खप्परको माथिल्लो भाग

शनिबार, ६ बैशाख, २०७७
डिजिटल संस्करण

लकडाउन

पछिल्लो समयमा वैदेशिक रोजगारीमा जानेहरूले सोच्न थालेका छन्, ‘कफिनमा सफर गरेर घर पुग्नुभन्दा जिउँदै देश छिरेको जाति ।’ उनीहरू कफिनमा किन आएनन् ? शहरमा यस्तो चिन्ता गर्नेको पनि कमी छैन ।

सरकारले ‘लकडाउन’को घोषणा गरेपछि शहरका मानिसको मनमा गुरुमापा राक्षसको तस्बिर पस्यो । मैले टाढा, गंगासागरको किनारबाट शहरको मुड ठम्याउने कोसिस गरेँ । कुनै अज्ञात डरले शहरियाहरू घरभित्र लुकेका थिए । उनीहरू सम्हालिएको देखियो । उपत्यकाको मुड बुझ्न मैले एक–दुईजनालाई फोन गरेँ । एकजना परिचित साथी आफ्नो घरको छतमा उभिएर शहरको चकमन्न वातावरण नियाल्दै थियो । देशले कर्फ्यु भोगेको थियो, सशस्त्र बन्द बेहोरेको थियो, सामान्य बन्द त हजारौँ दर्जनपटक भोगेको थियो । तर, लकडाउन ? हो के त यो ?
कोरोनाको नेपाली अर्थ हुन्छ – खप्परको माथिल्लो भाग । के संसारका अर्बौँ मानिसको खप्पर सोचनीय अवस्थामा पुगेको हो त ? 
लकडाउन चर्चाको सिलसिलामा घोडेजात्रा नहुने सूचना आयो । कुनै पत्रकारले सूचना दिने अधिकारीलाई सोध्यो, ‘साँच्ची नहुने हो घोेडेजात्रा ?’ 
सरकारी नेताको जवाफ आयो, ‘देश नै रहने नरहने टुंगो नभएको वेला घोडेजात्रा । होइन, कहाँ गएको छ यो देशको जनताको बुद्धि !’
सरकारी प्रवक्ताबाट जवाफ आयो, ‘हो, घोडेजात्रा, इन्द्रजात्रा, बिस्केटजात्रा नहुने भो । बिस्केटजात्राको ठाउँमा विस्फोटक जात्रा भयो भने कुन्नि । तर, हालका लागि जात्रा भनेको कुनै पनि नहुने ।’
सरकारले ‘लकडाउन’ घोषणा गरेको दिन काठमाडौं शहरमा मेरो उपस्थिति थिएन । म जनकपुरधाममा थिएँ । मलाई थाहा थियो : देशमा केही बिघ्न हुँदै छ । ठूलै बिघ्न । त्यो बिघ्न व्याधीले ल्याएको होला भन्ने अनुमान गरिएको थिएन । चीनको वुहानमा फैलिएको कोरोना भाइरस महामारीबाट त्यहाँ पढ्ने नेपाली विद्यार्थी त्रस्त छन् भन्ने जानकारी थियो । तर, लकडाउन त्यसैकारण हुन लागेको होे भन्ने थाहा थिएन मलाई । मलाई थाहा नहुनु ठूलो कुरा थिएन । धेरै ठूला र निर्णयकर्ता भनिने माानिसलाई पनि थाहा थिएन महामारीको गुह्य । वुहानमा महामारी फैलिएपछि त्यहाँ शिक्षा लिइरहेका नेपाली विद्यार्थीका अभिभावक चिन्तित भएका थिए । उनीहरूले आफना सन्तान फिर्ता ल्याइदिन गरेको अनुरोध सरकारले निकै दिन सुनेन । स्वाभाविकै हो, देशका एक मात्र जानिफकार व्यक्तित्व प्रधानमन्त्री बिरामी थिए । यस्तोवेलामा उनका मन्त्रीहरूको तेजोवध हुनु स्वाभाविक थियो । उनीहरू रनभुल्लमा थिए । उनी बिरामी भएकाले पूरै देश बिरामी थियो । कमसेकम । सरकार बनाउने र चलाउने पार्टीको सोचाइ यस्तै थियो ।
