सहर कठोर र गाउँ कोमल हो त ?

शेखर खरेल शेखर खरेल
शनिबार, २७ बैशाख, २०७७
डिजिटल संस्करण

ग्रेगोरियन क्यालेन्डरको संवत् २०२० को आगमनसँगै चमकदमकपूर्ण महानगरहरू एकाएक ग्राउन्ड जिरोमा बदलिए । कहिल्यै ननिदाउने महानगरका बासिन्दा निदाउन सकेनन् । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसले खुला र उत्ताउलो महानगरलाई ‘लकडाउन’ गर्दै शिथिल गरिदियो । यसले गर्दा अवसर र रोजीरोटीका लागि सहर पसेका कतिपय मानिस अकस्मात् थातथलो अर्थात् गाउँका लागि गुन्टा कस्न बाध्य भए ।

‘कारोना भाइरस रोग एक, प्रतिक्रिया अनेक’ भएर  देखिएको छ, विश्व जगत्मा । शस्त्रअस्त्रले पराजित गर्न असम्भव यो महाव्याधिका डरका कारण यस रोगसँगको सम्पर्कमा नपुग्नु नै विकसित देशका मानिसहरू बचाउको एक मात्र कारण देख्छन् । सुझबुझपूर्ण नेतृत्वसहितको उत्तरदायी सरकार र आज्ञाकारी नागरिक रहेका मुलुकमा समाजिक दूरी र द्रुत परीक्षणका माध्यमबाट संक्रमणको फैलावटमा छिटै अंकुश लगाइएको छ । दक्षिण कोरिया, ताइवान, न्युजिल्यान्डजस्ता मुलुकमा कोभिड–१९ ले युरोप र अमेरिकामा झैँ ताण्डव देखाउन सकेको छैन । 

गाउँ र सहर एकअर्काका परिपूरक हुन् । एकअर्कामा अन्तरनिर्भर पनि । गाउँ श्रम र उत्पादनको कारखाना हो भने सहर त्यसको उपभोगस्थल र बजार । गाउँ सम्भावना हो भने सहर प्राप्ति । सहरको अस्तित्वका लागि गाउँ र गाउँको अस्तित्वका लागि सहर अवश्यम्भावी छन् ।

विकसित मुलुकको ठीक भिन्न परिदृश्य विकासशील वा तेस्रो विश्वमा देखिएको छ । विकसित मुलुकका ठूलो जनसंख्या सहरकेन्द्रित रहेकाले यी मुलुकमा कोभिड–१९ को मुख्य असर उनीहरूको स्वास्थ्य र रोजगारीमाथि परेको छ । नागरिकप्रति उत्तरदायी र साधनसम्पन्न सरकारका कारण यस्ता देशका बासिन्दा भोकभोकै बस्न बाध्य छैनन् । तर, विकासशील देशका बासिन्दाका निम्ति भने यो रोग कम, भोक ज्यादा देखिएको छ । हाम्रै नेपाल र छिमेकी देश भारतमा लकडाउनपछि विकसित परिदृश्यले यो कुरा छर्लंग पारेको छ ।

नेपाल र भारतसहित दक्षिण एसियामा अद्यावधि जनसंख्याको ठूलो हिस्साको बसोवास ग्रामीण क्षेत्रमा छ । तर, अतिशय गरिबी र निर्वाहमुखी कृषिका कारण गाउँका युवा जनशक्तिले बर्सेनि कि त आफ्नै मुलुकका सहरी क्षेत्र, नभए तेस्रो मुलुक (नेपालको हकमा भारत, खाडी र मलेसिया) को यात्रा गर्दै आएका छन् ।

यसैगरी गाउँ र मोफसलका साना नगर क्षेत्रका युवा जमात अलि भिन्न प्रकारले सहरको यात्रा गर्दै आएका छन् । विपन्न अनि निम्न–मध्ययमवर्ग र अदक्ष वा अर्धदक्ष ग्रामीण युवाका लागि सहर श्रम र रोजगारीको केन्द्र हो । पढेलेखेका, सिर्जनशील, मध्यमवर्गीय युवाका निम्ति सपना र अवसरको उर्वर भूमि । भलै सहर पुगेपछि यीमध्ये कति श्रममार्फत् जीविका धान्न वा सिर्जनामार्फत सपना साकार पार्न सफल हुन्छन्, त्यो अर्कै पाटो हो । 

समाजशास्त्री चैतन्य मिश्र पुराना मान्यताबाट फुत्किँदै युवामा सहरमा केही गरेर देखाउने अपार सम्भावना रहने धारणा राख्छन् । सन् २०१३ को नेपाल साहित्य महोत्सवमा ‘पोस्पेरिटी एन्ड दि अर्बन’ शीर्षकमा विद्वत् प्रवचन दिँदै प्राध्यापक मिश्रले भनेका थिए, ‘सहरले रोजगारी सिर्जना गर्छ । यो यस्तो ठाउँ हो, जहाँ सम्पत्ति नभएकाले समेत राम्रो जीवनयापनको सम्भावना बोक्छन् ।’

