पर्यावरण
हिउँदमा दिन ढल्केको पत्तै पाइन्न । तर, आज दिन अझै ढल्केको छैन । घाम नदेखिएकाले साँझ परिसेकेको जस्तो देखिन्छ । कुहिरोले सडक छोपेको छ । झ्यालबाहिरको कोलाहल कानमा ठोक्किन्छ घरीघरी । वेला–वेलामा चर्को आवाज कानमा ठोकिँदा लाग्छ, गाडीले बसिरहेको घरको पर्खाल नै भत्काइरहेको छ । बसिरहेको ठाउँबाट जुरुक्क उठ्छु, अनि झ्यालमा गएर पूर्वतिर नियाल्छु । जागिरको जिम्मेवारीअनुसार पूर्वीनाका काँकडभिट्टामा बसेर पर्यटकको संख्या गन्नु दिनचर्या भएको छ ।
नाकासँग जोडिएका नियमित सास्ती खेपेर मानिस वारपार गरिरहेका छन् । उता बस्ने एसएसबी हुन् कि यता बस्ने सशस्त्र प्रहरी, उनीहरूका नजरमा हरेक मानिस शंकास्पद भएका छन् । चेकजाँच बढ्दै छ । भारततिरका सिमानाका गाउँहरू नक्सलबारी, खोरीबारी, बतासी र पानीघट्टासँगको नेपालतिरका धुलाबारी, घैलाडुब्बा, शनिश्चरे, नकलबन्दा, ज्यामिरगढीको सामाजिक र सांस्कृतिक सम्बन्ध पातलिन थालेको छ । जन्ती र मलामीको सम्बन्ध अब फेरिन थालेको छ । आत्मीय सम्बन्धभन्दा पनि वैध एवं अवैध धन्दाका दाउपेच कसिलो हुँदै छ ।
०००
झ्यालबाट बाहिर हेर्दाहेर्दै एउटा पीपलको ठूलो रूख गर्लम्म ढल्छ । मानिसहरू ढलेको पीपलवरपर झुमिन्छन् । बिस्तारै, एकएक गर्दै राजमार्ग–किनाराका सबै रूखहरू काटिन्छन्, पूmलहरू उखेलिन्छन् । म पनि कार्यालयबाहिर निस्केर हुलमा मिसिन्छु अनि ती दृश्यनजिकबाट हेर्छु । रूख, बिरुवा र फूलबाट चरा चिर्चिर–बिर्बिर गरी कराउँदै भाग्न थाल्छन् । रूखमा बच्चा कोरल्दै गरेका चराहरू आत्तिँदै आकाशमा उड्न थाल्छन् । चराको संसारमा एक्कासी कोकोहोलो र भागदौड मच्चिन्छ । मानिसहरू आफ्नै सुरमा तमासा हेरिरहेका छन् । चराको संसारप्रति वास्ता गर्ने कसले ? आफ्नो रस्तीबस्ती उजाडिएपछि आकाशमा बिलौना गर्दै उडिरहेको चराको भाषा बुझ्ने कसले ? एकैछिनमा चराको अर्को बथान भुरुर्र उडेर जान्छ, अनि आकाशमा हराउँछ । रूखहरू भकाभक ढालिन्छ । हेर्दाहेर्दै काँकडभिट्टा बजार उजाड देखिन्छ ।
गोधुली साँझमा हुलका हुल चरा आफ्नो वासस्थानमा विभिन्न आकार बनाउँदै उडेको हेरेर नरमाउने को होला ? अब जन्मने बच्चाले यस्ता दृश्य हेरेर रमाउन पाउलान् ? साँझमा कामबाट फर्केकाले स्थानीय लोकभाकामा गाउँदै हिँड्ने गीत र आकाशमा अनेक आकार रच्दै उड्ने चराको दृष्य सम्झेर नोस्टाल्जिक हुन्छु । लोकभाकामा गीत गाउने ती मानिसहरू अचेल कहाँ गए ? बाँकी रहेका चराका हुल पनि भर्खरै हामीलाई छाडेर कतै अलप भएका छन् । साँझ परेपछि, कहिलेकाहीँ जम्काभेट हुने स्याल, खिरखिरे, न्याउरी मुसा, गोहोरो, चमेरा र अरू कयौँ जीवजन्तु पनि कहिल्यै नदेखिने गरी हराइसकेछन् ।
पारिपट्टि भारतको नक्सलबारी, पानीटंकी हुँदै एसियन हाइबे ०२ को नामको बढेमानको राजमार्ग यता आउँदै छ । जति बाटो यता छिचोल्छ, त्यति नै रूख–बिरुवा काटिँदै छन् । रूख–बिरुवा नकाटी विकास हुन्छ ? प्रश्न यस्तो पनि हुन सक्छ । ‘विकास र समृद्धिको महान् यात्रा तय गरेको मुलुकमा नाथे चरा र स्यालकोे कुरा गर्ने ? यो त मुलुकमाथि बेइमानी कुरा हो नि !’ सबै यसै भन्छन् । पर्यावरण र जैविक चक्रमा असन्तुलन भयो भने मानिसको दुर्दशा हुन्छ, विद्यालयका किताबमा पढेको साँचो होइन कि ?
