मुसीमा अनिँदो रात

टासी टेवा डोल्पो टासी टेवा डोल्पो
शनिबार, ९ चैत, २०७५
डिजिटल संस्करण

झन्डै चार दिन लगाएर भार्वोङ डोल्पा पुग्यौँ । १० जना युवा समूहले जिल्ला प्रशासनको कार्यलय दुनै पुग्यौँ ।  ‘तपाईंहरू पाँचजना मात्र भित्र जानू । ठाउँ धेरै छैन ।’ गेटबाहिर कसैले भन्यो । हामी मध्येका ठिम्नेरको टासीले मलाई भन्यो, ‘तपाईं त भित्र जानुपर्छ नै ।’ 

नेपाली बोल्न र लेख्न जान्ने म नै भएकाले पनि होला । भित्र पठाउन खोजिएको । अर्को करिब १० कदमको हिँडाइपछि हामी जिल्ला अधिकृतको कक्षमा पुग्यौँ । ४० जनासम्म पनि अट्ने कोठामा जिल्ला अधिकृतज्यू खै के सोचिरहेका थिए । अहँ चाल पाइएन ।

विगत बीस वर्षदेखि नेपाल सरकारले ७५ जिल्लाका हरेक गाविसमा केही वार्षिक बजेट छुट्याउँदै आउँथ्यो । डोल्पाको छार्का गाविसमा पनि ती बजेट आउँथे । ती सरकारी अनुदानले गाउँमा काम गर्दै नगरेको पनि होइन । यद्यपि, विभिन्न शीर्षकमा आउने बजेट र उक्त योजनाका निमित्त गठन हुने उपभोक्ता समितिमार्फत रकम हिनामिना भइरहँदा गाउँलेले एक महिनाअगावै जिल्ला प्रशासनमा गाउँकै पेमा गुरुङविरुद्ध एउटा निवेदन हालेको थियो । 

लगत्तै जिल्ला प्रशासनले पेमा गुरुङको नाममा एउटा निवेदन लेख्यो । गाउँ पुगेर उक्त चिठी थमाएको केही दिनमै पेमा गाउँबाट भाग्यो । लगत्तै, गाउँको भेलाले आठजना युवालाई सो हिनामिनाविरूद्ध निवेदन गर्न एक दिन निर्देशन पनि दिए । सदरमुकामबाट करिब चार दिन पैदल हिँडेर पर्सिपल्ट दुनै पुगियो । 
०००
छार्का ताङसोङ गाउँपाललिकाको भार्वोङमा करिब ६० घरधुरीको बसोवास छ । हिउँदको समयमा यी गाउँलेहरू लोङगुङको न्यानो ठाउँमा झर्ने र ढुंगाको घर बनाएर बस्ने गर्दछन् । चारवटा वडामा त्यति युवाहरू नभएको र गाउँमा पनि काम गर्नलाई केही युवाको खाँचो भएकाले  छार्का ताङसोङ गाउँपाललिका २ र ३ वडाबाट आठजना युवा छानिए । 

तेस्रो दिनको बिहान करिब १० बजे ती युवाहरू भेला भए । कोही झोला बोकेका थिए । कतिसँग त झोला पनि थिएन । झोलामा सामान्य चिज र दिनुपर्ने नासोसमेत थियो । 

पहिलो दिनको अपराह्न १ बजेतिर हामी सेरी भन्ने गाउँमा पुग्यौँ । सेरी गाउँबाट हामीले डोल्पा जिल्लाको प्रहरीलाई फोनमार्फत सम्पर्क गर्ने कोसिस गर्यौं । एकजना साथीसँग जिल्ला प्रहरीको नम्बर थियो । फोनमार्फत पेमा भागेको कुरा बताउँन खोज्दा प्रहरीले पेमालाई नचिनेको कुरा राख्यो । र दाबी गर्दै सकेसम्म हामीलाई चाँडै पुग्न भनेर पनि सल्लाह दियो । 

सेरीबाट अर्को दुई घन्टा हिँडेपछि गाउँ श्याङ पुग्दा साथीहरू थकित थिए । चिसो हावाको बेगसँगै लम्किएका ती पाइला थाक्नु पनि स्वाभाविकै थियो । एउटै घरमा सबैजनालाई खाना र सुत्नुको व्यवस्था पनि मिलाउन गाह्रो हुने भएकाले त्यो रात हामी दुई–दुईजना गरी छरिएर सुत्नुपर्ने बाध्यता पनि आयो । माथिल्लो घरमा म सुतेको र तलको बाटो भएर जानुपर्ने हुनाले साथीहरूले मलाई नै चाँडै उठ्नु र अरूलाई पनि उठाउने जिम्मा दिए । 

भोलि बिहानै ६ बजे उठेर तयारी गरियो । चिया र खाजा जम्मा हुँदा सात बज्यो । दोस्रो दिन काक्कोटगाउँ पुग्नुपर्ने थियो । चौथो दिन शनिबार परे पनि हामीले तेस्रो दिनको बेलुकीसम्म सदरमुकाम पुग्ने निधो गरिसकेका थियौँ । 

