मायाप्रेमलाई भोकले खाइदिन्छ : मनोरञ्जन व्यापारी

विमर्श कँडेल विमर्श कँडेल
शनिबार, २६ पुष, २०७६
डिजिटल संस्करण

मनोरञ्जन व्यापारी बंगाली भाषी भारतीय लेखक हुन् । दलित परिवारमा जन्मिएका उनको थर मण्डल हो । जिजु हजुरबुबाबाट विरासतका रूपमा उनको नाममा ‘व्यापारी’ जोडिएको हो । शरणार्थी जीवन हुँदै पश्चिम बंगालमा चलेको नक्सल आन्दोलनमा होमिएका उनी २६ महिनासम्म जेल परे । जेलमै २४ वर्षको उमेरमा पहिलो अक्षर लेखेका उनले जीवनको ७ दशकमा १७ पुस्तक लेखिसकेका छन् । जसमा ४ कथा संग्रह, १ आत्मकथा र १२ उपन्यास छन् ।

अमेरिकी प्रकाशन गृह ‘अमेजन’बाट उनका २ पुस्तक अंग्रेजीमा अनुवाद भएका छन् । उनले औपचारिक शिक्षा लिएनन् । २२ वर्षदेखि उनी कलकत्ताकै हेलेन किलर बोधी विद्यालयमा खाना पकाउने काम गर्छन् । व्यापारी पोखरामा भएको नेपाल लिटरेचर फेस्टिभलको आठौँ संस्करणमा विशेष वक्ताका रूपमा उपस्थित थिए । व्यापारीले शरणार्थी जीवन र जेल जीवनबारे विमर्श कँडेलसँग साटेको अनुभव यहाँ प्रस्तुत गरिएको छ :

दक्षिण एसियामा कथित उपल्लो जातका मानिसले तल्लो जातका मानिसलाई गर्ने भेदभाव हजारौँ वर्षदेखि चलिआएको छ । हाम्रो परिवार रहिरहेको तत्कालीन पूर्वी पाकिस्तानको पिपरा (हाल बंगलादेशमा पर्छ) मा दलितले छोए गैरदलित नुहाउनतिर लाग्थे । मन्दिरमा जान अनुमति मिल्दैनथ्यो । हाम्रा लागि विद्यालयको ढोका सधैँ बन्द हुन्थ्यो । चप्पल, कमिज तथा महिलाले ब्लाउज र पेटिकोट लगाउन पाउँदैनथे । अहिले पनि भारतका धेरै स्थानमा यस्ता कतिपय मान्यता कायम छन् । हामीमाथि दमन र दलन गर्न हामीलाई निचो देखाइएको हो । 

जीवन धान्न मुसलमानको घरमा खाने र बस्ने गरेका हिन्दू दलितलाई ‘तिमीहरू अब हिन्दू बन्न सक्दैनौ’ भनियो । त्यसपछि धेरै हिन्दू धर्मावलम्बी इस्लाम धर्मका अनुयायी बने । कतिपय इसाईमा हेलिए । हाम्रै परिवारको आधा हिस्सा मुस्लिम बन्यो, आधा हिन्दू । कारण, हाम्रो परिवारको मान्यता र आदर्श हिन्दूसँग जोडिएको थियो । 

सन् १९४७ मा भएको ब्रिटिस इन्डिया विभाजनपछि केही वर्षसम्मै शरणार्थीका रूपमा भारत र पाकिस्तान दुवैतर्फ मानिसहरूको बहिर्गमन चलिरह्यो । त्यस समय भनिएको थियो– ‘विभाजनको माग मुसलमान समुदायले गरेको हो । मुसलमानहरू पाकिस्तान तथा हिन्दूहरू भारततर्फ बस्नुपर्छ ।’ यो मान्यता भुसमा सल्किएको आगोझैँ विकसित भयो । दुवै देशतर्फ यस्तो मान्यताले नछोएका जिल्लाहरू पनि थिए । माल्दा, मुर्सिदावाद, दिनाजपुरजस्ता मुसलमान बाहुल्य जिल्ला भारतमै राखिएका थिए । खुल्ना, फरिदपुर, जेसोरजस्ता हिन्दू बाहुल्य जिल्ला पूर्वी पाकिस्तानमा समेटिएका थिए । यसको एकमात्र कारण थियो – मुसलमानलाई मात्रै विभाजनको कारणका रूपमा दोषी नठहर्याइयोस् । 
०००
सन् १९५३ मा तत्कालीन पूर्वी पाकिस्तानबाट शरणार्थीका रूपमा भारत आउनेमा दुई खालका मानिस थिए । एक उपल्लो जातिका र अर्को तल्लो जातिका दलित र दरिद्र । उपल्लो जातिका मानिसका लागि सरकारले पश्चिम बंगालमा आफैँ जग्गा उपलब्ध गराएर बस्ने कोलोनी नै बनाइदियो, नोकरी दियो । ती कोलोनीमा भद्र मानिस मात्रै रहन पाउने बताइएको थियो । 

