मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी नयाँदिल्ली
२०७९ कार्तिक २९ मंगलबार ०७:१२:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

अम्बानीको नजर लिभरपुलमाथि

Read Time : > 1 मिनेट
एजेन्सी, नयाँदिल्ली
२०७९ कार्तिक २९ मंगलबार ०७:१२:००

भारतका उद्योगपति मुकेश अम्बानीले इंग्लिस प्रिमियर लिग (इपिएल)को लिभरपुल क्लब किन्ने इच्छा देखाएका छन् । भारतको रिलायन्स कम्पनीका मालिक अम्बानीले इपिएलकै सर्वाधिक प्रतिष्ठित क्लब लिभरपुललाई आफ्नो स्वामित्वमा ल्याउने प्रयास गरेको बेलायती मिडिया द सनले जनाएको छ । बेलायती मिडिया द मिररका अनुसार अम्बानी लिभरपुल किन्ने दौडमा निकै अगाडि छन् । अहिलेको मालिक फेन वे स्पोर्टस् ग्रुप (एफएसजी) ले लिभरपुल बेच्न तयारी गरेको छ । एफएसजीले चार अर्ब डलर रकम राखेको छ । अम्बानीले चार अर्ब डलर तिर्न तयार भएको द सनले जनाएको छ । 

विश्वकै चर्चित इन्डियन प्रिमियर लिग (आइपिएल)मा अम्बानीकै लगानीमा मुम्बई इन्डियन्स रहेको छ । आइपिएलमा मुम्बई इन्डियन्स सर्वाधिक सफल टोली हो । विश्व चर्चित आइपिएलपछि अम्बानीले इंग्ल्यान्डको लिगमा हात हाल्न लागेका हुन् । क्रिकेट मात्र नभएर फुटबलमा समेत विशेष रुचि राख्ने अम्बानीले लिभरपुल किन्न आफ्नो एजेन्टमार्फत प्रस्ताव पठाएका छन् । अम्बानीले अमेरिका र अरबी राष्ट्रहरूको सामना गर्नुपर्ने हुन्छ । द सनका अनुसार अम्बानी मात्र नभएर अमेरिका र अरबी राष्ट्र निकै इच्छुक देखिएका छन् । तर, लिभरपुलमा एकल आधिपत्य जमाउन दौडमा अम्बानी अगाडि छन् । 

सन् २०१० मा पहिलो प्रयास
अम्बानीले लिभरपुल किन्न लागेको यो पहिलोपटक होइन । यसअघि सन् २०१० मा उनले लिभरपुलको एकाधिकार जमाउने प्रयास गरेका थिए । उनले विभिन्न चरणमा लिभरपुलसँग वार्ता गरेका थिए । तर, त्यसवेला पर्याप्त रकम खर्च गर्न नसक्दा अम्बानीले लिभरपुल किन्न सकेनन् । अमेरिकन कम्पनी फेन्वेले इंग्लिस क्लब लिभरपुल किन्न सफल भयो । १२ वर्षअघि अम्बानीले लिभरपुलको ५१ प्रतिशत सेयर किन्न कोसिस गरेका थिए । 

फोब्र्सका अनुसार ९४ अर्ब डलर सम्पत्तिका मालिक अम्बानीले यसपटक लिभरपुलमाथि कब्जा जमाउने सबै अस्त्र प्रयोग गर्नेछन् । लिभरपुलमा जर्गेन क्लोप प्रशिक्षकका रूपमा आएपछि क्लबले ठूलै फड्को मारेको छ । यो तीन वर्षभित्र लिभरपुलले इंग्लिस प्रिमियर लिग र युरोपियन च्याम्पियनसिप उपाधि जितेको थियो । लिभरपुलले यो सफलता दुई दशकपछि प्राप्त गरेको हो ।

क्लोपले लगातार क्लबलाई सफलता दिलाइरहँदा लिभरपुलले पुरानै गर्विलो इतिहास रक्षा गरेको मानिन्छ । युरोपियन फुटबलकै सफल इंग्लिस क्लब मानिने लिभरपुललाई आफ्नो स्वामित्वमा रहँदा अम्बानीले यसबाट धेरै फाइदा लिन सक्ने अनुमान गरिएको छ । भारतमा इन्डियन प्रिमियर लिगझैँ इंग्लिस प्रिमियर लिग चर्चित बनाउन लिभरपुलको ठूलो योगदान हुन सक्ने अम्बानीको तर्क छ । भारतीय बजारमा फुटबलको क्रेज पनि बढिरहेको छ । यस्तो अवस्थामा लिभरपुलको सहयोगमा भारतमा आफ्नो व्यापार प्रवद्र्धनसँगै अन्य गतिविधि बढाउन सकिने उनले बताए । सन् २००८ मा मुम्बई इडियन्स क्लब किनेपछि अम्बानी विश्वकै धनी क्लबका मालिक बनेका थिए ।