महाभारतमा पाञ्चाल (कुमाउँ)की राजकुमारी द्रौपदीको एकैचोटि पाँच भाइ पाण्डवसित बिहे भएको कुराले पितृसत्तात्मक समाजका पाठकहरूलाई उदेक लाग्छ । त्योभन्दा बढ्ता उदेक आफ्ना श्रीमान् (पाण्डु) हुँदाहुँदै श्रीमान्कै सल्लाहले मथुराकी राजकुमारी कुन्तीले अनेक देउताबाट छोरा (धर्मराजबाट युधिष्ठिर, वायुबाट भीमसेन र इन्द्रबाट अर्जुन) पाएको र माद्रीले जुम्ल्याहा दाजुभाइ अश्विनीकुमारबाट जम्ल्याहा छोरा (नकुल र सहदेव) पाएको कथाले पाठक छक्क पर्छन् । कुन्तीले बिहे नै नभईकन सूर्यबाट एउटा छोरो (कर्ण) जन्मेको कुरो ‘लोकलाज’ले कसैलाई नसुनाएको, तर अर्जुनसँग धनुर्विद्यामा होड गर्न रंगशालामा आएको कवच–कुण्डलसहितको कर्णलाई देख्ता र दरबारियाहरूले त्यस छोराको अपमान गर्दा कुन्ती भित्रभित्रै भुट्भुटिएको र फत्र्याक–फत्र्याक भएको देख्ताचाहिँ धेरैजसो पाठकलाई स्वाभाविक नै लाग्छ । कुरुक्षेत्रमा कर्णको लासको सद्गति गर्न कुन्तीले युधिष्ठिरलाई कर्ण तेरै दाजु हो भनेर सार्वजनिक गर्दा कथा रोमाञ्चक बन्छ ।
कुन्तीकी सासू कस्तुरीगन्धा सत्यवतीले आफ्ना शान्तनुतर्फका छोरा चित्रांगद र विचित्रवीर्य मरेपछि सत्यवतीका बाबुकै कारणले आजीवन ब्रह्मचर्य लिने भीष्म प्रतिज्ञा गरेका जेठी (गंगा)पट्टिका छोरा देवव्रतलाई कुलको ‘निरन्तरता’का लागि बिहे गर्न कर गर्दा पनि नमानेपछि आफ्ना भाइबुहारी (अम्बिका र अम्बालिका)बाट कुलको रक्षा गरिदेऊ भन्दा पनि नमाने पछि बिहे गर्नुभन्दा अगाडि पराशर ऋषिबाट जन्मेका आफ्ना छोरा व्यास ऋषिलाई लगाएर ‘नियोग’ प्रथाबाट अम्बिका र अम्बालिकाबाट क्रमशः धृतराष्ट्र र पाण्डु जन्माएको कुरालाई कथा मात्र मानेर धेरैजसो पाठक तिनछक परेका छन्, तर महाभारतको यो चलन आज पनि कुमाउँ, गढवाल (पाञ्चाल) र नेपालमा पाइन्छ भन्ने कुरा चाल पाउँदा अधिकांश नेपाली पाठक कति छक्क पर्लान् र झस्केलान् भनेर यो लेख लेखिएको हो ।
महाभारतका यी पात्रको लिंग मात्र परिवर्तन गरेर सोच्ता के होला ? द्रौपदीका श्रीमान्को संख्या गनेर महाभारतमै कर्ण, दुर्योधन र दुशासनले द्रौपदीको अपमान गरे, तर अर्जुनको बिहे कतिवटीसित भयो, त्यसको निश्चित गन्ती कसैले गरेन, किन भने अर्जुनका भित्रिनी र बाहिरिनीहरूको गणनाबाट समाजले अर्जुनलाई कलंकित गर्दैन । पतिसित सल्लाह गरीगरी अनेक पुरुषबाट छोरा पाउने कुन्तीको चरित्र सहन गाह्रो मान्ने समाजले कुन्तीका ठाउँमा पाण्डुले कुन्तीसँग सल्लाह गरीगरी अनेक महिलाबाट छोरा पाएका भए, समाजले त्यसमा उदेक मान्नुपर्ने र पाण्डुको चरित्र कलंकित बनाउनुपर्ने केही कारण देख्तैन । सत्यवती र कुन्तीले बिहे नै नगरी छोरा पाएको अहिलेकै नेपाली मुलुकी ऐनले भेट्यो भने पनि कलंकित गर्ला, तर उही घटनाका अंसियार पराशर ऋषि र सूर्य भगवान्को जात कट्टा गर्ने कुरो नेपालको कुनै पनि मुलुकी ऐनले सोच्तैन । व्यास ऋषिले बुहारीहरूलाई पुत्रवती बनाएको घटना (नियोग प्रथा) त प्राचीन हिन्दू समाजमा चलेकै थियो भन्ने कुरो पाण्डुरंग काणे (१९४१ इ)ले ‘धर्मशास्त्रको इतिहास’ मा लेखेका छन् । नेपाल–भारतमा नै कतै–कतै विधवा भाउजूको देवरसित स्थायी रूपमा अनौपचारिक बिहे भएका घटना त मेरै जानकारीमा पनि भेटिएलान् ।
