कुरी–कुरी काठमाडौं

राधा पौडेल राधा पौडेल
शनिबार, २४ फागुन, २०७६
डिजिटल संस्करण

बाले ठ्याकठुक, ड्यामडुम, थर्काइथुर्काइ गरेपछि सि..सि.., स्या..स्या..गर्दै बोलेको रेडियोको स्रोत खोजी गर्दा काठमाडौं नेपालको राजधानी अर्थात् ठूलो ठाउँ भन्ने जानेँ । बाकै परिभाषामा ठूलाठूला घरभित्र, ठूला मानिसहरू अर्थात् धेरै पढेका, जान्ने, सुन्ने, रेडियोमा बोल्नेहरू बस्ने ठाउँ । दिदीले आफ्नो किताबबाट नेपालको नक्सा मेरो मस्तिष्कमा पेस्ट गरिदिनुभयो, चितवनभन्दा सानो काठमाडौंमा यति ठूलाठूला मानिसहरू, ठूलाठूला अड्डाहरू, सबै कुरा ठूलाठूला कसरी सम्भव भयो ! सायद यी मेरो मात्र भोक थिएन, यो अचम्मको खाल्डो नाप्ने र जान्ने । 

पोखरा बस्दा रेडियोका अलावा टेलिभिजन, पत्रपत्रिका, साथीभाइ सबैले काठमाडौंको पहिचान यसरी कोरिदिए कि यो विकास, सभ्यता, संस्कृति, राजनीति, साहित्य आदि सबैको मूल हो । सागरको मूल हिमालको काखजस्तै । तर, चितवनबाट करिब १०० र पोखराबाट २०० किमिपर यो काठमाडौं आउन १९ वर्षसम्मको मेरो पर्खाइ कम मूल्यवान् र चुनौतीपूर्ण थिएन । 

हो, काठमाडौंमा मैले देखेका फुसका घरहरू थिएनन् । गोरेटा, घोरेटा बाटोहरू थिएनन् । टेलिभिजन नभएका घर थिएनन् । विश्वविद्यालय नगएका टोल थिएनन् । काठमाडौं साँच्चिकै विद्वान् थियो, राम्रो थियो । यो अलकापुरी कान्तिपुरी नगरी लाग्थ्यो । हाम्रो भाग्य कोरिदिने महाभाग्यमानीहरू, यो मुलुकको भविष्य कोर्नेहरू यहाँ बस्छन् भन्ने लाग्थ्यो ।

यो विश्वास धेरै बेर टिक्न सकेन । कर्कलाको पानीजस्तै स्पर्श गर्न खोज्दाखोज्दै पोखिएर गयो । सिरसिर बतास नचलेको भए, मेरो जिउबाट निस्केको वेगले नठेलेको भए, बाफ बनेर सकिन्थ्यो वा मेरो विश्वास केही बेरलाई थामिन्थ्यो । केही आफूसितको रिस, डाह, ग्लानिले म त्यही लज्जावतीझैँ भएँ । जब मैले काठमाडौंलाई करिब १२ वर्ष, १८ वर्ष, २५ वर्षपछाडि पुगेर अर्थात् मेरो बालवयसँगै जतिखेर म आमाको तिघ्रामा लतपतिएको महिनावारीको रातो रंगसँग तर्सिएकी थिएँ, पापी साबित भएकी थिएँ, तिनै दिनसँग दाँजेर रूपान्तरणको मानक खोज्दै गर्दाको अभिलेखीकरण हो लेख । 

०००
पुस्तकमा दरबार भनेर सिकाइएकाजस्ता घरमा बस्थे, सिंहदरबारभित्र उठबस गर्थे, सलक्क परेका पोसाक लगाएर, टिलिक्क परेका गाडीमा हिँड्थे, विश्वविद्यालयको माला र मेडलले घेरिएर उनीहरूको जिन्दगी घुमिरहेको थियो । तर, ‘महिनावारीका बारेमा कोही कुरा गर्न मानेनन् । ए...महिलाहरूको कुरा पो रहेछ, पख्नुस्, उनलाई पठाइदिन्छु । उनी, ए... चिया पकाएर खुवाउनुस् र आफू पनि खानु ।’

