हिँडेरै चक्रपथको एक फन्को

सुवास भट्ट सुवास भट्ट
शनिबार, १५ चैत, २०८१
डिजिटल संस्करण

पैदलयात्रीलाई छैन सजिलो, दिउँसो पैदलयात्रा लगभग कल्पनाबाहिर

अहिले जति उमेरको भएँ, त्यसको आधाभन्दा बढी अवधि भयो, काठमाडौं बसाइ । लामो समय गुजारेको परिवेशप्रति आशक्त भइँदोरहेछ । निर्वाहका तमाम सीमितता र उतारचढावका बाबजुद पनि सहरसँगको बन्धन यथावत् छ । 

झट्ट हेर्दा सहर भन्नु के नै छ र ! यही सघन आवादी, भिडभाड, निर्वाहका अवसर, भौतिक सरसुविधा यस्तै । अझ काठमाडौंको हकमा त अतिरिक्त धेरै कुरा जोडिन्छन्– अव्यवस्था, असंयम र असंगति । जसै भए पनि काठमाडौं रंगीन छ । रंगीन हुनु सहरको अन्तरंग विशेषता नै भयो । 

रंगीन हुनु सुन्दर हुनु पनि हो । यो सुन्दरतामा मेरो चाख छ । यसैको परख गर्न काठमाडौंमा विचरण गर्दै हिँड्ने सोख बढेको छ । काठमाडौंलाई अनेक कोणबाट चिहाउन र अवलोकन गर्न मन पर्छ । 

काठमाडौं बसाइको हिसाबले डेढ दशकभन्दा लामो अवधि म चक्रपथको बाटुलो घेराभित्रै सीमित रहेँ । जो उपत्यकाको प्राचीन कान्तिपुरी नगरीको केन्द्र हो । नेपाल एकीकरणयता यो सहर आजपर्यन्त देशको केन्द्र हो । एकात्मकदेखि वर्तमान संघीय राजधानीको राजनीतिक, आर्थिक र प्रशासनिक केन्द्र पनि हो । 

पत्रकारको आँखाले बहुरंग देखेकै हुन्छ । यो रंगलाई कुन तहमा अनुभूत गर्ने भन्ने व्यक्तिका स्वभाव, रुचि र सौन्दर्यचेतमा भर पर्छ । यही चेतनाले मलाई यताउता घुमाइरहन्छ । यसैक्रममा मनमा विचार आयो, यो कान्तिपुरी नगरीलाई परिक्रमा किन नगर्ने ? यही सुरमा देशकै केन्द्र कान्तिपुरी नगरीको केन्द्रलाई चक्कर मार्न पुगेँ । 

चक्रपथ किन घुमेँ ?

काठमाडौं उपत्यकालाई सुरक्षाकवच जसरी घेराबन्दी गर्ने हरेकजसो डाँडाकाँडामा मैले आफ्नो पदचाप छाडेको छु, ख्याल नगरेका एकाध बाँकी हुन सक्लान् । शिवपुरी, नागार्जुन, चन्द्रागिरि, चम्पादेवी, फुलचोकीमा त तेहेर्याएर–चौर्याएर पुगेको छु । 

चारैतिर डाँडाकाँडाले घेरिएको यो उपत्यकाको कचौरा आकार सुन्दर लाग्छ । सुन्दर नहुँदो हो त नेपालको भौगोलिक एकीकरणकर्ता पृथ्वीनारायण शाहले गोरखा साम्राज्यको विस्तार गर्दै यसलाई केन्द्र सायदै बनाउँथे । ती अग्ला टाकुराबाट काठमाडौं चिहाउन मजा लाग्छ । भलै सहरी स्वरूप हेर्नलायक किन नहोस् । 

यी डाँडाकाँडालाई घेरो मारिसक्दा पनि चक्रपथ घुम्ने सोच भने फुरेको थिएन । जब एकाध मानिसले साइकल या पैदलै चक्रपथ घुमेको थाहा पाएँ । मलाई यो तरिका सिर्जनात्मक लाग्यो । 