पर्यावरण बचाउने काम हाम्रो हो भनेर लेखिएको किताबको आकृति र पाठ घोकाउने गुरुको अनुहार अझै याद छ । अभ्यास गर्नै नपर्ने त्यस्ता अनेक सूत्रको सञ्चिती मात्र भइएछ कि ? प्रश्न अंकुराउँछन्, उत्तर कतै फेला पर्दैनन् । आफ्नो सीमित बौद्धिक सामथ्र्यका भरमा अन्दाज गर्छु, सामाजिक, सांस्कृतिक, पर्यावरणीय, र मानवीय सम्बन्ध छोडिँदै र तोडिँदै जाँदा वर्तमान संकटग्रस्त छ । पुस्ता दरपुस्ताले जोगाएर राखेको अनेकौँ मौलिक ज्ञानको मूल्यवत्ता छ भनिन्छ, तर ती सबै विस्मृतिमाा पुगिसके । नयाँ र आधुनिक ज्ञान लियौँ भनेर गर्व गर्दागर्दै असंवेदनशीलताको सीमा पो नागिएछ कि !
०००
मौलिक उत्पादन, बिउविजनलाई आनुवंशिक बिउविजनले विस्थापन गरे । आफ्नै उत्पादन किन्ने र बिक्री गर्ने साना सहर–बजार थिए, ती हराए । परनिर्भरता गहिरियो, स्वदेशी उत्पादन बेच्ने बजारहरू क्रमशः चिनियाँ र भारतीय रंगीन पुतली बेच्ने बजारमा फेरिए । सिद्धान्तको गफ गर्नेहरू भन्छन्, ‘सिमान्त पुँजीवादबाट दलाल पुँजीवादतर्पmको फड्को भनेको यही हो । जान्नेहरूले भनेको पत्याउँला, तर केही नादान प्रश्न अनुत्तरित छन् । हाम्रा मौलिक ज्ञान परम्परा, पर्यावरण, संस्कृति एवं सामाजिक सम्बन्धलाई पुँजीवादी संक्रमणको स्वाभाविक प्रक्रियाको नाममा सिध्याउनैपर्ने हो ? सुदूर भविष्यमा पुँजीवाद बदलिएर अर्को कुनै व्यवस्था आउला र त्यसैवेला मात्रै हाम्रा विविध ज्ञान परम्परा, भाषा र संस्कृति बचाउँला भनेर पर्खी बस्ने नै हो ?
काँकडभिट्टा उजाडिएको दृश्य हेर्दा झापाका पुराना बजारबारे सुनेका र देखेका कथा मनको पर्दामा उत्रिन्छन् । काँकडभिट्टा, बिर्तामोड, दमकजस्ता सहर नबन्दै यी साना बजार चलायमान थिए । नकलबन्दा, शनिश्चरे, घैलाडुब्बा, गौरीगन्ज, ग्वालडुब्बा, गौरादह, कुमरखोद, भद्रपुरजस्ता बजारमा झापाका मात्र नभई छिमेकी जिल्लाहरूको स्थानीय उपज किन्ने र बिक्री हुने गर्थे । अझ सिमानाको दक्षिण भेगका गौरीगन्ज, ग्वालडुब्बा, गौरादह, भद्रपुर, कुमरखोदले झापामा उत्पादन भएका धान, सनपाट, तेलहन भारत निर्यात गर्थे । हुलाकी राजमार्गनजिकैका यी सहर हाम्रा समृद्धिका आधार थिए । अहिले पनि धानमिलका भग्नावशेषले ल्याउन नदिइएको त्यो समृद्धिको झल्को दिन्छ । अचेल धेरै चर्चा गरिने समृद्धिको त्यो उहिल्यै आउन नपाएको समृद्धिको कुनै साइनो होला कि नहोला ?
