चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले विश्वभर त्रास बढाइरहेको छ । तर, चीनको नजिकको देश नेपालमा भने अझै कोरोना भाइरसका कारण कसैले ज्यान गुमाउनुपरेको छैन । तर, मनोवैज्ञानिक रूपमा भने भयानक त्रास फैलिसकेको छ ।
यो भाइरस अन्य महामारी रोगजस्तो होइन । यसको औषधि पनि बनिसकेको अवस्था छैन । अहिलेसम्म विश्वभरिबाट चार हजारसम्म मानिस मरिसकेका छन् । नेपालमा जति भय हुनुपर्ने हो, त्योभन्दा धेरै भय बढेको छ । यसो हुनुको कारण ‘हल्ला’ हो । भय बढाउनुमा हल्लाको भूमिका छ ।
मानिसलाई डर र त्रासको चासो बढी हुन्छ । मनोवैज्ञानिक रूपमै भयमा बढी रुचि राख्छौँ, हामी । हामीलाई सानैदेखि भय सिकाइएको थियो । समयमा नसुत्दा भूतप्रेतको डर देखाइन्थ्यो । चकचक गरे लडिने भय देखाइन्थ्यो । फोहोरी भए अनेक रोग लाग्छ भन्ने भय देखाइन्थ्यो । हामी भयको भाषा छिटो बुझ्छौँ । छिटै ग्रहण गर्छौं । जस्तै– राजनीतिमा पनि भय उस्तै छ । कम्युनिस्टले जित्यो भने रुन पनि पाइँदैन भनेर भय देखाइयो ।
माओवादी सत्तामा आएको धेरै कारणमध्ये भय पनि एक हो । वेलावेलामा राजनीतिकहरूले विदेशी भय देखाउँछन् । राष्ट्रियता खतरामा प¥यो भनेर भय देखाइदिन्छन् । चाइनामा कोरोना छाडेको नै अमेरिकाले हो भन्नु पनि भयकै कारण हो । आर्थिक लाभको लागि भय बढाइयो । व्यापारीहरूले पनि भय बढाए । कालोबजारी गर्नेहरूले पनि भय बढाइरहेका छन् । सामाजिक सञ्जालले पनि आफ्नो कन्टेन्ट बेच्न भय फैलाइरहेको छ ।
कोरोनाको विषयमा सामाजिक सञ्जालले मुख्य भूमिका खेलेको छ । यो सबैको हात–हातमा पुग्छ । मानिसहरू भयको पछाडि दौडिने गर्छन् । किनकि विश्लेषणात्मक क्षमता सबैमा हुन्न । सबैले विश्लेषण गरेर पनि बस्दैनन् । सुनेको भरमा विश्वस्त हुन्छन् । अझ हाम्रो समाजमा अपवादलाई छाडेर भय देखाएर खुसी हुनेहरू पनि छन् । त्यो एक किसिमको मनोवैज्ञानिक समस्या हो । यसलाई ‘साइकोबाथ’ पनि भनिन्छ । यस्ता मानिस अरूलाई भय देखाएर आफू रमाउँछन् ।
बालबालिका पनि सानैदेखि अरूलाई तर्साएर रमाउँछन् । अरूलाई तर्साएर रमाउने प्रविधिले गर्दा नै हामीलाई कोरोना भयानक लागिरहेको छ ।
अहिले कोरोनाको भयबाट प्रभावित बालबालिका बढी छन् । स्कुल बन्द गरियो । होली खेल्न रोकियो । डब्लुएचओले पनि नेपाललाई उच्च जोखिममा राख्यो । सरकारले भिजिट नेपाल २०२० स्थगित ग¥यो । सार्वजनिक ठाउँमा नबस्ने भनियो ।
सामान्य रोग लाग्दा त औषधि नपाइने देशमा कोरोनाको भाइरसको भय हुनु स्वाभाविक छ । अहिले भयलाई अस्त्र बनाइयो । हल्ला गर्नेको पनि अस्त्र । कालोबजारी गर्नेको पनि अस्त्र । राजनीतिक दलहरूको अस्त्र । अभियन्ताहरूको पनि अस्त्र । डाक्टरहरूको पनि अस्त्र भयो । व्यापारीहरूको पनि अस्त्र भयो । यो क्षणिक स्वार्थका लागि मनोवैज्ञानिक भय खतरनाक हुन्छ । जति भयभीत हुन्छ, त्यति समस्या बढ्छ । चीनको अर्थतन्त्रलाई कमजोर बनाउन पनि यस्ता भाइरस फैलिएको भनिन्छ ।
कोरोनाको त्रास बढ्दै गयो भने समाजमा मनोवैज्ञानिक असर बढी हुने र त्यसले स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्छ
