मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
कमलराज भट्ट काठमाडाैं
२०७९ मङ्सिर १० शनिबार ०६:२१:००
Read Time : > 7 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

समानुपातिकका ११० मध्ये ७२ सिटमा महिला आउँदै

Read Time : > 7 मिनेट
२०७९ मङ्सिर १० शनिबार ०६:२१:००

संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व हुनुपर्ने संवैधानिक व्यवस्था छ । यसअनुसार प्रतिनिधिसभाका २७५ र राष्ट्रिय सभाका ५९ गरी ३३४ सांसदमध्ये कम्तीमा ११० जना महिला हुनुपर्छ । यो निर्वाचनमा दलहरूले महिलालाई उपेक्षा गरेर झिनो संख्यामा मात्रै टिकट दिएका थिए, उनीहरूमध्ये पनि अधिकांश पराजित भए । अब अपुग महिलाको संख्या समानुपातिकबाट पुर्‍याउनुपर्नेछ ।

समानुपातिकबाट यी पुग्दै छन् संसदमा

समानुपातिकको बन्दसूचीमा रहेका कुल उम्मेदवारमध्ये दलहरू खस–आर्य समूहबाट ३१.२%, आदिवासी जनजातिबाट २८.७%, मधेसीबाट १५.३%, दलितबाट १३.८%, थारूबाट ६.६% र मुस्लिमबाट ४.४% प्रतिनिधित्व गराउनुपर्ने कानुनी व्यवस्था छ । शुक्रबार मध्यरातिसम्मको मतपरिणाम र अग्रतालाई हेर्दा बन्दसूचीमा रहेका यी नाम सांसद बन्न सक्छन् । 

एमालेले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा ११० जनाकै नाम समावेश थियो । समानुपातिकतर्फ बुझाएका ती नाममध्ये खस–आर्य समूहबाट क्रमशः रघुजी पन्त, एकनाथ ढकाल, कुमार दसौदी, दयालबहादुर शाही र खिमलाल पोखरेल, जनजातिबाट देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई, भीमबहादुर खवास, सरोज डंगोल, मधेसीबाट गंगाप्रसाद यादव, अमृतलाल राजवंशी र उपेन्द्रप्रसाद साह, दलितबाट ईश्वरबहादुर रिजाल (विक) र प्रभु हजारा दुसाध, थारुबाट सत्यनारायण चौधरी र मुस्लिमबाट सराज अहमद फारुकी सांसद बन्ने देखिन्छ ।

प्रतिनिधिसभाको समानुपातिकतर्फबाट छानिने एक सय १० जनामध्ये दलहरूले ६५ प्रतिशत महिला पठाउनुपर्ने भएको छ । शुक्रबार मध्यरातिसम्मको परिणाम केलाउँदा थ्रेसहोल्ड कटाउने अर्थात् तीन प्रतिशत मत ६ दलले ल्याउने देखिन्छ । उनीहरूले समानुपातिकबाट करिब ७२ महिला पठाउनुपर्ने हुन्छ । 

संविधानले नै संसद्मा ३३ प्रतिशत महिला सहभागिताको व्यवस्था गरेको छ । तर, प्रमुख दलहरूले प्रत्यक्षतर्फ उम्मेदवार बनाउँदा नै महिलालाई उपेक्षा गरेर झिनो संख्यामा मात्रै टिकट दिएका थिए । उनीहरूमध्ये पनि अधिकांश पराजित भएका छन् । अब दलहरूले त्यसको क्षतिपूर्ति समानुपातिकबाट गर्नुपर्नेछ । 

दलहरूले प्रत्यक्षबाट  पूर्ति हुन नसकेका र समानुपातिकबाट पाउने सिट तथा राष्ट्रिय सभामा अपुग रहेको संख्याका आधारमा अधिकांश सिट महिलाका लागि छुट्याउनुपर्ने हुन्छ । 

प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को व्यवस्थाअनुसार संघीय संसद् (राष्ट्रिय सभा तथा प्रतिनिधिसभा)को कुल संख्याको ३३ प्रतिशत हुने गरी महिलाको प्रतिनिधित्व गराउनुपर्ने हुन्छ । निर्देशिकाको दफा ३३ को उपदफा ५ मा समानुपातिकको सिट बाँडफाँडबारे भनिएको छ, ‘समानुपातिक निर्वाचन प्रणालीबमोजिम हुने निर्वाचनबाट प्रतिनिधित्व गराउनुपर्ने महिलाको संख्या निर्धारण गर्दा त्यस्तो दलको तर्फबाट राष्ट्रिय सभामा कायम रहेको सदस्य संख्या तथा प्रतिनिधिसभामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने कुल सदस्य संख्याको कम्तीमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुने गरी निर्धारण गर्नुपर्नेछ ।’