बिजुलीसरी विचारको वृत्ति चलेर मात्र हुँदैन, यो लक्ष्यमा सोझिनुपर्छ । यसका लागि समय लाग्छ । लक्ष्यमा सोझिएपछि र प्रयत्न भएपछि त्यो विचार मूर्त हुने हो । यसो भएपछि कार्य सफल हुन्छ । चक्रपथ परिक्रमाको विचार अलि अघिदेखि नै आए पनि, मेरो हकमा यो सघन हुन समय लाग्यो । प्रयत्नमा पनि उस्तै समय । 

यसैक्रममा अघिल्लो शुक्रबार (८ चैत) चक्रपथ परिक्रमा गर्ने सोच आयो । शनिबारको समय आफ्नो कार्यालय छुट्टीको दिन, बिदामा सामान्यतया मानिसको भिडभाड कम हुने स्वभाविकता र समय व्यवस्थापन गर्न सकिने भइयो । सबै संयोग मिलेपछि परिक्रमा गर्ने निक्र्योलमा पुगेँ । यसमा मौसमको अनुकूलताले समेत साथ दियो । 

लामा यात्रासमेत एक्लै गर्ने बानी परिसकेको मलाई सहरको चक्रपथ परिक्रमा गारो लाग्ने कुरै थिएन । तैपनि, एकजना साथीलाई फोन गरेर योजना सुनाएँ । उनी पनि हिँड्न सहमत भएपछि यात्रा योजना अन्तिम टुंगोमा पुग्यो । घाम लागेपछि या दिउँसो धुलोधुवाँ र प्रदूषण बढ्ने अवस्थाको आकलन गरेर बिहानै यात्रा गर्ने निश्चित गरियो । राति साढे १० बजेआसपास योजना निश्चित भएपछि बिहान पौने ५ बजे नै उठेर तातोपानी पिइओरी यात्राका लागि अघि बढेँ । 

दुवैजना भेट भएर बिहान ५:२५ मा पशुपतिनाथ प्रवेश गर्ने द्वार गौशालमा भेटियौं । बसाइँसँगको दूरीअनुकूल स्थान यही गौशालाबाट यात्रा अघि बढाउने भयौँ । 

पशुपति दाहिना कि ‘क्लकवाइज’ !

यात्रामा बिहानी समयलाई शुभ मानिन्छ । दिनको प्रारम्भिक प्रहरमा अवरोध कम हुने, वातावरणीय हिसाबमा शान्त र शारीरिक–मानसिक ऊर्जा पनि तरोताजा हुने हुँदा यसले लक्ष्य प्राप्तिका लागि सहज तुल्याउने इत्यादिका कारणले नै यसलाई शुभ भनिएको हुनुपर्छ । यही शुभ समयमा हाम्रो चक्रपथ परिक्रमा यात्रा अघि बढ्यो । 

सामान्यतया परिक्रमा घडीको सुईअनुकूल (क्लकवाइज) हुने गरी गरिन्छ । तर, हामी जुन बिन्दुबाट यात्रा सुरु गर्न लागेका थियौँ । यसमा द्विविधा भयो । पशुपतिनाथलाई दाहिना बनाउने या दाहिने (क्लकवाइज) घुम्ने । यसमा हामीबिच विमर्श भयो । क्लकवाइज घुम्दा पशुपतिनाथ देब्रे पर्ने भए । कुनै तीर्थ या मन्दिर घुम्दा त्यसलाई दाहिने पारेर घुम्ने परम्परा छ । यसैमा त त्यस्तो केही थिएन । अर्को विषय उठ्यो, चक्रपथ विस्तारका कारण धुलो छल्ने उपाय अपनाउनुपर्छ । केही वर्षयता चक्रपथ विस्तार चलिरहेको छ । यो अहिले कलंकी–चाबहिल खण्डमा ‘साइट क्लियरेन्स’लगायतको काम भइरहेको छ । जसका कारण त्यो खण्डमा धुलोधुवाँ बढी हुन्छ । बिहानी समयमा चहलपहल बाक्लिनुअगावै यो खण्ड पार गर्न सके धुलोधुवाँबाट जोगिन सकिन्थ्यो । 

अन्ततः पशुपति दाहिना नै भए ! धुलोधुवाँबाट जोगिन चाँडै सडक विस्तार चलिरहेको खण्ड पार गर्ने गरी हामी गौशालाको देब्रेतिरबाट यात्रा अघि बढायौँ । झिसमिसेमै यात्रा अगाडि बढ्यो । 

