कोरोनाः पुरानै विश्व, नयाँद्वार

राम गुरुङ राम गुरुङ
शनिबार, १३ बैशाख, २०७७
डिजिटल संस्करण

अहिले आफू कति सुरक्षित छु कसले भन्न सक्छ ? किन आफ्नै मान्छेमाथि भरोसा छैन ? पृथ्वीकै एउटा कुनाको मान्छे, अर्को कुनाको मान्छेको मृत्युको कारण कसरी बन्दै छ ? बैंकहरू कसरी असुरक्षित हुँदै छन् ? पोर्चुगलको अंगुरले नेपाली वाइन बजार किन हल्लिन्छ ? यो घनचक्कर नै कोरोनाअघिको विश्व–तागत हो । 


अंग्रेजी फिल्म, मेक्सिकन बरिटो र केएफसीको फ्राइड चिकेन कसरी विश्वप्रख्यात भयो, छ ? यसको विश्व–पारखी किन बढ्दै छन् ? नवविवाहित लोग्नेस्वास्नीका सुख किन बिदेसिन्छन् ? कतिले यो गोलमाल बुझ्लान् ? जवाफ सजिलो छैन । यही रहस्यबीच हाम्रो पढाइ, नोकरी, व्यापार-व्यवसाय र घर चल्दै छ । यसैमाथि सपनाहरू बन्छन्, भत्किन्छन् । यो हामीले पचाएको, तर नबुझेको वैश्यिक मानवीय महामारी हो । 


कोरोना त जैविक महामारी हो । यसको जात, वर्ग केही छैन । संसार हल्लाउँदै, भान्सादेखि सभासम्म फैलिएको छ । सारा सुरक्षा बेकाम भएका छन् । अर्बौं कारोबार, कम्प्युटरका ‘सिपियूमा’ बन्द छ । मान्छे मात्र होइन । उद्योग, व्यापार, शिक्षा सबै ठप्प छन् । कतिपयले यसलाई पुँजीवादमाथिको धक्का भनेको हुन सक्छ । चालू अर्थतन्त्रको इन्जिनमाथि प्रश्न उठेका होलान् । होइन, पुँजीवादविना त आर्थिक वृद्धि (विकास होइन) नै सकिन्छ भन्ने पनि छन् । तर्क र अनुमानका आ–आफ्नै लय हुन सक्छ । तर, अहिले जे छ, भोलि त्यही चल्नेछ । किनकि आज पनि विश्वका धेरै सरकार र राज्य, सुदखोरले चलाइरहेको छ । 

०००


विश्व नै बजार खुल्ने दिन पर्खिँदै छ । मजदुर काममा फर्किएका छैनन् । धनी देशसँग समेत कोरोनाले मारिएका मान्छेको क्षतिपूर्ति छैन । तर पनि ऊ आफ्नो उद्योग, बजार र उपभोक्ता फेरि जाग्नेमा आशावादी छ । पुँजीपतिलाई हौस्याउन केन्द्रीय बैंकहरू ब्याजदर घटाउन लागिपरेका छन् । उद्योगले कर छुट पाउलान् । कसरी पुरानो बजार फर्काउन सकिन्छ ? यसबारे फाइनान्सियल टाइम्स र वालस्ट्रिटले त अनुसन्धान सुरु नै गरिसक्यो । विश्वभर आर्थिक अनुदान बाँडफाँड भइरहेका छन् । वर्षौंदेखिका ऋणीदेश नै यसको लाभग्राही हो । विकासशील देशले अनुदानकै भरमा ठूला विविध राहत घोषणा गरेका छन् । 

०००


सत्तामा जोसुकै होस् । सत्तावाला, साम्यवादी वामपन्थ वा उदारवादी दक्षिणपन्थ, जो–कोही हुन सक्छ । सत्ताको बनोट र चरित्र, देशअनुसार फरक होला । तर विश्व नै वित्त, सूचना र सुरक्षा चासोले बाँधिएको छ । लोकतान्त्रिक देश मात्रै होइन । सिरियाजस्तो अलोकतान्त्रिक मुलुक पनि पुँजीवादले मोटाएका देख्यौँ । बेच्ने कुरा फरक हुन सक्छ । पश्चिम र एसियाका विकसित देश वस्तु बेच्छन् । दक्षिण अमेरिका र अफ्रिकाका विकासशील राष्ट्र तेलजस्ता कच्चा पदार्थ बेच्लान् । नेपाल पनि युवाश्रम बेच्छ । नेपाली युवा कोरियन सामसुङ मोबाइलबाट नेपालका आफन्तसँग गफिन्छन् । अप्रिय नै सही, पुँजीवाद आजको प्रभुत्वशाली यथार्थ हो । नाफा व्यक्ति, परिवार र समाज सबैतिर अकाट्य बनेको छ । कोरोनाले नै यसलाई कसरी उल्ट्याउला ? 