निर्वाचन आयोगले समानुपातिकतर्फ ६२ प्रतिशत मत खसेको अनुमान गरेको छ । यसअनुसार कुल एक करोड ७९ लाख ८८ हजार ५७० मतदातामध्ये एक करोड ११ लाख ५२ हजार ९१३ ले मतदान गरेको अनुमान गर्न सकिन्छ । आयोगले दुई प्रतिशत अर्थात् दुई लाख २३ हजार ५८ मत बदर हुने अनुमान गरेको छ । यस हिसाबले एक करोड नौ लाख २९ हजार ८५५ मत सदर हुने आकलन गर्न सकिन्छ । त्यसमध्ये पनि १० प्रतिशत अर्थात् दश लाख ९२ हजार ९८५ मत थ्रेसहोल्ड नकट्ने आउने आयोगको अनुमान छ । आयोगका अनुसार एक सिटका लागि सरदर ९८ हजार मत आवश्यक पर्ने हुन्छ । 

आयोगको प्रक्षेपणअनुसार समानुपातिकमा एमालेले ३४, कांग्रेसले ३४, माओवादीले १५, राष्ट्रिय स्वतन्त्र पार्टीले १५, राप्रपाले आठ र जसपाले चार सिट पाउने सम्भावना छ । 

दलहरूले समानुपातिकतर्फ महिला धेरै छान्दा पनि अनिवार्य रूपमा क्लस्टरअनुसार प्रतिनिधित्व गराउनुपर्ने निर्वाचन आयोगले जनाएको छ । यद्यपि, दलहरूले क्लस्टरको क्रम संख्याभन्दा पार्टीको सिफारिसअनुसार गर्न पाउनुपर्ने भन्दै आयोगलाई दबाब दिँदै आएका थिए । दलहरूको दबाब बढेपछि आयोगले विज्ञप्ति नै जारी गरेर क्लस्टरअनुसार महिलाको प्रतिनिधित्व गराउन निर्देशन दिइसकेको छ । १० प्रतिशतभन्दा कम सिट पाउनेको हकमा भने केही लचकता अपनाइने आयोगले जनाएको छ ।

प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ ले खस–आर्य ३१.२ प्रतिशत , मधेसी १५.३ प्रतिशत, आदिवासी जनजाति २८.७ प्रतिशत, दलित १३.८ प्रतिशत, थारू ६.६ प्रतिशत, मुस्लिम ४.४ प्रतिशत, पिछडिएको क्षेत्र ४.३ प्रतिशत हुनुपर्ने व्यवस्था गरेको छ । सबै क्लस्टरमा ५० प्रतिशत महिला अनिवार्य हुनुपर्छ । यसबाहेक प्रत्यक्षमा नपुगेको ३३ प्रतिशत संख्या पुर्‍याउन पनि कलस्टरमा महिला थप्नुपर्ने हुन्छ ।

संविधानको धारा १८ मा पिछडिएका महिलालाई माथि ल्याउने गरी समानताको हक सुनिश्चित गरिएको छ । धारा ३८ (४) मा राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक दिएको छ । धारा ४२ ले सामाजिक समानताको हकअन्तर्गत महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागी हुने हक दिएको छ ।

शुक्रबार मध्यरातसम्मको मतगणनामा कांग्रेसले प्रत्यक्षतर्फ ४५ सिट जितको छ । नौ सिटमा अग्रता लिइरहेको छ । जित्ने र अग्रता लिनेमा महिला एकजना पनि छैनन् । समानुपातिकतर्फ अहिलेसम्म कांग्रेसले १४ लाख २३ हजार ७८९ मत पाएको छ । यही अनुपातमा मत पाए उसले समानुपातिकबाट ३३ सिट पाउने देखिन्छ । अहिले राष्ट्रिय सभामा कांग्रेसका १० सांसदमध्ये तीन महिला छन् । यस हिसाबले अब समानुपातिकबाट पाउने ३३ सिटमध्ये कांग्रेसले ३३ प्रतिशत अर्थात् ३२ महिला अनिवार्य पठाउनुपर्ने देखिन्छ । 

