मैले पहिलोपटक बिर्खबहादुरलाई भेट्दा उनी आफ्नो किशोरवयमा यात्रारत थिए । म किशोरकाल पार गरिसकेर भर्खरभर्खर युवापनको जोसिलो भट्टीमा प्रवेश गरेको थिएँ । अकस्मात् भएको थियो हाम्रो जम्काभेट ।
तिनताका म पाल्पा तानसेनको त्रिभुवन बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा अध्ययनरत थिएँ । त्यस दिन म काम विशेषले तानसेनबाट बराङ्दी गाउँ जाँदै थिएँ जतिवेला मैले पहिलोपटक बिर्खबहादुरलाई बाटोमा गोर्खेकोट भन्ने ठाउँमा भेटेको थिएँ । उनी पर्खालको आडमा डोको अड्याएर केही क्षण सुस्ताएजस्तो गरी बसेका थिए । हेरेँ, डोकोभरि हरियो तरकारी थियो । सायद उनी तरकारी बेच्न सहरबजार (तानसेन) लाँदै थिए ।
‘बडो लोभलाग्दो तरकारी बोकेर हिँड्दै छौ भाइ । बेच्न लाँदै गरेको त होला नि ?’ मैले उनको नजिकै गएर सोधेको थिएँ । ‘हो हजुर,’ उनले लघुत्तम जवाफ दिएका थिए । ‘मैले त गाउँतिर जान लागेको होला । बाटोमा केही परसम्म भए पनि कुरा गर्ने साथी होइन्छ भनेर सोधेको नि,’ मैले भनेको थिएँ । ‘ए, केही छैन । हजुर अलि टाढा नपुग्दै म भेट्न आइपुग्छु,’ आफूलाई पनि कुरा गर्न मन भएजस्तो देखाउँदै उनले आत्मविश्वासपूर्वक भनेका थिए ।
थप केही नबोली म त्यहाँबाट अल्छी पाइला बढाउँदै हिँडेको थिएँ । म हिँडिरहेको बाटो भएर बराङ्दी, चापपानी, खहरेखोला, यम्घा, दरुंगा, दर्लमडाँडा, नायर–नम्तलेस आदि विभिन्न गाउँबाट स्थानीय बासिन्दा तरकारी, हरियो मकै, दूध, दही, घिउ र अन्य उत्पादन बेच्न तानसेन आउजाउ गरिरहन्थे । (तिनताका अहिलेजस्तो मोटरबाटोको सर्वत्र सञ्जाल बनेको थिएन) । आफ्नो उत्पादन सबैजसोले डोकोमा नै बोकेर ल्याउने गर्थे । जसरी राजधानी उपत्यकामा अक्सर खर्पनमा राखेर असन अथवा कालीमाटीतिर तरकारी लाँदै गरेको देख्न सकिन्छ ।
०००
म धेरै पर पुगेको थिइनँ, हतार–हतार पाइला चाल्दै बिर्खबहादुर नजिकै आइपुगेँ । छिट्टै फर्किएकोबारे मैले जिज्ञासा राखेँ । उनले भने, ‘म भारी बिसाएको ठाउँबाट अलि परसम्म पुगेको मात्र थिएँ, तानसेन पसल गर्ने मधेसीदाइ आइपुगे र उनले मैले भनेकै दाममा सबै तरकारी किनेर लगे । मलाई तानसेन जानु थिएन । लगत्तै फर्किहालेँ ।’ ‘उनलाई मैले बोकेको तरकारी कामी तरकारी लागेन,’ बिर्खबहादुले फिस्स हाँस्दै भने । उनको अनुहारमा विषाद् थियो ।
‘के रे ? कामी तरकारी रे ?’म विस्मित् भएँ ।
‘हो त हजुर । गाउँमा हामीले फलाएको तरकारी कसैले किन्न मान्दैनन् । हामी जातले कामी प-यौँ, त्यसकारण हाम्रो बारीमा फलेको तरकारीलाई पनि गाउँका माथिल्लो जातकाहरू कामी तरकारी भन्छन् । बजारमा किन्ने तरकारी कामी, दमाईं, सार्की, पोडे, बाहुन, क्षेत्री, मगर कसले फलाएको भनेर कसैले खोजीनीति गर्दैनन् । किन्न पाए पुग्छ, तर गाउँमा...?’ उनले तिक्ततापूर्वक लामो सास तान्दै भने ।
