धनगढीको एनचोकस्थित लक्ष्मीनारायण मन्दिरको गेटनजिकै रोकिएको थियो अटोरिक्सा । चालक थिए मट्यारी गाउँनिवासी छेदाराम राना । सो मन्दिरछेउमा पुग्दा सम्झनामा आउँछ कतिपयको मुखारबिन्दबाट सुनिएको मोटी दमिनीको इतिहास । अटोमा बस्नेबित्तिकै छेदारामसँग मोटी दमिनीकोे प्रसंग के निकालेको थिएँ, निर्धक्कसँग भनिदिए उनले, ‘लक्ष्मीनारायण मन्दिरको जग्गा सबै मोटी दमिनीको हो ।
माटोको दिवाल उठाएर घाँसले छाएको सानो मन्दिर थियो उनैले बनाएको । त्यसै मन्दिरमा पाठपूजा गरेर बस्थिन् । उनी कुन ठाउँबाट आएकी थिइन, थाहा छैन । होची अनि सुन्दर थिइन् । थारूहरूको गाउँमा जान्थिन् । सबैले दुःखी हो भनेर केही खानेकुरा दिन्थे । ०२५ सालसम्म उनी जिउँदै थिइन् । त्यतिवेला काठका घर बनाउँथे । हामी घर छाउनलाई उनको जमिनमा घाँस काट्न जान्थ्यौँ ।’
मोटी दमिनीको जमिन अरू पनि थियो भन्छन्, अधिवक्ता तथा लेखक भोजराज भट्ट । भट्टका अनुसार ऐश्वर्य विद्यानिकेतन स्कुलको जमिनसमेत तिनै मोटी दमिनीको हो । उनले ओगटेको जमिनमा सामुदायिक विद्यालय बन्यो । मन्दिर बन्यो । काम राम्रो भयो । तर, आएन तिनको नाम कहीँ–कतै । सायद उनी दलित समुदायकै भएका कारण देखिएन उनको नाम । उनको ठाउँमा यदि गैरदलित समुदायकी महिला हुँदी हुन् त अहिलेसम्म उनको सालिक तयार भइसक्थ्यो । हाल मन्दिर रहेको ठाउँमा सुरुवातीको मन्दिर उनैले बनाइन् । उनैले पुजिन् । अहिलेका मन्दिरका ‘महारथीहरू’ले चाहेनन् त्यो इतिहास खोज्न । छेदारामहरू बोलिरहन्छन् । भोजराजहरू बोलिरहन्छन्, तर सुन्दैनन् कसैले तिनको आवाज ।
बाटोमा छेदारामसँग कुराकानी भइरह्यो । विगत सम्झेर भावुक बनेका उनी भनिरहेका थिए, ‘आठ वर्षको उमेरसम्म नांगै हिँडेँ । नौ वर्षको उमेरमा लगौँटी र त्यसपछि कच्छा (कट्टु) लगाउन पाएँ । त्यसरी कपडा पाउँदा कैयाैं दिनसम्म मुहारमा खुसीका धर्सा सलबलाइरहन्थे । आगो तापेरै जिन्दगीका कैयौँ दिन बिते । समय हो, जंगल सहर बन्यो । के थियो, के भयो । अहिले सम्झिँदा अचम्म लाग्छ । यति त देखेँ अब के–के देखिने हो, सोच्छु ।’
जवान छोराछोरी बेपत्ता हुँदाको पीडा कस्तो हुन्छ, त्यो छेदारामलाई राम्ररी थाहा छ । उसो त पीडाकै भकारीजस्तो छ उनको जीवन । गुमाएका छन् उनले कैयौँ आफन्तलाई । खसालेका छन् धरधरी आँसुका थोपा । थाहा छ, जन्मेपछि एक दिन मर्नुपर्छ । तर, बैँसमै बेपत्ता हुनेहरूले उपहारझैँ दिएको आँसुको गहिराइ कसरी मापन गर्नु । मरेको पत्ता पाएको भए बिस्तारै मन बुझाउनुहुन्थ्यो ।