यसअनुसार कांग्रेसले दलित क्लस्टरबाट शान्ति विक, रूपा विक, सीता मिजार र आशा विक, आदिवासी जनजाति क्लस्टरबाट सरस्वती बजिमय, लीलादेवी वोखिम (लिम्बू), सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी जोशी, माया राई, कुसुम थापामगर र मनोरमा शेरचन पर्नेछन् । त्यस्तै, खस–आर्यबाट अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल र मैना रावल कार्की संसद्मा प्रवेश गर्नेछन् । थारू क्लस्टरबाट कल्पना चौधरी र विनाकुमारी थनेत, मधेसी क्लस्टरबाट नगिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी र संगीता मण्डल तथा मुस्लिमबाट जावेदा खातुन जागा र देवकला सुवेदी (कमाल) संसद् प्रवेश गर्ने देखिन्छ । 

यसबाहेकका बाँकी चारजना पुरुष पनि समानुपातिकबाट छानिने देखिन्छन् । खस–आर्यतर्फबाट डा. प्रकाशरण महत, आदिवासी जनजाति क्लस्टरबाट गोपालमान श्रेष्ठ, दलिततर्फ जीवन परियार, मधेसीतर्फ विमलेन्द्र निधि र थारू क्लस्टरमा योगेन्द्र चौधरीको नाम पहिलो नम्बरमा छ ।

एमालेले प्रत्यक्षतर्फ ३८ सिटमा जित निकालेको छ भने ६ सिटमा अग्रता लिइरहेको छ । एमालेबाट महिला उम्मेदवार रहेका कास्की २ मा विद्या भट्टराई, धनुषा ३ मा जुलीकुमारी महतो र बारा ३ मा ज्वालाकुमारी सिंह निर्वाचित भइसकेका छन् । सुनसरी ३ मा भगवती चौधरीले अग्रता बनाइरहेकी छिन् । समानुपातिकतर्फ एमालेले १४ लाख ९७ हजार ७११ मत पाएको छ । यही अनुपातमा मत पाउँदै गए उसले समानुपातिकबाट ३५ सिट पाउने देखिन्छ । राष्ट्रिय सभामा एमालेका १५ सांसदमध्ये नौ महिला छन् । अब समानुपातिकबाट पाउने ३५ सिटमध्ये एमालेले कम्तीमा १८ महिला प्रतिनिधित्व गराउनुपर्ने हुन्छ । एमालेले प्रत्यक्षमा र समानुपातिक गरी ७९ सिट पाउने सम्भावना छ । 

यस आधारमा एमालेबाट समानुपातिकबाट संसद्मा सहभागी हुने महिलामा दलित क्लस्टरतर्फबाट रुक्मणी राना बराइली र हर्कमाया विश्वकर्मा, खसआर्य क्लस्टरबाट मेनुकाकुमारी पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, बिजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, आदिवासी जनजातिबाट नैनकला थापामगर, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेबे, ईश्वरी घर्ती, रणकुमारी बलम्पाकी मगर, मधेसीबाट विना देवी, अमृतादेवी अग्रहरी र प्रतीक्षा तिवारी मुखिया हुन सक्छन् । त्यस्तै थारूबाट अस्माकुमारी चौधरी र मुस्लिमबाट रुही नाज पर्ने देखिन्छ । 

एमालेमा यसबाहेक १६ जनाको प्रतिनिधित्व हुने अवस्था छ । यसबाहेक खस–आर्यतर्फ रघुजी पन्त, एकनाथ ढकाल, कुमार दसौदी, दयालबहादुर शाही, खिमलाल पोखरेल, जनजातिबाट देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई, भीमबहादुर खवास र सरोज डंगोल, मधेसीबाट गंगाप्रसाद यादव, अमृतलाल राजवंशी र उपेन्द्रप्रसाद साह, दलितबाट ईश्वरबहादुर रिजाल(विक) र प्रभु हजारा दुसाध, थारूबाट सत्यनारायण चौधरी तथा मुस्लिमबाट सराज अहमद फारुकी सांसद बन्ने देखिन्छ । 

