मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नवदीप अजनवी नुवाकोट
२०७९ मङ्सिर १ बिहीबार १८:३२:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

नुवाकोट २ : गठबन्धन र एमालेलाई नयाँको त्रास 

Read Time : > 2 मिनेट
२०७९ मङ्सिर १ बिहीबार १८:३२:००

सन्निकटमा रहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा नुवाकोट क्षेत्र नं २ मा ठूला दलका उम्मेदवारलाई साना दलका उम्मेदवारको चुनावी माहोलले त्रास बढाएको छ। गठबन्धनबाट कांग्रेसका अर्जुननरसिंह केसी र एमालेका नारायणप्रसाद खतिवडाबीच मुख्य प्रतिस्पर्धा हुने ठानिएको यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुमनविक्रम पाण्डेले बलियो उपस्थिति देखाएपछि गठबन्धन र एमालेमा आशंका बढेको छ।

कांग्रेसका उम्मेदवार केसीको यो प्रजातन्त्रपछिको सातौँ उम्मेदवारी हो। अर्थात् २०४८ सालदेखि यता भएका सबै निर्वाचनमा उम्मेदवार भएका कांग्रेस नेता केसीले अहिलेको निर्वाचनलाई आफ्नो जीवनकै ‘अन्तिम’ निर्वाचन भनेर मत मागिरहेका छन्। ७५ वर्षीय उम्मेदवार केसीको मत माग्ने मुख्य अस्त्र नै ‘अन्तिम निर्वाचन’ हो। केसीले भन्दै आएका छन्, ‘योपटक भोट दिनुहोस्, अर्कोपटक भोट माग्न आउनेछैन। नयाँलाई अवसर दिनेछु।’

२०३८ सालमै राष्ट्रिय पञ्चायतको सदस्य निर्वाचित भएर राज्यमन्त्री र २०४४ सालमा नुवाकोट जिल्ला पञ्चायतको सभापति भइसकेका उम्मेदवार केसीले नुवाकोटमा आफूले थालेका अधुरा कामहरूलाई पूर्णता दिन चुनावी मैदानमा आएको बताएका छन्। ०४८ यता तीनपटक सांसद र तीनपटकमन्त्री भएका केसीले भने, ‘विदुरबाट धादिङ–किम्ताङ हुँदै जोड्ने सडक, सामरी हुँदै धादिङ जोड्ने सडक, मान्द्रेढुंगाबाट धादिङ जोड्नेबाटो, तुप्चे हुँदै भाल्चे जाने सडक, ढिकुरे, आपरह, गोलभन्ज्याङ जाने सडकको प्रारम्भ मैले गरेको हुँ। यसलाई पूरा गर्ने मेरो प्रमुख एजेन्डा हो।’ 

एमाले उम्मेदवार खतिवडाको यो तेस्रो उम्मेदवारी हो। ०७० को दोस्रो संविधानसभा निर्वाचनमा पराजित खतिवडा ०७४ को आमनिर्वाचनमा माओवादीको सहयोगमा निर्वाचित भएका थिए। गत निर्वाचनमा नेपाली कांग्रेसका केसीलाई पराजित गरेका खतिवडाको योपटक पनि केसीसँग नै मुख्य प्रतिस्पर्धा चलिरहेको छ। त्रिशूली अस्पताललाई उत्कृष्ट बनाउन र कोराना परीक्षणका लागि ल्याब स्थापना गर्न एमालेको भूमिका रहेको बताउने खतिवडाले स्वास्थ्य, कृषि, शिक्षा, रोजगारीलगायतको विषयहरूलाई एजेन्डा बनाएर मत मागेका छन्। ‘दुई वर्षभित्रमा बालाजु–रानीपौवा–पिपलटार सडक निर्माण सम्पन्न गर्ने कार्ययोजना बनाएर अघि बढ्ने मेरो प्रतिबद्धता रहेको छ,’ उनले नयाँ पत्रिकासँग बताए।

