हिमालतिर
ओ अकु निमा !
ओ अकु निमा गो फे !
(ओ घाम ! ओ घाम काका ढोका खोल)
टिन हिक् खाङ्मा ल मे क्ष्युक !
(बादलको घरमा आगो लगाइदेऊ)
ओ ! अकु निमा ...!
यतिवेला सोसल साइडहरू हिउँको फोटाहरूले भरिएको छ । हिउँमा उभिएको पोजपोजका फोटाहरू पोस्ट गर्न प्रतिस्पर्धा नै चलिरहेको छ । मेरा साथीहरू मलाई भनिरहेका छन्, ‘हिउँ खेल्न कालिन्चोक जाम् न केटी ।’ ठीक त्यतिवेला माथिको गीत मनको नेपथ्यमा कतै गुन्जिरहन्छ– ‘ओ ! अकु निमा ... !’ त्यो लय, त्यो आवाज तमाम हिमाली भेगका बच्चाबच्चीको हो । लगातार परेको हिउँले घरभित्र बस्दाबस्दै वाक्कदिक्क भएपछि हामी सानो छँदा ढोकामा बसेर घाम काकालाई पुकाथ्र्यौं । अहिले पनि हाम्रो गाउँतिरका बच्चाहरू घाम काकालाई बोलाइरहेका होलान् । मौसम चिसिरहँदा घर सम्झिरहेकी छु, त्यहाँको कष्टकर जीवन सम्झिरहन्छु, चिसोले निलो भएका ती अनुहारहरू सम्झिरहन्छु । धूमिल सम्झनाहरू आँखाअघि उभिन आइपुग्छन् ।
टाढाबाट हेर्दा जत्ति सुन्दर देखिन्छ हिउँ, नजिकबाट भोग्दा उत्तिकै मुस्किल छ । हिमालमै जीवन बिताउनेहरूका लागि हिउँ उत्तिकै क्रूर पनि छ । सुरु–सुरुमा हिउँ पर्दा खुसी लाग्छ । हिउँ खेल्न रमाइलो लाग्छ । बच्चाहरू ‘हिउँ मान्ठा’ बनाउँछन् । खेल्छन् । हिउँको मसिनो डल्लो बनाएर हानाहान पनि गर्छन् । आगो ताप्दै ठट्यौली भाकामा सेलु गाउँछन् । स्याप्रु नाच्छ । बाजेबज्यैहरू टुङ्, तामे (कथा) हाल्छन् । चिसो उदास मौसममा घरमै कैदीजस्तो बनेर बस्नुपर्छ । चिसोले हातखुट्टा सुनिन थाल्छ । त्यस्तो वेला हिउँसँग रिस उठ्न थाल्छ ।
हिमाली भेगका अधिकांश मान्ठाहरू रागन (चिसोले घुँडा दुख्ने समस्या)को समस्याले ग्रस्त छन् । रागनले धेरै च्याप्यो भने हिँड्नै नसक्ने पनि हुन्छ । तर, उपचार हुँदैन । नजिकैको स्वास्थ्य चौकीमा रागनबाट बच्न ओखती हुँदैन । धनीहरू काठमाडौंका ठुल्ठूला अस्पतालमा उपचार गर्छन् । निम्न मध्यम र मध्यम वर्गका मान्ठाहरू काठमाडौंबाट ओखती मगाएर खान्छन् । गरिबीको रेखामुनि बाँच्न बाध्य हिमाली मान्ठाहरूले चाहिँ न काठमाडौं देखेका हुन्छन्, न ओखती नै मगाउन सक्छन् । उनीहरू रागनसँग लडीबुडी लेख्न विवश हुन्छन् । कहिले रागनले लोटाउँछ (लडाउँछ ) कहिले रागनलाई लोटाउँछन् । रोगले पनि स्पष्ट रूपमा यसरी वर्ग छुट्याउँदो रहेछ ।