पुरुषप्रधान (पितृसत्तात्मक) समाजमा जति किसिमले महिलासँग यौन सम्बन्ध राख्न पुरुषलाई छुट र अधिकार दिएको हुन्छ, त्यति नै अधिकार महिलालाई दिएको हुँदैन । त्यसैगरी, महिलाप्रधान (मातृसत्तात्मक) समाजमा त्यही अधिकार र छुट जति महिलालाई दिइएको हुन्छ, त्यति पुरुषलाई दिइएको हुँदैन । यस दृष्टिले विचार गर्दा महाभारतको उत्तरी भेगमा सम्भवतः खस र शकहरूको समाज कतै–कतै मातृसत्तात्मक रहेछ भन्ने बुझ्नुपर्ने हुन्छ । अहिले पनि ब्रह्मपुत्र बेँसीका खासी, गाह्रो र जयन्तियाहरूका समाजमा अनि केरलाका नायरहरूका समाजमा अनि चीनका युन्नान र सिछुवान प्रान्तका पहाडमा बसोवास गर्ने मोसुओ जातिहरूका समाजमा पुरुषको नभएर महिलाको हैकम चल्छ ।
एसिया, अफ्रिका, युरोप र दक्षिण अमेरिका, आदि महादेशका खास–खास समुदायमा मातृसत्ता अहिले पनि चलेको सामाजिक अवस्था भएकाले वैज्ञानिकहरू के धारणा राख्छन् भने, हरेक मानव समाज पहिले मातृसत्तात्मक नै थियो, पछि पितृसत्तात्मक भएको हो । त्यसो हो भने, संखुवासभाको किमाथांकाका शेर्पाका परिवारमा आंशिक रूपमा मात्र उभ्रिएको, तर नेपाल हिमालयका हुम्ला र डोल्पामा झन्डै आधाजसो परिवारमा व्याप्त भएको बहुपति (द्रौपदी) प्रथाले र पश्चिम नेपालका बादी र गढवाल कुमाउँका नायरहरूमा पाइने बहुपति प्रथाले प्रागैतिहासिक सामाजिक अवस्थाको जिउँदो संग्रहालयको प्रतिनिधित्व गर्लान् । समाज वैज्ञानिकहरूले मातृसत्ताका किसिमको वर्गीकरण पनि केस्रा–केस्रा छुट्याएर गरेको पाइन्छ, तर म समाजशास्त्रको विद्यार्थी नभएकाले नेपालमा पाइने मातृसत्ताको सामान्य चिनारी मात्र यस लेखमा गराउने कोसिस गर्छु ।
१. हुम्ला र डोल्पाको बहुपति प्रथा
दीपक बुढाको सूचनाअनुसार हुम्ला र डोल्पामा झन्डै ४०५ परिवारमा अझै एउटै महिलासित सबै दाजुभाइको बिहे र दाम्पत्य हुने बहुपति (द्रौपदी) प्रथा प्रचलित छ । यो चलन तिब्बती मूलका परिवारमा बढ्ता प्रचलित छ (लक्ष्मीदत्त जोशी, पृ० ७७), तर खस समुदायमा पनि पाइन्छ । डा. कालीबहादुर मल्लले भनेअनुसार जाजरकोटमा पुरैनीकी एउटी महिलाले सानका साथ दुइटा पुरुषसित बिहे गरेकी छिन् ।
मानव विकासको प्रारम्भिक चरण मानिएको यो संस्कृतिलाई नेपालका बुझकीहरूले कलंक ठानेर त्यसलाई युरोप–अमेरिकाका पश्चिमी आँखाले अथवा हिन्दू अतिवादीहरूका आँखाले हेरेर पितृसत्तात्मक समाजमा परिवर्तन गराउन लागिपर्नु दुर्भाग्य हो । विश्वका मानवशास्त्री र समाजशास्त्री अध्येता र अनुसन्धाताका लागि नेपाल हिमालयले जोगाएको यो प्राचीन जीवनशैली अध्ययन र अनुसन्धानको विषय हुन सक्छ, त्यसैले यस्तो प्रागितिहासिक परम्परा बदल्न खोज्ने ‘सांस्कृतिक क्रान्ति’लाई हतोत्साहित गर्दै कसरी यस्ता मानव समुदायको यो प्रागितिहासिक प्रथालाई आदर्श ढंगले जिउँदो संग्रहालयका रूपमा संरक्षण गर्ने भन्ने कुरामा स्थानीय, प्रादेशिक र केन्द्रीय सरकार लाग्नुपर्छ ।
