मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ माघ १६ सोमबार
  • Monday, 30 January, 2023
बाढीले भत्काएको आफ्नो घर देखाउँदै पकडियापुरका रामलाल डगौरा ।
२०७९ मङ्सिर १५ बिहीबार ०७:०४:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

खाद्य संकट भोग्दै भजनीका बाढीपीडित 

Read Time : > 2 मिनेट
२०७९ मङ्सिर १५ बिहीबार ०७:०४:००

कैलालीको भजनी नगरपालिका– ३ पकडियापुरका सन्तोली डगौराको परिवारलाई आफ्नो ११ कट्ठा खेतमा उत्पादन गरेको धान–गहुँले वर्षभरिलाई खान पुग्थ्यो । बाढी नआएको वर्ष घर खर्चका लागि उनले धानसमेत बिक्री गर्थिन् । तीन वर्षयता भने यो परिवारले चामल किनेर गुजारा चलाइरहेको छ । बर्खामा रोपेको धानबाली बाढीले नष्ट गरिदिँदा किनेर खानुपर्ने अवस्था आएको सन्तोलीले बताइन् ।

बाढी नआएको र बाली सप्रिएको वर्ष ८–१० क्विन्टल धान फलाउने उनले यसपालि मुस्किलले डेढ क्विन्टल धान भित्र्याएकी छिन् । ‘त्यो पनि बाढीमै भिजेको धान उठाउँदा जोगिएको हो,’ उनले भनिन्, ‘यसपालि पनि किनेरै खानुपर्ने भयो ।’ जोगाएको धान पनि बाढीमा धेरै दिन भिजेकाले राम्रो नभएको उनले बताइन् । बाढीले बगाउँदा धान भित्र्याउन नपाएपछि तीनजना परिवारको कसरी गुजारा गर्ने भन्नेमा उनी चिन्तित छिन् ।

सन्तोलीका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा छन् । ‘बुढा बर्सेनि भारतमा काम गर्न जान्छन्, त्यहाँबाट पठाइदिएको पैसाले हामी यता अन्न किनेर गुजारा चलाउँछौँ,’ उनले भनिन्, ‘बाढी नलाग्ने भए आफ्नै खेतको अन्नले खान पुगिहाल्थ्यो । भारत जानुपर्थेन ।’

पाँच बिघा जमिन अँधिया लिएर खेती गर्दै आएका स्थानीय होलीराम डगौरा धान–गहुँ बेचेर घर खर्च चलाउँथे । अन्न बिक्री गरेरै छोराछोरीको विद्यालय शुल्क, कापीकिताब, लत्ताकपडा किन्ने खर्च जुटाउने उनी यसपालि बाढीबाट जोगिएको अन्नले परिवारलाई नै वर्षभरि खान पुग्दैन कि भन्ने चिन्तामा छन् । गत असारमा उनले पाँच बिघा अँधिया र आठ कट्ठा आफ्नै खेतमा धान रोपेका थिए । तर बाढीले धान नष्ट गर्दा बिउ, मल, खनजोतमा गरिएको लगानीसमेत नउठेको दुखेसो उनले पोखे । 

बाढी नलागेको वर्ष उनी ४०–४५ क्विन्टल धान भित्र्याउँछन् । खेती नै आम्दानीको मुख्य स्रोत भएका होलीराम परिवारलाई वर्षभरि खानलाई छुट्याएर बाँकी धान बिक्री गर्थे । यो सिजनमा भने बाढीले धान भित्र्याउन नपाएका उनलाई घर खर्च चलाउनेसँगै धान र गहुँ लगाउँदा लिएको ऋण कसरी तिर्ने भन्ने चिन्ता छ । ‘बिउ, मल, खनजोतमा भएको लगानीसमेत डुब्यो । अहिले गहुँ छर्दा पनि ऋणै लिनुपरेको छ,’ उनले भने, ‘कसरी घर खर्च चलाउने, खेती लगाउँदा लिएको ऋण कसरी तिर्ने भन्ने चिन्तामा छु ।’

