निरीह नै किन बोक्सी ?

कुरीति

उत्तम निरौला उत्तम निरौला
शनिबार, १७ फागुन, २०७६
डिजिटल संस्करण

सामान्य शब्दमा जादु, टुना वा अलौकिक शक्तिको प्रयोग गरेर अरूको स्वास्थ्य, काम वा सम्पत्तिमाथि हानि गर्ने क्षमतालाई बोक्सो वा बोक्सी भन्ने अन्धविश्वास छ । समाजमा डर–त्रासमार्फत प्रभाव पार्ने शासकका चालसँग विश्वका विभिन्न समाजमा बोक्सो वा बोक्सीको अवधारणा आएको पाइन्छ । पछि यो धर्मको आडमा मौलायो । सबैभन्दा पहिले अथर्ववेदमा बोक्सीको अवधारणा लिपिबद्ध भएको पाइन्छ । त्यस समयमा शत्रुनाश गर्न र प्रेमीको मन जित्ने शास्त्रका रूपमा बोक्सीकला अनुमान गरिएको पाइन्छ । इस्लाममा टोन्ही अथवा डायनका रूपमा बोक्सीप्रथा रहेको छ । सो धर्ममा यो संसारको जस्तै देखिने, उही मानिस भएको ठ्याक्कै अर्को संसार छ भन्ने कल्पना गरिन्छ । 

यस धर्तीमा बसेर अर्को उस्तै धर्तीका मानिससँग सम्पर्क राख्न सक्ने मानिसलाई टोन्ही भनिएको पाइन्छ । इसाई धर्म मान्नेले विच वा विकन भनी बोक्सीप्रथालाई जारी राखेका छन् । बौद्ध र जैन धर्ममा भने बोक्सीको अवधारणा पाउन सकिएन ।  धर्म सँग–सँगै विभिन्न संस्कृतिमा बोक्सीप्रथाले जरा गाडेको छ । विकसित समाजदेखि कविला बस्तीमा आज पनि बोक्सीप्रथा पाइन्छ । अस्ट्रेलियाको आदिवासी समाज, न्युजिल्यान्डका माहुरी, जापान, चीन इत्यादी मुलुकमा अझै पनि बोक्सीप्रथा मान्ने गरेको पाइन्छ । फिलिपिन्स, पपुवान्युगिनी, नाइजेरियाजस्ता मुलुकमा अझै पनि बोक्सीप्रथाका कारण हुने हिंसा नेपाल र भारतको जस्तै भयावह छ । 

भारतमा वर्षमा करिब दुई सयजना (विशेषगरी महिला) बोक्सीको आरोपमा मारिन्छन् । एक गैरसरकारी संस्थाले सार्वजनिक गरेको नेपालको आँकडा हेर्ने हो भने महिनामा कम्तीमा एकजना मानिस बोक्सीको आरोपमा मारिइराखिएका छन् । बोक्सी भनी निरीहलाई मार्ने काममा कहीँ न कतै आफूलाई देवत्व पाएका भन्ने मानिसजस्तै धामी, झाँक्री, बाबा इत्यादिको प्रमुख भूमिका हुन्छ । अन्धविश्वासको चपेटामा परेको पूरै समाज पीडितको पक्षमा नरहेर पीडकलाई साथ दिने नाममा बीभत्स हत्या गर्न पनि पछि पर्दैन । 

समाजमा अधिकांश दलित, महिला, एकल महिला, असहायहरू बोक्सीको आरोप खेप्न बाध्य छन् । शक्तिशाली महिला वा शक्तिशाली पुरुषका पत्नीले बोक्सीको आरोपमा कमै दुःख खेप्नु परेको छ । नेपालमा बोक्सीप्रथाका पीडित करिब ९७ प्रतिशत महिला छन् । तर, कहिलेकाहीँ बोक्सोको आरोपमा पुरुष पनि पीडामा परेका छन् । अनुसन्धानबाट के देखिन्छ भने, हेर्दा अन्धविश्वासका कारण कसैलाई बोक्सीका नाममा हत्या हिंसा गरिएको पाइए पनि त्यसको पछाडि अन्य व्यक्तिगत स्वार्थका कारण हिंसा भएको पाइन्छ । हुलले अन्धविश्वासका कारण हिंसा गरे पनि हिंसालाई उक्साउने आफन्त वा धामीले नियोजित रूपमा घटना घटाउने गरेको पाइन्छ । 