बारीमा फलाएको तरकारी पनि कामी तरकारी र बाहुन तरकारी वा अन्य कुनै जातीय तरकारी हुन सक्छ र ? मैले पहिलोपटक यस्तो सुनेको थिएँ ।
‘सबैले एउटै मेसमा, एकै ठाउँ पाकेको खाना सँगै बसेर खानु पर्थ्यो। त्यहाँ न कोही बाहुन, क्षेत्री, मगर, दमाईं, सार्की, पन्जाबी, न कोही कामी थिए । थिए त सबै समान सिपाही । कुनै छोइछिटो थिएन ।’
बिर्खबहादुर सानै थिए, तर उनको मनमा छुत–अछुतप्रथा, जातीय विभेदको शूल कति भित्रसम्म गडेको रहेछ ! अरूले त्यसरी हेपेको उनलाई मन पर्दैनथ्यो, तर उनी कसैलाई केही भन्दैनथे । कुरैकुरामा उनले बताएका थिए, अर्को गाउँमा काकाहरूलाई भेट्न जाँदा त्यहाँ पनि बच्चादेखि वृद्धवृद्धासम्मका सबै कामी सदस्यलाई सानाठूला सबै बाहुनहरूले ‘तँ’ भनी सम्बोधन गर्ने र ‘कामी करेटा’ भन्दै होच्याउँदै बोल्ने गरेको देखे–सुनेका थिए । यस्तो सुन्दा र देख्दा उनको मन तम्तमाइलो भएर आउँथ्यो । उनी चुपचाप यी सबै सहन्थे, तर उनमा विरोधको भावना थिएन ।
सायद उनी यसलाई सहनशीलताको सनातनी परम्पराजस्तो पो ठान्थे कि ? विद्रोहचेतको गूढता उनको किशोरमस्तिष्कबाट धेरै टाढा भएको प्रतीत हुन्थ्यो । उनले भनेअनुसार, बिर्खबहादुर पाँच कक्षामा पढ्थे । उमेर अलि बढी भए पनि ढिलो स्कुल जान थालेकाले तल्लो कक्षामा नै पढ्नु परेको थियो । त्यो कक्षासम्म निःशुल्क पढाइ हुन्थ्यो । उनी घरमा वा बारीमा जे कुरा तयार छ, बिहान–बिहान डोकोमा राखेर तानसेनतिर बेच्न लैजान्थे । घर फर्किन्थे र जे पाकेको छ त्यही खाएर स्कुल दौडिन्थे । तर, माथिल्लो ६ कक्षादेखि शुल्क तिर्नुपथ्र्यो, किताब–कापीको समेत खर्च बढ्ने हुन्थ्यो र त्यसकारण उनलाई अगाडि कसरी पढ्ने भन्ने चिन्ता थियो । उनीहरूको खेत थिएन । घरबारी र अर्को एउटा बारी थियो । त्यसैमा खेतीपाती गर्थे र मौसमअनुसारको तरकारी लगाउँथे । कुखुरा पनि पालेका थिए । कुखुराको सुलीले धेरथोर मलको काम गर्थ्यो ।
समाज आफैँमा केही होइन, केवल मानिसको झुन्ड मात्र हो । मानिसको बसोवास एकै ठाउँमा हुँदै गएपछि त्यही समुदाय बन्छ र समाज पनि । एक वा दुई व्यक्तिको होइन, समाजकै मानसिकता नबदलिएसम्म पुराना संस्कार र रुढीवादी परम्परा परिवर्तन हुँदैनन् । बिर्खबहादुर अपरिवर्तनरूपी यही प्रचलनको विषालु काँडाबाट जन्मजात पिल्सिँदै आएका थिए । ‘संसार २१औँ शताब्दीमा हिँडिरहेको वेलामा समेत नेपाल जातिभेद र छुवाछुतको संकीर्ण जाँतोमा रुमल्लिइरहेको छ !’ सोच्दै पनि वाक्क लागेर आयो ।
त्यस दिनपछि बिर्खबहादुरसित वेलाबखत भेट भइरहनथाल्यो । म तानसेनबाट आफ्नो गाउँ दर्लमडाँडा जाँदा अथवा बिहानको समयमा दर्लमडाँडाबाट तानसेन जाँदा उनीसित भेट हुन्थ्यो । उनी मसित खुल्न थालेका थिए । हाँसेर कुरा गर्थे । सायद मैले उनलाई मुस्कुराउँदै ‘तिमी’ भनेर स्नेहपूर्वक संवाद गरेको मन परेको थियो । मान्छे दुःख, पीडा र सामाजिक विभेदबीच पनि कसरी हाँस्न सक्छ भन्ने एक उदाहरणसमेत उनी देखिन्थे । यस्तोमा उनले ‘कामी तरकारी’ को अपहेलना र उपेक्षाको भाव बिर्सिएको मलाई प्रतीत हुन्थ्यो ।