पढ्न नपाएकाहरू, आर्थिक अवस्था कमजोर भएकाहरू, पश्चिम नेपालतिर महिनावारी भएका वेला गोठमा बस्छन् । हुर्कँदै गरेका बच्चाहरूमा किताब र किताबका गुरुले त्यही संस्थागत गर्छन् । मलाई महाअचम्म लाग्छ, के गोठमा बस्नु मात्रै महिनावारी बार्नु हो ?काठमाडौं चिन्न सायद समय लाग्छ, धेरै पढेका मानिसहरू, संसार देखेकाहरू जे देखिन्छन् त्यही होइनन् भन्ने लाग्न थाल्यो, जब बिस्तारै काठमाडौं कोरोनालाई झैँ क्वारेन्टाइनमा रहन थाल्यो ।

 काठमाडौंको सबैभन्दा प्रसिद्ध निजी स्कुलमा पढेकी, भारतको नाम चलेको कलेजमा पढेकी र बंगलादेशमा डाक्टर पढेकी छोरी न विद्रोह गर्न सक्छे, न बाआमालाई बुझाउन सक्छे वा प्रयत्न नै गर्छे । उनका बाको व्यक्तित्व सरकारी उच्च तहका कर्मचारी । त्योभन्दा पहिले विज्ञानको धुरन्धर अभ्यासकर्ता । ‘मलाई त केही छैन, तिमी आमाछोरी मिल, म त जे भए नि ठीक, तिमी सासूबुहारी मिलाऊ ।’ यो भनाइ अधिकांश संस्कारी, विद्वान् र सभ्य भनिएको काठमाडौंको कहानी हो ।

यसरी दशकौं विज्ञान पढेकी छोरी महिनावारी भएको वेला भान्सामा जान निषेध छ, भान्सामा पाकेका सबै खाना खान बन्देज छ, घरका सबै ठाउँमा जान बन्देज छ, आफ्नै ओछ्यानमा सुत्न मनाही छ, परिवारका सदस्यसँग छुइन बन्देज छ, कुनै रमाइलो भेटघाट वा पूजा वा जन्मदिनको भोजमा समावेश हुन बन्देज छ, लुगा–वर्तन लुकाएर धोइन्छ, लुकाएर सुकाइन्छ अनि छुट्टै थन्क्याइन्छ । आमाले एकोहोरो ‘यो गर्न पर्छ, त्यो गर्न पर्छ’ भनेको स्तोत्रबाहेक बाउछोरी वा दिदीभाइ वा आमाछोरा वा कसैले महिनावारीबारे कुरा गर्दैनन् । ‘नबोलेरै कति कुरा मीठा मीठा...’ भन्ने बहानामा महिनावारीलाई अजंगको डर र गहिरो अज्ञानभित्र बन्धक बनाइएको छ । 

चितवनमा मेरा आमा, दिदी र छिमेकीहरूले झैँ, पोखराको हेम्जा, बाटुलेचौर, रानीपौवामा झैँ, दैलेख, कैलाली, बारा, सोलुमा महिनावारी भएका वेलाझैँ काठमाडौंवासी पनि खानेकुरा, हिँड्डुल गर्ने कुरा, छुने कुरासँग सम्बन्धित उस्तैउस्तै बार्ने कुरा बार्छन् । मात्रै सजिलै देखिँदैन, कतै–कतै बार्ने सूची छोटो होला । कोही–कोही सभ्य नामले चिन्दा हुन्– पण्डित्नी भएकी, महारानी आदि ।

घरभाडा महँगो छ, त्यसैले एउटा कोठाको कुनामा कार्पेट फर्काएर बस्छन्, घर हुनेहरू छुट्टै कोठामा बस्छन्, छुट्टै कोठा पुगेन भने भुइँमा छुट्टै ओछ्यान बनाएर सुत्छन् । जग्गा महँगो छ, त्यसैले उनीहरूको छुट्टै घर छैन, गाई पाल्दैनन्, त्यसैले गोठमा बस्दैनन् । यसको मतलब यो होइन कि उनीहरू महिनावारीबारे जानकार छन्, महिनावारी बार्दैनन्, वा मर्यादित महिनावारीको अभ्यास गरिराखेका छन् ।

उनीहरू बाले भनेझैँ रोल मोडेल हुन् । वास्तवमा काठमाडौं ढोंगी छ, काठमाडौं भित्री र बाहिरी जीवन बाँच्छ । काठमाडौं परिवर्तन गरे–गरे जस्तो देखाउँछ, तर परिवर्तनको विरुद्धमा छ । काठमाडौं कुरी कुरी । न्यानो सेकेन्डमा हिँडेको समयलाई कसैका चिप्ला कुराले झुक्याएर राख्न सम्भव नै छैन । सभ्यताको मानक, विकासको मोडेल बदलिएको छ, अझै यो बदलिनुपर्छ ।महिनावारीबारे कुराकानी गर्न कसैको प्रोजेक्ट चाहिँदैन । महिनावारी कुनै देश, परिवेशको पेवा होइन । तिमी छौ र म बाँचेको छु भनेझैँ, महिनावारी छ त यो ब्रह्माण्ड छ । यस्तो अपार, मूल्य र आवश्यकताको महिनावारी अभिशापका रूपमा बन्धक बनाउने महानुभावप्रति कुरी कुरी । 