अमेरिकाको वालस्ट्रिट मात्र होइन, भारतको मुम्बई एक्सचेन्ज र नेपाल स्टक एक्सचेन्जको पनि कुरा आउँछ । नेपालमा सयौँ सेयर कारोबारी छन् । जो रातभर ‘वालस्ट्रिट’को सुनचाँदी र तेलको दरभाउ कुरेर बस्छन् । के यो काम, चीनको सांघाई स्टक एक्सचेन्ज वा बेलायतको लन्डन स्टक एक्सचेन्जमध्ये कुनै एकले गर्ला ? यो युद्धक विमानको बमवर्षा र मिसाइल हताहतीभन्दा कम हो र ? 

०००


धेरैअघि होइन । विश्व कोरोनासँग जुध्दै गर्दाको कुरा हो । कोरोना संक्रमित नागरिक, अमेरिकाको समस्या बनेन । अरूले जस्तै आफूलाई बन्दाबन्दी गर्न सक्थ्यो । तर, त्यसो नगरी आफ्नो व्यापार नरोकिएको सन्देश दियो । अरब र रसियासँग तेल किन्नेबारे क्यानडासँग भएको छलफल, यसको उदाहरण हुन सक्छ । यो अमेरिकी सर्वोच्चता निरन्तरताकै प्रयास हो । अब उसको सीमाशुल्क पालना नभए, अमेरिका आउने तेलका पानीजहाज, अमानक टापुका डच बन्दरगाह आउने छैनन् । तथापि यो अनौठो हुनेछैन । उसले त कोरोना संक्रमित आफ्नै नागरिकलाई अस्पताल नआउन भनिसकेको छ । ऊ कोरोनासँग जुध्दै छैन । सबै ध्यान, अर्थतन्त्र गडबड नहोस् भन्नेमा छ । महामारीबीच विश्व वित्तीय तथा व्यापार प्रभुत्व चुस्त राख्न गरेको मिहिनेत सोचनीय छ । 

सन् १९१८ को महामारीले नै स्पेनको वैभवता खोसियो कसरी भन्ने ? सन् १९४७ पछि अमेरिका सरेको विश्व, सजिलै कसरी बाहिरिएला ? यो अरू केही वर्ष यतै अलमलिन्छ ।

मेरिकामाथि अरूको औषधि कार्गो, जबर्जस्ती लगेको आरोप छ । ‘आधुनिक डकैती’ भनिए पनि, यसबारे थप चर्चा भएनन् (द गार्जियन, अप्रिल ३, २०२०) । सामान्य लाग्ने यस्ता घटना, विश्व अर्थ–राजनीतिको अहिलेको आँखीझ्याल हो । कसले यसलाई बेवास्ता गर्न सक्छ ? विश्व भूमण्डलीकरणको फल भनिएका यस्ता घटनाले वैज्ञानिक, व्यापारी, राजनीतिज्ञ र सञ्चारकर्मीको मथिंगल हल्लिएको छ । विश्व सर्दै छ, यस्तै लाग्छ । चिनियाँ राजनीतिक दृष्टि फरक छ । तर, आर्थिक नीति त अन्यजस्तै खुला व्यापार नै हो । ‘मेड इन चाइना’को अमरिकी निर्भरता बढेको छ । तथापि यो निर्भरता, बंगलादेशलाई बेचिन्छ । के यसले पुरानै विश्व–प्रणाली देखाउँदैन ? 