माओवादीले १५ सिट प्रत्यक्षमा जीत निकालेको छ । तीन स्थानमा अग्रता कायम गरिरहेको छ । अहिलेसम्म समानुपातिकमा माओावादीले ६ लाख ३५ हजार ७७ मत पाएको छ । यहि अनुपातमा मत पाएमा माओवादीले समानुपातिकमा १५ सिट पाउने देखिन्छ । दुवैतर्फ गरेर उसले ३४ सिट पुर्‍याउने सम्भावना छ । माओवादीबाट दाङ २ बाट रेखा शर्माले जीत निकालेकी छन् । राष्ट्रियसभामा माओवादीका १५ मध्ये तीन महिला सांसद छन् । ३३ प्रतिशत महिला सहभागिता पुर्‍याउन अब उसले समाुनपातिकबाट १२ महिला पठाउनुपर्छ । 

माओवादीबाट खसआर्य समुहबाट ज्ञानु बस्नेत सुवेदी, विमला सुवेदी, नारायणी शर्मा र तेत्राकुमारी अधिकारी , आदिवासी जनजातिबाट दुर्गा राई, मिना तामाङ र उर्मिला माझि पौडेल, मधेशीबाट मिना यादव र उमरावती देवी यादव, दलितबाट शुशिला श्रीपाली ठकुरी र पार्वती विक तथा थारूबाट रुपा सोसी चौधरी सांसद बन्ने देखिन्छ । यसबाहेक पुरुष खस आर्यतर्फबाट हितराज पाण्डे, मधेशीबाट रामेश्वर राय यादव र दलितबाट रणेन्द्र बराली सांसद हुने देखिन्छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीले सात स्थानमा जीत निकालेको छ, एक स्थानमा अग्रता लिइरहेको छ । समानुपातिकमा ६ लाख ७१ हजार ९०३ मत पाएको छ । यही अनुपातमा मत पाउदा १५ सिट पाउने देखिन्छ । स्वतन्त्र पार्टीबाट काठमाडौं २ बाट सोविता गौतम र ललितपुर ३ बाट तोसिमा कार्कीले जीत हासिल गरिसकेका छन् । स्वतन्त्र पार्टीलाई एकतीहाई महिला पुर्‍याउन ८ सिट आवश्यक पर्छ । अग्रता लिइरहेकासहित दुई महिला निर्वाचित भएको अवस्थामा पाँच सिट समानुपातिकबाट समावेश गर्नुपर्ने हुन्छ । जसमा ६ क्लस्टरबाट एक क्लस्टरमा बढीमा दुई जना या क्लस्टर अनुसार एकएक जनाका दरले सूची बुझाउन सक्छ । खस आर्यबाट प्रा.डा. चन्दा कार्की र निहान डाँगी ,जनजातीबाट इन्दिरा रानामगर, मधेशीबाट लक्ष्मि तिवारी र दलितबाट कल्पना रोकाको सांसद बन्ने सम्भावना छ । यसबाहेक ९ सिटमा पुरुष आउनेछन् । 

राप्रपाले ६ स्थानमा जति निकालेको छ । एक स्थानमा अग्रता लिइरहेको छ । समानुपातिकमा तीन लाख ३९ हजार ५२९ मत पाएको छ । यहीअनुपातमा मत पाएमा राप्रपाले आठ सिट पाउने सम्भावना छ । राप्रपामा प्रत्यक्षतर्फ महिला आउने अवस्था नरहेकाले एकतीहाई महिलाका लागि ५ महिला आवश्यक पर्छन् । आयोगले पाँच सिटका लागि भने ६ क्लस्टरबाट एक क्लस्टरमा बढीमा दुई जना या क्लस्टर अनुसार एकएक जनाका दरले सूची बुझाउन सक्छ । यस आधारमा राप्रपाले प्राथमिकताका आधारमा क्लस्टर अनुसार एकजनाको दरले नाम बुझाए दलितबाट अनिशा नेपाली, खसआर्यबाट रोशन कार्की, आदिवासी जनजातिबाट बिना लामा मधेशीबाट बिना जयसवाल, थारूबाट शिला कुमारी थारू पर्ने सम्भावना छ । तीन जना पुरुष छनोट हुनेछन् । 

जसपाले अहिलेसम्म तीन जित निकालेको छ भने ३ स्थानमा अग्रता लिइहरेको छ । समानुपातिकमा एक लाख ७७ हजार ४६० मत पाएको छ । यही अनुपातमा मत पाँउदा जसपाले चार सिट समानुपातिकमा पाउने देखिन्छ । यस आधारमा जसपाले १० सिट पाउने सम्भावना छ । राष्ट्रियसभामा जसपाको एक महिला सहित तीन सांसद् छन् । अब तीन महिला समानुपातिकबाट पुर्ति गर्नुपर्ने हुन्छ । जसपामा खस आर्यबाट रेखा यादव थापा, जनजातीबाट शुशीला श्रेष्ठ र मधेशीबाट रञ्जुकुमारी झा(ठाकुर) को सम्भावना छ । 

कसरी छानिन्छन् समानुपातिक सांसद ? के छ कानुनी व्यवस्था ?