गरिब र तल्लो जातिका मानिस, जसलाई पेटभर खाना मिल्दैनथ्यो, खुट्टामा चप्पल थिएन, आङ ढाक्ने कपडा थिएन, हाम्रो परिवारसहित पाँच हजारजनालाई भारतको पश्चिम बंगालको वानकुरास्थित शिरोमणिपुर शरणार्थी शिविरमा राखियो । दलित र दरिद्र मानिएका हाम्रो भागमा अर्को पनि नाम थपिएको थियो– शरणार्थी र अनागरिक, त्यो पनि आफ्नै देशमा । जतिवेला मेरो उमेर करिब ३ वर्षको हाराहरी मात्रै थियो ।

शिविरमा थोरै चामल र दाल दिइन्थ्यो । त्यो पनि १४ दिनमा एकपटक मात्रै । चामल कुहिएको र ढुंगामाटो मिसिएको हुन्थ्यो, त्यो खाने मान्छे अधिकतम बिरामी पर्थे । यही कारण धेरै बच्चाले अकालमै मृत्युवरण गर्न पुगे । रासन सकिएमा हामी नजिकैको जंगलका पात र बुट्यान खान्थ्यौँ । विभाजनअघि हामी रहिरहेको शिरोमणिपुर शरणार्थी शिविरमा क्याम्प बनाउन त्रिपाल दिइएको थियो । त्रिपालभित्र यति गर्मी हुन्थ्यो कि सुत्नु त परको कुरा, केहीबेर बस्नै मुस्किल पर्थ्यो । शिविरमा एक हजार मानिसले एउटा मात्रै नल प्रयोग गर्नुपर्थ्यो । शिविरबाट बाहिर जान छुट थिएन । सम्झिनुस् कि हामी कुनै जेलमा थियौँ । 

त्यस क्षेत्रआसपास रहने अन्य सामान्य मानिसको जीवनशैली पनि हाम्रोभन्दा फरक थिएन । उनीहरू पनि भोकै र नांगै थिए । उच्च घराना र धनी मानिसको भने अलग्गै थियो । दुर्गापूजाको समयमा धनी परिवारले शिविरका बालबालिकालाई केही कपडा र खाना दिन्थे । अरूका लागि उल्लासपूर्ण हुने दुर्गापूजाको दिन हामीलाई भने अन्य दिनभन्दा फरक लाग्दैनथ्यो । 

मन्दिरमा शरणार्थीले टाढैबाट पूजा र प्रार्थना गर्थे । पूजा गराउन भने माथिल्लो जातका ब्राह्मण नै आउँथे । उसो त ब्राह्मण पनि धेरै तहका हुन्छन् । कुलीन ब्राह्मण हाम्रोमा आउँदैनथे । दलितकोमा पूजा गराउन तल्लो तहको मानिने चक्रवर्ती ब्राह्मण आउँथे । वेदको अध्ययनका आधारमा द्विवेदी, त्रिवेदी, चतुर्वेदीलगायत पनि ब्राह्मण हुन्थे । पूजा गराउने ब्राह्मणले आफैँ पकाएर खान्थे ।

खुला आकाशमा पनि सुतेर रात काटिएको मलाई अझै सम्झना छ । सुत्दा फाटेका लुगा सिएर तयार पारिएको तन्ना नै हाम्रा लागि डसना हुन्थ्यो । तर, परिवारका ठूला व्यक्तिका लागि चिसो भुइँ नै बिस्तारा बन्थ्यो । हजुरआमा आङ ढाक्ने केही नभएर झुल बेरेर बस्नुहुन्थ्यो । त्रिपालबाहिर निस्किन उहाँलाई रात कुर्नुपथ्र्यो । 
सन १९५६ मा दण्डकर्ण प्रोजेक्टबारे बताइयो । डरका कारण हामी त्यहाँ जान तयार भएनौँ । तीन वर्षपछि सरकारले शिविरमा रासनपानी र पैसा दिन बन्द गरिदियो । भोकसँग कति दिनसम्म लड्न सक्थ्यौँ र ? त्यसवेला सरकारसँग घुँडा टेक्नुसिवाय कुनै विकल्प रहेन ।