कुनै खबर नपाउँदा झिनो आशा बचेकै छ, कतै आई पो हाल्छ कि भन्ने । कैयौँपल्ट छोरो बमन राना आइदिन्छ सपनीमा र रुवाएर जान्छ उनलाई । सपना देख्ने क्रममा एक दिन उनले देखेछन्, काँधमा हलो र जुवा बोकेको छोरो हलगोरु ल्याएर घर आइरहेको । मस्त निद्रामा बरबराएछन् उनी, ‘अरे तै तो मर गउर हो रे । तै तो आइगो ।’ ‘हाँ, मै तो आपन घर देखन आ हुँ,’ उत्तर आएछ । यत्तिकैमा निद्रा भंग भएछ । बाँकी रात बिताएछन् आँसु झारेर । हरेक दिन झ्यालबाट ओछ्यानसम्म छाउने उज्यालो छाउन सकेको छैन उनको मनमा ।
गुरुवा धामी सबैलाई सोधिरहे । गुहारिरहे मानवअधिकारवादीलाई । कहीँ–कतै केही पत्तो लागेन छोरा बमनको । द्वन्द्वकालमा सर्वसाधारणलाई माओवादी भनेर मारेका कैयौँ उदाहरण छन् । कतै त्यसरी नै उसलाई पनि मारिदियो कि ? यही प्रश्नले लखेट्छ बारम्बार उनलाई । दुई कक्षा पास गरेर पढाइ छोडेका छेदारामको जीवन फिलिमको पटकथाजस्तो पनि नलाग्ने होइन ।
पीडाको भर्याङमा उक्लिरहन्छन् संघर्षका पाइलाहरू । पहिलोपटक कुनै केटीसँग मगनी हुन्छ उनको । ढिकीमा घान कुट्दाताका मगनी भएकी केटीको हात भाँचिन्छ कामै नलाग्ने गरी । त्यो कुरा सुनेपछि छेदारामका बुबा, काकाहरू हात टुटेकीलाई नभित्र्याउने निर्णयमा पुग्छन् । त्यतिवेला छेदाराम अन्दाजी १६÷१७ वर्षका हुँदा हुन् । उनले केटी देख्न नपाए पनि कल्पनामै अनुहारको खाका कोरिसकेका थिए । केही दिनमै खबर पाएछन् उनको बिहे एकजना अपांग केटासँग भयो भन्ने । वर्षदिन नबित्दै उनले यो धर्ती छोडिन् भन्ने खबर सुनेछन् । त्यो नदेखेको अनुहार कल्पेर झारेछन् आँसु ।
०००
३० वर्षको उमेरमा आमाबुबा र इष्टमित्रको दबाबमा बाध्य तुल्याए बिहे गर्नलाई । जसोतसो रमाउन सिके घरगृस्थीमा । जन्मिए दुई छोरा । दिनप्रतिदिन श्रीमतीलाई बिसन्चो हुन थाल्यो । औषधिमूलो गरिरहे । गुरुवा धामीलाई सोधिरहे । सीप चलेन केही गर्दा पनि । रोग नै पत्ता लागेन । त्यति नै वेला संसार छाडिन् आमाले । तीन वर्षपछि बिदा भए बुबा पनि ।
जवान छोराछोरी बेपत्ता हुँदाको पीडा कस्तो हुन्छ, त्यो छेदारामलाई राम्ररी थाहा छ उसो त पीडाकै भकारीजस्तो छ उनको जीवन, गुमाएका छन् उनले कैयौँ आफन्तलाई
छेदारामकी श्रीमतीले आफू काम गर्न नसक्ने भएपछि आफ्नै बहिनीलाई फकाईफुल्याई सौता बन्न राजी तुल्याइन् । छेदारामलाई पनि सम्झाईबुझाई मनाइन् । ४० सालताका एकदिन तिनै साली भागेर आइपुगिन् छेदारामको घरमा । मुद्दामामिलासमेत चल्यो । अन्ततोगत्वा कुराकानी मिलाए । दिन, महिना, वर्ष बित्दै जाँदा पाइसकेकी हुन्छिन् कान्छीले पनि दुई छोरी । जेठो छोराको विवाह गरेर भित्र्याइसक्छन् बुहारी ।