ठूला भनिएका दलका उम्मेदवारहरूसँग भिड्न नुवाकोटमा राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डे अघि सरेका छन्। कम आकलन गरिएका पाण्डे खतिवडा र केसीका लागि प्रमुख प्रतिस्पर्धीका रूपमा देखिएका छन्। पार्टीका असन्तुष्ट पक्षका मत र स्वतन्त्र मतहरू पाण्डेले लैजान सक्ने प्रबल सम्भावना छ। त्यसो भएमा खतिवडा र केसीबीचको प्रतिस्पर्धामा पाण्डेले पाउने मत निर्णायक हुनेछ। ३३ वर्षसम्म पर्यटन व्यवसायमा संलग्न, नुवाकोटको खेलकुदमा समेत योगदान दिएका पाण्डेले लिने मत एमाले, कांग्रेस र माओवादीकै असन्तुष्ट मतदाताको भएको कारण ठूला दललाई त्रास उत्पन्न गराएको हो। उम्मेदवार पाण्डेले भने, ‘विभिन्न आन्दोलनबाट स्थापित दलहरूबाट गतिलो काम हुन सकेन। देशमा जे भइरहेको छ, त्यो पटक्कै ठीक छैन। जनता, समाज र देश बदल्नका लागि आएको हुँ।’

एक लाख १८ हजार नौ सय ७४ मतदाता रहेको यो क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी ११ उम्मेदवार चुनावी मैदानमा छन्।

यस्तो छ स्थानीय चुनावको अंकगणित
गत वैशाखमा भएको स्थानीय तहमा प्राप्त मतलाई आधार मान्दा यो क्षेत्रमा गठबन्धन बलियो देखिएको छ। निर्वाचन आफ्नो पक्षमा बनाउनको लागि एमालेले अर्को पक्षको मत चोर्ने र गठबन्धनले आफ्नो मत जोगाउने चुनौती छ।

दुई नगरपालिका र तीन गाउँपालिका रहेको क्षेत्र नं. २ मा गत स्थानीय निर्वाचनमा कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरूले २९ हजार आठ सय ६१ मत ल्याएका थिए। एमालेका वडाध्यक्षका उम्मेदवारहरूले २६ हजार ७७ मत ल्याएका थिए। त्यसैगरी, माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवाहरूले १४ हजार पाँच सय ७८, राप्रपाले दुई हजार एक सय र एकीकृत समाजवादीले नौ सय ६१ मत ल्याएका थिए।

प्रदेशतर्फ मुख्यमन्त्रीको चर्चा
नुवाकोट क्षेत्र नं. २ प्रदेश क्षेत्र १ मा एमालेका उम्मेदवार केशवराज पाण्डे र प्रदेश क्षेत्र २ मा कांग्रेसका उम्मेदवार बहादुरसिंह लामाले आफूलाई भावी मुख्यमन्त्रीको रूपमा प्रस्तुत गर्दै आएका छन्। एमाले बागमती प्रदेश समितिका अध्यक्ष रहेका उम्मेदवार पाण्डे प्रदेश सरकारको आन्तरिक मामिलामन्त्री भइसकेका छन्। पाण्डेले मुख्यमन्त्री हुनका लागि पहिलो खुट्किलोका रूपमा गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार रामप्रसाद ढुंगानालाई पराजित गर्नुपर्ने हुन्छ। तर, स्थानीय तहको निर्वाचन केलाउँदा यो प्रदेश क्षेत्रमा गठबन्धनको मत धेरै देखिन्छ। यो प्रदेशमा पाण्डे, ढुंगानासहित १३ जना उम्मेदवार चुनावी मैदानमा छन्। 

प्रदेश क्षेत्र २ मा कांग्रेस उम्मेदवार लामाको मुख्यमन्त्री हुने सपना पूरा हुनका लागि एमालेका विजय लोप्चन पराजित हुनुपर्छ। लामाको आफ्नो गृहक्षेत्र बलियो रहेको र गत स्थानीय तह निर्वाचनमा यो प्रदेशका तीन पालिकामा कांग्रेस बलियो देखिएको छ। त्यसमा माओवादीको पनि साथ रहेकाले लामा थप ढुक्क देखिन्छन्। यो प्रदेश क्षेत्रमा लामा, लोप्चनसहित ६ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन्।