पुँजीवाद र महिला दासत्वको सिलसिला

कुमारी लामा कुमारी लामा
शनिबार, २४ फागुन, २०७६
डिजिटल संस्करण

आजको विश्व, भूमण्डलीकृत पुँजीवादी उत्पादन र पुनरुत्पादनको संरचनाभित्र कैद छ । यो उत्पादन प्रणाली सिंगो सामाजिक संरचनासँग सरोकार राख्छ । विज्ञान र प्रविधिले मारेको पछिल्लो छलाङ, इन्टरनेट सञ्जालको विस्तारसँगै पुँजीवादका नयाँ स्वरूप देखापर्न थालेका छन् ।

 आजको भूमण्डलीकृत पुँजीवादले अमेरिकाको सिलिकन भ्यालीबाट नेपालको दूरदराजका गाउँवासीलाई समेत नियन्त्रणमा राखेको छ । यही जटिल भूमण्डलीकृत पुँजीवादले महिला दासत्वको नयाँ फेहरिस्त तयार पारिसकेको छ । महिला शरीरको वस्तुकरण र दोहनसँग जोडिएको ‘यौन कारखाना’ यसैको पछिल्लो संस्करण हो । बिल्कुल नयाँपनसहित सतहमा तैरिन थालेका छन् ‘मेल अर्डर ब्राइड’देखि ‘साइवर सेक्स’जस्ता यौन बजारका पछिल्ला उत्पादन । महिला दासत्वको नयाँ युग सुरुवात भएको छ । 

दासत्व सिलसिला 
मानव समाज विकासक्रमको पछिल्लो चार–पाँच हजार वर्ष अवधिमा महिलाको शक्तिशाली अवस्था क्रमशः क्षयीकरणमा पर्दै पितृसत्तात्मक सञ्जालमा जकडिएको जानकारहरू औँल्याउछन् ।  एङ्गेल्सको विश्लेषणले महिला घेराबन्दीको सुरुवात परिवार र निजी सम्पत्तिको सुरुवातसँग भएको ठोकुवा गर्छ । सम्पत्तिको जुगाड, संरक्षण र हस्तान्तरणसँग निजी परिवारको आवश्यकता पर्ने नै भयो ।

परिवारको लागि निजी स्वास्नी र उसले जन्माइदिने छोराछोरी अझ त्यसमा पनि छोराको आवश्यकता भयो । निजी अवधारणा विकास भएसँगै सम्पत्ति मात्र निजी नभई व्यक्ति पनि निजी भए, बनाइए । निजी स्वास्नी पुरुषको आफ्नो हकदाबीको सम्पत्तिभित्रै पर्न गयो । यसरी नै पहिलेका स्वतन्त्र महिला बिस्तारै निजीकरणमा पर्दै गए । पितृसत्तात्मक सामाजिक संरचना विकास भएसँगै महिलाको स्वतन्त्रता खुम्चिएर उनीहरू कसैको निजी सम्पत्ति भएर घरभित्र थन्किन पुगे । 

महिला थन्किनुअघिको आदिम समाजमा लिंगको आधारमा महिला–पुरुषका काम विभाजन हुँदासम्म समाज सन्तुलित ढंगले अघि बढेको थियो । तर, जब श्रमको सामाजिक बाँडफाँडको जटिल प्रक्रिया अघि बढ्यो तब पुरुषले पशुपालन, कृषिजस्ता व्यवसायबाट द्रव्य आर्जन गर्न थाल्यो । अतिरिक्त कमाइमा उसको स्वामित्व भयो । हुन त उसले बाहिर काम गर्ने वातावरण महिलाले घर सम्हालिदिएबाटै प्राप्त भएको थियो, तर त्यसको वास्तै नगरी कमाइमा केवल पुरुषले आफ्नो हकदाबी गरिदियो । 