प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को दफा ३३ को उपदफा ५ मा भनिएको छ, ‘समानुपातिक निर्वाचन प्रणालीबमोजिम हुने निर्वाचनबाट प्रतिनिधित्व गराउनुपर्ने महिलाको संख्या निर्धारण गर्दा त्यस्तो दलको तर्फबाट राष्ट्रिय सभामा कायम रहेको सदस्य संख्या तथा प्रतिनिधिसभामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने कुल सदस्य संख्याको कम्तीमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुने गरी निर्धारण गर्नुपर्नेछ ।’

संविधानको व्यवस्थाअनुसार संसद्मा ३३ प्रतिशत महिला सहभागिता हुन्छ : दिनेश थपलिया प्रमुख निर्वाचन आयुक्त

संविधानमै संसद्मा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरिएको छ । तर, दलहरूले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ महिला उम्मेदवार न्यून बनाए । उम्मेदवार बनेकामध्ये पनि विजयी हुने महिला एकदमै कम छन् ।

अब दलहरूले संविधानको समानुपातिक समावेशी सिद्धान्तअनुसार ३३ प्रतिशत महिला प्रतिनिधित्व हुने गरी सिट बाँडफाँड गर्नुपर्छ । कानुनी रूपमै समावेशी समूहको व्यवस्था गरिएको छ । त्यही क्लस्टरको प्रतिशत अनुपातमा सिट संख्या बाँडफाँड गर्नुपर्छ । जस्तो कि ३३ प्रतिशत महिलामा दलित, मुस्लिम, मधेसी, आदिवासी जनजाति, थारूबाट पनि अनुपातअनुसार आउनुपर्छ । एकतिहाइ पुर्‍याउने नाममा खसआर्य समूहबाट मात्रै राख्न मिल्दैन । समानुपातिक समावेशीमा सबै समूहको प्रतिनिधित्व हुनुपर्छ । अधिकतम समावेशी बनाउन आयोग प्रतिबद्ध छ । यो व्यवस्थालाई कार्यान्वयन गर्न आयोग कठोर बन्छ । 

६१ निर्वाचन क्षेत्रमा महिला उम्मेदवारी शून्य थियो

प्रतिनिधिसभाका एक सय ६५ निर्वाचन क्षेत्रमध्ये ६१ निर्वाचन क्षेत्रमा महिला उम्मेदवार शून्य थिए । एक सय चार निर्वाचन क्षेत्रमा मात्रै दलतर्फका र स्वतन्त्रबाट महिला उम्मेदवार थिए । ३६.९७ प्रतिशत क्षेत्र महिला उम्मेदवारविहीन थिए । निर्वाचन आयोगमा दर्ता भएका ६१ राजनीतिक दलबाट २१ सय ८७ पुरुष र दुई सय २५ महिला मात्रै उम्मेदवार थिए । महिलाको यो उम्मेदवारी ९.३३ प्रतिशत मात्र हो । 

निर्वाचन आयोगको तथ्यांकअनुसार कांग्रेसले उठाएका ९१ मध्ये पाँच मात्रै महिला उम्मेदवार थिए । त्यस्तै, एमालेले एक सय ४१ स्थानमा उम्मेदवारी दिएकोमा ११, माओवादीले ४६ मध्ये आठ, राप्रपाले एक सय ३२ मध्ये आठ, जसपाले ७९ मध्ये सात र राष्ट्रिय स्वतन्त्र पार्टीले १३१ मध्ये १२ महिला उम्मेदवार बनाएको थियो । त्यस्तै, स्वतन्त्रतर्फ उम्मेदवार बनेका आठ सय ६७ मध्ये ७७ जना महिला थिए ।

(नयाँ पत्रिकामा प्रकाशित यो समाचारमा कांग्रेस नेतृ मञ्जु खाणको नाम र फोटो एमालेको समानुपातिक सूचीमा पनि पर्न गएकाले क्षमयाचनासहित सच्याएका छौँ । एमालेको खस-आर्य महिलातर्फको छैटौँ नम्बरमा सम्झना थपलिया छिन् । - सम्पादक)