छेदाराम भक्त हुन् । उनकी जेठी श्रीमती पनि भक्त थिइन् । राना थारूहरूको समुदायमा भक्तले झुटो बोल्नु हुँदैन, सच्चाइमा बस्नुपर्छ, शाकाहारी जीवन व्यतीत गर्नुपर्छ, कुलदेवता पुज्नुपर्छ भन्ने मान्यता छ । यिनै मान्यतालाई आत्मसात् गरेर बिताइरहेका छन् छेदारामले जिन्दगी । उनी १२ वर्षको हुँदा बितेका हुन् उनका हजुरबुबा । हजुरआमा र हजुरबुबाले भक्त बनेरै जिन्दगी चलाए । तर, आमाबुबाले माछामासु, जाँडरक्सी सबै खाए । धेरैजसो सम्पत्ति बेचे । छेदारामलाई भने थाहा छैन– माछामासु अनि रक्सीको स्वाद कस्तो हुन्छ । हजुरबुबाले सानोमा सिकाएका थिए इमानदारीपूर्वक कर्म गर्न । सोहीबमोजिम उनले तय गरेका हुन् जिन्दगीको यात्रा ।
०००
०५८ सालमा एकाएक जेठो छोरा बमन बेपत्ता भएपछि केही महिनामै जुगेडा गाउँमा पोइल गइन् बुहारी । साथमा ३ वर्ष र डेढ वर्षका दुई छोरी पनि लगिन् । मेरा नातिनी मलाई देऊ, म यिनीहरूलाई पढाउँछु भन्दै बुहारीसँग हात जोडेर अनुरोध गरे । तर, दिन मानिनन् कसै गरे पनि । छेदारामले गाउँमा कचहरी बोलाए । कचहरीले पनि निर्णय सुनायो, ‘साना छन्, अहिले आमासँगै बस्छन्, ठूला भएपछि बोलाउनू ।’ ठूली भएपछि जेठी नातिनी एउटा केटासँग भारततिर भागी भन्ने खबर आयो । कान्छी छोरीलाई छेदारामले चालै नपाउने गरी विवाह गरिदिइन् बुहारीले । त्यो खबर सुनेर जिन्दगीको मोडमा एकपल्ट फेरि खसाले उनले आँसु । छेदाराम नातिनीको मुहार हेरेर छोराको न्यास्रो मेटिन्थ्यो कि ठान्छन्, तर उनीहरू चाहँदैनन् सम्पर्कमा आउन ।
धनगढीको गाउँबस्तीको कुरा गर्दा विगतका दिनहरू सम्झिँदै उनी भन्छन्, ‘धनगढीमा त्यसताका एउटा जेलघर थियो । अहिलेको सेती अञ्चल अस्पतालनजिकमा एउटा गोस्वारा भन्ने घर थियो । अरू त सबै जंगल । चौधरी थिएनन् । पहाडी पनि दुई–चारजना जमिनदारबाहेक अरू थिएनन् । जमिनदारकै शासन चल्थ्यो गाउँ–गाउँमा । काम लगाउने, पेटभर खाना नदिने । पेल्नसम्म पेल्थे जमिनदारले ।
कुनै–कुनै जमिनदारले यतिसम्म अत्याचार गर्थे कि कसैले बिहे गर्यो भने दुलहीलाई पहिलो रात आफ्नोमा सुत्न पठाउन भन्थे । नपठाए कुटाइ खाइन्थ्यो । जमिनदारको शोषणबाट दिक्क भएपछि छोडे राना थारूले तिनको काम गर्न । पछि, तिनै जमिनदारले दाङ–देउखुरीबाट काम गर्न चौधरीहरू ल्याए । यसरी दाङबाट ०१३ सालमा केही चौधरी आए भने बढीजसो ०२० सालतिर आएका हुन् ।
०२०/०२५ सालतिर पहाडी पनि आउन थाले । चौधरी, पहाडी सबै जंगल फँडानी गरेर बस्न थाले । त्यतिवेला पनि चौधरीहरूलाई दिनभर काम गरेबापत तीन माना घान दिइन्थ्यो । यतिले नपुगे कर्जा दिइन्थ्यो । त्यसरी लगेको कर्जा बढ्दै जान्थ्यो र बन्थे चौधरीहरू बँधुवा मजदुर । ०२१ सालमा नापी आयो । चौधरीले कमाउँदै आएको जमिन उनीहरूकै नाममा नापियो । बल्ल चौधरीहरूलाई केही राहत भयो ।’