२. माथि उल्लेख गरेझैँ महाभारतमा मातृसत्तात्मक समाजका अनेक उदाहरण छन् ः
क. बाबुआमाले नै औपचारिक रूपमा पाँचवटा दाजुभाइ (युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेव)सित बिहे गरिदिएकी पाञ्चाल देश (वर्तमान उत्तराखण्ड अथवा कुमाउँ र गढवाल)की राजकुमारी द्रौपदी ।
ख. बिहे गरी दिएका पति (पाण्डु)सितै सल्लाह गरेर रोजी–रोजी अनेक परपुरुषबाट सन्तान जन्माउने शुरसेन अथवा मथुराकी राजकुमारी कुन्ती (धर्मराज, वायु र इन्द्र) र माद्री (जम्ल्याहा अश्विनीकुमार) ।
ग. सासु (पराशर ऋषिका कृपाले उच्च हिमाली क्षेत्रमा पाइने कस्तुरी मृगको बास्ना आउने सत्यवती) र जेठाजु (भीष्म)कै सल्लाहअनुसार सासूले बिहे गर्नुभन्दा अगाडि नै अर्कै पुरुष (पराशर ऋषि)बाट जन्माएका छोरा भएकाले साइनाले जेठाजु पर्ने वेदव्यासबाट सन्तान जन्माउने हस्तिनापुर (दिल्ली)का राजकुमार विचित्रवीर्यका विधवा अम्बिका (धृतराष्ट्र) र अम्बालिका (पाण्डु) ।
घ. समाजको लाजले खोलामा बगाइदिएको र बिहे गर्नुभन्दा अघि नै पाएको अनौपचारिक छोरा (कर्ण)लाई आफू राजमाता भइसकेपछि आफ्नै औपचारिक छोरा (अर्जुन)सित धनुर्विद्यामा होड गर्न हाँक दिँदै आउँदा रंगशालामा चिने पनि सार्वजनिक नगरेर भित्र–भित्रै भुट्भुटिने कुन्ती ।
ङ. कुरु वंश अपुतो हुने संकट आउँदा मात्र विधवा बुहारीहरूबाट नियोग प्रथाअनुसार त्यो संकट टार्न आफ्नो बिहे गर्नुभन्दा अगाडि जन्मेको छोरा (वेदव्यास)को नाम भीष्मसित सार्वजनिक गर्ने ‘कस्तुरीगन्धा’ सत्यवती ।
च. आफ्ना पति (धृतराष्ट्र) हुँदाहुँदै ससुरा पर्ने वेदव्यासबाट आशीर्वाद पाएर एक सय एक सन्तान पाउने गान्धार (अफगानिस्तान)की राजकुमारी पतिव्रता गान्धारी ।
महाभारत कालको मूलतः उत्तरी हिमाली क्षेत्र (गान्धारदेखि पाञ्चाल सम्म)मा पाइने मातृसत्तात्मक समाज आज पनि कर्णाली प्रदेशका हुम्ला र डोल्पामा पाइनेरहेछ । द्रौपदीको जस्तो बिहेसँग हुम्ला र डोल्पाको चलन ठ्याक्क मिल्ने रहेछ । महाभारतले अम्बिका, अम्बालिका, कुन्ती र माद्रीका लागि स्वीकार गरेको मातृसत्तात्मक ‘नियोग’ प्रथालाई पितृसत्तात्मक हिन्दू धर्मशास्त्रले चाहिँ हियाएको छ भन्ने कुरो काणे (पाण्डुरंग काणे, १९४१, पृ० ५९९(६०७)ले आफ्नो धर्मशास्त्रको इतिहास भन्ने किताबमा लेखेका छन् । खसहरूका समाजमा त्यस्तो नियोग प्रथा थियो र अवशेषका रूपमा अझै कतै–कतै छ भन्ने कुरो लक्ष्मीदत्त जोशी (१९८४ इ)ले ‘ट्राइबल पिपल अफ हिमालयाज’ (हिमालयका जनजाति खसहरूको अध्ययन) भन्ने किताबमा लेखेका छन् ।
३. खस समाजमा मातृसत्ता
खसहरूको संस्कृतिबारे अनुसन्धान गर्ने लक्ष्मीदत्त जोशी