पुँजी उत्पादनका क्रियाकलाप पुरुषको हातमा र उत्पादन नदेखिने घरभित्रका बालबच्चा स्याहार र परिवार पोषणको काममा महिला अल्झिएसँगै उनीहरूको उत्पीडन यात्रा सुरु भएको बताउँछन् माक्र्सवादी चिन्तक एवलिन् रिड्स । रिड्सको दाबी यो पनि छ कि मातृसत्तात्मक साम्यवाद उल्ट्याई पितृसत्तात्मक समाजको सुरुवात भएसँगै महिला सामाजिक र सांस्कृतिक जीवनसँग अलग्याई घरको नोकरको स्थितिमा पुगेको हो । यसबाट सहजै अनुमान गर्न सकिन्छ– महिलाले व्यहोरेको शक्तिच्यूतसँगै तय भएको दमनको यात्रा । 

मार्क्सवादी  समाजशास्त्रमा कुनै वर्गको आपसी सम्बन्धलाई उत्पादन प्रक्रियामा उसको भूमिका र सम्पत्तिको स्वामित्व के छ भनी विश्लेषण गरिन्छ । पितृसत्तात्मक समाजको विकाससँगै उत्पादन प्रक्रिया र सम्पत्तिको स्वामित्व महिलाको हातमा रहेन । उनीहरू घरमा बसीखाने बेकारका जिनिसजस्ता ठानिए । उज्यालो भएदेखि मध्यरातसम्म घरमा नोकरसरह काम गर्ने महिलाको काम उत्पादन र आर्जन नगर्ने बेकारी काम मानियो । घरको काममा सधैँ घोटिने ती महिलाको न त श्रमको सम्मान भयो न व्यक्ति स्वयंको । सामन्तवादी पितृसत्तात्मक समाजमा महिलाको अवस्था झन् बढी नाजुक हुँदै गयो । 

पुरुषले पशुपालन, कृषिजस्ता व्यवसायबाट द्रव्य आर्जन गर्न थाल्यो । अतिरिक्त कमाइमा उसको स्वामित्व भयो । बाहिर काम गर्ने वातावरण महिलाले घर सम्हालिदिएबाटै प्राप्त भएको थियो, तर कमाइमा केवल पुरुषले हकदाबी गरिदियो ।

कमला भासिनको शब्दमा पुरुषतन्त्र एक अत्याचारी सामाजिक व्यवस्था हो । अत्याचार  वैचारिक र भावनासँग जोडिएको हुन्छ । विचारसँग जोडिएपछि विचारकले आफ्नो तर्कलाई स्थापित गर्ने प्रयत्न गर्छ र चलाखीपूर्वक स्थापित पनि गर्दछ । महिलाका हकमा सामन्तवादी पितृसत्तात्मक वैचारिकीले केही मान्यता स्थापित गरिदिए । त्यसमा महिला शारीरिक रूपमा कमजोर हुन्छन् त्यसकारण उनीहरू घरभित्रका काम र परिवार पालनपोषणकै काममा लाग्नुपर्छ भन्ने एउटा रह्यो । 
समयकाल अघिबढेसँगै उही मान्यता लगभग सत्यसरह स्थापित भइदियो र महिला घरबाहिरका कामबाट कटौतीमा परे ।

दोस्रो पितृसत्तात्मक अत्याचार महिलाको भावनासँग झन् बढी जोडिएको छ । उनीहरूको मस्तिष्कमा मात्र नभई भावनामा झन् डरलाग्दो हमला छेडेको छ पितृसत्ताले । त्यो हमला रिस र घृणाले नभई माया देखाएर स्थापित गरिएको थियो । प्रेमपूर्वक महिलाको मनमस्तिष्कमा अर्को सत्य स्थापित गरियो– उनीहरू सुन्दर प्रजातिका हुन् त्यसैले सधैँ आफ्नो सुन्दरता कायम गर्दै पुरुषको आवश्यकता पूरा गर्नु नै उनीहरूको परम धर्म हो । त्यससँगै भाग्य र फलवादका कुराहरू पनि उनीहरूभित्र भरिए । महिलाका दुःख, भोगाइ या पीडाहरूलाई भाग्यको फलका रूपमा बुझाइयो । कालान्तरमा यस्तै कुरा सत्यसरह स्थापित भइदियो । समाजमा र महिला पितृसत्ताले तय गरिदिएका अनगिन्ती घेराभित्र रुमल्लिँदै रहे । दासत्वको सिलसिला अघि बढिरह्यो । 