सान फ्रान्सिस्कोको चाइना टाउनमा धेरै चिनियाँ बस्छन् । चिनियाँ रेस्टुरेन्ट गज्जबले चलेको छ । तर, यसले विश्व केन्द्र कसरी नाप्ने ? चिनियाँ व्यापारको ‘ग्लोबल जेट सेटिङ’ त मध्यम वर्गीय अमेरिकन व्यापारीले नै गर्छन् । जसले ‘मेड इन चाइना’लाई, हम्बान्तोटा हार्वर हुँदै श्रीलंका पठाउँछ । अब सोचौँ, विश्व व्यापारको केन्द्र कहाँ छ ? जसलाई ख्याल गरिएको छैन । 


महामारीले युरोप र अमेरिका चीनसँग अवश्य तर्सिएको छ । जब कोरोनाको जैविक त्रास रोकिनेछ । त्यसपछि अफ्रिका, पूर्वीयुरोप, दक्षिण अमेरिका तथा दक्षिण–पूर्वी एसियामा चीनको प्रभावको गन्ती हुनेछ । यसले नै चीनको विश्व–प्रभाव देखाउला । कोरोना जति चाँडो सकिनेछ । उति नै चाँडोे विश्व, डिसेम्बर २०१९ अघिको अवस्थामा फर्किनेछ । 

०००


कोरोनापछि अन्तर्राष्ट्रिय वित्तीय अनुदान थाप्ने देश कति होलान् ? नेपालकै कुरा गरौँ, विश्व स्वास्थ्य संगठनबाट अनुदान लिइरहेको छ । तर पनि पर्याप्त स्वास्थ्य सामग्रीको अभाव छ । गतिलो अस्पताल छैन । यहीवेला भ्रष्टाचारले देश हल्लिएको छ । भारतीय प्रहरीले दिल्ली लकडाउनमा मजदुरलाई लछा¥यो, कुट्यो । यसको नक्कलमा नेपाली मजदुर नेपाल प्रहरीको दबंगमा प¥यो । के यो पुरानो वैश्यिक अन्तरजालको भार होइन ? यो त वासिंटन–दिल्ली–काठमाडौं परम्पराकै निरन्तरता हो । आफूखुसी हेर्ने युट्युबका भाइरल भिडियो नै गुगलको सम्पत्ति हो । जुन हाम्रो मोबाइल वा कम्प्युटरसम्म भारतीय स्याटेलाइटको खटनमा आइपुग्छ । अझै पनि चिनियाँ याहु, अमेरिकन जिमेलभन्दा पछि नै छ । 


यो नै भुक्तभोगी वर्तमान हो । जसलाई कसले उल्ट्याउला ? यो नै अजर भने होइन, फेरिन सक्छ । नयाँ आउलान्, आइरहेका छन् । तर, दुनियाँ जोड्ने सूचना र तथ्यांकको ढोका एउटै छ । त्यो द्वार, ‘सिलिकन भ्याली’मा हो । अद्यापि आधा विश्वको मुद्रा, वासिंटन डिसीको तजबिजमा चल्छ । अहिले पनि १६३ देशले उसकै ब्लुप्रिन्टमाथि समृद्धिको सपना देख्छ । 


कोरोनालाई जित्ने चीन, नेपालसँगै छ । ऊ निरन्तर ‘माथि’ उक्लिरहे पनि, शक्तिशाली तर शालिन मुलुक हो । जसलाई विश्व राजनीतिको ढोकाबारे अत्यन्तै चासो छैन । विश्वसँग सुझबुझले चल्दै छ । हप्ता दिनमा हजार शय्याको अस्पताल बनाउने चीन, विश्व हाँक्न हतारिएको देखिन्न । कोरोना बाहिरिएको बाटोबाट चिनियाँ पुँजी बाहिरिएला भनिहाल्नु वस्तुगत नहुन सक्छ । 


युरोप आफैँ समस्यामा छ । इटाली, फ्रान्स र बेलायत थलिएका छन् । बजार र उद्योग बन्द छ । अहिले नै उनीहरूको व्यापारिक उन्माद देखिइहालेको छैन, नदेखिएला पनि । महामारीको आर्थिक इतिहासलाई हेरौँ । सन् १९१८ को महामारीले नै स्पेनको वैभवता खोसियो कसरी भन्ने ? सन् १९४७ पछि अमेरिका सरेको विश्व, सजिलै कसरी बाहिरिएला ? यो अरू केहीवर्ष यतै अलमलिन्छ । महामारीले बेरोजगार अमेरिकन बढेका छन् । यो त अस्थायी हो । यो नै अमेरिकाका लागि ‘ब्याक–गियर’ कसरी बन्न सक्छ ? जसको भरपर्दा तथ्यांकीय आकलन छैनन् । के यो नयाँ विश्व–चुनौती होइन ? 