(१९८४ इ)ले खसहरूका निम्नलिखित चलनहरू उल्लेखनीय ठह-याएका छन् जसलाई मातृसत्तात्मकताका अवशेष मान्न सकिन्छ :
क. छोराका सन्तान नभए घरज्वाइँ पाल्ने चलन (पृ० ३)
ख. खसहरूका केही वैवाहिक चलन (पृ. ४९–५०): खसहरूकहाँ पहिले विधवा भाउजू सकार्ने चलन थियो, जारी तिरेर स्वास्नी ल्याउन पाइन्थ्यो, बिहे गर्न जग्गे गर्नु आवश्यक थिएन, द्रौपदी प्रथा प्रचलित थियो ।
ग. खसहरूकहाँ सौता अंश लाग्छ, छोरा अंश
लाग्दैन । छोराले अंश नपाउने, भान्जाले अंश पाउने चलन पनि थियो (पृ० ७४)।
घ. राजस्थानका राजपुतहरू पनि खस (शक) नै हुन् । उनीहरूकहाँ केटी माग्न जानेले ससुरालाई पैसा तिर्नुपर्छ । नेपालका कतिपय जातिमा पनि यो चलन छ । राजस्थानमा भान्जीको बिहेमा मामाले ‘मामा झोली’ पाउँछ । परिवारमा मामाको हैकम चल्ने यो चलन मातृसत्तात्मक समाजको अवशेष हो (पृ.७४–७५)। ममा–ससुरालाई भान्जे बुहारीले कपाल ढाक्ने नेपाली चलन पनि त्यहीँबाट आयो होला ।
४. बादीहरूको बहुपति प्रथा :
बादीहरूको बहुपति प्रथा हिमाली क्षेत्रको ‘द्रौपदी प्रथा’भन्दा फरक छ । द्रौपदी प्रथामा चाहिँ एउटी महिलाको बिहे महिलासित साइनो नलाग्ने सहोदर दाजुभाइहरूसित स्थायी रूपमा हुन्छ । बादीहरूको समाजमा चाहिँ बादी महिलाहरूको परस्पर साइनो नलाग्ने नै अनेक पुरुषहरूसित अस्थायी रूपमा मात्र हुन्छ । एक किसिमले बादीहरू पुराणका अप्सराजस्ता हुन्छन् । पितृसत्तात्मक समाजले दरबारका धेरै राजा–महाराजाहरूमा प्रचलित एउटै पुरुषले बेलुकैपिच्छे अर्काअर्कै महिलासित रात बिताएको अस्वाभाविक मान्दैन ।
अरूकै छोरीबुहारी र पत्नीहरूसित एकैचोटि रासलीला मनाउने पुरुषलाई भगवान् कृष्ण मानेर पूजा गर्न समाजले केही पनि अप्ठ्यारो मानेको छैन, कृष्णजी र राजा–महाराजाहरूलाई समाजले चरित्रहीन ठहराएर कलंकित गरेको छैन, तर मातृसत्तात्मक समाजमा त्यसैगरी एउटै महिलाले बेग्लाबेग्लै पुरुषसित रात बिताएको पनि स्वाभाविक हुन्छ भन्ने कुरो हाम्रो पितृसत्तात्मक आँखाले बुझ्न सक्तैन । त्यसैकारणले पुराणहरूमा कृष्णजी जस्तै एकैचोटि अनेक देवताहरूसित रासलीला गर्ने वीरांगना भगवतीहरूको कथा अर्थात्, लैंगिक समानता पाइँदैन । रामायणमा भगवती सीताको चाहिँ बरू अग्निपरीक्षा भेटिन्छ ।
नेपालका बादी जाति र गढवाल कुमाउँका नायक जाति खस समुदायकै सदस्य हुन्, तर परम्पराअनुसार बादी महिलाहरूले ठालुहरूका घरमा नाच्न जाने र पुरुषहरूले मादल बजाएर आफ्ना महिलाहरूलाई सघाउने चलन थियो । यसरी महिलाहरू ठालुहरूकहाँ रात बिताएर धेरै पैसा र अन्नपात कमाउँथे, त्यसैले बादी समुदायमा छोरो जन्मेकोभन्दा छोरी जन्मेको धेरै मूल्य थियो अनि परिवारमा महिला (आमा, पत्नी र छोरीबुहारी)हरूकै हैकम चल्थ्यो । बादी समुदायमा धेरै छोरी जन्मनेहरू र धेरै पत्नी हुनेहरू भाग्यमानी मानिन्थे र सम्पन्न हुन्थे ।