करिब ६ वर्षपछि हामी शिरोमणिपुर शिविर छाड्न बाध्य भयौँ । दण्डकर्ण भनिए पनि सन् १९५९ मा हामीलाई पश्चिम बंगाल राज्यकै घुटियारी सरिफस्थित घोलादोल्ताला शरणार्थी शिविरमा लगियो । पाँच हजारको संख्यामा शिरोमणिपुर आएका हामी घोलादोल्ताला पुग्दा मात्र दुई हजारको संख्यामा थियौँ । सो शिविरमा सरकारले भनेअनुसार केही सुविधा उपलब्ध थिएन । यो शिविरबाट बाहिर जान पाइने भएकाले केही राहत मिलेको थियो । त्यसपछि ट्रेनमा करिब डेढ घन्टाको यात्रामा पुगिने कलकत्ता जानु बुबाका लागि दैनिकी बन्यो । शिविरबाट कलकत्ता पुग्न कम्तीमा चार घन्टा लाग्थ्यो । फर्किन त्यति नै समय ।

बुबा  आठ घन्टासम्म मजदुरी गर्नुहुन्थ्यो । तर, सधैँ कहाँबाट काम मिल्नु ? काम नपाउँदाको दिन उहाँ दिनमा कहिल्यै घरतर्फ हिँड्न पाउनुभएन । किनकि भाडा नहुँदा अपराह्न ४ बजेसम्म रेलमा यात्रा गर्न मनाही थियो । टिटी (रेलमा भाडा उठाउने कर्मचारी)को छुट्टी भएपछि मात्र उहाँ रेल चढ्नुहुन्थ्यो । एकतर्फी भाडाको ५० पैसा पथ्र्यो । त्यो समय एक पाउरोटीलाई १७ पैसा पथ्र्यो । काम मिलेमा एक व्यक्तिले दिनमा ढाई रुपैयाँदेखि तीन रुपैयाँसम्म कमाउन सक्थे । कमाइ हुँदा बुवा केही चामल, दाल र सब्जी किनेर घर आउनुहुन्थ्यो । 

हामी छोराछोरी सानै थियौँ । कुनै बुबाले बजारबाट केही ल्याइदिन्छन् भने मात्र न बच्चालाई आश हुन्छ र बुबालाई पर्खिरहन्छ । हामी त्यो अवस्थामा पनि थिएनौँ । आमरूपमा साँझमै शिविरमा सुत्ने चलन थियो । कारण दियो बाल्न अधिकांशसँग तेल हुँदैनथ्यो । आगो पनि छरछिमेकमा पैँचो माग्नुपर्थ्यो । रासन आएको दिन आमाले खाना पकाउनुहुन्थ्यो । केही खाना बचेको भए बिहानलाई हुन्थ्यो । नत्र प्रायः एक छाकले नै भोकसँग लड्नुपर्थ्यो । 

घोलादोल्तालास्थित ऐलानी जग्गामा रहेको शिविर क्षेत्रभित्र एक नहर थियो । त्यसैको डिलमा एक झुपडी बनाएका थियौँ । दूध दिउन्जेल गाई पालिन्छ र थाकेपछि छोडिएजसरी सरकारको राजनीतिक अभीष्ट पूरा भएपछि हामी बाँचौँ या मरौँ, वास्ता थिएन । रेल्वे स्टेसनको आसपासमा हुने सुकुमवासी बस्तीजस्तै देखिन्थ्यो शिविर ।

झुपडी बनाए पनि यहाँ खानपान र बसाइमा कुनै फरक आएको थिएन । केही च्यातिएका कपडा भए लगाउनु र उही चिसो भुइँमा सुत्नु । खाना पकाउन एउटा माटोको हाँडी थियो । त्यो समय चामल किन्न सक्ने हाम्रो हैसियत थिएन । कुखुराका लागि तयार गरिने दाना शिविरमा जान्थ्यो । प्रतिकेजी ६ आना त्यसको मूल्य पथ्र्यो । त्यही दाना हामी शरणार्थीका लागि चामल थियो । 

घोलादोल्तालामा मादुर (गुन्द्रीजस्तै) बुन्नु आम्दानीको अर्को आधार थियो । मादुर बुन्न होग्लाको पात र सुथरी आवश्यक पथ्र्यो । ५० पैसाको होग्लाको पात र २५ पैसाको सुथरी खपत हुने एक मादुरको मूल्य बजारमा पौने २ रुपैयाँसम्म थियो । त्यो खरिद गर्न व्यापारी शिविरमै आउँथे । मादुर बुन्न आमासँगै म पनि खटिन्थेँ । पेटमा अल्सर भएपछि बुबाको कलकत्ता जाने बाटो बन्द भयो । हाम्रो भोकको क्षेत्रफलसमेत बढ्न थाल्यो ।

