घर फर्किने प्रतीक्षामा छु

उर्मिला सुनुवार उर्मिला सुनुवार
शनिबार, २९ चैत, २०७६
डिजिटल संस्करण

म अहिले कतारको दोहामा छु । यता सरकारले लकडाउनको घोषणा गरेको छ । म काम गर्ने होटेलभित्रै छु । होटेलमा हामी जम्मा ७५ जनाजति छौँ । त्यसमा हामी १० जना नेपाली महिला छौँ । होटेलमा नेपालीसहित प्रायः फिलिपिन्सका महिला मजदुर छौं । कतारमा कोरोनाको संक्रमण बढेपछि कम्पनीले हाम्रो सुरक्षाका लागि एकदमै सावधानी अपनाइरहेको छ । कम्पनीले हाम्रो सुरक्षामा कुनै कमी हुन दिएको छैन । हामी होटेलमा बस्दा पनि पूरै पिपिई लगाएर बस्छौँ । हरेक दिन डाक्टरहरू आएर हाम्रो ज्वरो नाप्छन् र रेकर्ड लिएर जान्छन् । प्रत्येक दिन बिहान भिटामिन सी पनि दिइन्छ ।

हामीलाई तलब पनि दिइरहेको छ । अब आउँदो महिनाचाहिँ के हुन्छ थाहा छैन । कहिलेकाहीँचाहिँ डर लाग्छ । जे भए पनि आफ्नै देशमा जाउँजस्तो लाग्छ । फेरि देशको समाचार हेर्छु, पढ्छु, उताभन्दा यतै सुरक्षित हुन्छ जस्तो लाग्छ । देशको हालत देखेर नरमाइलो लाग्छ । नेपाली कामदारले भारतीय सिमानामा पाएको दुःख देख्दा नरमाइलो लाग्छ । त्यसो गर्नु नराम्रो हो । यताको बसाइ राम्रै भए पनि हामी सबैजना घर फर्किने प्रतीक्षामा छौँ । नेपालमा हाम्रो परिवार एकदमै चिन्तित छन् ।

कम्पनी हाम्रो स्वास्थ्यबारे जति नै चिन्तित भए पनि विश्वव्यापी महामारीबाट हामी डराएका छौँ । कतारमा दिनहुँ संक्रमितको संख्या बढिरहेको छ, त्यसले पनि हामीमा त्रास बढाएको छ । त्यसैले हामी घर फर्किन चाहन्छौँ ।

लकडाउन भए पनि भित्रभित्रचाहिँ काम भइरहेको छ । सबै स्टाफलाई टे«निङ काउन्सिलिङ पनि दिइरहेको छ । कम्पनी हाम्रो स्वास्थ्यबारे जति नै चिन्तित भए पनि विश्वव्यापी महामारीबाट हामी डराएका छौँ । कतारमा दिनहुँ संक्रमितको संख्या बढिरहेको छ, त्यसले पनि हामीमा त्रास बढाएको छ । त्यसैले हामी घर फर्किन चाहन्छौँ । 

यता हाम्रो दैनिकीमा केही परिवर्तन भएको छ । पहिलेजस्तो नियमित काम छैन अहिले । लकडाउन भएकाले होटल बन्द छ । अरू नियमित काम परिरहेको छैन । प्रत्येक दिन सबैजनालाई एउटा–एउटा टाक्स दिइएको हुन्छ । कहिले सेक्युरिटी बस्नुपर्छ । कहिले किचेनमा खाना बनाउनुपर्छ । कहिले सफाइ पनि गर्नुपर्छ । आजभोलि यसरी नै बितिरहेको छ दिन । विपत्का वेला महिलाले हिंसा सहनु परेका घटना सुनिरहेकी छु । तर, हामी बस्ने ठाउँमा त्यस्तो दुखद घटना भएको छैन ।

यहाँको सुरक्षा व्यवस्था एकदमै कडा छ । त्यही भएर पनि त्यस्ता अप्रिय घटना भएको छैन । ह्यारेसमेन्टका घटना हुनेबित्तिकै यहाँ दोषीलाई पुलिस केस लगाइन्छ । त्यसैले पनि यहाँ त्यस्तो घटना भएकोे छैन । यहाँ आउनुअघि गल्फ कन्ट्रीहरूमा छोरी मान्छेको सुरक्षा हुन्न भन्ने सुनेकी थिएँ । तर, यहाँ आएपछि मैले ठीकविपरीत वातावरण पाएँ । एकदमै राम्रो छ । कम्पनी राम्रो भएर होला । सबैतिर यस्तै राम्रो कम्पनी नहुन पनि सक्छ । 

कतारकै अन्य कम्पनीमा ४ महिनासम्म तलब नदिएको, महामारीका वेला स्टाफको केयर नगरेको कुरा पनि सुनेकी छु । हाम्रो होटेल सफा गर्न आउने नेपाली दिदीबहिनीको दुखद अवस्था सम्झिँदा अहिले पनि मन दुख्छ । 

यहाँ गर्मीको वेला हत्तपत्त कोही पनि बाहिर निस्कँदैनन् । तर, त्यस्तो गर्मीको समयमा पनि नेपाली दिदीबहिनीहरू बिहानैदेखि प्लास्टिकमा खाना बोकेर काम गर्न आउँथे । तातो घाममा खाना राख्दा गनाउँथ्यो पनि । त्यो खाना अनहेल्दी हुन्थ्यो । तर उनीहरू त्यही खाना खान बाध्य थिए । त्यो दृश्य देख्दा एकदमै मन दुख्यो । उनीहरूको असाध्यै माया लाग्यो । त्यो अवस्था हामीले एचआरलाई भन्यौँ । पछि उनीहरूले हाम्रै क्यान्टिनमा आएर खाना खान थाले । यता अंग्रेजी राम्रोसँग बोल्न नआउने मान्छेलाई हेप्छन् । त्यसरी हेपेको देख्दा पनि नरमाइलो लाग्छ । तर, के गर्नु केही गर्न सकिँदैन । 

नेपालमा कोरोना संक्रमित अहिलेसम्म आठजना मात्र पुगेको छ । तर, मलाई एकदमै शंका लाग्छ, सामान्य ज्वरोसमेत नाप्ने व्यवस्था छैन हाम्रो देशमा । त्यस्तो ठाउँमा संक्रमित यति मात्रै छ भन्दा शंका लाग्छ । एड्भान्स मेडिकल सिस्टमको झन् कल्पना पनि गर्न सकिन्न । 

(कतारबाट)

सम्पादकको रोजाइ

सुझावित समाचार