नेपालका बादीहरूको समाजमाझैँ खसहरूका समुदायमा अहिलेसम्म पनि कुनै न कुनै रूपमा पाइने महाभारतको जस्तो मातृसत्तात्मकताको अवशेषले विश्वका समाजशास्त्र र मानवशास्त्रका विद्यार्थी र अनुसन्धाताहरूका लागि बहुमूल्य जीवन्त संग्र्रहालयको प्रतिनिधित्व गर्छन् । बादीहरूको जस्तो श्रीमान्हरू आफ्नै श्रीमती अरूकहाँ पैसा कमाउन पठाउने खसहरूकै एउटा समुदायको चलन गढवाल, नैनिताल र अल्मोडाका नायकहरूकहाँ पनि पाइन्छ (लक्ष्मीदत्त जोशी, ट्राइबल पिपल अफ द हिमालयाज, पृ.७०)।
एउटा गाईको गोठमा बाच्छाबाच्छीहरूको अथवा चराचुरुंगीहरूका बथानमा बचराहरूको बाबु कुन कुन हो भन्ने हिसाब नभएजस्तै बादीहरूका छोराछोरीको वास्तविक बाबुको हिसाब त्यति हुँदैन । प्रकृतिमा सबै जन्तु र चराचुरुंगीमा मातृसत्ता नै पाइने हुनाले मातृसत्ता स्वाभाविक र प्रकृतिको नजिक हो र पितृसत्ताचाहिँ कृत्रिम हो जस्तो देखिन्छ, त्यसैले मानव समाज आधारभूत रूपमा मातृसत्तात्मक नै थियो । पछि पितृसत्तात्मकमा क्रमशः रूपान्तरित भयो भन्ने समाजशास्त्र र मानवशास्त्रको एउटा सिद्धान्तका आधारमा बादी महिलाहरूको सामाजिक मूल्यांकन हुनु आवश्यक छ । बादीहरूका परिवारमा जसले आमालाई स्थायी रूपमा बिहे गर्यो, त्यसैलाई बाबु मान्नुपर्ने अवस्था देखिन्छ ।
बादीहरूले पूरा कालमा खसहरूका समुदायमा भएको मातृसत्तात्मक समाजको प्रतिनिधित्व गर्छन् । हिमाली क्षेत्रमा आज पनि अवशेषको रूपमा पाइने मातृसत्तात्मकता अर्थात् बहुपति (द्रौपदी) प्रथा पितृसत्तात्मकतामा द्रुत गतिले रूपान्तरण भइसकेका खस समुदायमा दुर्लभ हुँदै गएको छ । जाजरकोटमा एउटी सम्भ्रान्त महिला अझै एकैसाथ दुई पति राखेर बसेको सूचना (काली बहादुर मल्ल) पाइएको छ । त्यही बहुपति प्रथाको अवशेष आज बादीहरूकहाँ देखिन्छ । मातृसत्तात्मता भएका बादी –किमाथांकाका शेर्पा र गढवाल, कुमाउँका नायक)हरूका समाजमा धेरै पुरुषसँग सहवास गर्नु पितृसत्तात्मक समाजमा पुरुषले बहुविवाह गर्नुजस्तै एकदम स्वाभाविक कुरो मानिन्छ । महाभारतमै पनि सत्यवती, अम्बिका, अम्बालिका, गान्धारी, कुन्ती, माद्री र द्रौपदीहरूले मातृसत्तात्मक समाजको प्रतिनिधित्व गर्थे ।
पितृसत्तात्मक समाजमा बादीहरूको मातृसत्तात्मक समाज अनैतिक र घृणितजस्तो अरूलाई मात्र होइन, अरूको खिसीटिउरी सुनेर बादीहरूलाई नै पनि लाग्न सक्छ, त्यसैले बादीहरूको परम्परा र प्रतिभा जोगाउँदै उनीहरूको समाजको सांस्कृतिक क्रान्ति कसरी गर्न सकिन्छ भन्ने कुरा सोच्नु स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारको दायित्व हो ।परम्पराअनुसार मातृसत्तात्मक बादी समुदाय आजभोलि भइरहेको सामाजिक परिवर्तनले क्रमशः पितृसत्तात्मक भइरहेको छ, त्यसैले आज परिवारमा क्रमशः पुरुषको हैकम चल्न थालेको छ, महिलाहरूको कमाइ घटेको छ, परम्परागत पेसामा परिवर्तन भइरहेको छ, तर महिलाहरूको वैकल्पिक पेसा भने, राज्यले जुटाउन सकेको छैन ।