०००
करिब ७० वर्षपहिले काठमाडौंले प्रजातन्त्र ल्यायो रे । करिब १०–१० वर्षको अन्तरालमा राजनीतिक परिवर्तन ल्याउन सक्ने काठमाडौंले मर्यादित महिनावारीलाई कहिल्यै आफ्नो हिस्सा बनाएन । यदि प्रजातन्त्रका पहरेदारले प्रजातन्त्रमा मर्यादित महिनावारीको भूमिका मात्रै देखिदिएको भए प्रजातन्त्र कति मजबुत हुन्थ्यो, समावेशी हुन्थ्यो, सफल हुन्थ्यो । महिनावारी महिलाको निजी मामला हो भनेर स्थापित गर्ने, राजनीतिक सवाल हो भनेर नस्विकार्ने, जुँगाहरूले मात्रै जगत चलाउन सक्छ भन्ने विश्वासले जकडिएको काठमाडौं कुरी कुरी ।

पश्चिम नेपाल सोधिरहेछ, ‘काठमाडौंले मनको छाउपडी अन्त्य नगरी पश्चिम नेपालको भौतिक छाउपडी गोठ भत्काएर महिला अधिकार स्थापित गर्न खोज्नु स्यालले अंगुर अमिलो छ भन्नुजस्तै हो

अग्रगामी, मानवअधिकारमैत्री संविधानमा मर्यादापूर्वक बाँच्न पाउने, स्वास्थ्य, शिक्षा, आवास, सरसफाइ, खाना, सहभागिता, समानता, रोजगारी आदिको अधिकारको टाँचा मार्ने, तर महिनावारी भएका वेला यी सबै अधिकार हनन हुँदा पनि नदेखेझैँ, नसुनेझैँ, नबुझेझैँ गरेर अधिकारको ठूलोठूलो कुरा गरेर नथाक्ने काठमाडौं, कुरी कुरी । 

बेइजिङ महिला सम्मेलनले २५औँ  वसन्त पार गरेको सम्बन्धमा काठमाडौंका सबै होटेल र सभाहललाई जानकारी दिन सक्ने काठमाडौं, महिनावारीका भएका वेला ती होटेल र सभाहल अमर्यादित महिनावारी भएको टुलुटुलु हेर्न सक्ने, काठमाडौंलाई कुरी कुरी । काठमाडौं खचाखच छ, अभियन्ता नै अभियन्ता, विज्ञ नै विज्ञ, अधिकारकर्मी नै अधिकारकर्मी । अरू के–के हो के–के । शान्तिका, मानवअधिकारका, महिलामाथि हुने हिंसा न्यूनीकरणका, दिगो विकासका आदि । कामका राप र चापले फोन उठाउन, इमेल फिर्ता गर्न नभ्याएको काठमाडौं महिनावारी बार्ने अभ्यासले अदृश्य द्वन्द्व, दिनमा ६ भन्दा बढी हुने बलात्कारसँगको अन्तरसम्बन्ध नदेख्ने, देख्न नखोज्ने काठमाडौं, निदाएको बहानाबाजी गर्ने काठमाडौं कुरी कुरी ।

आम्मामा ! केही घोषणा भएको ३० मिनेटमा, अधिकार पुगेन, अधिकार मिलेन, अधिकार हनन भयो, हेप्यो, आदि भनेर सडकका रेलिङ पनि नछाड्ने, ग्यारेजका टायर नछुटाउने राजनीतिक पार्टी, तिनका भगिनी समूह, विद्यार्थी संघ–संगठन, युवा जमात महिनावारीका कारण आफू, आफ्नै छोरी, श्रीमती, आमा, दिदी, बहिनीको स्वास्थ्य, शिक्षा, आवास, सरसफाइ, खाना, सहभागिता, समानता, रोजगारी आदि अधिकार हरेक पल हनन भएको साक्षी बस्न सक्ने, नेपालको घरीघरी महिनावारीका बहानामा बदनाम हुँदा पनि ढुक्कले निदाउन सक्ने, राष्ट्रियता नचिमोटिने काठमाडौं कुरी कुरी । 