चक्रपथको धुलाम्मे हविगत 

गाडीबाट चक्रपथ परिक्रमा नौलो रहेन । तर, हामीले पाइला नापेर चक्रपथ परिक्रमामा अघि बढेका थियौँ । सहर परिक्रमाको मूलमार्ग हुँदै यात्रा गरिने भएकाले यसको अवस्था अवलोकन पनि स्वाभाविक रूपमा गरिने भयो । चक्रपथ विस्तारको काम के कसरी भइरहेको छ भन्ने पनि नजिकबाट नियाल्ने मौका भयो ।

गौशाला–चाबहिल खण्ड चक्रपथ साँघुरो लाग्ने स्थान हो । यहाँ न विस्तारको काम नै अघि बढेको छ । चाबहिलबाट अघि बढ्दा बाटो केही चौँडा भए पनि हालत ठिक लाग्दैन । 

धुम्बाराहीबाट केही अगाडि बढ्दा महाराजगन्ज चोकबारीसम्म सडक विस्तारको काम चलिरहेको देखिन्छ । काठमाडौं सडक डिभिजनले यहाँ ‘साइट क्लियरेन्स’ र विस्तारसहित दायाँबायाँ संरचना निर्माण गरिरहेको छ ।

झलक्क यो देख्दा खुसी पनि लाग्यो कि कम्तीमा सुधारको काम त चलिरहेको छ । कहिले सकिन्छ भन्ने पछिको कुरा । काम नहुनुभन्दा सुरु भएको वा चलिरहेको कामले त्यो लक्ष्य पूरा हुन्छ भन्ने संकेत र उत्साह दिँदो रहेछ । तर, महाराजगन्ज काटेर अघि बढ्दा उस्तै हविगत ! गोंगबु नयाँ बसपार्कदेखि सामाखुसी चोकसम्म आयोजनाले ‘साइट क्लियरेन्स’का काम भने गरिरहेको देखिन्छ । नयाँ बसपार्कदेखि कलंकी चोकसम्मैको हालत लगभग उस्तै छ । सडक दायाँबायाँका खाली भागले ‘साइट क्लियर’ भएजस्तो देखिए पनि काम भइरहेको आभास भएन । 

चक्रपथको यात्रा गर्दा चाबहिलदेखि लगभग कलंकीसम्म नै धुलाम्य स्थिति छ । दिउँसो पैदलै यो खण्ड हिँड्ने कुरा लगभग कल्पनाबाहिरको हो । कलंकी–वसुन्धरा खण्डमा सडकको दायाँबायाँ ट्याक्सी र सवारीसाधन जथाभावी पार्किङ, माटोसहित निर्माण सामग्री थुपारिएको र अधुरा निर्माणले हेरिनसक्नु कुरूप छ । 

आहा चक्रपथ !

कलंकी चोकबाट अघि बढ्दा भने अलिक फरक महसुस हुन्छ । बल्खुचोकसम्म ठिकै देखिएकामा सानेपा हुँदै अघि बढ्दा भिन्न स्वरूप देखापर्छ । भन्न मन लाग्छ, आहा चक्रपथ ! दायाँबायाँ रुखहरू र बिचमा फूल अनि चिटिक्कको आठ लेन सडक । रुखको छहारी ताप्दै दृश्यावलोकन र पैदल हिँड्न मिल्ने । सानेपादेखि एकान्तकुनासम्मको दायाँबायाँ रुख तथा फूल फुलेका दृश्य र चिटिक्कका सडक हेर्नलायक छन् । आधा घण्टाअघिको कलंकीसम्मको यात्रा र कलंकीपछिको यो हरियाली कतै तुलनायोग्य लाग्दैन । 

लगभग ग्वार्को पुलआसपाससम्मै दायाँबायाँ हरियालीसहितको सडक आनन्ददायक लाग्छ । ग्वार्को चोकमा भने ओभरपास निर्माणका कारण धेरै नै अवरोध भइरहेको छ । लगभग निर्माण सकिएको ओभरपासलाई पुनः भत्काएर नयाँ बनाइँदै छ । जसका कारण आसपास सवारीसाधन र मानिसको आवागमन प्रभावित छ । यसलाई छाडेर बालकुमारी हुँदै कोटेश्वर चोकसम्म अघि बढ्दासम्मको सडक राम्रै देखिन्छ । 