भएको सबै रकम बुबाको उपचारमा सकिएपछि होगलाको पात र सुथरी किन्ने पैसा हामीसँग भएन । अब बिहान–साँझ पेट पाल्न हामीसँग कुनै विकल्प थिएन । थियो त केवल अभाव, भोक र बुबाको रोग मात्रै । गाउँगाउँमा घुम्दैफिर्दै उपचार गर्ने होमियोपेथिक डाक्टरले बुबालाई दुई दिनसम्म उपचार गरे । डेढ रुपैयाँ सकियो, तर बुबाको रोग बीसको उन्नाइस भएन ।

हाम्रो परिवारका लागि एक मात्र चुनौती बन्यो– भोकसँगको लडाइँ । त्यो लडाइँमा ६ वर्षकी बहिनीले भने हारिन् । भोककै कारण मृत्युवरण गर्ने शिविरमा मेरी बहिनीजस्ता दर्जनौँ थिए । लाग्थ्यो कि मृत्यु त केही होइन ।बुबाको स्वास्थ्य अवस्था पनि बिग्रँदै गयो । आमा आङ ढाक्ने कपडा नभएर घरबाहिर निस्कनुहुन्नथ्यो । त्यसवेला कलकत्तामा सरकारी अस्पताल छ र निःशुल्क औषधि मिल्छ भन्ने हामी कसैलाई थाहै थिएन, न त कसैले बतायो नै । म २४–२५ वर्षको हुँदासम्म पनि सोचमै आएन कि गरिबको निःशुल्क उपचार हुन्छ । प्रहरी गरिबलाई सताउनकै लागि मात्रै आउँछ भन्ने थाहा थियो ।

 घरको अवस्था, बुबाको गाली अनि आफ्नै दुर्दशा देखेपछि मलाई एक मिनेट पनि घर बस्न मन लागेन । सम्झिनुस् कि, म त्यस दिन बाटोमा अलपत्र एउटा सुकेको पातजस्तो थिएँ ।

‘सोडा’ नामक एक खुराक, जसले पीडा कम गथ्र्यो । बुवाले पेटमा हुने दुःखाइ कम गर्न सोडा खान थाल्नुभयो । केही समयमा उहाँको रोग आफसेआफ निको हुँदै गयो । परिवार संकटमा रहेको देखेपछि मलाई घरमा बस्ने मन भएन । यहाँ बसे मृत्यु त निश्चित छ, बरु बाहिर गएर केही कमाउन सके भोकै बस्नुपर्दैनथ्यो भन्ने सोचेर १४ वर्षको उमेरमा घर छोडेँ । त्यो समय घरमा १० र ८ वर्षका दुई भाइ थिए । कान्छी बहिनी त्यस्तै दुई वर्षकी हुँदी हो । दुई बहिनी र एक भाइको जन्म शिविरमै भएको हो । भोक खेप्नु र मृत्यु कुर्नुसिवाय हामीसँग कुनै उपाय थिएन । आमा, बुबाका लागि साँच्चै ढुंगा चपाउनुबराबरकै चुनौती बनेको थियो– बहिनीको जन्म । शिविरमा अन्य परिवारको अवस्था पनि गतिलो थिएन । 

घर छोडेपछि म ५ वर्षसम्म परिवारको सम्पर्कमा आइनँ । कलकत्ता, हैदराबाद, आसाम, सिलगुढीलगायतका ठाउँ पुगेँ । पेट पाल्न गोठालो जानेदेखि भारी बोक्ने, खाना बनाउने, भाँडा धुने, इँटा बोक्नेलगायत काम गरेँ । जहाँ पुगेँ, म त्यहीँ ठगिएँ । बुबालाई केही आराम भएपछि फेरि कलकत्ता कामका लागि जान थाल्नुभएछ । काम खोज्ने क्रममा एकदिन बनिरहेको घरको पहरेदारी गर्ने काम मिलेछ । मासिक १५ रुपैयाँ दिने बताइएपछि बुबा त्यतै बस्न थाल्नुभएछ । दिउँसोको खाना र मासिक १० रुपैयाँ पाइने भएपछि आमा पनि एक घरमा खाना बनाउने काममा जोडिनुभएछ । भाइले होटेलमा भाँडा माझ्न थालेछ । उसलाई बस्न र खान उतै मिल्थ्यो । दुई भाइबहिनी शिविरमा दिनभर एक्लै रहन्थे । 

