हिउँदमास डोल्पा भन्ने शब्दले नै चिसो आभास हुन्छ । सेताम्य हिउँको परिकल्पनाले रमाइलो अनुभूति गराउँछ । म सात वर्षकी थिए, आज पनि १० वर्ष अघिको त्यो हिमपात मेरो मनमस्तिष्कमा पत्र–पत्र बनेर बसेझैँ लाग्छ । जब आकाशबाट सिमलको भुवासरि हिउँ धर्तीमा झर्न थाल्छ त्यसबखत प्रकृति सौन्दर्यको वर्णन गर्न सक्ने अवस्थै हुँदैन, खुसी र उमंगको सीमा नै रहँदैन । तर त्यतिवेला भने जीउ नै जिरिंग हुन्छ, जब त्यही हिउँमा हिँड्नुपर्छ । हिउँसँग साउती मार्नुपर्छ र पाँैठाजोरी कस्नुपर्छ । अनि त चिसोका कारण आँखा नै बन्द हुन थाल्छन् । दुश्य कठोर लाग्न थाल्छन् ।
त्रिपुरासुन्दरीमा रहेको मेरो गाउँ सानो छ । गाउँको वरिपरि भीमकाय डाँडाकाँडाले घेरेको छ । गाउँको ठीक अगाडि ठुल्ठूला खेत र सम्म परेका फाँट लम्पसार फैलिएका छन् । हिमपातका कारण ती डाँडाकाँडा र त्यो सम्म परेको फाँट पूरै सेताम्य भएको सम्झना छ । अहिले पनि हुन्छ । जब म झ्यालबाट हेर्थेँ तब पनि हिउँ उस्तै गरी डाँडाभरि र फाँटभरि आफ्नो रूप फिँजाएर बसिरहेको हुन्थ्यो । अनि म पुनः आगोको छेउमा आएर बस्थेँ ।
आगोको छेउमा हामी हिउँ सम्झेर रमाउँदैनथ्यौँ, बरु टाउकोमा हात राखेर ईश्वरलाई पुकाथ्र्यौँँ र भन्थ्यौँ– ‘हे ईश्वर ! छिट्टै घाम लागोस् ।’ घाम लागिदियो भने साथीसँग हिउँ खेल्न पाउँछु भन्ने आसले भित्रभित्रै खुसी बनाउँथ्यो । चुलोमा पाकिरहेको भोटेचियाको कित्ली मतिर ढल्काउँदै आमा भन्नुहुन्थ्यो– ‘चिया पेऊ, अलिकति भए पनि शरीर तातिन्छ ।’ म चुपचाप चियाको गिलास हातमा लिन्थेँ र पिउन थाल्थेँ । हो, आमाले भनेजस्तै शरीर तातिँदै जान्थ्यो । मन खुसी हुन्थ्यो ।
यो क्रम हरेक वर्ष आउने हिउँद र हिउँदसँगै पर्ने हिउँले दोहोरिरहन्थ्यो । हिउँको चिसोमा कठ्यांग्रिएका हात र चिरा परेर फाटेका खुट्टामा न पन्जा हुन्थ्यो, न मोजा नै । तर पनि चिसो र फुटेका हातले कहिले रोकेन हिउँ खेल्नलाई । बुबा मलाई सधँै भन्नुहुन्थ्यो– ‘बाहिर धेरै चिसो छ । चिसोले बिरामी भइन्छ । निस्कनु हुँदैन ।’
बुबाको त्यो उपदेश बालमस्तिष्कले किन मान्थ्यो र ! कहिले बुबाको कुरा अटेर गरी हिउँ खेलेँ । कहिले खेल्दाखेल्दै हिउँको चिसोले पोल्दा रिस उठ्यो, नबोली आगोको छेउमै गएर बसेँ ।
मेरो बालमनमा चुलबुले चाहना दौडिरहँदा भान्साको कुनामा आगो ताप्दै बस्ने मेरी बूढी हजुरआमा आफूलाई अभागी भनिरहनुहुन्थ्यो । हिमपातका कारण चिसोले निकै कष्टकर समय कटाउनुपर्दा उहाँ आफूलाई अभागी ठान्नुहुन्थ्यो । मेरो घरछेउमा प्रसिद्ध मस्टा देवताको ठूलो मन्दिर छ । त्यहाँ दर्शन गर्न सर्वसाधारणदेखि देशका उच्च पदस्थ व्यक्ति आउँछन् । मेरो बुबा त्यस मन्दिरको पुजारी हुनुहुन्छ । दैनिकजसो खोलाको चिसो पानीले नुहाइधुवाइ गरेर पूजापाठ गर्नुपर्छ । मन्दिरमा आउने भक्तजनलाई भोजन गराए पुण्य मिल्छ भन्ने विश्वास छ । हरेक दिन मन्दिरबाट घर गएर जुठो भाँडा बरफ जमेको पानीले मस्काउँदाको पीडाले आमाको अनुहार रातोपिरो भएको देखिन्छ ।
तस्बिर, समाचार र पुस्तकमा यहाँको सेताम्य हिउँको सौन्दर्य जसरी लेखिए÷छापिए पनि देख्नमा बाहेक भोग्नमा यहाँको जीवन निकै कठिन छ । जीवनयापनका लागि यहाँका बासिन्दाले अनेकौँ कष्टसँग पौँठेजोरी गर्नुपर्छ ।
चिसाको झोकमा रिस उठ्ने कुरा गर्दा आमाले धेरैपटक कुट्नु पनि भएको छ । घरधन्दा र खेतबारीको काम सबै महिलाले नै सम्हाल्नुपर्ने पुरुषवादी समाजको असर हाम्रो जिल्लामा पनि छ । हिमपात र वर्षाका कारण ससाना घर चुहिएर पानीका तलाउ बन्छन् । हिउँदमा बस्न मात्रै नभएर खानाको पनि ठूलो समस्या हुन्छ । हप्ताँैसम्म पर्ने हिमपात र पानीले हामी सबैलाई भयभीत बनाउँछ ।
यसरी हप्तौँदेखि बर्सिरहेको हिमपात र पानीलाई रोक्न मस्टा मन्दिरमा भाकल गरिन्छ । कोही हरियो सिस्नेलाई आगोमा जलाएर हिमपात र वर्षा रोकियोस् भन्दै पुकार गर्छन् । निरन्तर बर्सने पानी र हिमपातले बालबालिका र वृद्धवृदाको स्वास्थ्यमा निकै असर गर्न । बिरामी परेकालाई घरेलु औषधिले काम नगरेपछि मात्रै उपचारका लागि कता लैजाने भन्ने पिरले सताउँछ । हिउँका कारण स्वास्थ्य संस्था पुग्दै नसकिने, पुगे पनि स्वास्थकर्मी नभेटिने त कहिले औषधि नै नहुने अवस्था आज पनि उस्तै छ ।
तस्बिर, समाचार र पुस्तकमा यहाँको सेताम्य हिउँको सौन्दर्य जसरी लेखिए÷छापिए पनि देख्नमा बाहेक भोग्नमा यहाँको जीवन निकै कठिन छ । जीवनयापनका लागि यहाँका बासिन्दाले अनेकौँ कष्टसँग पौँठाजोरी गर्नुपर्छ । र पनि प्रकृतिलाई औँला उठाएर नहुने, हुनेहार दैव नटार भनेझैँ प्रकृतिले हरेक हिउँद यहाँको जीवन यसरी नै पिरोलिरहेको छ ।
(त्रिपुरासुन्दरी नपा–१, डोल्पा)