मचारीको दरवन्दी स्विकृत नहुँदा सार्न नसकिएको जेलर अर्जुनजंग शाहले बताए।

उनले पहिलो चरणको भवन निर्माण सम्पन्न भइसकेकाले कैदी राख्दा कुनै समस्या नहुने बताए। ‘निर्माण भएका संरचनामा कैदीलाई राख्न सकिन्छ, तर कैदी व्यवस्थापन गर्ने कर्मचारी हामीसँग छैनन्। कर्मचारीको व्यवस्था हुनेवित्तिकै कारागार संचालनमा ल्याउँछौँ,’ उनले भने।

एक महिनाअघि कारागार व्यवस्थापन विभागका महानिर्देशक चक्रपाणी पाण्डेले क्षेत्रीय कारागारको निरीक्षण गरेका थिए। निरीक्षणका क्रममा उनले उक्त कारागार तत्काल संचालनमा ल्याउन स्थानीय अधिकारीलाई निर्देशन दिएका थिए। ‘तपाईहरु क्षेत्रीय कारागार संचालनका लागि तयारी गर्नुस्, कर्मचारीको व्यवस्था म काठ्माडौँ गएलगत्तै मिलाउँछु,’ उनले भनेका थिए।

महानिर्देशकको निर्देशन पछि जिल्ला कारागारले संचालनको तयारी गरेको छ। भौतिक संरचना निर्माणको जिम्मा पाएको रसुवा–पप्पु जेभीले पनि निर्माणलाई गति दिएको छ। ‘हामीले निर्माणलाई तीव्र पारेका छौँ। छिटोभन्दा छिटो निर्माण पूरा गरी संचालन गर्ने वातावरण मिलाउने उद्देश्यले काम भइरहेको छ,’ कम्पनीका इन्जिनियर दिनेश ज्ञवालीले भने।

क्षेत्रीय कारागार नौवस्तालाई यथासम्भव छिटो सञ्चालनमा ल्याउन कारागारका प्रत्येक ब्लकमा थुुनुवा भेटघाट कक्ष निर्माणको काम पनि सकिएको छ। कारागार युनिट ब्लकभित्र च्यानल गेट निर्माण पनि अन्तिम चरणमा पुगेको आयोजना प्रमुख खडकबहादुर चौधरीले बताए। ‘निरन्तर ताकेता र अनुगमन गर्दै छिटो काम सक्न दवाव दिइरहेका छौँ,’ आयोजना प्रमुख चौधरीले भने।

प्रत्येक युनिटको माथिल्लो तल्लामा बहुउद्देश्यीय सभा हल निर्माण गरिने छ। झण्डै १० बिगाह क्षेत्रफलमा तीन हजार क्षमताको क्षेत्रीय कारागार निर्माणको काम ५० प्रतिशत सकिएको जेलर शाहले जानकारी दिए। ‘सुरक्षाकर्मीको ब्यारेक, कर्मचारी व्यवस्थापन र श्रोत साधनको व्यवस्थापन भए अबको दुई महिनाभित्र संचालनमा ल्याउन सकिन्छ,’ उनले भने।

तीन हजारको क्षमता भनिए पनि निर्माण गरिएका १६ वटा भवनमा प्रति भवनमा १४० का दरले राख्न सकिने उनले बताए। ‘अहिले निर्माण भएका १६ वटा भवनमा दुई हजार २४० कैदी राख्न सकिने छ,’ जेलर शाहले भने।

पहिलो र दोस्रो चरणका भौतिक संरचना निर्माण पूरा भएपछि तेस्रो चरणमा थप संरचना निर्माण गरिने उनले बताए। उनका अनुसार तेस्रो चरणमा १५ बेडको अस्पताल, माध्यमिक विद्यालयलगायतका संरचना निर्माण गर्ने लक्ष्य रहेको छ। पाँच सयबढी कैदीबन्दी भएको कारागारमा अनिवार्य रुपमा १५ बेडको अस्पताल सञ्चालनमा ल्याउनुपर्ने प्रावधान नयाँ कारागार ऐनमा छ।

निर्माणाधिन क्षेत्रीय कारागारमा कैदीबन्दीलाई सीपमूलक तालिम दिन हलको व्यवस्था गरिएको छ। कारागारको नियम उल्लंघन गर्नेलाई कष्टकर सजाय दिन अलग्गै दुई वटा अध्याँरा साँघुरा कोठा पनि बनाइएको जेलर शाहले बताए। कारागारलाई सुधार केन्द्रका रुपमा विकास गर्ने उद्देश्यसहित आवश्यक संरचना निर्माण गरिएको उनको भनाइ छ।

विसं २००० सालमा निर्माण भएको जिल्ला कारागार बाँके जीर्ण छ। यहाँ क्षमता भन्दा बढी कैदीबन्दी छन्। तीन सय ५० जना अट्ने क्षमता भएको बाँके कारागारमा सात सय ८८ कैदीबन्दी रहेका जेलर शाहले बताए। पर्याप्त ठाउँ नभएपछि कैदीबन्दीहरु बरण्डा, भान्सा र शौचालयको छतमासमेत सुत्न बाध्य छन्। नौवस्ताको कारागार सञ्चालनमा आएपछि पनि मुद्दा फैसला नभएका, सुनुवाईका लागि अदालत लैजानुपर्ने, उपचार गराउनुपर्ने बिरामी, बद्धबृद्धा थुनुवालाई भने नेपालगन्जस्थित पुरानै कारागारमा राखिने छ।