१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o९:४५:oo
Read Time : > 3 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

परम्परागत समाजमा मैले रोजेको स्वतन्त्रता

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o९:४५:oo

मैले कानमुनिसम्म आउने गरी कपाल छोट्याउने निर्णय गरेकी थिएँ । मेरी आमाको नजरमा यो अक्षम्य थियो किनकि भारतीय नारीको सौन्दर्य भनेको उनको लामो र कालो कपाल हो । खुट्टा देखिने गरी छोटो स्कर्ट लगाएर कलेज जाँदा रिसले आगो भएकी मेरी आमाको डरलाग्दो अनुहार मलाई अझै याद छ ।

मलाई मेरा आमाबाबुको कुरा सुन्न, एउटा पति खोज्न र आफ्ना जरुरतलाई बेवास्ता गर्न भनियो । तर, मैले आफ्नै बाटो लिने निर्णय गरेँ । एउटा निकै परम्परागत मुम्बैया परिवारमा हुर्केकी केटी भएकीले मलाई थाहा थियो– म हुर्केबढेर एक निश्चित प्रकारको युवती बनोस् भन्ने अपेक्षा गरिएको थियो ।

मलाई सिकाइएको कुरा यस्तो छ : एक असल भारतीय नारी आज्ञाकारी हुन्छिन्, आफ्नो अभिभावक र समाजले भनेअनुसारको जीवन बाँच्छिन् । एउटी असल भारतीय नारीले चाँडै ‘विवाह’ गर्छिन्, चाँडै आमा बन्छिन् । किनभने यो नै उनको मुख्य सार्थकता हो । एउटी असल भारतीय नारीले आफ्नो शरीरको कुनै पनि अंग प्रदर्शन गर्दिनन् । उनी आफ्नो यौन इच्छा प्रकट गर्दिनन् । एक असल भारतीय नारीले आफ्ना आवश्यकतालाई बेवास्ता गर्छिन् र अरूको सेवा गर्दै आफ्नो जीवन बिताउँछिन् । मेरी आमा, मेरी हजुरआमा र उनीहरूभन्दा पहिले पनि धेरै महिलाहरूले ठ्याक्कै यस्तै जीवन बिताएका थिए ।

मलाई विवाह गर्न चाहने पहिले पुरुषसँग मागी विवाहअन्तर्गत मलाई विवाह गर्न दबाब दिइयो, जहाँ मलाई मेरो ‘भावी पति’बारे केही थाहा थिएन । मलाई सबैखाले परम्परागत परिकार बनाउन सिकाइएको थियो किनभने मेरी आमा भन्ने गर्नुहुन्थ्यो, ‘तिमीले राम्रो पकाउन जानिनौ भने तिम्री सासूले के भन्लिन् ?’ मलाई भनिएको थियो, कहिल्यै पनि आफ्ना खुट्टा वा पाखुरा नदेखाउनू, सधैँ छोप्नू । ताकि मलाई छुने वा हेर्ने लालसा कसैले नगरोस् । 

मैले मेरो परिवारले चाहेको नारी बन्ने प्रयास गरेँ । मैले विद्यालयमा मिहिनेत गरेर पढेँ, राम्रो अंक प्राप्त गरेँ । म एक लजालु केटी थिएँ, नजर कहिल्यै माथि नउठाउने । केटाहरूसँग बोल्न धेरै लाज मान्ने । म कुनै पार्टीमा गइनँ । मलाई साँझ ७ बजेपछि घरबाहिर बस्ने अनुमति थिएन । तर, म पेटमा आगो लिएर जन्मिएको थिएँ । मेरो मथिंगलमा एउटा आवाज थियो जसले मलाई समाज र परिवारले सिकाएको सबै कुरामा प्रश्न गर्न लगाउँथ्यो । 

मलाई जीवनमा पहिलोपटक एक्लै हुनुको आनन्द लिँदै भाडाको नयाँ फ्ल्याटमा पाइला टेकेको सम्झना छ । आफैँले बेलिज (त्यतिवेला मेरो रोजाइको पेय)लाई सिसाको सानो ग्लासमा खन्याउँदा र सर्ट लगाएर बस्दा चिट्ठा जितेजस्तो अनुभूति गरेको सम्झन्छु म ।

मेरो मथिंगलमा गुन्जिने त्यो आवाज निकै छिटो एउटा ठुलो आवाजमा रूपान्तरण भएर मेरो मुखबाट निस्कियो । मैले मेरो परिवारलाई उनीहरूले जसरी नै सोधेँ, ‘म किन सधैँ चुप बस्नुपर्छ ? ‘पुरुषहरूलाई किन यस्तायस्ता काम गर्न अनुमति दिइन्छ र महिलाहरूलाई त्यही गर्ने अनुमति किन छैन ?’ निःसन्देह, मेरो आवाज उनीहरूलाई पचेन । मेरो परिवारलाई ‘यो केटीले तिमीहरूको इज्जत माटोमा मिलाउँछे,’ भनेर चेतावनी दिने मेरा थुप्रै काकी र काका थिए । 