हुन पनि गाउँबाट लोटा मात्र लिएर सहर पसेकाले प्रकारान्तरमा टोयोटा चढेका हामीले आफ्नै आँखासामु देखेका छौँ । गाउँमा वर्गीय विभेद र जातको जातोमा पिसिएकाहरूले सहरमा उन्मुक्ति र उन्नतिको श्वास लिएको पनि देखेका छौँ । गाउँका ठूलाबडा, उँच–नीचको माखेसाङ्लोबाट उम्किएकालाई सहरले मुक्तिको अनुभूति दिलाएको पनि छ ।

सपना र सीप हुनेलाई सहरले गर्लम्म अँगालोमा लिने गरेको छ । तैपनि सहरलाई कठोरता र गाउँलाई कोमलताको अर्थमा धेरैले बुझ्ने गरेका छन् । गाउँलाई स्वच्छ एवं प्राकृतिक, तर सहरलाई प्रदूषित एवं कृत्रिम बिम्बमा लिइनु सहरप्रतिको दृष्टिदोष मात्र हुन सक्ने तर्क प्राध्यापक मिश्रको छ । साहित्य र चलचित्रमा गाउँ र सहरको यस प्रकारको चित्रण प्रशस्तै पाइन्छ ।

कोरोनाले सहर र गाउँको चरित्र अनि दूरीलाई फेरि एकपटक सतहमा ल्याएको छ । शतप्रतिशत सहरी जनसंख्यायुक्त सिंगापुर र हङकङका निम्ति सहर वा गाउँको बहस सान्दर्भिक छैन । त्यसैगरी भौतिक विकासको चरोमत्कर्षमा पुगेका केही युरोपेली मुलुक र अमेरिकाका निम्ति गाउँ केवल रुमानी सोच मात्र हुन सक्छ । तर, बहुसंख्यक एसियाली, अफ्रिकी र ल्याटिन अमेरिकीको हृदयसँग अद्यावधि गाउँको तार जोडिएको छ । यसै तारले सहर पसेका अधिकांश श्रमिकलाई गाउँतिर तान्यो, कारोनाले महानगरहरूलाई आक्रान्त पारेपछि ।

कर्पोरेटका अभयदाता देखिएका छिमेकी देशका प्रधानमन्त्री नरेन्द्र मोदी हुन् वा आसेपासे पुँजीवादका पोषणकर्ता स्वदेशका खड्गप्रसाद ओली, यिनीहरूको विगत आजका श्रमिकभन्दा बिल्कुल अलग छैन । 

भारत र नेपालले लकडाउन एक दिन अघि र पछि घोषणा गरे पनि यसको उस्तै खाले परिणाम देखिएका छन् । विनाकुनै योजना अपर्झटको लकडाउनले सहरी क्षेत्रका दैनिक ज्यालादारी र न्यून आयमा आश्रित आप्रवासी श्रमिक वर्गलाई बिखलबन्दमा पा-यो । अकस्मातको बन्दका कारण आफूले गर्दै आइरहेको काम बन्द भएपछि श्रमिक वर्ग पारिश्रमिकबाट वञ्चित हुन पुगे ।

कामपछिको ज्याला र नगण्य बचतका कारण उनीहरूलाई हप्ता दिनसम्म पनि जीविका धान्न हम्मे पर्न थाल्यो । रासनपानी र घरभाडाको जोहो गर्न नसकेपछि उनीहरूका निम्ति थातथलो फर्कनुको विकल्प रहेन । तर, लकडाउनका कारण सार्वजनिक यातायातसमेत बन्द भएपछि उनीहरू लालाबाला, वृद्ध एवं रोगी अभिभावक, गर्भवती र सुत्केरी परिवारसहित पैदलै सयौँ र कतिपय अवस्थामा हजार किलोमिटरको यात्रामा निस्किए । 

आप्रवासी श्रमिक वर्गको राहतका निम्ति न त संघीय सरकार, न त प्रदेश सरकार, न स्थानीय निकाय नै अघि सरे । संघीय सरकारका निम्ति श्रमिक वर्ग सायद नागरिकका हैसियतमा थिएनन् । स्थानीय सरकारका निम्ति उनीहरू मतदाता पनि रहेनन् । राज्यको चरम उपेक्षाभावका कारण उनीहरू नांगा खुट्टा र बेजोडा चप्पल घिसार्दै गाउँफिर्तीको ‘लङ मार्च’मा निस्किए । कैयौँ दिनसम्मको भोको पेट र थकित यात्राका कारण कतिपयले त बाटैमा प्राण त्याग गरे । 

भारतको महानगर मुम्बई, दिल्ली, कोलकाता, चेन्नईदेखिको हजार माइलसम्मको मानव लस्करले भारत–पाकिस्तान विभाजन (पार्टिसन)को झल्कोसम्म दियो । मुम्बई र दिल्लीका बस स्टेन्डमा घरफिर्तीका लागि उर्लिएको श्रमिक मानवसागरले सरकारको सामाजिक दूरीको उर्दीलाई नराम्ररी धज्जी उडाएको देखियो ।

