म अहिले १७ वर्षकी भएँ । बाराको जितपुर सिमरा उपमहानगरपालिका–५ को सुकुम्बासी बस्तीमा छ मेरो घर । घरमा आमा, भाइ र हजुरबुबा हुनुहुन्छ । बाबु वैदेशिक रोजगारीका लागि ओमान जानुभएको छ ।
म बकुलिया माविमा कक्षा ११ मा पढ्दै छु । यो तहसम्म आइपुग्न धेरै नै गाह्रो भयो । सजिलो वातावरणमा पढ्न पाइनँ । ज्यालादारीमा काम गरेर पढेँ । घरको काम पनि मैले गर्नुपर्छ । सानैदेखि पढ्ने चाहना थियो । तर, अरू साथीहरू पढ्न स्कुल गइसक्दा पनि मैले स्कुल जान पाइनँ । म ७ वर्षको भएपछि मात्रै मलाई बुबाले कक्षा १ मा भर्ना गरिदिनुभयो ।
दैनिक ज्याला मजदुरी गरेर बुबाले भाइ र मलाई पढाउन सक्नुभएन । त्यसपछि बुबा हामीलाई पढाउन र घरखर्च धान्न ऋण गरेर वैदेशिक रोजगारमा जानुभयो । अहिले म आमासँग बस्दै आएको छु ।
विद्यालयमा पनि त्यति राम्रो वातावरण थिएन । दलित समुदायको मान्छे भएकाले मलाई समाजले हेर्ने दृष्टिकोण त्यति राम्रो भएन । छोरी मान्छेलाई मधेसमा अलि हेयको दृष्टिले हेरिन्छ जस्तो लाग्छ । जे–जस्तो भए पनि मैले पढ्न छाडिनँ । अध्ययन जारी राखेँ । स्कुलमा मेरो पढाइ राम्रो थियो । स्कुलमा म उत्कृष्ट १० भित्र पर्थें । एसइई परीक्षा पनि सजिलै पास गरेँ । मेरो पढाइ खर्च सबै बुबाले नै गर्नुभयो ।
छोरी मान्छेलाई मधेसमा अलि हेयको दृष्टिले हेरिन्छ जस्तो लाग्छ । जे–जस्तो भए पनि मैले पढ्न छाडिनँ । अध्ययन जारी राखेँ ।
अहिले कक्षामा केटीभन्दा केटा नै धेरै छन् । दलित समुदायको त झनै थोरै छौँ हामी । जे–जस्तो भए पनि म पढाइ रोक्दिनँ । बिबिएससम्म पढेर बैंकमा जागिर खाने ठूलो इच्छा छ । मलाई आमाले पनि सघाउनुहुन्छ । खर्चले भ्याउन्जेल मलाई पढाउने भन्नुभएको छ आमाले ।
मेरो घर वरिपरि हाम्रो समुदायका १७–१८ वटा घर छन् । विद्यालयदेखि घरसम्म नै आफ्नै समुदायका मानिस बसोवास गर्ने भएकाले आजसम्म कुनै किसिमको भेदभावको अनुभव गरेकी छैन । हाम्रो जातिको साथीकै घर जान्छु, खाजा खान्छु त्यसैले मैले कहिल्यै भेदभाव महसुस गरिनँ ।
मेरो वडामा धेरै चौधरी, यादव र पासवानहरूको बस्ती छ । अहिले मेरो गाउँमा सबैभन्दा धेरै पढ्ने म एक्ली हुँ । मेरा धेरै साथीले पढ्दा–पढ्दै बीचमै पढाइ छाडे । केही साथी अन्तै पढ्न गए ।