नयाँ पत्रिकाको अफिस पुतलीसडकदेखि अनामनगरसम्मको दूरी पुग–नपुग दुई किमिजति छ । ट्राफिक जाम छिचोल्दै चल्ने नेपाल यातायातले यति दूरी पार गर्न कहिले सात मिनेट र कहिले २७ मिनेटजति लगाउँछ । चालक र सहचालकको हप्कीदप्की, कानमा इयरफोन घुसारेर बेमतलव आरक्षित सिटमा बसिरहेका युवा यात्रु, ठेलमठेल अनि रुखो वचनवाण बसमा देखिने यस्ता दृश्यहरू ‘बिग सिन’ लाग्न छाडेको धेरै भइसक्यो । तर, यही छोटो दूरीमा वेलाबखत देख्न र सुन्न पाइने ‘सिन’ भने कहिलेकाहीँ यादगार बन्दो रहेछ ।
दुईजना महिला बसको अघिल्तिरको महिला आरक्षित सिटमा अटाइ–नअटाई बसेर गफिँदै थिए । उनीहरू हेर्दा सहरिया देखिन्थे । लवज मध्यनेपालको थियो । उनीहरू कसैको पर्वाह नगरी फिनल्यान्डको नेतृत्व सम्हालेकी योंगेस्ट प्रधानमन्त्री सना मानिनदेखि नेपालकी शिवमाया तुम्बाहाम्फेसम्मका विषयमा तर्क–वितर्क गर्दै थिए ।
बीच–बीचमा बसले बजाउने हर्न र घ्वाच्च–घ्वाच्च लाग्ने ब्रेकले उनीहरूको कुराकानीमा पनि केही क्षण बे्रक लाग्थ्यो । र, झ्यालबाट यताउता चिहाएपछि आफ्नै पारामा दुवैको बहस उसैगरी सुचारु हुन्थ्यो । उनीहरूको कुराबाट अफिसमा ‘बोस’ ले, अदालतमा ‘न्यायाधीश श्रीमान्’ले र घरमा ‘पति’ले आफ्नो पर्फमेन्सलाई लिएर गरेको अविश्वास प्रस्ट बुझिन्थ्यो ।
उनीहरूको कुराकानीको प्रसंग लामो हुँदो हो, बीचैमा जोडिन र तोडिन पुगेको कुरो जति थियो, त्यो पनि कम गहकिलो थिएन । झ्यालपट्टि बसेकी महिलाले कुराकानीकै बीचमा भनिन्, ‘विश्वदेखि वितृष्णा लाग्छ । यो संसारमै महिला कहीँ पनि सुरक्षित छैनन्, तेस्रो विश्वयुद्ध त महिला र पुरुषबीच हुनुपर्ने हो । कति–कति वेला त यस्तो लाग्छ, आफ्नै सन्तान पनि सन्तान कम र ‘शासक’ बढी लाग्छ ।’
उनीहरूले राष्ट्रपतीय निर्वाचनमा पराजित भएकी हिलारी क्लिन्टनको कुरा गरे, आफूमाथि भएकोे शारीरिक, मानसिक तथा यौनजन्य हिंसाको त्रासले २०१९ को चुनावी मैदान छोडेका बेलायती महिला सांसदहरूको नियतिबारे बहस गरे । नश्लीय विभेद सहन नसकेर दरबार र देश छोड्दै गरेकी बेलायती राजकुमार ह्यारीकी श्रीमती मेघनबारे कुरा गरे । त्यसपछि शिवमायाबारे कुरा गरे ।
उनीहरूको कुरा सुन्दासुन्दै अनामनगरको पूर्वी गेट आइपुग्यो । बसबाट ओर्लिएको धेरैबेरसम्म उनीहरूको बहसले कता–कता घोचिरह्यो । हतारिँदै घर पुगेँ । बिहानदेखि असरल्लै छोडेका जुठाभाँडा, चुलोचौकोको जम्मै काम सक्नु थियो । बच्चाको ‘होमवर्क’देखि साँझको खान्कीसम्म भ्याउनु थियो । अफिसबाट थाकेर चुलोमा पुगेँ । कानमा बारम्बार गुन्जिरह्यो, उही दुई महिलाको संवाद । भाँडा माझिरहँदा आफैँलाई प्रश्न गरेँ, ‘शिवमायालाई किन बनाइएन सभामुख ?’