मेरो नाम किरण मलिक हो । म १० वर्षकी भएँ । मेरो घर सप्तरीको खड्क नगरपालिका वडा नम्बर ३, कंचिरा हो । गाउँकै पवनलाल स्कुलमा कक्षा ६ मा पढ्छु । मेरो पापाको नाम सुरज मलिक हो । ममीको नाम चन्देश्वरीदेवी मलिक हो । हामी चार भाइबहिनी छौँ । जेठीदिदीको नाम रम्भा मलिक हो । माइली दिदीको नाम प्रभा मलिक हो र कान्छो भाइको नाम लक्ष्मी मलिक हो ।
जेठी दिदीको सानैमा बिहे भयो । माइली दिदीले ५ कक्षामा पढ्दापढ्दै स्कुल छाडिन् । दिदीले भनेकी, स्कुलमा धेरै भेदभाव हुन्थ्यो रे । सबैले हेँला गथ्र्यो रे दिदीलाई । त्यही भएर दिदीले पढाइ छोडेर घर बस्न थालिन् । अहिले म सरकारी स्कुलमा पढ्छु । कान्छो भाइ बोर्डिङ स्कुलमा पढ्छ । मलाई पनि स्कुलमा निकै भेदभाव गर्छन् । साथीहरू मसँग बसेर पढ्नै मान्दैनन् । ‘तुँ छोट जाइत छी, तोहरसँगें छुवा जेबौ, कोनाके सँगें बैठके पढियौ’ (तिमी सानो जातसँग कसरी सँगै बसेर पढ्नु ?) भन्छन् ।
स्कुलमा मलाई गैरदलितले भन्दा दलितहरूले नै सबैभन्दा धेरै छुवाछुत गर्छन् । गाउँमा पनि गैरदलितले भन्दा दलितले नै धेरै भेदभाव गर्छन् । गाउँको भोजभतेरमा पनि छुवाछुत गर्छन् ।
ममीपापाले तुँ निमनसें पढ्, बडका आदमी बन, हमरा सब जेंका नहि हो, भन्नुहुन्छ । ममीपापाको कुरा सुनेर स्कुल जान्छु । तर, मलाई स्कुल जानै मन लाग्दैन । स्कुलमा हुने भेदभावकै कारण मेरो दिदी र धेरै साथीहरूले पढ्न छाडिसक्यो । म सहेर पनि पढिरहेकी छु । सरहरूलाई भन्दा त्यतिवेला चाहिँ अरूलाई हकारपकार पार्नुहुन्छ । तर, एकछिनपछि फेरि उसैगरी हेप्न थाल्छन् साथीहरू । त्यसपछि सरहरूलाई कति भन्नु जस्तो लाग्छ ।
सहेर पढिरहेकी छु । स्कुलमा मसँग कोही साथी पनि मिल्दैन । जतिखेरै भेदभाव गर्छन् । साथीहरूले डुमकी छोरी भन्दै धेरै हेप्छन् ।
कहिलेकाहीँ सुँगुर चराउन जाऊ भन्नुहुन्छ ममीपापाले । सुँगुर चराउन एकदमै लाज लाग्छ मलाई त । साथीहरूले देखे के भन्लान् ? तर, घरको काम नगरी सुख छैन ।
ममीपापा गाउँघरमा डुलेर ढकिया, पथिया, बेना, चनौरा, डलिया, सुपा आदि बेचेर पैसा ल्याउनुहुन्छ । कहिलेकाही आफ्नो कमौटी (डोमहरूले परिवार पाल्न अंशबन्डामा पाएको गाउँ) मा मान्छे मर्दा आगो दिन जानुहुन्छ र दिएको दान घर लिएर आउनुहुन्छ । अहिले हाम्रो घरमा सुगर (सुँगुर) छ, त्यो बेचेर पनि पापाले खर्चको जोगार गर्नुहुन्छ ।
स्कुलमा कहिलेकाहीँ ब्याग र ड्रेसको कपडा पाइन्छ । तर, त्यो ड्रेस सिलाउने पैसा हुँदैन । धेरै दिनपछि मात्रै त्यो लुगा लगाउन पाउँछु । कहिलेकाहीँ सुँगुर चराउन जाऊ भन्नुहुन्छ ममीपापाले । सुँगुर चराउन एकदमै लाज लाग्छ मलाई त । साथीहरूले देखे के भन्लान् ? तर, घरको काम नगरी सुख छैन । सम्पत्तिको नाममा हामीसँग भएको त्यही सुँगुर मात्रै त छ । हाम्रो जातिमा बिहेबारी हुँदा सुँगुर चाहिन्छ ।
हामीलाई होटेल र चियापसलहरूमा पस्न दिँदैनन् । चिया नास्ता खानै परे अलग्गै प्लास्टिकको ग्लासमा दिन्छन् । पैसा दिँदा पनि अलग्गै दिनुपर्छ । पसलका सामान छोए गाली गर्छन् । हामीले छोयौँ भने उनीहरूले पानी छर्किन्छन् । यो सबै देखेर मलाई अचम्म लाग्छ ।
हाम्रो ममीपापा र बाजेहरूको जीवन यही ठाउँमा बित्यो । मैले ममीपापाबाट सुनेँ, हाम्रो एकधुर पनि जमिन छैन रे । अरू जातिको मान्छेभन्दा हाम्रो ममीपापाले धेरै दुःख पनि गर्नुहुन्छ ।
मलाई एउटा कुराको सम्झना छ । त्यसवेला म त्यस्तै ५ वर्षको थिएँ होला । ममीले आफ्नो कमौटीबाट एउटा खाटिया र केही लुगा ल्याउनुभएको थियो । जेठीदिदीले यस्तो मरेको मान्छेको खटिया र लुगा किन उठाएर ल्याउनुभयो, फालिहाल्नुस् भनेर ममीलाई कराइन् । ममीले भन्नुभयो, ‘नयाँ नै छ, यतिको महँगो कपडा र खटिया हामीले किन्न सक्दैनौँ ।’ दादादादीले (हजुरबुबा र आमा) पनि त्यसैगरी ल्याउने गर्नुहुन्थ्यो भन्ने मैले ममीबाट त्यहीवेला थाहा पाएँ । ममीले नफाल्ने जिद्दी गरिरहनुभयो । दिदीले फाल्नू भनिरहिन् । त्यसपछि ममीले यो खटियामा मै सुत्छु भन्नुभयो । ममीले ओसारी (आँगन)मा खटिया लगाएर सुत्न थाल्नुभयो । दिदीले सधैँ झगडा गरेपछि ममी फाल्न बाध्य हुनुभयो ।
राजेश विद्रोहीले गरेको कुराकानीमा आधारित