कसैले अंशमा कुरा नमिलेर, कसैको अपुताली खान, कसैको सम्पत्ति हडप्न इत्यादि कारणले असहायलाई बोक्सीको आरोप लगाई हिंसा र हत्या गरिन्छ । कहीँ कतै रिस पोख्न पनि बोक्सीको आरोप लगाउने गरिन्छ ।सिन्धुपाल्चोकको एक घटनामा गाउँकी एकल महिलाले कुनै निश्चित पार्टीलाई भोट नदिएको रिस पोख्न कार्यकर्ताले उनलाई बोक्सीको आरोप लगाए । नांगै बनाएर गाउँ परिक्रमा गराए । गाउँलेले ती महिलाप्रति कुनै दयाभाव देखाएनन्, बरु घृणा गर्न लागे । 

आरोपितप्रतिको घृणा यो हदसम्म बढाइन्छ कि कतिपय अवस्थामा नमारीकन घन्टौँसम्म पीडा दिने गरेको घटना देखिएको छ । त्यस्तै, वीरगन्जमा पनि मरणासन्न हुने गरी कुटेर नमारीकन छाडी घन्टौँपछि ज्यान गएको घटना छ । घटनाको अनुसन्धानबाट उनीहरूका आफन्तसँग अंश र दाइजोमा कुरा नमिलेको पाइन्छ ।  विसं. ०१९ सम्मको मुलुकी ऐनमा बोक्सी आरोपितलाई कठोर सजाय दिने व्यवस्था तोकिएका कारणले होला अहिलेसम्म पनि बोक्सी आरोपितलाई निश्चित प्रक्रियाले यातना दिने सामाजिक चलन छ । जस्तैः सबै गाउँलेलाई भेला गरी खुला ठाउँमा लगेर मरणासन्न हुने गरी लौराले कुट्ने, गाउँ निकाला गर्ने, तातोपानीले डाम्ने, सिस्नोपानी लाउने, नांगै पारी गाउँ घुमाउने, दिसापिसाब खुवाउने, चारपाटा मुड्ने इत्यादि । 

दाइजोप्रथाका कारण हुने हिंसा गोप्य रूपमा भएको पाइन्छ भने बोक्सीप्रथाका कारण हुने हिंसा खुला र सबैका सामुन्ने हुने गरेका छन् । बोक्सीको आरोपमा गाउँमा मात्रै महिलालाई हिंसा गरिएको छैन, कथित पढेलेखेका सहरिया मानिसका घरमा पनि यस्तो हिंसा भएको पाइन्छ । काठमाडौंको गोठाटारमा बोक्सीको आरोपमा एक महिलाको आँखामा चिम्टाले घोचेर मार्ने कोसिस गरियो, कीर्तिपुरमा एक पढेलेखेका मानिसका घरमा बुहारीलाई बोक्सी आरोपमा १३ वर्षसम्म एउटै कोठामा थुनेर राखियो । बाहिरी दुनियासँग सम्पर्कमा आउन दिइएन । यसले बोक्सीप्रथा नेपाली समाजमा गाउँदेखि सहरसम्म फैलिएको पुष्टि हुन्छ ।

भारतमा वर्षमा करिब दुई सय महिला बोक्सीको आरोपमा मारिन्छन् । एक अध्ययनअनुसार कुरीतिका कारण नेपालमा हरेक महिना एकजना मानिस मारिन्छन् ।