समयको अन्तरालमा क्रमभंग भयो । हाम्रो त्यो जम्काभेट पातलिँदै गयो र क्रमशः भेट पनि हुन छाड्यो । दिनहरू बित्दै गए । साता, महिना र वर्षहरू पनि अनेक बिते । अनि एक दिन अचानक...।
‘ओहो दाइ ! नमस्ते ।’ कसैको अकस्मात्को आवाजले म झसंग भएँ । मलाई नै को होला भनेर ठम्याउन गाह्रो भयो, एकछिन अलमलिएँ पनि । तानसेनबाट उत्तरतर्फ जाँदा गोर्खेकोट आइनपुग्दै भुसालडाँडा आउँछ । थोरै माथिपट्टि मूलबाटोकै छेउमा बरको ठूलो रूख छ । त्यसको फेदमा ठूलो चौतारी छ । एकजना खाइलाग्दा युवक एउटी स्त्री र दुई बच्चासहित त्यही चौतारीको छेउमा उभिएको थियो । उसले मलाई बडो उत्सुक आँखाले हेरिरहेको थियो । हातमा उसको एउटा छातेछडी थियो । उनले मलाई चिनिहाले । मैले दह्रो गरी हात मिलाएँ र उनलाई अँगालोमा बेरेँ । उनी पहिले केही अलमलिएझैँ देखिए । पछि प्रसन्न भए ।
‘उनी मेरी दुलही, मैयाँ । ऊ ठूलो छोरो रणबहादुर । उनी सानी छोरी माया,’ उनले आफ्नो परिवारको चिनारी दिए । मैयाँले मलाई नमस्ते गरिन् । छोराछोरीलाई मैले गाला सुम्सुम्याएँ र टाउकोमा हात राखेर आशिष दिएँ । मैले बोकेको झोलाबाट दुई प्याकेट बिस्कुट निकालेर उनीहरूलाई दिएँ । केटाकेटी खुसी भए । हामी त्यही चौतारीमा बसेर विगत कोट्याउन थाल्यौँं ।
‘अनि बिर्खबहादुर भाइ ! तपाईं त धेरै बदलिनु भएछ । हट्ठाकट्ठा हुनुभएछ । उमेर पनि ढल्कँदै गएछ । फेरि छडी टेक्न थाल्नुभएछ । के भयो र त्यस्तो ? तर, त्यसभन्दा पहिले विवाह गरी घरजम गर्नुभएकोमा धेरै बधाई छ,’ मैले मानौँ एकै सासमा मनमा भएका सबै कुरा भनेँ ।
मैले सानैदेखि उनलाई ‘तिमी’ भन्दै आएको थिएँ । अहिले ‘तपाईं’ भन्दा उनले अनौठो मानेजस्तो गरी मतिर हेरे । लगत्तै उनको अनुहारमा फिस्स हाँसो पलायो । ‘पाँच कक्षापछि पढाइ छुट्यो दाइ । त्यसपछि घरको काम ग¥यो, गाउँमा खेताला ग¥यो, बालेजस्तै अरूको हलो जोत्यो, ढुंगा फोर्न वा बाटो खन्न गयो र यस्तै गर्दागर्दै समय बित्दै थियो । अलि ठूलो भएपछि इन्डियन आर्मीमा जाने रहर पलायो । पहिलोपटक ट्राई गरेकाले म छनोट हुन सकिनँ । लेकिन दोस्रो बारको कोसिसमा भने किस्मतले साथ दियो र म सफल भएँ,’ उनले हाँस्दै भने र एकछिन रोकिएर फेरि आफ्नो कथा बताउन थाले, ‘म नयाँ रिकुटे बन्दै थिएँ । आर्मीको कडा तालिम पूरा गरेपछि म इन्डियन आर्टिलरी फौजको सिपाही बन्न पुगेँ ।’
‘दाइ ! त्यहाँ मलाई सबैभन्दा राम्रो के लाग्यो भनेँ, सबैले एउटै मेसमा, एकै ठाउँ पाकेको खाना सँगै बसेर खानुपथ्र्यो । त्यहाँ न कोही बाहुन, क्षेत्री, मगर, दमाईं, सार्की, पन्जाबी, न कोही कामी थिए । थिए त सबै समान सिपाही । कुनै छोइछिटो थिएन । जातभात भन्ने केही थिएन ।’