स्याङबाट ओरालै–ओरालो र भेरी खोलाको तीरैतीर हिँड्दै दिउँसो काक्कोटसम्म हामी पुग्यौँ । धेरै ठाउँको हिँडाइमा घामको किरणले नछोए पनि चिसो त थियो नै । चट्टानेबाटो भएकाले हिँडाइ सहज थिएन । 

साथीहरू अघिपछि भए पनि गन्तव्य सबैको एउटै थियो । झन्डै चार घन्टाको रफ्तारी हिँडाइबाट काक्कोटमा हामी बल्ल पुग्यौँ । 

काक्कोट पुग्न करिब आधा घन्टाअगाडि हामीले हिमताल माथिबाट हिँड्यौँ । हिमताल माथिबाट हिँड्दा केहीबेरको हाँसोले फेरि पनि हिँडाइको थकानलाई मेटाउने प्रयास गर्यो । काक्कोटमा खाना खाने हामीले निधो गर्यौं । 

त्यस्तै, एक घन्टाको पर्खाइ र खानापछि फेरि पैदल हिँडाइ सुरु भयो । यतिखेरसम्म केही साथी अघि हिँडिसकेका थिए । यस्तै, १० मिनेटको हिँडाइपछि कुरिरहेका साथीहरूलाई भेट्यौँ । 

तीन घन्टाको हिँडेपछि मुसिखोलामा हामी पुग्यौँ । भूकम्पले काठेपुल भत्काएपछि केही महिनाअघि मात्र एउटा नयाँ झोलुंगेपुलको निर्माणले हाम्रो यात्रा मात्र सहज नभई तल्लो डोल्पा बस्ने डोल्पालीहरू र माथिल्लो भेगमा बस्ने डोल्पा आदिवासी जनजातिलाई पनि सजिलै परेको थियो । 

पुल सानै भए पनि त्यसको उचाइ खोलाबाट झन्डै १०० फिटमाथि थियो । तैपनि, तलको भेरी खोलाको बेगको आवाज अझै मज्जाले सुनिन्थ्यो । 

मुसिखोलामा डोल्पाकै ताक्सिङकोलाका बासिन्दा आएर होटेल चलाइरहेको पनि भेटिन्छ । बर्खा र हिउँदमा यस ठाउँमा सानोकाठे र ढुंगाको घर बनाइबसेका उक्त डोल्पालीहरू भेट्दा र उनीहरूले दिने घिउ चियाले पनि आत्मीयता अझै पनि निरन्तर रहेको दर्साउँछ । 

तल्लो डोल्पाको गाउँलेहरू माथिल्लो डोल्पेलीहरूको याकको घिउ, छुर्पी र तिब्बतबाट ल्याएको नुन अझै रुचाउँछन् । चीनले तिब्बतको क्षेत्र आफ्नो मातहतमा झन्डै ६० वर्षदेखि ल्याएदेखि राज्यले नै आयोडिनयुक्त नुन बेच्न थालेको थियो ।

हिमालपारि गरिने नुनको व्यापारमा पनि ह्रास आउनुका साथै जीविकोपार्जनमा पनि असर पारेको प्रस्टै देखिन्छ । पहिले चरनक्षेत्रका लागि तिब्बतसम्म जान पाउने याकहरू अचेल डोल्पाभित्रै सीमित छन् । 

मुसिखोलाको आतिथ्यतासँगै अर्को तीन घन्टाको बाटोतिर हामी लम्कियौँ । बेलुका झन्डै सात बजेको थियो । झिसमिसेमै लेसीक्यापमा पुग्यौँ । लेसीक्यापमा माथिल्लो डोल्पाका लागि इलाका प्रहरीको कार्यालय थियो । यसै ठाउँबाट डोल्पाका अन्य गाविस धो र तिन्जे जाने पनि छुट्टिन्छ । यहाँ पनि ससाना होटेल पनि भेटिन्छन् । दुई दिन यहीँ बस्यौँ । 

तेस्रो दिन शुक्रबार माथिल्लो डोल्पाको म्योरोम पास जोड्ने सडक बनाउँदै गरेको काइके गाउँपालिका हँुदै करिब बेलुकाको चार बजेतिर हामी दुनै सदरमुकाम पुग्यौँ । त्यो रात कोठा पाउन धौधौ भयो । पछि एउटा पार्टी कार्यालयमा पुगियो । 

कोठामा थकित अवस्थामा पुग्दा एउटा खाट थियो । रात अनिद्रामा बित्यो । पाँचौँ दिन एउटा निवेदन लेखेर जिल्ला प्रशासन कार्यालयको जिल्ला अधिकृतलाई भेट्न त्यो चिसो कोठामा छिर्यौं । पाँचजना मात्र छिर्न पाएका हामीलाई धेरै नै हेपाइको महसुस त भइसकेको थियो नै । 

दुई रातको अनिदो र तीन दिनको हावाको बेगभन्दा पनि छिटो हिँडाइले डोल्पो भार्वोङका युवालाई साँच्चै नै दुनैको सदरमुकाम परदेशभन्दा कम लागेन । बड्डाहरूले दुनैलाई धुग्ङयाल (विष सुतेको ठाउँ) त्यत्तिकै भनेको त होइनरहेछ ? 

सुझावित समाचार