दुःखद कुरा त के भने, बोक्सीप्रथाविरुद्ध कानुन बनाउनुपर्छ भन्ने अभियानमा विभिन्न जिल्लाका प्रहरी र प्रमुख जिल्ला अधिकारीहरूसँगको छलफलमा उनीहरूले नै बोक्सी हुन्छन् भन्ने ठोकुवा गरेको पाइयो । कानुन आयोगमा तत्कालीन मुख्य आयुक्तसँग बोक्सीप्रथाविरुद्धको ऐनको आवश्यकताका बारेमा उनकै कार्यकक्षमा छलफल गर्दा उनले बाल्यकालमा नजिकैकी एक महिला आफूलाई बोक्सी लागिन् भनेर करिब २० मिनेट कथा सुनाए । त्यो भेटभरि उनले धरै महिला बोक्सी हुन्छन् भन्ने कुरामा हामीलाई विश्वस्त गराउन पूर्ण कोसिस गरे । 

कानुन आयोगजस्तो संस्थामा कानुनको वैज्ञानिक पक्षलाई कत्ति पनि नबुझेका व्यक्ति कसरी नियुक्त भए सोचनीय छ । जब उनलाई बोक्सी हुन्छन् भन्ने लाग्छ भने बोक्सीप्रथाविरुद्धको ऐन ल्याउनु उनका लागि महत्वहीन काम हुन सक्छ । सायद ती आयुक्त र त्यस्तो सोचाइ राख्ने पढेलेखेका मानिसको नजरमा बोक्सी हुन्छन् र बोक्सीले गलत कार्य गर्ने भएकाले उनीहरू सजायका भागीदार हुनुपर्छ भन्ने होला । 

अहिले पनि बोक्सी हुन्छन् भन्ने पक्षका मानिसको चोक–चोकमा आवाज उच्च छ । प्रहरी, प्रशासन, राजनीतिक व्यक्ति र सर्वसाधारण समाजमा बोक्सी हुन्छन्, उनीहरू हानि गर्न सक्छन् भन्ने पक्षमा हुनुले बोक्सी प्रथाका कारण हुने हिंसा अन्त्य गर्न समस्या भएको छ । मानवअधिकारकर्मीको लामो संघर्षपछि नेपालमा बोक्सी आरोप (कसुर तथा सजाय) ऐन ०७२ बनेको छ ।

ढिलो भए पनि यो ठूलो उपलब्धि हो । यस्तै किसिमको समस्याबाट ग्रसित जर्मनीले सन् १७३५ मा बोक्सीप्रथाविरुद्धको ऐन बनाएको थियो । त्यसको करिब तीन सय वर्षपछि हामीले बोक्सीप्रथाविरुद्धको ऐन बनाएको कुरालाई लिएर खुसी मान्नुपर्ने अवस्था छ, तर यसबीचमा नेपाली समाजमा राज्य र समाज लागेर कति महिलालाई बोक्सीका नाममा क्रूर संहार गरियो, त्यसको कुनै लेखाजोखा छैन । विडम्बना बोक्सी आरोप ऐन ०७२ कार्यान्वयनमा आएको चार वर्ष भए पनि बोक्सा–बोक्सीको आरोपमा मानिस मार्ने क्रम अझै जारी छ । 

बोक्सा–बोक्सीका आरोपितहरू त्यसै पनि राज्यसँग पहुँच राख्न नसक्ने मानिस बनेका छन् । कहीँकतै पत्रकार वा सचेत नागरिक समाजले घटना भेटिहाल्यो भने मात्रै राज्यका नजरमा पर्ने अवस्था अझै छ । बोक्सीप्रथाका कारण कसैमाथि हिंसा हुनुपूर्व अनुमान गर्न सकिँदैन । त्यसैले, बोक्सीप्रथाका कारण हुने हिंसा कम गर्न समाजमा सचेतना फैलाउनुको विकल्प छैन । 

राज्यले बोक्सीप्रथाविरुद्ध कानुन बनेको छ भनेर कारबाही गर्ने सोच बनाउनुभन्दा टोल–टोलमा रहेका प्रहरी, स्थानीय तहका प्रतिनिधि र कर्मचारीलाई परिचालन गरेर बोक्सीप्रथाका बारेमा सचेतना अभियान सञ्चालन गर्न जरुरी छ । अन्यथा २१औँ शताब्दीमा हामी मध्ययुगीन बर्बरता कायमै राखिरहनेछौँ । 

[email protected]

सम्पादकको रोजाइ

सुझावित समाचार