भोलिको विश्व अवश्य उस्तै नहोला । तर, आजको विश्व–आँखीझ्याल एउटै छ । बाँकी विश्व, पश्चिमतिर फर्किएका छन् । व्यापार र प्रविधिको लय एउटै छ । यो सन् १९१८ को महामारीको ढोका, विश्वयुद्धले थुनेजस्तो होइन । एउटा देशबाट अर्को देशमा पल्टिएका युरोपियन वाणिज्य केन्द्रजस्ता पनि होइनन् । एसिया, अफ्रिका वा अमेरिकाबीचका दूरी त एकै लयका सूचना प्रविधि र संस्कृतिले मेटिएका हुन् । 

०००


विकासको व्याख्या कसको हो ? बिसौँ शताब्दी अन्त्यमा चर्किएको मजदुर आन्दोलन कहाँ छ ? अहिले विश्वसामु यस्ता चुनौती नै छैन । यो सामाजिक कल्याणका कार्यक्रमले छोपिएको छ । खासमा, पुरानो विश्वसँग ठोक्किने नै अहिलेको आवधिक वामपन्थी–सत्ता हो । जो आफैँ अन्तर्राष्ट्रिय वित्तीय अनुदान र ऋणमाथि उभिएको छ । जसको जरा, सत्तरी वर्षदेखि एकीकृत अन्तर्राष्ट्रिय समुदायले फैलाइरहेका छन् । यस्तोवेला व्यापार नै नयाँ विश्वद्वार कसरी हुन सक्छ ? 


 नेपालकै कुरा गरौँ । पुरानो विश्व कति शक्तिशाली छ ? यो त एमसिसीको मुद्दामा नै देखियो । भौगोलिक वा राजनीतिक सीमा होलान् । तर, व्यापारिक सत्ता, कसरी विश्व–सत्ता हुन सक्छ ? यदि यस्तो हुन्छ भने नेपाली सत्ताको भारतीय वा चिनियाँ रूप खोज्नुपर्ने थिएन । 


विश्वले कुनै पनि अमेरिकी प्रतिक्रिया रुचिपूर्वक सुन्छ । आफ्नो धारणा बनाउँछ । यो कहाँ फेरिएको छ ? यो कसरी अलग हुन सक्छ ? न्युयोर्क राज्यका गभर्नर एन्ड्रियु कोहमको सम्बोधनपछिको नेपालको बन्दाबन्दी संयोग हुन सक्छ । तर, के यो हतारमा भएको थिएन र ? यसभित्र मुख्यमन्त्रीका धारणा कहाँ समेटियो ? घर फर्कँदै गरेका नेपाली मजदुर, सीमापारि रोकिए । उनको याचना, भावनात्मक बहकाउ बन्यो । राज्यलाई सूचना प्रविधिमा सघाउने निजी कम्पनीबाट नै सत्ताको बदमासी छोप्न समाचारहरू ह्याक भए । के यो पुरानो विश्व पद्धतिको दुरुपयोग होइन ? 

०००


आर्टिफिसियल इन्टेलीजेन्स, अहिलेको विश्वकेन्द्र हो । आममानिस यसको पछि–पछि छ । शक्तिशाली देशहरू हौसिएका छन् । यसले बढाउने नाफासँग कुनचाहिँ पुँजीपति दुःखी होला ? जसले युद्ध राजनीतिमा बनेको अहिलेको वित्तीय तथा व्यापारिक सञ्जाल सम्हालिरहेको छ । 


कारखाना बन्द छन् । बजार सुनसान छ । यो छिट्टै पुरानै लयमा फर्कनेमा शंका छैन । काम खोसिएका आप्रवासी कामदार स्वदेश फर्केलान् । यसले श्रमबजार पल्टिन्छ कि भन्ने हुन सक्छ । तर, कृत्रिम मान्छेले कारखानाको काम गर्ला । यो कसरी अनौठो होला ? यसको लगाम त अहिले पनि एसियाबाहिर नै छ । एसिया चालू वित्तीय पुँजी सञ्जालको विकल्प होइन । यो दोस्रो विश्वयुद्धदेखि नै विश्व वित्तीयतन्त्रबारे मौन छ । रक्षात्मक एसिया बदलिएको छैन । भारत वा चीनको विगत ४० वर्षको उन्नति नै विश्व–ताकत होइन । दुनियाँमा वित्तीय प्रणालीको मुटु– फलाम, तेल, र अन्तरदेशीय श्रमशक्तिले चलेको छ । आज पनि अफ्रिका, दक्षिण अमेरिका र एसिया नै यसको आधार हो ।
 

सम्पादकको रोजाइ

सुझावित समाचार