मलाई याद छ, मेरो बज्यैले हँसिया आगोमा पोल्नुहुन्थ्यो । रातो भएपछि आगोबाट निकालेर दुखेको ठाउँमा हँसियाको टुप्पोले निरन्तर ठुङ्नुहुन्थ्यो । चराले चारा टिपेजसरी । त्यो दृश्य निकै डरलाग्दो हुन्थ्यो । त्यो घाउबाट महिनैसम्म पिप, रगत र पानी निस्किरहन्थ्यो । घाउ अलि सुकेपछि सल्लाको थङ्ज्यु (खोटो) लगाएर भोजपत्र बाँधेर राख्नुहुन्थ्यो । बज्यै भन्नुहुन्थ्यो, ‘चिसो निस्केपछि दुखाइ अलि कम हुन्छ ।’ तातो हँसियासँग डराउनेहरू गोबर, ढंगा र लगर (फापरको रोटी)ले दुःखेको ठाउँमा सेकाउँछन् ।
०००
असोजदेखि नै सुरु हुन्छ, हिउँदभर पुग्ने घाँस, दाउरा, चामल, नुनतेल, पिठो आदिको जोहो गर्ने काम । हिउँ परेपछि लगभग चार महिना जमिन देखिँदैन । जताततै हिउँ नै हिउँ देखिन्छ । वस्तुभाउले पर्याप्त घाँस खान पाउँदैनन् । त्यस्तो वेला गोठमा वस्तुभाउ कराएको आवाज निकै कहालीलाग्दो सुनिन्छ । सबैभन्दा धेरै कहाली त्यतिवेला लाग्छ, जब हिउँले पूरै जमिन ढाक्छ र घाँस सकिन्छ ।
मान्ठाले खाने कुरा सकिए आफन्त, छिमेकीसँग माग्न वा सापटी लिन सकिन्छ, तर, जब घाँस सकिन्छ अनि कसलाई माग्ने ? सबैतिर उस्तै हालत हुन्छ । चिसो गोठमा घाँस पर्खिरहेका जोपाजुमा, गाई र घोडाहरूलाई देख्दा आँखा त्यसै रसाउँछ । हिउँले भत्काएको घरगोठ हेर्दा मुटु काँप्छ । माटोले छाएको छानाबाट तप्पतप्प पानी चुहिँदाको दृश्य निकै कहालीलाग्दो देखिन्छ ।
काठमाडौंले हिउँलाई रमाइलाको रूपमा मात्रै हेर्छ । काठमाडाैं जब हिमाली जिल्लाहरूमा पुग्छ तब सुन्दर झरना, तालतलैया, हिउँले ढाकेका थुम्काहरूको फोटो खिचेर फर्किन्छ । तर, काठमाडाैं ले हिउँले खाएको हिमालीका औँलाहरू देख्दैन । हिमाली मान्ठाको दुःख काठमाडौंले महसुस नै गर्न सक्दैन । चिसोले सुनिएको हातखुट्टामा लगाउने ओखतीको जोहो गर्नेबारे काठमाडौंले कहिल्यै सोच्दैन । रागनले थलिएका हिमाली मान्ठाहरू काठमाडौंले देख्दै देख्दैन । काठमाडौंले मात्रै फोटो खिच्छ ।
काठमाडौं जब हिमालतिर पुग्छ तब हिउँले ढाकेका थुम्काहरूको फोटो खिचेर फर्किन्छ । तर, काठमाडौंले हिउँले खाएको हिमालीका औँलाहरू देख्दैन । चिसोले सुन्निएको हातखुट्टामा लगाउने ओखतीको जोहोबारे काठमाडौंले सोच्दैन ।
पोहर साल । साथीहरूले फुल्चोकीमा हिउँ खेल्न जाने अफर गरे । तर, मलाई हिउँ खेल्न पटक्कै मन थिएन । साथीहरूको प्रस्ताव नमान्दा ‘घमन्डी’ को ट्याग मैले पाउनेवाला थिएँ । साथीहरूले फोन गरेर हैरान बनाए । धेरै थरीको बहाना सोचेँ । पत्यारलाग्दो बहाना नै भेटिनँ । त्यसपछि मैले भनेँ, ‘मेरो फुपूको ससुरा बित्नुभएछ । म नजाने भएँ ।’ पच्चीस वर्षपहिल्यै मरिसकेको मान्ठालाई मैले फेरि एकपटक मारिदिएँ ।