यसरी बादीहरू विपन्नताले ग्रस्त भएका छन् । स्थानीय, प्रादेशिक, अथवा केन्द्रीय सरकारले बादीहरूलाई विपन्नताबाट मुक्ति दिँदै वैकल्पिक रोजगार दिलाउँदै सामाजिक आर्थिक सुधारद्वारा सबलीकरण गर्नुपर्ने आवश्यकता छ । बादीहरूको प्रागितिहासिक मातृसत्तात्मक समाजको सौन्दर्य र महत्व पितृसत्तात्मक नेपाली आँखाले बुझ्न नसकेर बादीहरूको मातृसत्तात्मक सहवासलाई घृणित मान्यो र उनीहरूको चलनलाई रोक लगायो, तर बादीहरूको समाजलाई वैकल्पिक रोजगार भने दिन सकेन । बादीहरूको परम्परागत संस्कृतिलाई सरकारले कसरी संरक्षण गरेर विश्वका मानवशास्त्री र समाजशास्त्रीहरूको अध्ययन, अनुसन्धान र जीवन्त संग्र्रहालयको रूप दिने र उनीहरूको सीप र संस्कृतिको विस्तार गरेर आय–आर्जनको बाटो बनाउने भन्ने उपाय निकाल्नु न्यायसंगत हुने देखिन्छ ।
५. खस र शकहरूको स्त्री राज्यको चर्चा :
रोमन इतिहासकार प्लिनी (इसाको पहिलो शताब्दी)ले चम्बा उपत्यकामा खसहरूको स्त्री राज्यको सूचना दिएका छन् । इन्साइक्लोपिडिया आमाजनिकाअनुसार युरेसियाको पूर्वमा अल्ताई पहाडदेखि पश्चिम युरोपमा कृष्णसागरभन्दा पश्चिमसम्मका घाँसेमैदानमा अनि दक्षिण–पश्चिममा पश्चिम एसिया र इजिप्टसम्म युद्धमै भाग लिने शक वीरांगनाहरूको चर्चा गरिएको छ । ग्रिस, रोम, चीन र इजिप्टका पितृसत्तात्मक समाजमा शकहरूका समाजको लैंगिक समानता उदेक लाग्दो र हास्यास्पद भएको देखिन्छ, त्यसैले ग्रिसेली मिथकहरूमा आमाजन र स्त्री राज्यका मनगढन्ते दन्तेकथा थुप्रै बनेका पाइन्छन् । ‘खस जातिको खास कुरो’ (अन्नपूर्ण, फागुन ११) भन्ने लेखमा मैले खसहरू पनि पामिरको माल भूमिवरिपरि भेटिने शकहरूकै बगाल हो भन्ने कुरो लेखेको छु ।
ब्रह्मपुर (कुमाउँ)को उत्तरतिर हिमालयपारि सुवर्णगोत्र
(कैलाश मानसरोवर क्षेत्र)मा उत्कृष्ट सुन पाइने हुनाले त्यस ठाउँको नामै सुवर्णगोत्र भएको हो । यस देशलाई चिनियाँ इतिहासमा ‘पूर्वी स्त्री राज्य’ भन्ने नाउँ किन दिइएको
(स्वेनचाङ) भने, त्यहाँ राजाको भन्दा रानीको हैकम चल्थ्यो अरे । त्यो देश पूर्वमा तुर्फान, पश्चिममा मालवा (गुजरात र राजस्थान) र उत्तरमा खोतानसम्म फैलिएको थियो भन्ने कुरो स्वेनचाङ (वाटर्स, १९०४–१९०५ इ, पृ. ३३०) ले लेखेका छन् । स्वेनचाङको त्यस सूचनाका आधारमा चाङचुङ राज्यको सिमानाभित्र कुमाउँ र कर्णाली प्रदेशसम्मको नेपाल पनि पथ्र्यो कि जस्तो देखिन्छ । राहुल सांकृत्यायन (तिब्बतमे बुद्धधर्म), टुची (१९५६ इ) र स्नेल्ग्रोभ (१९८१ इ)ले त्यस राज्यको नाउँ ‘चाङचुङ’ (वा ‘साङसुङ) राखेको कुरो मैले त्यसै लेखमा उल्लेख गरेको छु । स्वेनचाङ (पृ. २५८) ले पश्चिमी स्त्री राज्यचाहिँ बृहत् संहितामा वर्णन गरिएको (बेलुचिस्तान उत्तरको) स्त्री राज्य हो भन्ने ठहराएका छन् । त्यो पनि खस भूमि नै हो भन्ने कुरो एट्किन्सन (१८८४ इ) र ग्रियर्सन (१९१६ इ)ले ठहराएका छन् ।