‘जेसुकै होस्’ यो मेरो निर्णय थियो । ‘अब के होला ?’ भन्ने आफ्नो जिज्ञासालाई मैले त्यत्तिकै छाडिदिएँ । 
म जनकपुर जाँदै थिएँ र हवाईजहाजबाट जाँदै थिए । काम फरक प्रकृतिको थियो । काठमाडौं शहरको अस्तव्यस्त अवस्थाबाट जोगिएर केही ठोस काम सक्ने लक्ष्य थियो मेरो । जनकपुर जाने मजस्ता सामान्य मानिस प्रायः हवाईजहाजमा यात्रा गर्दैनथे । हवाईटिकट महँगो पर्दथ्यो । मेरो हवाईयात्राको कारण थियो– आन्तरिक उडानको टिकट एकदमै सस्तो हुनु । काठमाडौं–जनकपुर सेक्टरको एकतर्फी टिकट दुई हजार रुपैयाँमा उपलब्ध थियो । भद्रपुरदेखि धनगढीसम्म, जुनसुकै सेक्टरमा आन्तरिक उडानको आनन्द उठाउन चाहनेका लागि यो सुनौलो अवसर थियो । 
एयरपोर्ट जानुपर्ने समय भइसकेको थियो । एयरपोर्टको कफीपसल थियो नमुनाको । काठमाडौंको बजारमा सय रुपैयाँ कपमा पाइने कफीको तीन सय रुपैयाँ पर्दथ्यो । वेटिङ लाउन्जमा यात्रुहरूको भिड । गज्याङगुजुङ । खैलाबैला । सरकार विमानस्थल विस्तारमा लागेको थियो । नयाँ भवन बनिसकेका थिएनन् । पुराना भत्किसकेका थिएनन् । सरकार कथित राष्ट्रिय गौरवका आयोजनाप्रति अत्यधिक प्रज्ज्वलनशील र संवेदनशील थियो । विमानस्थल, शहरीकरण, मेलम्ची, तामाकोसी, भेरी–बबई आयोजनाका लस्कर थिए । सरकार खुसी थियो कि आयोजना छन् । आयोजना चालू रहुन्जेल ‘माल’ आइराख्छ । आफ्नाले काम पाइराख्दछन् । त्यसैले ती पूरा नभएकै जाति होलान् ।
साँझ नेपाल लाइभका सम्पादक केपी ढुंगानाको फोन आयो– ‘सरकार त ‘लकडाउन’ गराउन लागेको छ । निर्णय गर्दै छन् । लकडाउनको विकल्प छैन भन्दै छन् । अब के हुने हो दाइ ?’
लकडाउन– सबभन्दा पहिले शब्दको अर्थ र गाम्भीर्य कसैको सरोकार बन्दैन । एकजना सैनिक मित्रसँग सोध्दा उनको जवाफ थियो– यसलाई एक प्रकारको कप्mर्यु नै भनौँ । यसमा सेना संलग्न हुँदैन ।
तर, सेना संलग्न थियो । टुँडिखेलमा घोडेजात्रा नदेखाउनु सेनाको सरोकारको कुरा थियो । घोडेजात्रामा भिड थुपार्दा कोरोनामैत्री वातावरण बन्ने थियो । वुहानमा पढ्न बसेको एउटा केटो सैनिक मित्रकै छोरा थियो । त्यतिवेला सरकारले विमान पठाउन आलटाल गरेको देख्दा उसले बोकेको गनको ट्रिगर चिलाएको थियो । ती सैनिक मित्र साथीहरूसँग रमाउँथे । उनको स्वभाव सैनिकको जस्तो थियो । सोख भने वामपन्थी बुद्धिजीवीको जस्तो । अलिकति भुटेको मासु, कालो ह्विस्की, लसुनको ६–७ पोटी । बँदेल त बँदेल नै भयो । बँदेल नखाए सेनाको जवान हुनु र अधिकृत हुनु कसरी सार्थक भयो र ?
जनकपुरधाममा लकडाउनको खासै अनुभव लिन पाइएन । तर, टाढा गाउँ, देहातमा लकडाउन अनौठो थियो सबैका लागि । खासगरी, चुनावमा जितेर जन–प्रतिनिधि भएकाहरूले लकडाउनलाई जनताको नाममा चामल संकलन गरेर राहत बाँड्ने धन्दाका रूपमा लिएको देखियो ।