चार सय वर्षअघि सुरु भएको मानिएको पुँजीवादले नयाँ तरंग ल्याइदियो समाजमा । उद्योगधन्दा, कलकारखानाको बढोत्तरीसँगै कामदार– मजदुरको आवश्यकता पर्यो । जनसंख्याको आधा हिस्सा ओगटेका महिला मजदुरको अभावमा ती कारखाना नचल्ने भए । तब निकै चलाखीपूर्वक महिलालाई घरबाट निकालियो कारखानाको मजदुरीका लागि । महिलाको स्वतन्त्रताको यात्रा तय भएझैँ देखियो त्यसबखत । 

उनीहरू मख्ख भए घरको चौघेराबाट निस्कन पाएकोमा । तर, ग्र्यान्ड डिजाइन त समाजकै थियो र समाज पितृसत्तात्मक सर्तमा चलेकै थियो । पुँजीवादी समाजले समानता, स्वतन्त्रता र भ्रातृत्वको नारा दिँदै महिलालाई घरबाट निकाली कारखानासम्म पुर्याए । उत्पादन थलोमा उनीहरू केही मात्रामा स्वतन्त्र त भए, तर त्यो स्वतन्त्रता केवल देख्नुको थियो । नेपथ्यमा पितृसत्तात्मक सामन्तवादी समाजको अर्कै तानावाना चल्दै थियो ।

पुँजीवादले महिलालाई घरबाट त निकाल्यो, तर उनीहरूको दासतालाई नयाँ ढंगले रूपान्तरण गरी ‘माल’को रूप दियो । आहुतिको विचारमा पुँजीवादले महिलालाई दुई तरिकाले ‘माल’मा परिणत गरिदियो– एक, उत्पादन थलोमा श्रम बेच्न, अर्को, यौन बजारमा बिक्री हुने वस्तुका रूपमा ।महिलाको अस्तित्वको क्षयीकरणको पराकाष्ठा आज उनीहरू मनोरञ्जन उद्योगका रूपमा फ्स्टाएको पोर्न सिनेमामार्फत अर्बाैँ मानिसले हेर्ने ‘माल’ भएका छन् ।  

महिला शरीर
भूमण्डलीकृत पुँजीवादको नयाँ अनुहार हो ‘यौन कारखाना’ । यौन व्यवसाय विभिन्न रूपमा लामो समयदेखि रहिआए पनि सन् १९७० पछि भने नाटकीय परिवर्तन भयो । यौन उद्योग अन्य उद्योगसरह निर्बाध अगाडि बढिरहेको छ । कारखानाले ‘माल’ उत्पादनसँगै ठूलो मात्रामा अर्थोपार्जन पनि गर्दछ । नाफामूलक यौन कारखानामा ठूलो पुँजी लगानी हुनुका साथै त्यही मात्रामा नाफाको खेती पनि फस्टाइरहेको छ ।

मनोरञ्जन क्षेत्रको रूपमा बलियो पकड राख्ने पोर्न सिनेमाको पहिलो उत्पादन सन् १९८८ मा भएको थियो । त्यसयता यस व्यवसायले पछाडि फर्केर हेरेको छैन । यसका अनगिन्ती नयाँ अनुहार संसारभर व्याप्त छन् । यौन उद्योगले विश्व अर्थतन्त्रमा अर्बाैँ डलरबराबरको कारोबार गर्ने गरेको विश्लेषकहरू दाबी गर्छन् । यति ठूलो खेलो गर्ने यस व्यवसायको कच्चापदार्थ भन्नु नै मुख्यतः महिला शरीर हो ।  