विष्णु पुराणमा पनि स्त्री राज्यको वर्णन गरिएको छ । त्यस राज्यमा छोराले आमाको थर लिनुपथ्र्याे र छोरीहरू राजा हुन्थे अरे (एट्किन्सन ४५८–४५९)। महाभारत वन पर्व (५१, १९९१) मा पनि त्यस स्त्री राज्यको चर्चा छ भन्ने सूचना टुची (पृ. १०१)ले दिएका छन् । राजतरंगिणी (१२औँ शताब्दी)अनुसार कास्मिरका सातौँ शताब्दीका कर्कोटक नाग वंशका राजा जयापीड (७५१–७८२ ई)ले कन्नौज, प्रयाग र पुर्णियाँ (पौण्ड्रवर्धन)सम्म दिग्विजय गरेका थिए । अर्को दिग्विजयमा जयापीडले ‘स्त्री राज्य’ जितेर नेपालका राजा अरमुडीलाई आक्रमण गरे (स्टेइन, १९०० इ, पृ. ९५)। अरमुडी पछि हट्तै गएर कालीगण्डकी तर्न लागेका जयापीडका सेनालाई माथि थुिनराखेको पानी बगाइदिएर जयापीडलाई बन्दी बनाए । पछि जयापीडका मन्त्रीले छलमैत्री गराएर जयापीडलाई भगाए (स्टेइन, ५३१–६५९) ।
बादीहरूको बहुपति प्रथा हिमाली क्षेत्रको ‘द्रौपदी प्रथा’भन्दा फरक छ । द्रौपदी प्रथामा चाहिँ एउटी महिलाको बिहे महिलासित साइनो नलाग्ने सहोदर दाजुभाइहरूसित स्थायी रूपमा हुन्छ । एक किसिमले बादीहरू पुराणका अप्सरा जस्ता हुन्छन् ।
६. शक जातिका महिला र लैंगिक समानता :
युरेसियाको विस्तृत घाँसेफाँटमा घोडा चढेर आफ्ना वस्तु चराउँदै बसाइँ सर्ने शक जातिका २० वटाजति नाम इपू. पाँचौँ शताब्दीका ग्रिसेली भूगोलविद् स्ट्राबोले लेखेका छन् । ठाउँ नै पिच्छे बेग्लाबेग्लै नाउँ भएका ती शकहरूका अनेक बगालमा लोग्ने मान्छे र स्वास्नी मान्छेले छुट्टाछुट्टै आत्मरक्षा गर्न सक्ने हुनु आवश्यक थियो, त्यसैले शकहरूका समाजमा महिलाहरू पनि घोडा चढेर लडाइँ गर्ने तालिम लिन्थे, लोग्ने मान्छेहरूसित युद्धमा बराबरी गर्थे, मल्लयुद्धमा पनि भिड्थे, रणक्षेत्रमै पुरुषसरह लडाइँ गर्न पुग्थे, टमक्क परेका छालाका लुगा लगाउँथे, ब्वाँसाको छालाको चुच्चेटोपी लगाउँथे, बुट लगाउँथे, पेटी कस्थे अनि तरबार, भाला, चुप्पी, धनुर्वाण र कोर्रा चलाएर शत्रुको सामना गर्थे । उनीहरू आफ्ना वाणका टुप्पा सर्पका बिखमा चोब्थे र शत्रुहरूमा घातक प्रहार गर्थे । यो कुरो पितृसत्तात्मक ग्रिसलाई साह्रै उदेक लाग्दो भयो, त्यसैले उनीहरूले (इपू. पाँचौँ शताब्दीका इतिहासकार हेरोडोटसले पनि) ती शक युवतीहरू (आमाजनहरू) का विषयमा अनेक मनगढन्ते दन्तेकथा, काव्य, नाटक र कलाकृति बनाए । ग्रिसमा मात्र नभएर ती शक युवतीहरूका किंवदन्तीले भारत, इजिप्ट र चीनसम्म पनि साहित्यको रूप लिए (इन्साइक्लोपिडिया आमाजनिका, २०१४ इ)।
इपू. तेस्रो शताब्दीका भारतीय सम्राट चन्द्र गुप्त मौर्य र उनकी सहसाहसिका नेपाली महारानी ‘कुमारदेवी’ का सेना र अंगरक्षकमा सुसज्जित वीर महिला योद्धाहरू नै खटिएका थिए र सम्भवतः ती महिला सैनिकहरू स्त्री राज्य (चाङचुङ)का नागरिक (खस वीरांगना) थिए भन्ने कुरो अलेक्जेन्डरका राजदूत मेगास्तनिजले ‘इन्डिका’ भन्ने किताबमा लेखेको कुरा उल्लेख गरिएको छ (इन्साइक्लोपिडिया आमाजनिका, ४०७–४०८)। कौटिल्यको अर्थशास्त्रमा पनि त्यस्तै महिला अंगरक्षकको व्यवस्था गरिएको छ । चन्द्रगुप्त मौर्यलाई पश्चिम नेपालका खसहरूले सघाएको कुरो त ‘दिव्यावदान’ र ‘अशोकावदान’ मा लेखिएको कुरा लामा तारानाथको ‘बुद्धधर्मको इतिहास’को कुरो मैले माथिकै लेखमा पनि उल्लेख गरेको छु । भारत वर्षमा प्राचीनकालदेखि युवा र युवती दुवैलाई युद्धकला सिकाइन्थ्यो भन्ने कुरा पनि त्यहाँ उल्लेख गरिएको छ ।