सन् १९६९ मा कलकत्तामै रहन पुरानो झुपडी मिलेपछि परिवारका सबैजना त्यतै बस्न थाल्नुभएछ । एक दिन गाउँबाट मादुर खरिद गरेर बिक्री गर्ने एक व्यापारीले मलाई ‘तिम्रो परिवार कलकत्ताको जाधवपुरमा बस्न थालेको छ’ भने । परिवारसँग टाढिएको म खबर सुन्नेबित्तिकै जाधवपुर रेल स्टेसनमा उत्रिएँ । त्यति ठूलो सहरमा उहाँहरूलाई कहाँ खोज्नु ? भेट हुने आसमा त्यही स्टेसनमै रहन लागेँ । सुटकेस, झोला बोक्ने, गाउँबाट आएको तरकारी र माछाको टोकरी बजारसम्म पु-याउने, रिक्सा चलाउनेलगायत काम गर्न थालेँ । 

परिवारसँग लामो समयपछि भेट्न जाँदै गर्दा जुन उत्साह सञ्चार भएको थियो, धेरैबेर टिक्न पाएन । पाँच वर्षसम्म सम्पर्कमा नरहेको छोरो घर फर्किँदा धेरै पैसा कमाएर आएको होला भन्ने सोच्नुभएका बुबाको मनमा मेरो आगमनले झन् ठेस पुग्यो । घर छोडेदेखि लगातार सानातिना काम गरेको मैले बुबालाई सुनाउन लायक केही थिएन । खासमा मेरो उमेर कमाउन लायक नै कहाँ भइसकेको थियो र ? यत्रो वर्षको लगानी बाँच्नका लागि मात्रको संघर्ष थियो भन्न सकिनँ । काम गरेको पूरा पैसा मिल्दैनथ्यो, कमाएको पैसा खानामै खर्च हुन्थ्यो, खुला आकाशलाई छानो र चिसो भुइँलाई ओछ्यान बनाएर मेरा दिनहरू बिते भनेर म कसरी बुबालाई भन्न सक्थेँ ? 

१७ पैसाको पाउरोटी, १२ पैसाको आलुदम, दुई रोटी र बिँडी गरेर दिउँसोको खाजाकै ४६ पैसा पथ्र्यो । दुवै छाक खाने हो भने पकेटमा कम्तीमा दुई रुपैयाँ हुनु अनिवार्य थियो । मलाई रित्तो देखेपछि बुबालाई लाग्यो कि यसले मोजमस्तीमै समय र पैसा खर्च गर्यो । परिवारका सदस्य बाँचे कि मरे भनेर थाहा पाउन मात्रै आएको हो भन्ने बुबालाई लाग्यो । त्यस दिन बुबाको मुखबाट मैले पहिलोपटक त्यति धेरै गाली सुनेको थिएँ ।घरमा आमाले फाँडो बनाइरहनुभएको थियो । घरको अवस्था, बुबाको गाली अनि आफ्नै दुर्दशा देखेपछि मलाई एक मिनेट पनि घर बस्न मन लागेन । सम्झिनुस् कि म त्यस दिन बाटोमा अलपत्र एउटा सुकेको पातजस्तो थिएँ । 

छोरो आउला र केही खानेकुरा ल्याउला भन्ने आशमा बसेका बुबाआमालाई कस्तो होला जब कि खाली हात आएर उल्टै घरमा बनिरहेको फाँडोको हिस्सेदारीमा ऊ सामेल हुन खोज्दै छ ? तपाईं जुन स्थानमा बसेर प्रश्न गरिरहनुभएको छ नि, त्यहाँबाट मेरो स्थानसम्म पुग्न नै मुश्किल पर्छ । याद गर्नुहोस्– मायाप्रेमलाई भोकले खाइदिन्छ । शिरोमणिपुर शिविरमा खानाको अभावमा एक आमाको स्तनबाट दूध आउन छोड्यो । तर, भोकले आक्रान्त शिशुको रुवाइ रोकिएन । अन्ततः ती आमाले यतिसम्मको निर्णय लिइन् कि आफ्नो बच्चालाई नजिकैको कुवामा फ्याँकिदिइन् । शिशुलाई रोइरहेकै अवस्थामा कुवाबाट उद्धार गरिएको थियो । भोकको अघि एक आमा त यतिसम्म निरीह हुन सक्छिन् भने म त के थिएँ र ?

सम्पादकको रोजाइ

सुझावित समाचार