पहिले–पहिलेजस्तै मार्च महिना फेरि आइपुगेको छ । ‘महिला अधिकार’ युवा, राजनीति, सरकार, गैरसरकार, सञ्चार, आदि सबै फेरि पनि ‘महिला अधिकार’मय भएको छ । काठमाडौं नेपालभर त भयो नै नेपालबाहिर संयुक्त राष्ट्रसंघसम्म पनि पुग्दै छ, जो आफैँमा गौरव गर्नलायक क्षणहरू हुन् । संसारको इतिहासमा महिनावारी हुँदा ‘मर्यादा’पूर्वक जिउन पाउने अधिकारको प्रवर्तक भएको देश संस्कारको नाममा, प्रतिस्पर्धाको, इज्जतको नाममा बोल्न, लेख्न, प्रकाशन गर्न डरायो भने नेपालले मनोवैज्ञानिक, सामाजिक, राजनीतिक, आर्थिक रूपमा आन्तरिक र बाह्य रूपमा फेरि पनि आफ्नो साख गुमाउनेछ । 

विश्वकै इतिहासमा महिनावारीका सम्बन्धमा सबैभन्दा धेरै बहस, अनुसन्धान, भएको वर्ष हुँदै छ यो वर्ष । यतिखेर श्राद्धमा बिरालो बाँध्ने रीतभन्दा माथि उठेर मार्च महिना महिला अधिकार महिना मनाउने सबै सरोकारवाला एकै भएनौँ, एउटै भाषा बोलेनौँ, घरभित्र र घरबाहिर एकै व्यवहार गर्न सकेनौँ भने हाम्रो अभियान, विद्वत्ता र प्रयासलाई कुरी कुरी भन्नेहरूको लाम लाग्नेछ । सबै नीतिहरूको मूल नीति राजनीति भएझैँ महिलामाथि हुने सबै हिंसाहरूको गहिरो अन्तर्सम्बन्ध महिनावारी बार्ने चलनसँग छ वा केटाकेटी वेलादेखि नै महिनावारीका बुझाइ वा बार्ने चलनले अनौपचारिक, तर सशक्त शक्ति निर्माण गरी शक्तिविहीन र शक्तिशाली अवस्था सिर्जना र सामाजिकीकरण भएको अवस्था बुझ्न ढिलो गर्न हुँदैन । 

काठमाडौंले आफ्नो सर्टिफिकेट, सूचनाको पहुँच र परिचालनका बाबजुद पनि संस्कार, संस्कृति वा वृद्ध बाआमा वा महिला वा गरिबीका बहानामा मर्यादित महिनावारीमा घर–घरबाट बहस गर्न चुक्नु भनेको नेपाललाई महिला अधिकारको सवालमा अझ पछाडि धकेल्नु हो, अर्थात् देशकै समृद्धिको एक अड्चन हो । 
नेपाल सरकारले आगामी मे अर्थात् जेठ महिनामा गर्दै गरेको ‘अन्तर्राष्ट्रिय मर्यादित महिनावारी कार्यशाला गोष्ठी’का विभिन्न आयाम त छँदै छन्, एउटा मुख्य पाटो काठमाडौंलाई कोट्याएर ब्युँझाउने अभियान पनि हो ।

काठमाडौं ब्युँझिनुपर्छ । अब विकल्प छैन । पश्चिम नेपाल सोधिरहेको छ, ‘काठमाडौंले मनको छाउपडी अन्त्य नगरी पश्चिम नेपालको भौतिक छाउपडी गोठ भत्काएर महिला अधिकार स्थापित गर्न खोज्नु स्यालले अंगुर अमिलो छ भन्नुजस्तै हो । काठमाडौं उठ, घर–घरबाट उठ । मर्यादित महिनावारीको बिगुल फुकेर उठ । महिला अधिकारका लागि उठ । फेरिदेऊ कुमारीका नियमहरू पनि । तिमी आफैँसँग डराएका छौ भने फेरिदेऊ महिनावारी नै । फेरिदेऊ संविधानका धाराहरू नै ।

मलाई मेरो बा सत्य बोल्ने, निष्ठावान् व्यक्तित्व भएको विश्वास टिकाइराख्न मन छ । काठमाडौं गहिरो ढोंगी निद्राबाट उठिदेऊ । माइतीघर मण्डलामा मर्यादित महिनावारीको उद्घोष गरिदेऊ । तिमीलाई कुरी कुरी भनेर जिस्क्याएको फिर्ता लिन मन छ । माफ माग्न मन छ काठमाडौं । सत्य माफ माग्न मन छ ।

सम्पादकको रोजाइ

सुझावित समाचार