पहाडका उत्पादनलाई बजार बनाइदिने शनिश्चरे होओस् वा भारत नक्सलबारीसँग दाँजिएर व्यापार गर्ने नकलबन्दा वा दक्षिणको गौरीगन्ज, यी सहरले हुर्किन पाएका भए हाम्रो अवस्था किञ्चित फरक हुँदो हो भन्ने लाग्छ । तराईमा ‘महेन्द्र राजमार्ग’मा फुटेको विकासको मूलले माथि भनिएका बजारलाई धराशयी बनाइदियो । काँकडभिट्टाजस्तो ‘ड्राइपोर्ट’ भएको सहर त बन्यो जो केवल विदेशी सामान भित्र्याउने नाकामा सीमित भयो । विकासको राजमार्ग भएर चिनियाँ र भारतीय सामान बिर्तामोड, धुलाबारी र दमक पुगे, तीनै ठाउँ सहरजस्ता बने । कसैले सैद्धान्तिक पारामा भन्न सक्छ, ‘पुराना ढल्ने र नयाँ बन्ने स्वाभाविक प्रक्रियाका रूपमा बुझ्नुपर्छ यी सबै परिघटनालाई ।’ भर्खरै चराले छाडेर गएको उजाड काँकडभिट्टाको कुनामा उभिएका केही नादान प्रश्नलाई त्यो भनाइले चित्त बुझाउन सक्दैन । ‘बनेका नयाँले हाम्रो समृद्धिको ढोका खोल्यो कि ढोका बन्द गर्यो ?’
चिनियाँ सामान बेच्ने सहरका रूपमा परिणत भएकामध्ये मुख्य बजार थियो धुलाबारी, जसको पुछारमा मेरो पनि घर छ । तर, धुलाबारीकै सामान्यजनका लागि धुलाबारी बजार सामान खरिद गर्नेभन्दा पनि केवल रमिता हेर्ने बजार थियो । खासा हुँदै त्यहाँ पुगेका सामानले धुलाबारीलाई छपक्कै छोपेको हुन्थ्यो । भारतीय नम्बरप्लेटका गाडीको लस्कर लाग्थ्यो । साहुजीहरू स्थानीयलाई सामानको दाम भन्नै हिचकिचाउँथे । भनिहाले पनि किन्ने गरीभन्दा नकिन्ने गरी दाम भन्थे । उनीहरूका लागि त भारतीय नै मुख्य ग्राहक थिए । हाम्रा लागि धुलाबारीभन्दा पारीको नक्सलबारी नै प्यारो बजार हुन थाल्यो ।
प्रत्येक शनिबार हाट भर्न गएका नेपाली सस्ता सामानले झोला भरेर फर्कन थाले । हिजो नकलबन्दा वा भद्रपुर जाने मान्छे, बिस्तारै नक्सलबारीतर्फ साइकल हु¥याउन थाले । कालान्तरमा चीन र भारतको सम्बन्ध सुध्रन थाल्यो, व्यापार सम्बन्ध सुदृढ हुन थाल्यो । चिनियाँ सामानले नेपालको बाटो समाउन छोड्यो, सोझै भारत झर्न थाल्यो । धुलाबारी बजारको रौनक कम भयो, भारतीय गाडीको लस्कर घट्यो । बिस्तारै त्यहाँका व्यापारीको पनि पलायन सुरु भयो । कुमरखोद र गौरीगन्जलाई खिसी गर्दागर्दै धुलाबारी पनि पुरानियो ।
विकास र समृद्धिको यात्रामा सबै लागौँ, यो अहिलेको राष्ट्रिय कार्यसूची हो । त्यो यात्रा कसरी तय गर्ने ? कसैले स्पष्ट बताउँदैन । बताउन पर्नेहरूले आफ्नो कार्यसूची नै बदलिसकेका हुन सक्छन्, थाहा छैन । आगामी केही दशक हिँड्ने बाटो यही हो, कसैले देखाउँदैन । कार्यालयको झ्यालबाहिर जस्तो बाटो आफूतर्फ आइरहेको छ, के त्यही हो समृद्धिको बाटो ? हो भने त्यो खतरनाक छ । आज चराको संसार भताभुंग भयो । भोलि मान्छेकै संसार भताभुंग हुन के बेर !