नेपाली समाज पनि विश्वभर फैलिएको यौन कारखानाको उत्पादन र त्यसका परिणतिबाट अछुतो रहेन । भारतका मुम्बई र कोलकताका रेडलाइट एरियामा धेरै नेपाली चेली दलालको फन्दामा परी पुगे । नेपाली महिला शरीरको यसखाले दोहनको जरा जहानियाँ राणाकालीन समयतिर जोडिन पुग्छ । सन् १८४६ देखि १९५१ को राणाकालीन समयमा सिन्धुपाल्चोकलगायत जिल्लाबाट धेरै संख्यामा महिला राणादरबार भित्र्रयाइए । उनीहरू विभिन्न प्रयोजनका लागि मगाइन्थे, जसमा घरायसी कामदेखि राणाका यौन आवश्यकता पूर्तिसम्मका प्रयोजन हुन्थ्यो भनी सुस्यान आस्म्यानले ‘बाम्बे गोइङ’ पुस्तकमा उल्लेख गरेकी छिन् । 

राणाहरूले सुरुवात गरेको महिला तस्करीको सिलसिला समयक्रमसँगै सीमा पार गरी भारतीय सहरमा फैलिँदै गयो । नेपालका धेरै युवती दलालको ललाइफकाइमा परी मुम्बईका वेश्यालयमा ‘सप्लाई’ भइरहे । यसरी बेचिएका महिला यौनदासीका रूपमा ग्राहकलाई सन्तुष्टि प्रदान गर्ने वस्तुमा परिणत भए । 
पुँजीवादी समाजले भित्र्रयाएका सामाजिक मनोविज्ञान र उपभोक्तावादी मनोवृत्तिले पहिलेका अधिकांश मान्यता भत्काउँदै अगाडि बढेजस्तो देखिए पनि खासमा पितृसत्तात्मक मनोवृत्तिको नै बोलवाला रह्यो । महिला शरीरप्रति निरंकुश पितृसत्तात्मक उपभोक्तावादी नजर भन्नु ‘भोग्या वस्तु’ नै हो । 

यसै सन्दर्भलाई मेल खाने धारणा छ कात्यायनीको । उनी भन्छिन्, ‘पुँजीवादले पुरातन प्रतिक्रियावादी मूल्यलाई नै आत्मसात् गर्दै समाजलाई चरम निरंकुश उपभोक्तावादी संस्कृतितिर डोहोर्याइदियो । यौन बजारमा महिलाको शरीरमाथि हुने सौदाबाजी र उनीहरूको शरीरलाई किन्न सकिने व्यवस्थाले महिला शरीरमाथि परेको उपभोक्तावादी दृष्टिकोणको चरम अवस्था बुझाउँछ । यस संस्कृतिको विकाससँगै महिलाको श्रम मात्र होइन, अब उसको शरीर र सौन्दर्य पनि वस्तुमा रूपान्तरित हुँदै गयो । 

पुँजीवादले महिलालाई घरबाट त निकाल्यो, तर उनीहरूको दासतालाई नयाँ ढंगले रूपान्तरण गर्यो र ‘माल’को रूप दियो । आहुतिको विचारमा पुँजीवादले महिलालाई दुई तरिकाले ‘माल’मा परिणत गरिदियोः एक उत्पादन थलोमा श्रम बेच्न, अर्को यौनबजारमा बिक्री हुने वस्तुका रूपमा ।

उपभोग गर्नेको रोजाइअनुसारका महिला शरीर आज यौन बजारमा उपलब्ध छन् । क्याथलिन ब्यारीले उप्काएको उपभोक्ताको मनोविज्ञान निकै खतरनाक देखिन्छ । उनी विश्वका विभिन्न देशका महिलाको तस्करी नश्ल सचेत ग्राहकको रोजाइलाई ध्यानमा राखी भइरहेको कुरातिर इंगित गर्छिन् । संसारभर फैलिएको यौन कारखानाले महिला शरीर मात्र उपलब्ध गराउने नभई ग्राहकको रोजाइअनुसारको रंग र नश्लका महिला शरीर टक्र्याइदिन्छ । सम्भवतः महिलामाथिको यस तहको वस्तुकरण भूमण्डलीकृत पुँजीवादको एक विकृत चरित्र हो । 