छेदारामलाई यकिन थाहा छैन आफू जन्मेको साल । घरीघरी भन्छन्, ‘म ७० वर्ष नाघिसकेको हुनुपर्छ ।’ उनका कुरा सुन्दै जाँदा ००१ सालतिरकै जन्म हुनुपर्छ उनको । ०२१ सालमा सरकारी मान्छेले नल्का बनाउने काम सिकाउन उनलाई काठमाडौं लगे । त्यतिवेला घरघरमा आउँथे बोलाउन । कोही जान मान्दैनथे । छेदाराम काठमाडौं जान तयार भए । साथमा अरू दुईजना पनि थिए ।
मरेको पत्ता पाएको भए बिस्तारै मन बुझाउनुहुन्थ्यो । कुनै खबर नपाउँदा झिनो आशा बचेकै छ, कतै आई पो हाल्छ कि भन्ने । कैयौँपल्ट छोरो बमन राना आइदिन्छ सपनीमा र रुवाएर जान्छ उनलाई ।
एकजना कञ्चनपुर झलारीका अनि अर्का कैलाली टीकापुरका । त्यो वेला चार दिनमा काठमाडौं पुगेको कुरा सुनाउँछन् उनी । उनको समूहले ६ महिनासम्म पशुपति गौशालामा तालिम पायो । खान–बस्न सबै सरकारकै हुन्थ्यो । ६ महिनामा तीन महिना पूरै प्राक्टिस गरेपछि जिल्लामा खटिए । महाकाली, सेती र भेरीअन्तर्गतका सात जिल्ला पुगे उनी ।
पहाडी जिल्लामा डोटी र अछाम पुगे, तर पानी निकाल्न सकेनन् । त्यतिवेलासम्म तराईमा खाल्डो खनेर कुवा बनाउँथे । नदीको पानी खान्थे । ०२२ सालपछि मात्रै नल्काको चलन सुरु भयो । त्यतिवेला उनले फिटको ३/४ रुपैयाँ पाउँथे । पछि, गएर फिटको ३५/४० रुपैयाँसम्म पनि लिए । सय फिटसम्म गहिराइमा नल्का हाल्ने गरेको कुरा सम्झन्छन् उनी ।
पछिल्ला दिनमा उमेरले साथ नदिँदा सकेनन् नल्काको काम गर्न र किने २ लाखमा अटोरिक्सा । ६ महिनाको दौरानमै असुल गरे लगानी । संख्या बढ्दै जान थालेपछि अहिले खासै कमाइ छैन अटोरिक्सावालाको । तर, पनि दिनभर अटो चलाएर कमाएको पैसाबाटै घरमा चाहिने सामान किन्ने गरेको बताउँछन् उनी ।बाजेको पालामा २५ बिघा जमिनमध्ये १० बिघा बुबाले बेचेर खाए । बाँकी रहेको १५ बिघामा १० बिघा दाइ रामदीपले सिध्याए ।
बचेको पाँच बिघा जमिनमा उनको भागमा अढाई बिघा पर्न गयो । त्यही जमिनमा खेतीपाती गरेर गुजारा चलाइरहे । उनका दाइले उनको जमिनसँगै टाँसिएको आफ्नो जमिन आधी–आधी गरेर बेचे । अहिले उनकी जेठी श्रीमतीको नाममा रहेको सँगैको जमिन ट्यापमा परेको छ । बाटो पाएका छैनन् । ट्यापमा पारेर सस्तोमा जमिन हात पार्ने रणनीति अपनाइरहेकै हुन्छन् टाठाबाठाहरूले । यस्तै समस्यामा छन् छेदाराम पनि ।
उनलाई बेच्न मन छैन श्रीमतीको नामको त्यो जमिन । उसै पनि बिहान, दिउँसो र साँझ तीनै प्रहर उनैको यादले सताइरहन्छ उनलाई । उनको यादमा एकान्तमा खसालिरहन्छन् आँसु । ‘आठ वर्षअघि जेठी श्रीमती बित्दा लासको छेउमा बसेर खुब रोएको थिएँ । अन्तिममा कान्छी श्रीमती र मैले मट्टी दियौँ । काजकिरिया गर्यौँ । पहिले–पहिले सपनामा आउँथी, आजकल त सपनीमा पनि आउँदिनँ । उता भेट हुन्छ कि हुँदैन । जे भए नि बाँचुन्जेल कर्म त गर्नु नै पर्छ । मरेपछि त हिजोको आज दुई दिन । यस्तै त हो जिन्दगी,’ आँखाका डिल भत्केलान् झैँ अश्रुपूर्ण बन्दै सुनाए उनले ।