तर, फराकिलो र चिटिक्क सडकमा बाटो काट्न व्यवस्थित संरचना छैन । यसले खल्लो महसुस गराउँछ । सडक पनि एकनास व्यवस्थित छैन । कतैकतै बनाउन लागिएका पुल पनि निर्माणाधीन अवस्थामै अलपत्र छन् । यही आयोजनामा कलंकीको अन्डरपासले भने यातायात आवागमनलाई सराहनीय सुधार गरिदिएको आभास हुन्छ । 

कोटेश्वर चोकबाट तीनकुने, सिनामंगल हुँदै गौशालासम्मको सडकमा पनि चक्रपथ विस्तारको कुनै काम अघि बढेको देखिँदैन । 

आधुनिक यातायात प्रणालीलाई गिज्याउने सवारी व्यवस्थापन : न ट्राफिक लाइट, न जेब्राक्रस 

सहरी परिवहन चुस्त हुन व्यवस्थित ट्राफिक प्रणाली चाहिन्छ । यसका लागि ट्राफिक लाइट, जेब्राक्रस, बाटो काट्ने पुल अति आवश्यक पक्ष हुन् । तर, चक्रपथभरि कतै पनि यी पूर्वाधार व्यवस्थित देखिँदैनन् । अधिकांश स्थानमा ट्राफिक लाइट छैनन् भने आवश्यक ठाउँमा समेत जेब्राक्रस छैनन्, भएका पनि मेटिएका छन् । यात्रुलाई सडक पार गर्न अन्डरपास, ओभरपास, आकाशेपुललगायत संरचना पनि पर्याप्त छैनन् । अलि व्यवस्थित देखिएको कलंकी–कोटेश्वर खण्डमा समेत यी पूर्वाधार छैनन् । यद्यपि, केही स्थानमा फ्लाइओभर, आकाशेपुल, जेब्राक्रस बनाइरहेको भने देख्न सकिन्छ । 

अनिश्चितताको भुमरीमा चक्रपथ आयोजना 

चक्रपथलाई व्यवस्थित बनाउने गरी यसको विस्तारको काम थालिएको पनि १२ वर्ष कट्यो । तर, आयोजनाको एकतिहाइजति काम मात्र बल्ल सम्पन्न भएको छ । विस्तारको काम कहिले सकिन्छ भन्ने टुंगो त परै जाओस्, आयोजना नै अनिश्चयको भुमरीमा फसेको छ । 

चक्रपथ परिक्रमा गरेपछि मैले सडक विभागअन्तर्गतको काठमाडौं चक्रपथ सुधार योजनाका प्रमुख सिडिई कृष्णनाथ ओझालाई आयोजनाबारे सोधेँ । यो आयोजनामा हालसम्म कति खर्च भयो र यो कहिले सकिन्छ भन्नेसम्मको कुनै ठोस जवाफ उनीसँग छैन । 

काठमाडौं–चक्रपथ स्तरोन्नति योजनाको काममा चिनियाँ पक्षलाई काममा सहजता ल्याउने उद्देश्यले १८ पुस ०६९ मा तत्कालीन भौतिक पूर्वाधारमन्त्रीको निर्णय (मन्त्रीस्तरीय)बाट काठमाडौं चक्रपथ सुधार योजनाको स्थापना गरिएको थियो । चक्रपथ आयोजना चीन सरकारको सहायतामा अघि बढेको थियो । 

नेपाल सरकार र चीन सरकारबिच समझदारी (एमओयु) भएर चक्रपथ स्तरोन्नतिअन्तर्गत पहिलो खण्ड (कोटेश्वर–कलंकी )को १०.३५ किलोमिटरको निर्माण सम्पन्न भइसकेको छ । चीनले यो खण्ड २४ पुस ०७५ मा नेपाल सरकारलाई हस्तान्तरणसमेत गरिसकेको छ । 