नेपालमा कोरोनाले पारेको प्रभाव करिब एक प्रतिशत मात्रै छ । तर, यसको मनोवैज्ञानिक प्रभाव भने दसाैँ गुणा बढी छ । यत्रतत्र कोरोना भाइरस फैलिसकेको जस्तो देखाइयो । कोरोनाको डर बढ्दै गयो भने मनोवैज्ञानिक असर बढी देखिन सक्छ । हल्लाका पछाडि लागियो भने झन् नकारात्मक असर समाजमा पर्न सक्छ । ‘कन्भर्जन डिस अर्डर’ हुन्छ । मान्छे चिच्याउने, भाग्ने, बर्बराउनेजस्ता समस्या आउन सक्छ ।
धार्मिक विश्वास
कोरोना भाइरसलाई कतिले धर्म प्रचारको माध्यम बनाइरहेका छन् । जस्तै– माताले कोरोनाबारे बताउँछिन् भनिरहेका छन् । ज्योतिष पनि कोरोनाका प्रभाव कतिसम्म हुन सक्छ बताउँछन् । धर्मको नाममा व्यापार गर्नेहरू यसलाई रणनीति बनाउन सक्छन् । जस्तै– प्रार्थना गर्यो भने कोरोना कम हुन सक्छ भन्नेहरू पनि भेटिन सक्छन् ।
कोरियामा प्रार्थना गरे कोरोना हट्छ भनेर सबै भेला भए, तर त्यहीँ कोरोना संक्रमण भएका व्यक्ति भेटिए । कोही कोरोनाको औषधि भेटेँ भनेर अफवाह फैलाइरहेका छन् । कोही रक्सी खाए ठीक हुन्छ भनिरहेका छन् । कोरोनाबाट बच्न बुटी बाँध्नेसम्म भेटिए । यसको असर नकारात्मक हुन्छ ।
यस्तो अवस्थामा राति निद्रा नलाग्ने, बाहिर जान डराउने, घुलमिल हुन डराउने इत्यादि रोग देखिन सक्छ । यसलाई ‘हाइपोकन्टासिस’ पनि भनिन्छ । रोग चिन्ता बढेर आएको हुन सक्छ । कोरोना मलाई सर्ने हो कि भन्ने डर छ । हात मिलाउँदैनन् । संक्रमण भएका मानिससँग राम्रो व्यावहार गर्दैनन् । यस्ता कारणले रोगसँग लडिरहेका पात्रमा हीनताबोध आउँछ । र, अन्य कदम उठाउन पुग्छन् ।
राज्यको पहल
राज्यले होली नखेल्नू भन्यो । स्कुल बन्द गर भन्यो । परीक्षा सार्यो । कालोबजारी फस्टाउने अवसर दियो । झाडापखाला लाग्दासमेत समयमा उपचार पुर्याउन नसक्ने देशले महामारी फैलियो भने के गर्न सक्छ भन्ने चिन्ता पनि मानिसमा छ । नागरिकलाई विश्वस्त पार्न सकिएको छैन । स्वास्थ्य प्रणाली चुस्तदुरुस्त छैन । डब्लुएचओले नेपालमा स्वास्थ्य प्रणाली कमजोर देखेर पनि उच्च जोखिममा राखेको हुन सक्छ । राज्य जिम्मेवार नहुँदा नागरिक डराइरहेका छन् ।
प्रत्येक वर्ष विश्वमा नयाँ–नयाँ संक्रामक रोग आइरहेका छन् । यस्ता रोग आउनुअगाडि नै राज्यले संयमता अपनाउने कुनै विकल्प खोजेको छैन । आगामी वर्षमा पनि नयाँ–नयाँ रोग आउन सक्छन् । प्रत्येक वर्ष विश्वमा सामान्य रुघाखोकीले र ज्वरोले मात्र चार लाख मानिस मरिरहेका छन् । कोरोना भाइरसकै कारणले मरिन्छ कि भन्ने डर मान्नु हुँदैन । रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई कोरोना लाग्दा अलि गाह्रो हुन्छ । तर, धेरै फैलिने रोग पनि यो होइन । ठूलो देशमा देखिएका कारण र तत्काल औषधि बनाउन नसक्नुका कारण पनि अलि आतंक फैलिएको छ ।
राज्यले सूचना दिनुपर्छ तर भयावह बनाएर होइन । सद्भावलाई खल्बल्याउने गरी होइन । संक्रमणबाट जोगिने कोसिस गर्ने, संयमता अपनाउने र ज्वरो, रुघाखोकी लागेमा अस्पतालमा जाने, अरूलाई हीनताबोध हुने काम नगर्ने आदि कुरामा सचेत हुनुपर्छ । मौसम चेन्ज हुन लागेको छ, यस्तो वेला सामान्य रुघाखोकी लाग्न सक्छ । यस्तो अवस्थामा आत्तिहाल्नु हुँदैन ।
ढकाल मनोविद् हुन्