काँडा र कान्द्रा नदीमा आएको बाढीले धानबालीमा ठूलो क्षति
गत असोजमा काँडा र कान्द्रा नदीमा आएको बाढीले डुबान हुँदा यहाँ धानबालीमा ठूलो क्षति पुगेको थियो । घर डुबान हुँदा पकडियापुरका मात्रै ६० परिवार १५ दिनसम्म विस्थापित भएर नजिकैको हुलाकी राजमार्ग र विद्यालयमा बसेका थिए । उनीहरू अधिकांशको खेतमा लगाएको धानबाली मात्र नष्ट भएन, डुबानले घरभित्र राखेको अन्नपातसमेत नष्ट भएको थियो । बाढीले धानबाली नष्ट गरेपछि अधिकांश परिवार अहिले खाद्य संकट भोगिरहेका छन् । 

‘खेतमा लगाएको बाली मात्र होइन, घरभित्र राखेको अन्नसमेत बाढीमा नष्ट भएपछि अहिले अधिकांश परिवारलाई गुजारा गर्ने समस्या भएको हो,’ भजनी– ३ मन्त्रीफाँटाका पञ्चराम चौधरीले भने, ‘जग्गाजमिन भएकाहरूले पनि मजदुरी गरेर छाक टार्नुपर्ने बाध्यता छ ।’ बाढीबाट अत्यधिक प्रभावित हुने यहाँ बर्खामा प्रायः बर्सेनि डुबानमा पर्ने गरेको छ । 

राहत नपाएको गुनासो
बाढीले धानबाली मात्र होइन, कतिपय स्थानीयका घरमा समेत क्षति पुगेको छ । तर, पीडित परिवारले सरकारबाट राहत पाउन सकेका छैनन् । विस्थापित भएका वेला केही छाकका लागि चामल, दालबाहेक अन्य राहत र क्षतिपूर्ति नपाएको स्थानीयले गुनासो गरेका छन् । आफूहरू बाढीबाट बर्सेनि पीडित हुँदै आए पनि त्यसको रोकथाम र पीडितलाई क्षतिपूर्ति दिन सरकार र स्थानीय निकायले बेवास्ता गरेको पञ्चरामले गुनासो गरे । बाली भित्र्याउन नपाएपछि विपन्न परिवारलाई निकै समस्या भइरहेको उनले बताए । ‘नदीमा तटबन्ध, ड्याम बनाइदिएको भए बाढीबाट हुने क्षति कम गर्न सकिन्थ्यो,’ मन्त्रीफाँटाकै बलिराम डगौराले भने, ‘बर्सेनि दुःख पाइरहेका छौँ । सरकारले हामीलाई कि बाढीबाट जोगाउनुप¥यो कि सुरक्षित ठाउँमा सारिदिनुप¥यो ।’ 

भजनी नगरपालिकाका अनुसार गत असोजमा आएको बाढीले नगरभित्र एक हजार ६ सय परिवार विस्थापित भएका थिए । धानबालीमा भएको क्षतिको यकिन विवरण छैन । भजनी नगरपालिका जिल्लामा बाढीबाट सबैभन्दा बढी प्रभावित हुने पालिका हो ।

भजनी नगरपालिका प्रमुख केवल चौधरीले बाढीले धानबालीमा ठूलो क्षति पुगेको जानकारी दिए । उनले नगरका अधिकांश क्षेत्रमा बर्खामा बाढी र डुबानको समस्या हुने भएकाले राहत, क्षतिपूर्ति र क्षति न्यूनीकरणमा नगरपालिकाको एक्लैको प्रयासले सम्भव नहुने बताए । यो वर्ष मात्रै बाढीबाट धेरै ठूलो क्षति भएको उनले बताए । नगरपालिकाको बजेटले मात्रै पीडितलाई राहत र क्षतिपूर्ति दिने तथा तटबन्ध, ड्याम निर्माणजस्ता कार्य गर्न सकिने अवस्था नरहेको प्रमुख चौधरीले बताए । उनले संघ र प्रदेश सरकारबाटै तटबन्ध, ड्याम निर्माणजस्ता बृहत् योजना कार्यान्वयनमा ल्याइनुपर्ने बताए ।