लगत्तै आयोजनाको दोस्रो खण्ड कलंकी–वसुन्धराको मुख्य सडक पनि चीन सरकारको अनुदान सहयोगमा निर्माण गर्ने गरी ‘लेटर अफ एक्सचेन्ज’मा सहमति भएको थियो । आयोजना प्रमुख ओझाका अनुसार दोस्रो खण्डको लम्बाइ ८.२ किमि हो । यो खण्डमा नेपाल पक्षले ‘सर्भिस ट्रयाक’ बनाउने र बाँकी काम चीन बनाउने सहमति भएको ओझा बताउँछन् । 

आयोजनाको दोस्रो खण्डमा नेपाल सरकारको तर्फबाट सडक सीमासम्बन्धी काम, साविकमा रहेका विद्युत्, खानेपानी, टेलिफोन तथा अन्य संरचना हटाउने, रुख कटान गर्ने कार्य भइसकेको आयोजनाको भनाइ छ । कलंकी–वसुन्धरा पुलसम्मको दुवैतर्फ सर्भिस ट्रयाक बनाउनुपर्नेमा स्वयम्भूसम्म निर्माण सम्पन्न भएको र स्वयम्भूबाट वसुन्धरासम्म चार प्याकेजमा निर्माणाधीन अवस्थामा छ । ‘नेपाल पक्षले सर्भिस ट्रयाक मात्रै बनाउने हो, पर्याप्त बजेट पाए यो आर्थिक वर्षमा हाम्रोतर्फको काम सकिन्छ,’ आयोजना प्रमुख ओझा भन्छन् । 

तर, चिनियाँ पक्ष भने आयोजना निर्माणबाट विमुख भएकोजस्तो देखिन्छ । आयोजना प्रमुख ओझाका अनुसार कोभिड महामारीपश्चात् चिनियाँ पक्षले काम गरेको छैन । ‘दोस्रो खण्डमा चिनियाँ पक्षले डिपिआर र डिजाइनिङका लागि परामर्शदाता छनोट भएको सुनिएको छ,’ ओझा भन्छन्, ‘यसभन्दा बढी थाहा छैन ।’ दोस्रो खण्डको काम अघि बढाउन चिनियाँ पक्षको आनाकानी र बाँकी रहेको वसुन्धरादेखि कोटेश्वरसम्मको खण्डमा त प्रवेश नै नगरेबाट चक्रपथ विस्तार योजना अन्योलको भुमरीमा परेको प्रस्ट हुन्छ । 

२७ किलोमिटरमा ३४ हजार पाइला 

हिँड्दा धेरै कुरा त सोचिँदैन । तर, चक्रपथ परिक्रमा गर्दा भने यसलाई रेकर्डमा राख्ने विचार आयो । त्यसैले यात्रामा निस्किनुपूर्व मोबाइलमा ‘स्टेप ट्रयाकर’ डाउनलोड गरेँ, ताकि कति हिँडियो र समयको रेकर्ड रहोस् । 

गौशालाबाट सुरु गरेको यात्रा गौशालामै आएर टुंगिदासम्म ‘स्टेप ट्रयाकर’ले देखाएअनुसार करिब २५ किलोमिटर हिँडिएछ । तर, यो चक्रपथको पूरा लम्बाइभन्दा कम देखिन आयो । 

काठमाडौं चक्रपथ सुधार योजनाका अनुसार चक्रपथको कुल लम्बाइ २७.२ किलोमिटर हो । पैदलमा यो लम्बाइ पूरा देखिएन । हुन सक्छ, हामी सडकको भित्री घेराबाट हिँड्दा दूरी कम देखिन आयो । चक्रपथलाई पूरा फन्को मार्दासम्म करिब ३४ हजार पाइला हिँडिएछ । र, यो पूरा गर्न सवा चार घण्टा लाग्यो । 

पैदलयात्रीलाई हदैको जोखिम 

चक्रपथ परिक्रमा गर्न चाहने पैदलयात्रीको सुरक्षित आवतजावतलाई हदै बेवास्ता गरेको देखिन्छ । कोटेश्वर–कलंकी खण्डमा दायाँबायाँ अलि व्यवस्थित लाग्ने पैदलमार्ग देख्न सकिन्छ । तर, यो पनि कतैकतै टुटेको छ । कलंकीदेखि चाबहिलसम्मको लगभग पूरै सडकमा पैदलमार्ग छैन । न, सडक दायाँबायाँ पैदल लेनको रेखांकन नै छ । यसले पैदलयात्रालाई जोखिमपूर्ण बनाइदिएको छ । 