गाउँमा राहतको चामल लिने अभिरुचि धेरैले देखाए । कतिका लागि राहत पाउनु ‘स्टेटस’ थियो । कतिका लागि राहत दिलाउनु गर्वको कुरो । तर, मनैले राहतका लागि तयार कोही देखिएन । राहत भनेको खैरात । खैरातमा बाँडिने चामलको क्वालिटी खोज्नुहुँदैन । कुहिएको, ढाडिएको, सडेको, गनाउने, घुन लागेको भनेर चामलको वर्गीकरण गर्न मिल्दैन । 
देखियो– गाउँमा लकडाउन छैन । भुजा र चना खाजा खाएर जो जहाँबाट जहाँ पनि हिँडिरहेको छ । इँटाभट्टामा बलेको आगोको चर्को राप र तातो धुलोमा धुस्रो फुस्रो भएर काम गरिरहेको छ । चामल मिलमा चामलको बोरा पिठ्युँमा बोकेर माथि तल गर्दछ । खेतमा पानी पटाउँछ । खोलामा गिटी कुट्न जान्छ । गाईभैँसीका लागि घाँसको जोहो गर्छ । यतातिर, कसैसँग संसर्ग नगर्ने र एकान्तवासको कुरा छैन । दुःख छ । बांगलादेशबाट आएका गाउँका पाँच–सातजना केटाहरू उता काकँडभित्तामा क्वारेन्टाइनमा छन् । दुबई, कतारबाट केटाहरू आए–नआएको ठेगान छैन । देशमा सरकार छ । त्यो सरकारले दुबई, कतारका सरकारसँग कुरा गर्न सक्दैन । देशका परराष्ट्रमन्त्रीले एउटा अन्तर्वार्ता दिए भने उनलाई फेसबुकमा बधाई दिनेको लर्को लाग्दछ । यहाँ कुबेत, इराक, इरान र लेबनानको कुरै नगरे भयो । पछिल्लो समयमा वैदेशिक रोजगारीमा जानेहरूले सोच्न थालेका छन्, ‘कफिनमा सफर गरेर घर पुग्नुभन्दा जिउँदै देश छिरेको जाति ।’ उनीहरू कफिनमा किन आएनन् ? शहरमा यस्तो चिन्ता गर्नेको पनि कमी छैन ।
यात्रा जनकपुरको नाममा भए पनि कोरोना महामारीको सन्दर्भमा मधेसको संकुचनलाई बुझ्ने एक अवसर थियो यो । लकडाउन पूरा शक्तिका साथ सक्रिय रहेका वेला म फर्किएँ । बाटामा मानिसका लस्कर खोटाङ, ओखलढुंगा, धनकुटा, पाँचथर, तेह्रथुमजस्ता दूरस्थ जिल्लालाई पैदल पछ्याउँदै थिए । तिनीहरूको झोलामा सातु सामल थिएन । खल्तीमा पैसा थिएन । निजी ठेकदारका कम्पनीमा काम गर्ने ती कसैले ज्याला पाएका थिएनन् । बर्दियाबाट काठमाडौं आएपछि त्यहाँबाट अघि बढ्ने विकल्प केही पनि बाँकी थिएन उनीहरूसँग । 
बिपीमार्गमा देखिएका यी दृश्यहरू हृदयविदारक थिए । काठमाडौंमा यो समाचार पुगिसकेको थियो । तर, त्यसले चाहिँदो मिडिया अटेन्सन पाएको थिएन । काठमाडौंका नवयुवकहरू समाजसेवा गर्ने विचारमा थिए । तर, पैदल आफ्नो घर फर्किइरहेकालाई मद्दत गर्न स्रोत थिएन उनीहरूसँग । प्रणव निकै भावुक भएको थियो । ऊ सोच्दथ्यो, दक्षिण भारतीय सिनेमाको हिरोले जस्तो अन्याय गर्ने सबैसँग बदला लिन सके पो हुने । कुरा त हो । तर, सिनेमा संसार र वास्तविक संसारका बीच ठूलो ग्याप छ । सरकार र जनताका बीच ठूलो ग्याप छ । धनी र गरिबका बीच ठूलो ग्याप छ । जनता कहिले जाग्लान् र पुर्लान् यी ग्यापलाई ?

सम्पादकको रोजाइ

सुझावित समाचार