देशभित्रै शरणार्थीझैँ भौँतारिइरहेका निरूपाय नागरिकको हुलप्रति सरकारमा बस्नेमा न दया पलायो, न त शासकले उनीहरूको सकुसल यात्रा र भोजनको उत्तरदायित्व नै बोध गरे । भारतबाट नेपालको सिमानासम्म आइपुगेर पनि मुलुक छिर्न नपाउँदा महाकालीमा फाल हाल्नेहरूका कथा झनै हृदयविदारक छन् ।

सहरदेखि गाउँसम्मको फिर्तीलाई धेरैले सहरको कठोरताको रूपमा बुझ्ने गरेको पाइन्छ । यस्तो मत राख्नेहरूका निम्ति सहर र गाउँ विपरीतार्थी हुन् । उनीहरूका निम्ति सहर र गाउँका निश्चित ’भ्यारियबल्स’ छन्, प्राध्यापक मिश्रले औँल्याएजस्तै । गाउँ ‘प्राकृतिक’ तर सहर ‘कृत्रिम’ । गाउँ ‘शुद्ध’ तर सहर ‘प्रदूषित’ । गाउँ ‘निर्दोष’ तर सहर ‘बेइमानी’ इत्यादि ।


तर, यी ‘भ्यारियबल्स’ यथार्थ भने होइनन् । सत्य के हो भने गाउँ र सहर एक(–अर्काका परिपूरक हुन् । एकअर्कामा निर्भर अर्थात् अन्तरनिर्भर । गाउँ, श्रम र उत्पादनको कारखाना हो भने सहर त्यसको उपभोगस्थल र बजार । गाउँ सम्भावना हो भने सहर प्राप्ति । त्यसैले सहरको अस्तित्वका लगि गाउँ र गाउँको अस्तित्वका लागि सहर अवश्यम्भावी छन् । 

अहिले सहरबाट गाउँतिर निस्केको भोका श्रमिकको पीडाको कारक सहर होइन । सहरबाट गलहत्याइएर उनीहरू गाउँको ओतका निम्ति बाध्य भएका होइनन् । उनीहरूको कहरको एक मात्र कारक शासकको अकर्मण्यता अनि संवेदनाहीनता हो । विडम्बनाचाहिँ, शासक तिनै व्यक्ति हुन्, जो यिनै श्रमिकझैँ कुनै सपना वा राजनीतिक महत्वाकांक्षा लिएर कुनै वेला सहर पसेका थिए । सहरका चोक–बजारमा यौनवर्धक तेल बिकाउने चटके र बाँदर नचाउने मदारीझैँ उनीहरू धुत्र्याइँ र राजनीतिक चटकको बलमा महत्वाकांक्षाको सिँढी चढ्दै सत्ताको मुकामसम्म पुगे । 

कर्पोरेटका अभयदाता देखिएका छिमेकी देशका प्रधानमन्त्री नरेन्द्र मोदी हुन् वा आसेपासे पुँजीवादका पोषणकर्ता स्वदेशका खड्गप्रसाद ओली, यिनीहरूको विगत आजका श्रमिकभन्दा बिल्कुल अलग छैन । 

यदि प्रश्न मानवीयताको हो भने त्यो चिज सहरबाट मात्रै हराएको पनि होइन । सयौँ माइलको पैदलयात्रा गर्दै गाउँ फर्किएकालाई गाउँले अँगालोमा नबेरेर अगुल्टोले हिर्काएका अनेकौँ उदाहरण छन् । कोभिड–१९ आफ्नो गाउँभित्र प्रवेश गर्न नदिने निहुँमा कैयन् गाउँका प्रवेशबिन्दुमा तारबार हालिएको छ । सयौँ किलोमिटर हिँडेर धादिङ घर फर्किएका एक श्रमिकले त्रिशूली नदीमाथिको झोलुंगे पुलमा हालिएको तारबार नाघ्न खोज्दा नदीमा खसेर प्राण गुमाएको घटनाले गाउँको करुणा र कोमलतालाई उदांगो बनाइदिएको छ । 


यसकारण गाउँ र सहरलाई दुई धु्रवमा विभाजित गर्दै यी दुई स्थानलाई विपरीतार्थी बुझ्नु उचित होइन । कुनै व्यक्तिझैँ स्थानलाई बुझ्दा पनि, त्यसको चरित्र नियाल्नु जरुरी हुन्छ । गाउँको चरित्र नातागोता, छरछिमेक, मेलापर्व, ऐँचोपैँचो हो । तर, सहरको मूल संस्कृति उपभोक्तावाद हो । सहरले नातागोता र छरछिमेक हेर्दैन, उपभोक्ता मात्र देख्छ । अहिले सहरबाट जो गाउँ निस्किएका छन्, ती आयको संकुचनका कारण उपभोक्ता रहन सकेनन् । यो एक सत्य हो, सहरको कठोरपना मात्र होइन । किनकि, सहरले उपभोक्ता खोजेजस्तै उपभोक्ता बन्ने अवसर सबैलाई दिएको हुन्छ, चाहे ती बुद्धि खेलाउने हुन् वा हत्केलामा ठेला उठाउने नै ।

सम्पादकको रोजाइ

सुझावित समाचार