दिउँसो सवारी र बतास चल्दा उडेको धुलोले पैदलयात्रीलाई ढपक्कै ढाक्ने अवस्था छ । चक्रपथमा पैदलयात्रीलाई लक्षित गरेर विश्रामस्थल र शौचालय त बिरलै देख्न पाइन्छ । यसले पैदलयात्रीको न्यूनतम आधारभूत हक–अधिकार पनि कुण्ठित भएको छ । 

चक्रपथ परिक्रमाका क्रममा मास्क पनि लगाएको थिइनँ । शनिबार तुलनात्मक रूपमा न्यून चहलपहल र बिहानी हिँडाइमा धेरै धुलोधुवाँको सामना त गर्नुपरेन । तर, यसको असर भने देखियो । सायद धुलोधुवाँकै असर हुन सक्छ, दुई–तीन दिनसम्म घाँटी समायो । 

सहरी यातायातको हविगत : २७ किलोमिटर छिचोल्न दुई घण्टा ४० मिनेट ! 

पैदल परिक्रमा गरेपछि यसलाई शब्दचित्रमा उतार्ने सोचसहित फेरि बसको यात्रामा निस्किएँ । यसको उद्देश्य थियो, चक्रपथको सार्वजनिक परिवहनलाई नियाल्नु र अनुभूति लिनु । यसैका लागि सोमबार दिउँसो चक्रपथ परिक्रमा गर्ने बसमा चढेँ । 

बसमा चाहिँ गौशालाबाट दायाँतर्फ हुँदै अघि बढेँ । बसचालकलाई सोधेको थिएँ, पूरा चक्रपथ परिक्रमा गर्न कति समय लाग्ला ? उनले साढे दुईदेखि तीन घण्टा लाग्ने सुनाए । नभन्दै उनको अनुमान मिल्यो । दिउँसो १ बजे सुरु गरेको बसयात्रा सुरुकै बिन्दुमा फर्किन दुई घण्टा ४० मिनेट लाग्यो । जम्मा २७ किलोमिटर यात्राका लागि यो समय अत्यधिक हो । यति धिमा सार्वजनिक परिवहनले सहरी जीवन कसरी चलायमान हुन सक्ला, छक्क पार्ने विषय थियो । 

एकाध स्थानबाहेक जता पनि यात्रु चढाउन र ओराल्न मिल्ने, समयको पालना गर्नुनपर्ने । यति हदैको लचिलो सहरी ट्राफिक व्यवस्थापन सायदै कुनै आधुनिक सहरमा हुन्छ । सडकको हविगत उस्तै । यति अव्यस्थामा सार्वजनिक सवारी प्रयोग गर्ने यात्रुको सास्ती कुन मिटरले नाप्ने होला ! लाग्छ, सवारीचालक, ट्राफिक, यात्रु सबै अभ्यस्त छन् । 

अन्तमा 

सहर मानव सभ्यताको प्रतीक हो । पृथ्वीको कुनै भागमा मानव आवाद सुरु भएर उसको गतिविधि सघन रूपमा चलायमान भएपछि त्यो सहर बन्छ । जसका मानक अनेकौँ हुने नै भए । सहरको परिभाषा धारण गर्नुअघि मानव आवादीले सयौँ÷हजारौँ वर्षको इतिहास, संस्कृति, परम्पराबाट गुज्रिँदै आएको हुन्छ । यी सबैको सर्जक मानव हो । 

आफूले सिर्जना गरेको सहरलाई जीवन्त राख्ने पनि उसैले हो । यसर्थ, सहर कायम रहने गरी यसको अस्तित्वको ख्याल गर्ने दायित्व पनि मानवकै हो । सहरको सुन्दरता मूल रूपमा त्यो कति जीवन्त छ भन्ने विषयसँग सम्बन्धित हुन्छ । सहर जीवन्त हुन समग्र सहरवासीको भावनालाई कुन हदमा समेटेको छ भन्नेसँग जोडिन आउँछ । बहुरंगी सहरले बहुरंगी सहरवासीको भावनालाई कदर गरेको हुनुपर्छ । तर, आज जसरी सहरी पूर्वाधार निर्माण गरिएको छ, त्यसले सबै सहरवासीको आकांक्षा, आवश्यकता र भावलाई सम्बोधन गरेको छ त ? पक्कै छैन, जसको ज्वलन्त प्रमाण हो चक्रपथ । चक्रपथको पैदलयात्रापछि मेरो निष्कर्ष छ– चक्रपथमा पैदलयात्रीको अधिकार कुण्ठित छ । 