७. शकहरूका बहुविवाहको किसिम :
युरेसियाका घोडचढी शकहरूका विभिन्न समुदायमा पितृसत्तात्मक ग्रिसेलीहरूलाई उदेक लाग्ने अनौँठा किसिमका बहुविवाहको चर्चा पनि इन्साइक्लोपिडिया आमाजनिका
(१३०–३७) मा गरिएको छ । पुरुष र महिला दुवैलाई विनाभेदभाव माया लगाउन पूरै छुट (पोलिअमोरी), एकैचोटि अनेक पति राख्न पनि पाउने बहुपति प्रथा (पोलिएन्ड्री) र एकैचोटि अनेक पत्नी राख्न पनि पाउने बहुपत्नी (पोलिग्यामी) प्रथा ती यायावर शकहरूका समुदायमा प्रचलित थियो । त्यतिमात्र नभएर गाँजा खान, ऋग्वेदका आर्यहरूले खाने सोमलता, मादक मह र रक्सी पान गर्न पनि शकहरूका समाजमा लैंगिक पक्षपात थिएन (१४३–१४४, १४५–१५१) ।
अलेक्जान्डरलाई पनि एउटी शक युवतीले मारेकी थिइन् । ‘स्त्री राज्य’ को वर्णनबाट खस महिलाहरूको हैकम त्यस क्षेत्रमा पुरुषको भन्दा माथि रहेछ भन्ने बुझिन्छ । बादीहरू प्रागितिहासका त्यस्तै शक महिलाहरू हुन्, अथवा त्यही स्त्री राज्यका नागरिक हुन्, जसले आफ्नो परम्परा अहिलेसम्म जोगाएका छन् । बादीहरूको प्रागितिहास र इतिहास नबुझी उनीहरूको अपमान गर्नुको साटो बादीहरूको परम्परालाई कर्णाली प्रदेश र सुदूरपश्चिमले जोगाएको प्रागितिहासको जिउँदो संग्रहालयका रूपमा व्यवस्था गर्नु बुद्धिमानी होला ।
८. महिलाको स्थिति
कर्णाली प्रदेश खस जातिको बाहुल्य भएको प्रदेश भए पनि खस जातिकै महिलाहरूको स्थितिचाहिँ अरू जातिको भन्दा निम्नस्तरको देखिन्छ । जुन जातिमा मातृसत्ता थियो र अझै केही रूपमा ठाउँ–ठाउँमा छ, इपू. पाँचौँ शताब्दीमै युनानी भूगोलविद् स्ट्राबोले जुन जातिमा महिलाहरूको शासन देखेका थिए, जुन खस जातिकै गोती शक जातिकी एउटी वीरांगनाले अलेक्जान्डरलाई युद्धमा मारेकी थिइन् र शक जातिकै वीरांगनाहरूले चित्तौरमा वीरता देखाएका थिए र जुन जातिको लैंगिक समानता र महिलाहरूको वीरता र रणकौशलबाट प्राचीन ग्रिस, रोम, इजिप्ट र चीन थर्कमान थियो, त्यसै जातिको बहुमत भएका ठाउँमा आज महिलाहरूको स्थिति पुरुषहरूको तुलनामा खस्किएको छ ।
कर्णाली प्रदेशमा पहिले महिलाहरूका खटनमा पारिवारिक निर्णय हुन्थ्यो, तर अहिले पुरुषहरूको हातमा त्यो निर्णय गर्ने अधिकार सरेको छ । दुल्लुमा छोरो जन्मिँदा मात्र छैटी खेलाउँछन्, छोरीको छैटी गर्दैनन् । छोरो जन्मिँदा खुसी हुने चलन छ भने घरभित्रको काम महिलाले नै गर्ने चलन छ । खसहरूको बहुमत भएका क्षेत्रमा रजस्वला भएका महिलाहरूलाई हिन्दूधर्मका वेद र धर्मशास्त्रमा कतै नभएको छाउगोठमा राख्ने चलन छ । कर्णाली सरकारले आफ्नो प्रदेशका सबै महिलालाई खस महिलाहरूले उपभोग गरेको प्रागितिहासिक र ऐतिहासिक गौरव दिन सक्ला ?