०००
हुम्लातिर यो वर्ष मंसिर मै हिउँ प-यो । मलाई याद भएसम्म यति चाँडै हिउँ परेको यो पहिलोपटक हो । हिउँ परेपछि हिमाली जिल्लाका विद्यालयहरू बन्द हुन्छन् । मंसिर अन्तिमतिर वार्षिक परीक्षा सकाएर मध्य फागुनसम्म विद्यालय बन्द हुन्छ । यो वर्ष चाँडै हिउँ परेकाले हिउँमै परीक्षा दिए । स–साना भाइबहिनीहरूले चिसोले लेख्न नसकेर आगो ताप्दै परीक्षा दिएको खबर आयो । दोस्रोपटक हिउँ पर्दा हप्तादिनसम्म नेटवर्कले काम गरेन । मेरो गाउँमा एक त फोन लाग्दैन । फोन लाग्ने ठाउँसम्म पुग्न डाँडामा पुग्नुपर्छ । ठूलो हिउँ परेको वेला डाँडामा जान सकिँदैन ।
हिउँदमा प्रायः पुरुषहरू कमाइको सिलसिलामा कोही फुरु निकाल्न भारत पुग्छन्, कोही मुगु, बाजुरातिर जान्छन् । कोही अछामतिर झर्छन् । त्यसपछि घरको काम सबै बैकिनी (आइमाई)हरूको जिम्मामा आउँछ । चिसोमा महिनावारी हुँदाको पीडा अरू कुनै पीडासँग तुलना गर्न सकिँदैन । पुरुषका पनि आफ्नै किसिमको दुःख होलान् । तर, बैकिनीहरूले जस्तो दुःख उनीहरूले सायदै भोगेका होलान् । तुलात्मक रूपमा बैकिनीहरूले धेरै दुःख भोगिरहेका हुन्छन् ।
०००
हिउँले दिने तमाम दुःख सहेर पनि फेरि हिउँले नै दिने खुसी सम्झेर हिमालका मान्ठाहरू रमाउँछन् । हिमाली मान्ठाहरू हिउँदका ती भयानक दुःखहरूलाई सहिदिन्छन् । हिउँका अनेकन दुःखसँगै फाइदाहरू पनि छन् । हिउँ पर्यो भने चौँरी, याक र जोपाजुमालाई गर्मीको कारणले लाग्ने रोग लाग्दैन । अधिकांश हिमाली भेगको खेती हिउँदको हिउँ र बर्खाको पानीमा निर्भर हुन्छ । समयमा हिउँ पर्यो भने बालीनाली राम्रो हुन्छ । हिउँ बिलाएपछि गुच्ची च्याउ उम्रिन्छ ।
केटाकेटीहरू स्कुल छुट्टी भएपछि च्याउ टिप्न जान्छन् । महिलाहरू च्याउ बेचेको पैसाले आफ्नो खर्च जोहो गर्छन् । हिउँ बिलाएपछि उम्रिने घाँस, च्याउ आदिले दुःख सहने तागत दिन्छ । सप्रेको अन्नबाली भनेकै हिमाली मान्ठाहरूका लागि उकालो चढेर आइपुगेको देउराली हो । निकै तिर्खाएपछि भेटिएको एक बुँद पानीजस्तै हो । हिउँदमा सहेको दुःख बारीमा मौलाएको खेतीले बिर्साइदिन्छ । हिमाली मान्ठाहरू बारीमा मौलाएको बाली हेर्दै सबै दुःख भुलिदिन्छन् ।