काठमाडौंको ट्राफिक व्यवस्थापनमा २९ वर्ष बिताएका सीताराम हाछेथूको नजरमा चक्रपथ 

सीताराम हाछेथूले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनमा लामो समय काम गरेका छन् । पूर्वट्राफिक प्रहरी निरीक्षक हाछेथूले २९ वर्ष ट्राफिक व्यवस्थापनमा काम गरे । हाल उनी ललितपुर महानगरपालिकाको नगरप्रहरी प्रमुखमा कार्यरत छन् । 

०४७ देखि ट्राफिक प्रहरी भएर खटिरहेका हाछेथूको दृष्टिमा त्यतिवेला र अहिलेको काठमाडौं उपत्यकाको ट्राफिकमा आकाश–जमिनको अन्तर छ । ‘०४८ मा बागमती अञ्चलमा ४८ हजारजति सवारीसाधन दर्ता थिए । अहिले अद्यावधिक तथ्यांक हेर्दा १८ लाख सवारीसाधन बागमती प्रदेशमा दर्ता छन्,’ उनी भन्छन्, ‘यसैबाट अनुमान गर्न सकिन्छ, काठमाडौंमा सवारी चाप कति छ ।’ 

सवारीसाधन बढेको तुलनामा सडक विस्तार नभएको उनी बताउँछन् । ०५८ मा हाछेथू कोटेश्वरमा ट्राफिक इन्चार्ज थिए । उनले त्यहाँ ६ वर्ष ट्राफिक व्यवस्थापनमा काम गरे । ‘०५८ मा कोटेश्वरमा पिकआवरमा प्रतिमिनेट अन्दाजी १५ वटा मोटरसाइकल र १० वटा चारपांग्रे चल्थे । त्यही स्थानमा पुगेर हालै मैले त्यहाँको ट्राफिक चाप बुझ्दा पिकआवरमा प्रतिमिनेटमा ८० देखि १२० मोटरसाइकल र ६० वटासम्म चारपांग्रे गुडेको रेकर्ड गरेँ,’ उनी भन्छन्, ‘सडकको आकारको अनुपातमा सयौँ गुणा सवारी संख्या बढेको छ ।’ अध्ययनले पिकआवरमा कोटेश्वरमा प्रतिमिनेट ५५ जना यात्रुले बाटो काट्ने देखाएको छ ।

पछिल्ला वर्ष काठमाडौंमा चक्रपथबाहिर सहरीकरण व्यापक फस्टाइरहेको छ । मानिसहरूको बसोवास पनि बढिरहेको छ । तर, उनीहरू व्यवसाय, रोजगारी, अवसर, अध्ययन आदिका हिसाबमा चक्रपथभित्रको कार्यस्थलसँग जोडिएका छन् । आवतजावतका क्रममा उनीहरू चक्रपथसँग प्रत्यक्ष रूपमा जोडिएका छन् । 

काठमाडौं उपत्यकाको जनसंख्या करिब ५० लाख रहेको अनुमान छ । यो जनसंख्याको चहलपहल पनि सडक र ट्राफिक प्रणालीसँग जोडिन्छ । ‘जनसंख्याको आकारको तुलनामा सडकको आकार धेरै नै साँघुरो भयो,’ हाछेथू भन्छन् । 

सवारीसाधन व्यवस्थापन नै हम्मे भइरहेको अवस्थामा काठमाडौंमा पैदलयात्रीको विषय छायामा परेको छ । हाछेथू भन्छन्, ‘पैदलयात्रुको विषय त झनै प्राथमिकतामा छैन । न साइकल लेन व्यवस्थित छ ।’ 

सम्पादकको रोजाइ

सुझावित समाचार