हिन्दू धर्म र यसको सामाजिक संगठन चार वर्णहरू ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र हुन् । पानी अचल शूद्रभित्रका करिब ४५ लाख नेपाली ‘अछुत’ मान्छेलाई ‘दलित’ भन्ने गरिएको छ । शब्दार्थबमोजिम नै हेपिएका, विभेद गरिएका, दलिएका, अपमान गरिएका मानव समुदाय ‘दलित’ हो भनिएको छ । र, त्यही अपमान, वर्णीय विभेद, गरिबी र छुवाछुतजस्तो अकल्पनीय पीडादायी जीवन दलितले भोेग्दै आएका छन् । अझै कतिन्जेल भोग्नुपर्ने हो, थाहा छैन । यसका धेरै कारण भए तापनि वर्तमानमा ‘हिन्दू कमरेडिज्म’ र ‘लम्पसार प्रवृत्ति’ नै मूल हो ।
केही आधिकारिक अंग्रेजी शब्दकोशले ‘कमरेड’ शब्दलाई कम्युनिस्ट र समाजवादीले आफूहरूबीच ‘साथी’ अर्थमा प्रयोग गरेका छन् । केहीले समान हैसियत भएको ‘मित्र’का रूपमा अर्थ्याएका छन् । नेपाली बुझाइ पनि त्यही हो ।
मार्क्सवादी पुस्तक हातहातमा परेपछि दलितले मार्क्सवाद र पुस्तक लिएर आउने ‘कमरेड’लाई मुक्तिदाता देखे । कतिपय दलित त्यो भ्रमको निद्राबाट अझै ब्युँझिएका छैनन् ।
अनि, कथित उपल्लो जातको भनिएको सामान्य मान्छेले कमरेड भन्दै दलितसँग कसिलो गरी हात मिलाएर, रुखोसुखो जे छ गजरा-पिरामा बसेर सँगै खाँदै भन्छन्, ‘मार्क्सवादले जातपात, छुवाछुत जान्दैन, मान्दैन । मान्छे सबै समान हुन् । धर्महरूले यस्ता विभेद जन्माएका हुन् । धर्म भनेको ठूलाठालु, मालिक, राजामहाराजाले काम गरी खानेलाई लट्ठ्याउन बनाएको अफिम हो ।’ यसो भनेपछि कुन दलित माक्र्सवादी नबन्ला र ! किनकि उसलाई मुक्ति जो चाहिएको छ ।
अर्कातिर, कहिले हतारोमा पढाउन जान आँटेका, त कहिले दिनभरि जातीय अपमान र बेइज्जती भोगेर बेलुका घर आएका स्कुले–क्याम्पसे दलित शिक्षकहरू । कथित बौद्धिक र सम्मानित पेसामा लागेका र केही राम्रो आर्थिक हैसियत भएका दलितलाई सँगै राखेर कार्ल माक्र्सका सिद्धान्त सुनाइन्छ । मार्क्सवादले वर्ग र राज्यविहीन समाज स्थापना गर्ने कुरा गर्छ । भेदभावरहित समाज निर्माण गर्ने कुरा गर्छ ।
मार्क्सवादी पुस्तक हातहातमा परेपछि दलितले मार्क्सवाद र पुस्तक लिएर आउने‘ ‘कमरेड’लाई मुक्तिदाता देखे । कतिपय दलित त्यो भ्रमको निद्राबाट अझै ब्युँझिएका छैनन् ।
माक्र्सवादी पुस्तक बोकेर कमरेडहरू खिइएको चप्पल, उध्रिएका स्विटर, खुइलिएका पेन्ट–सर्ट-कुर्तासुरुवाल, भोक र रोगले गलेका मानिस भएको ठाउँमा पुगे । त्यस्ता गाउँमा ‘कमरेडहरू’ महान् नै ठहरिए । अहिले तिनै निर्धा निमुखा दलित बस्तीमा पुग्ने ‘कमरेड’हरू नै सत्तासीन छन् । तर, हिजो गाउँ आउँदा गरेका वाचा अहिले उनीहरूले भुलेका छन् । आखिर किन दलित सधैँ ‘दलित’ बनिरहनुपरेको ? ती ‘कमरेड’ क्रमशः हिन्दूकरण हुँदै गए ।
मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा बोका काटेर त्यसको रगतमा टेक्दै सिंहदरबार प्रवेश गरे । ‘विद्वान्’ कमरेड लालध्वजले आफ्नी आमालाई मनकामना मन्दिर घुमाएर नेपाली हिन्दूको ठूलो चाड दसैँमा टीका लगाए । मदन भण्डारी र जीवराज आश्रितको मृत्यु हुँदा दासढुंगामा ‘पुराण’ लगाइयो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सात ‘ब्राह्मण’ डाकेर छोरीको बिहे गरिन् । राष्ट्रपतिको काम सर्वसाधारण जनतालाई सडक किनारमा ढकेलेर मन्दिर शिलान्यास गर्नुसिवाय अरू देखिँदैन । कम्युनिस्ट पार्टीका मुख्य नेतृत्व नै मन्दिरमा दर्शन गर्ने र भैँसी पुजेको घटना धेरै पुरानो भएकै छैन । घटनाहरू सरसर्ती हेर्दा लाग्छ, कमरेड नै क्रूर हिन्दूवादी व्यवस्था स्थापना गर्न तल्लीन छन् । कमरेडहरू सबै पीठाधीशजस्ता देखिन थालेका छन् । अब, ‘हिन्दू कमरेड’ भन्न पाउने कि नपाउने ?
‘दलित’ हुनुको जरा कारण हिन्दू धर्म र हिन्दू राज्यसत्ता हो । दलितले हिन्दू नै भएर वर्णव्यवस्था हटाउन खोज्नु कुहिनाले पहाड सम्याउनुजस्तै भइरहेको छ । किनकि, ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्रविनाको हिन्दू धर्म नै हुँदैन । बरु, हिन्दू धर्म र हिन्दू राज्यसत्ता छोड्नु नै दलितका निम्ति सही निर्णय हुन सक्छ । यसको मतलब दलित क्रिस्चियन वा अन्य धर्ममा लाग्नुपर्छ भन्ने होइन । किनकि हिन्दू कमरेडहरूको पछि लागेर दलित मुक्ति असम्भव छ ।
तर, विडम्बना दलित समुदायमा अझै भ्रम छ । दलितभित्रै लम्पसारवाद जबर्जस्त छ । आफैँलाई डस्छ भन्ने थाहा हुँदाहुँदै त्यसैलाई समातिरहनु लम्पसारवाद हो । जान–अन्जानमा बहुसंख्यक दलितले ‘हिन्दू कमरेडिज्म’ र हिन्दू संस्कार–संस्कृतिलाई समाती नै रहेका छन् । अन्य कुनै धर्म-सम्प्रदाय वा समूहलाई अँगालेर दलितमाथि भइरहेको अमानवीय समस्या समाप्त हुँदैन । दलितहरू नयाँ मानवीय नेपाली संस्कृतिको निर्माणमा लाग्नुपर्छ ।
केही अगुवा भनिएका दलितको लम्पसारवादी दिनचर्याले सिंगो दलित सुमदायकै भविष्य निमोठिरहेको छ । ती अगुवा भनिएकाहरू हिन्दू कमरेडको पछि–पछि हिँड्छन् । आफ्नै समुदायप्रति ठालू पल्टिन्छन्, अनि ‘शूद्र विद्वान्’ बनेर हिन्दू संस्कृतिलाई शिरोधार्य गर्छन् । दलितलाई कुनै धर्मको आवरण चाहिएको छैन । सबैभन्दा पहिला दलितलाई मान्छेको पहिचान चाहिएको छ ।
जबसम्म दलितहरू थोरै भए पनि स्वाभिमानी बनी आफ्नो श्रम र मिहिनेतप्रति विश्वास गर्दै, सादा र प्राकृतिक जीवनशैली अपनाएर भ्रातृत्वसहितको वैज्ञानिक संगठनको विकास गरिँदैन तबसम्म दलित संगठन विघटनकै अवस्थामा रहिरहन्छ । ‘हिन्दू कमरेडिज्म’ र ‘लम्पसार प्रवृत्ति’ले दलितलाई स्वाभिमानी र संगठित हुन दिइरहेको छैन ।