‘यसै गरी दिन बित्दै थिए । दुई वर्ष बाद म छुट्टीमा घर आएँ । म लाहुर जाँदा लिएको ऋण–धन सबै तिरिसकिएको थियो । बाले अर्को एउटा बारी र घरमा भैँसी किन्नुभएछ । खुसी लाग्यो । मेरो बिहे पनि भयो । परिवारमा सबै प्रसन्न थियौँ । यस्तैमा छुट्टी सकियो । त्यसपछि पनि हरेक वर्ष म छुट्टी मिलेसम्म घर आइरहन्थेँ । यसै क्रममा म दुइवटा बच्चाको बाबा बनेँ । उता, बाले खरले छाएको हाम्रो पुरानो घर भत्काएर ठूलो बनाएर टिनको छानो हाल्नुभएछ ।’
‘पल्टनको काममा खट्ने क्रममा हाम्रो बटालियनलाई बोर्डर फ्रन्टमा पठाइयो । त्यो इलाका जोखिमपूर्ण थियो । लडाइँको भन्दा पनि त्यो इलाकाबाट आतंककारी घुसपैठियाहरूले नाकमा दम गरिरहेका हुन्थे । दर्जनौँ घुसपैठियालाई हताहत गरिदिए पनि थुपै्र भारतीय जवान पनि सहिद भइसकेका थिए । एक दिन हाम्रो पनि आमना–सामना गर्ने पालो आइपुग्यो । उनीहरू ४०–५० जनाको संख्यामा आएजस्तो लाग्थ्यो । घुसपैठियाहरू र हामीबीच जमेर गोली हानाहान भयो । निकैबेरको घमासानपछि उनीहरू बाँचेकाहरूचाहिँ भागे । हामीतिर तीनजनाले सहादत प्राप्त गरे । म बाँच्न त बाँचेँ, तर मेरो दाहिने खुट्टामा तीनवटा गोली लागेछ । म बेहोस भएको थिएँ । लगभग एक सातापछि होस आउँदा म आर्मी अस्पतालमा थिएँ ।’
‘आठ महिनासम्म अस्पताल बस्नुप¥यो । धन्न खुट्टाचाहिँ काट्नु परेनछ । अप्रेसन गरेर डाक्टर ले तीनवटै गोली निकालेछन् । दाहिने खुट्टाको बूढीऔँला काट्नुपरेछ । पछि त दाहिने खुट्टा देबे्रभन्दा अलि सानो हुन पुगेछ । त्यसकारण, मलाई उनीहरूले यो छातेछडी दिएका छन् । त्यसपछि सक्रिय पल्टनिया जिन्दगीबाट मलाई बिदा गरिदिए ।’
बिर्खबहादुरको विगत सुनेर लाग्यो, उनले कति छिटो जीवनका अनेक मोड पार गरिसकेछन् । जिन्दगीका उकाली–ओराली भनेका तिनै क्षण नै त हुन् । तापनि उनी निराश, पीडित, दुःखी देखिएका थिएनन् । सायद उनले नियतिलाई सहजै स्वीकार गरिसकेका थिए, जिजीविषा बलियो भएर आएजस्तो लाग्थ्यो । नयाँ परिस्थिति अनुकूल उनले बाँच्न सिकिसकेका थिए ।
‘अनि नि दाइ !’ उनले अलिअलि हाँस्दै भने, ‘अचेल गाउँमा कामी तरकारी भन्दैनन् । हामी बेच्दैनौँ पनि । मलाई अब सबैले लाहुरे कामी भनेर बोलाउँछन् । तर, मेरा बूढा भइसकेका बाआमा र हामी सबैलाई गाउँलेहरूले अझै पनि तँ भनेको मलाई फिटिक्कै मन पर्दैन, तर गर्नचाहिँ म केही सक्दिनँ ।’
उनले विषाद्पूर्ण भावमा आफ्नो लाचारी व्यक्त गरे । उनमा असन्तुष्टि त थियो, तर कुनै आक्रोश, क्रोध, उत्तेजना वा प्रतिशोधको कुनै भवना थिएन । मैले एकटक उनको अनुहारमा हेरिरहेँ । उनका आँखाले मलाई भनिरहेजस्तो लाग्यो, ‘म निराश छु, पीडित छु, क्रोधित छु, दुःखी छु, तर पनि हाँसिरहेछु, मुस्कुराइरहेको छु र यसै गरी जीवनका पाइला बढाइरहेको छु । यसले मलाई भित्रभित्र पीडा दिन्छ, तर यही पीडाले यही समाजमा बाँच्ने शक्ति दिइरहेको हुन्छ ।’