पुँजीवादी समय अघि बढेसँगै मौलाएको महिला शरीरको वस्तुकरणको सिलसिला आज इन्टरनेट सञ्जालको पकड विस्तारसँगै गम्भीर अवस्थामा पुगेको छ । आज महिला शरीरको वस्तुकरणको सिलसिला आम्स्टर्डमको ‘विन्डो प्रोस्टिच्युसन’लाई पछि पार्दै ‘साइबर सेक्स’ ‘अनलाइन प्रोस्टिच्युसन’, ‘मेल अर्डर ब्राइड’ जस्तो दासत्वको नवीनतम कालमा प्रवेश गरिसकेको छ । यी सारा व्यवसायको एउटै सर्त छ– महिला शरीरको वस्तुकरण र दोहन । 

धेरै अघि नै विश्वमा झ्याँगिएको यौन पर्यटनको निकृष्ट उदाहरणका रूपमा लिन सकिन्छ– फिलिपिनो महिलाको विज्ञापन । उनीहरूलाई यौन सन्तुष्टि दिने खैरो यन्त्रका रूपमा विज्ञापन मात्र गरिएन, हुलाकबाट डेलिभरी दिन सकिने दुलही भनी वस्तुको दर्जामा राखियो । क्याथलिन ब्यारीका अनुसार सन् १९८८/८९ मा अत्यधिक फिलिपिनो महिला विदेशमा डेलिभर भए । उनीहरू युरोपियन र अमेरिकन पुरुषका लागि पठाइएका थिए । विवाहका लागि भनी दलालमार्फत पठाइएका ती महिला मूलतः यौनदासीकै रूपमा लगिएका थिए । त्यसरी तस्कर भएका महिलामा कतिपयको ज्यानसम्म जाने गरेको घटना उजागर भएको छ । भूमण्डलीकृत पुँजीवादी मूल्यमान्यता र मनोवृत्तिले महिला शरीरको अत्यधिक शोषण गर्दै उनीहरूको दासत्वलाई निरन्तरता दिइरहेको छ । 

अन्त्यमा
केही समयअघिको साम्राज्यवादी पुँजीवादले संसारभरका साधनस्रोतको अत्यधिक दोहन गरी विश्वमा धनी र गरिबको गहिरो खाडल निर्माण गरेको इतिहास ताजै छ । आज विश्वभर साम्राज्य स्थापनार्थ अघि बढिरहेको भूमण्डलीकृत पुँजीवादले पर्यावरण मात्र सखाप पारेन, आधा आकाशको अस्तित्व नै संकटमा पार्ने गरी उनीहरूलाई वस्तुमा परिणत गर्दै बजारमा बेचिरहेको छ । खासगरी महिलामाथिको शोषण इन्टरनेट सञ्जालको विकाससँगै चरमतामा प्रवेश गरेको देखिन्छ । म्यागी लियुङले मनन गरेझैँ साइबरस्पेस पटक्कै महिलामैत्री छैन । यो केवल पुरुषको चलखेलको स्पेस हो ।  भूमण्डलीकृत पुँजीवादको सञ्जालबा महिला मुक्तिका लागि आइरिस भनाइको बाटो लिन जरुरी छ । ‘जसले मुक्ति चाहन्छ उसले मुक्का हान्नुपर्छ ।’ महिलाजनले संसारभर फैलिएको यस व्यवस्थाको अनुहारमा मुक्का हान्नु नै पर्छ आफ्नो मुक्तिका खातिर । 

सम्पादकको रोजाइ

सुझावित समाचार