मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
रामकृष्ण थापा सिन्धुपाल्चाेक
Invalid date format o६:३३:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

तातोपानी नाकाको भविष्य संकटमा

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चाेक
नयाँ पत्रिका
Invalid date format o६:३३:oo

चीनसँग जोडिने नेपालको सबैभन्दा पुरानो नाका विनाशकारी भूकम्पपछि आंशिक रूपमा आयात खुला भएको चार वर्ष भयो । तर, निर्यात बन्द भएको सात वर्ष बितिसकेको छ । चीनले समय–समयमा विभिन्न बहानाबाजीमा नाका खोल्ने र बन्द गर्दै आएको छ । सोहीकारण, सधैँ गुलजार रहने मितेरीपुलदेखि चीन–नेपाल दुवै क्षेत्रको करिब पाँच किलोमिटर क्षेत्र अहिले सुनसान छ । सो क्षेत्रमा कहिलेकाहीँ मात्रै दिनमा १३७५ साइजका तीनवटा गाडीमा सामान आयात हुने गरेको तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत दयानन्द केसीले बताए । 

गत १२ अगस्टदेखि चीन स्वशासित क्षेत्र तिब्बतमा कोरोना महामारीविरुद्ध लगाइएको निषेधाज्ञा अहिले पनि जारी छ । लामो समयदेखि बन्दाबन्दी हुँदा त्यसको सीधा असर सीमा जोडिएको नेपाली क्षेत्रमा पनि परेको छ । यद्यपि, ल्हासा सरकारले नेपालतर्फ जाने कन्टेनर नरोक्न सीमाक्षेत्रका स्थानीय प्रशासनलाई परिपत्र जारी गरेको छ । तिब्बत सरकारको परिपत्रलाई हुबहु पालना गरेर केरुङका स्थानीय सरकारले दैनिक १४ कन्टेनर सामान रसुवागढी पठाउने गरेको छ । तर, खासास्थित जाङ्मु पोर्ट प्रशासनले तातोपानी तर्फ भने कन्टेनर पठाउन रोक लगाएको छ । 

सिगात्सेबाट तातोपानी नाका आउने कन्टेनरलाई जाङ्मु प्रशासनले खासा पार्किङमा प्रवेश दिएको छैन । कन्टेनर नआउँदा तातोपानी नाकामा ट्रान्सपोर्टको काम गर्ने सिल्क, नमस्ते र रेवाङ कम्पनीका जनशक्ति तीन महिनादेखि अलपत्र  छन् । केरुङबाट कन्टेनर ल्याउँदा ढुवानी भाडा बढी लाग्ने र पुलमा सामान झार्दा ड्यामेज भएर घाटा हुने भएकाले व्यापारीहरू तातोपानी नाकाबाट सामान ल्याउन चाहन्छन् ।

रसुवागढीबाट सामान ल्याउन १० घन्टा लाग्छ, तर तातोपानीबाट तीन घन्टामै कन्टेनर काठमाडौं आइपुग्छ । सोहीकारण, अहिले नेपाली व्यापारीले चीनबाट खुला दिलले सामान नहालेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार बस्नेतले बताए । ‘चीन सरकारले तातोपानीभन्दा केरुङलाई प्राथमिकता दिएको देखिन्छ,’ तर, सो रुटबाट सामान आयात गर्दा घाटा लाग्ने बताउँदै बस्नेतले भने, हामीले पटक–पटक नेपाल सरकारको विभिन्न च्यानलमार्फत तातोपानी नाकालाई सहज बनाउन अनुरोध गरेका छौँ ।’

आयात बढ्ला र लगानी उठाउँला भनेर बसेका क्यारिङ व्यापारी निराश भएसँगै कामदार र गाडीचालक पेसा छाडेर धमाधम घर फर्कन थालेका छन् । तातोपानी नाकाबाट आयात–निर्यात दुवै खुला गर्ने विषयमा नेपाल–चीनका अधिकारीबीच समझदारी पनि भएको हो । तर, कार्यान्वयन भएको छैन । नेपालतर्फ पूर्वाधार तथा ट्रान्सपोर्ट कम्पनी आयातका लागि तयारी अवस्थामा छन् । 

गत सेप्टेम्बरमा निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा नेपाल भ्रमण गरेका चिनियाँ राष्ट्रिय जनकंग्रेस स्थायी समिति अध्यक्ष ली चान्सुले तातोपानी नाका खुला गर्ने विषयमा चीन सकारात्मक रहेको बताएका थिए । चान्सु फर्केसँगै नेपाल–चीन उच्च अधिकारीबीच नाकाबाट आयात निर्यात दुवै खुलाउने सहमति भएको थियो । ‘तिब्बतमा लकडाउन जारी भए पनि यहीबीचमा हामीले सहमति कार्यान्वयनका लागि पटक–पटक दबाबमूलक अनुरोध गरेका छौँ,’ ल्हासास्थित महावाणिज्यदूत नवराज ढकालको भनाइ उद्धृत गर्दै भन्सार प्रमुख केसीले भने ।