तर, त्यसले मेरो आवाज बन्द भएन । किनकि हामीकहाँ महिलाहरूलाई कति नराम्रो व्यवहार गरिन्छ भन्ने मैले देखेकी थिएँ । झिसमिसेदेखि राति अबेरसम्म खाना पकाउने, सरसफाइ गर्ने र अरूलाई सेवा गर्ने महिलाहरू नै हुन्थे । तपाईंलाई कुटपिट गर्ने श्रीमान्देखि नराम्रो व्यवहार गर्ने सासू र घरबाट बाहिर निस्किँदा हरेकपटक पुरुषद्वारा महिलाहरूलाई नै ‘एडजस्ट’ हुन भनिन्थ्यो । महिलाहरूलाई यही उनीहरूको भाग्य भएको र यसैलाई उनीहरूले सहँदै चुपचाप बस्नुपर्छ भनिएको थियो । मैले सहेर चुप लागेर बस्न चाहिनँ । 

मेरो कुनै यस्तो क्षण हुँदैनथ्यो, जसमा ‘असल भारतीय नारी’ हुन छोड्ने निर्णय गर्न नखोजेको होस् । यो रुढीवादी आदर्शलाई सुनिश्चित रूपले परित्याग गर्न मलाई ती पल, दिन र वर्षहरूको एउटा शृंखला नै लाग्यो । 

मलाई लाग्छ, म यो निर्णयमा पुग्नमा मेरी आमाको जीवन कति दुःखदायी छ भन्नेकुराको बोधले (साहित्यमा डिग्री गरेकी महिला जो अहिले आफ्नो दिन अन्तहीन सरसफाइ, भात भान्सामा बिताउँछिन्) काम गरेको हुनुपर्छ । मलाई याद छ जब म १८ वर्षको थिएँ । मैले मेरो कपाल छोट्याउने निर्णय गरेकी थिएँ, कानमुनिसम्म आउने गरी । मेरी आमाको नजरमा यो अक्षम्य थियो किनकि भारतीय नारीको सौन्दर्य भनेको उनको लामो र कालो कपाल हो । खुट्टा देखिने गरी छोटो स्कर्ट लगाएर कलेज जाँदा रिसले आगो भएकी मेरी आमाको डरलाग्दो अनुहार मलाई अझै याद छ । मलाई ‘असल भारतीय नारी’ हुन छोड्नुको अर्थ म अन्ततः आफूले चाहेको नारी बन्नुरहेछ भनेर आभास भयो । 

ती थुप्रै लडाइँको लामो यात्राको सुरुवात थियो । मैले करिब एक घन्टाको उडानमा पुगिने बेंगलुरुमा जागिर पाएँ । र, मलाई जीवनमा पहिलोपटक एक्लै हुनुको आनन्द लिँदै भाडाको नयाँ फ्ल्याटमा पाइला टेकेको सम्झना छ । आफैँले बेलिज (त्यतिवेला मेरो रोजाइको पेय)लाई सिसाको सानो ग्लासमा खन्याउँदा र सर्ट लगाएर बस्दा चिट्ठा जितेजस्तो अनुभूति गरेको सम्झन्छु म । त्यस दिनपछि म आफ्नो जीवनमा थुप्रै परिवर्तनबाट गुज्रिएँ । अन्ततः सन् २००५ मा बेलायतमा गएँ । बेलीको मीठो स्वादले मलाई मेरो स्वतन्त्रताको पहिलो आस्वादनको सम्झना गराउँछ । 

आज जब म ती युवतीलाई फर्केर हेर्छु, मलाई गर्व लाग्छ कि भारतीय नारीको त्यो आदर्शलाई त्याग्न उनमा साहस भएकोमा । आफूलाई सही लागेको गर्ने सामर्थ्य राखेकोमा । यसको सार यस्तो छ, ‘असल भारतीय नारी’को आदर्श परित्याग गर्दा त्यसले मलाई ‘पूर्ण स्वतन्त्र भारतीय नारी’मा रूपान्तरण गरेको छ । यस्तो महिला जसले सांस्कृतिक निषेध र चुनौतीपूर्ण परम्परागत मूल्य मान्यतासँग जुध्न र पुरस्कार जित्न सफल मसला पोडकास्ट र सोल सुत्राज प्लाटफर्मको सिर्जना गरिन् । यस्तो महिला जो दक्षिण एसियाली महिलाको हाम्रो आवाज, हाम्रो शरीर स्वामित्व लिँदै त्यसबारे कुरा गर्न विश्वभरका स्रोतसामु उभिन्छिन् । यस्ती महिला जो अरू हजारौँ महिलाहरूलाई प्रेरित गर्छे । उनीहरू मलाई आफ्नो जीवन परिवर्तन गर्न सहयोग गरेकोमा मलाई धन्यवाद भन्दै हरेक दिन लेख्छन् । 

म ‘असल भारतीय नारी’को आदर्श छोड्ने आँट आफूमा आएकोमा धेरै कृतज्ञ छु । किनकि अहिले म ठ्याक्कै त्यस्तो महिला हुँ जसको मैले कल्पनासमेत गरेकी थिइनँ । दक्षिण एसियाली नारीहरूका लागि लड्ने एक जुझारु नारीवादी नारी । एक सर्वाेत्तम नारी । 
–गार्जियन

ad
ad