कुनै विश्लेषक वा इतिहासकार होइन । म के हुँ भने तीनवटा कारणले विभेदीकरणमा पारिएकी एक मधेसी दलित महिला हुँ । म तीन कारणले विभेदमा परेकी छु । एक, मधेसी भएर, दुई, महिला भएर र तीन, दलित भएर ।
कसरी भन्ने जिज्ञासा उठ्न सक्छ । महिलालाई समाजमा दोस्रो दर्जाको नागरिक बनाइएको छ । मधेसीलाई ‘धोती’ भनेर हेपिएको छ । दलितलाई मान्छे नै ठानिएको छैन । दलितलाई मान्छे ठानेको भए समाजमा छुवाछुत हुने थिएन । श्रम चल्ने, सिप चल्ने, तर पानी नचल्ने बनाइने थिएन । हो, म यी तीनै पक्षबाट विभेदमा पारिएकी एक प्रतिनिधि पात्र हुँ ।
नेपालमा कलर, ककैहिया, कोरी, खटिक, सोनखर, खत्वे, मण्डल खड्ग, चमार (राम, मोची, हरिजन, रविदास), चिडिमार, डोम मरिक, तत्मा ताँती दास, दुसाध (पासवान, हजारा), धोवी रजक, पत्थरकट्टा, पासी, बाँतर, मुसहर, मेस्तर (हलखोर) र सरभंग (सरवरिया) गरी मधेसी मूलका १७ जातिहरू दलितभित्र पर्छन् ।
उत्पीडनको कारण अशिक्षा
मधेसी दलितको शैक्षिक स्थितिको कुरा गर्ने हो भने राष्ट्रिय जनगणना ०६८ अनुसार नेपालको साक्षरता प्रतिशत ६५.९४ प्रतिशत छ । जातीय आधारमा ब्राह्मण, क्षेत्रीको साक्षरता ७६.०३ प्रतिशत हुँदा मधेसी दलित ३४.५० प्रतिशत मात्र साक्षर छन् । स्नातक तह उत्तीर्ण गर्ने पहाडी दलित ०.५८ र मधेसी दलित ०.७२ प्रतिशत छन् । आँकडाले शिक्षामा दलितको पहुँच दयनीय देखाउँछ । पछिल्लो समय सरकारले उमावि तह र प्राविधिक शिक्षातर्फ विभिन्न प्रकारका दलित छात्रवृत्ति दिने घोषणा त गरेको छ, तर यसबारे दलित समुदायलाई नै जानकारी छैन । केहीले थाहा त पाएका छन्, तर त्यो पाउने मापदण्ड वा सर्तको जालो सुल्झाउन नसकेर छात्रवृत्तिबाटै वञ्चित छन् ।
जानकारी नै नभएर छात्रवृत्ति प्राप्त गर्न नसक्नु अलग कुरा हो, आफ्नो भागमा आएको छात्रवृत्ति विधि र प्रक्रियाकै कारण प्राप्त गर्न नसक्नु भोकालाई भोजन देखाएर झुक्याउनुजस्तै बनेको छ । सरकारले दिने छात्रवृत्तिमा ‘वृत्ति’भन्दा सर्त बढी तेस्र्याएको छ । जस्तो, गे्रडिङ प्रक्रियामा छात्रवृत्ति दलितका छोराछोरी कमैले प्राप्त गर्न सकेका छन् । किनकि, हुनेखानेमा अपवादबाहेक कोही पनि दलित ग्रेडिङमा पर्न सकेका छैनन् ।
हाम्रो सामाजिक परिवेशमा सबैजसो दलित गरिब नै छन् । नेपालको चरम गरिबी २५.२५ प्रतिशत हुँदा मधेसी दलित ४०.२५ प्रतिशत गरिब थिए । अब यो चरम गरिबीमा कुन मधेसी दलितको छोराछोरीले ए प्लस, बी प्लस ल्याउन सक्छन् ? उसले प्लस ल्याउन ध्यान दिओस् कि साँझबिहानको छाक टार्न ? यदि अपवादका रूपमा कसैले ल्याएका पनि छन् र उनीहरूले त्यो छात्रवृत्ति पनि सहज रूपमा प्राप्त गरेका छैनन् । किनभने सरकारले जिम्मेवारीबाट पन्छिन मात्र छात्रवृत्ति खुुलाएको देखिन्छ । कारण, त्यो छात्रवृत्तिले ती विद्यार्थीलाई न पढाइ खर्च पूरा गर्न पुग्छ न बस्न खान पुग्छ ।
सरकारले पढाइ खर्चस्वरूप छात्रवृत्ति दिए पनि उसलाई पढ्नका लागि लाग्ने शैक्षिक सामग्री, ड्रेस, आवास, खाना, यातायात खर्च दिँदैन । निस्तो फी मात्रै उपलब्ध गराइदिएर वृत्ति पाउनेले अन्य आधारभूत आवश्यकता कहाँबाट ल्याएर पढ्ने ? यस्ता जटिलताकै कारण छात्रवृत्ति नलिएर दैनिक ज्यालादारी वा अन्य पेसा रोज्ने दलित विद्यार्थीको संख्या कम छैन । त्यसपछि दलितलाई अयोग्य बनाउँदै उनीहरूको नामको कोटा रद्द गरेर अरूलाई दिइन्छ । तर, दलित विद्यार्थीले छात्रवृत्ति लिन नसक्नुको कारण खोजिँदैन । त्यस्ता विद्यार्थीले आफू पढ्ने मात्र नभएर घरखर्च पनि चलाउनुपर्ने बाध्यता छ । त्यसकारण उनीहरू पायक पर्ने विद्यालय, कलेज रोज्छन् र पढ्छन् । उनीहरू राम्रो गर्न चाहेर पनि सक्दैनन् ।
सरकारले रोजगारीका लागि पनि लोकसेवा, शिक्षकसेवा खुलाउँछ । त्यहाँ पनि कोटा निर्धारण गरिन्छ । तर, राम्रो पदका लागि दलित कोटा दिइँदैन । मधेसी दलित कोटा त झन् के दिइन्थ्यो ? दिए पनि नासु, प्राविधिकतर्फ प्रमुख पद वा सहायक पद दलितका लागि छुट्याइन्छ । जब कि दलितलाई प्राविधिक शिक्षातर्फ पहुँच नै हुँदैन । समय, लगाव र खर्चका कारण यस्तो शिक्षा दलित र मधेसी दलित विद्यार्थीले आर्जन गर्न पाएका हुँदैनन् । जसका कारण ऊ त्यो पदका लागि योग्य नै हुँदैन । योग्य नभएको व्यक्ति कसरी प्राविधिक प्रमुख पदमा आउँछ ? सरकारको यही रबैयाले दलित सधैँ जी हजुरी गर्ने पदमा मात्रै रहन्छ र उसको पुस्ता पनि यसरी नै चलिरहन्छ ।
गरिबी अर्को बाध्यता
अर्को बाध्यता हो– गरिबी । दलित त्यसै दलित भएका होइनन्, दलितलाई दलित बनाइएको हो । गरिब बनाइएको हो । किन भने कामकै आधारमा हामीलाई दलित बनाइयो भने हामीले गरेका श्रमको कुनै मूल्य राखिएन । आफूअनुकूल मूल्य गैरदलितले निधारण गरे । जस्तैः बालीघरे, अवधीमा जौरा (वर्षभरिमा पारिश्रमिकस्वरूप पाउने अन्नबाली) । लुगा सिलाएबापत, कपडा धोएबापत, औजार बनाएबापतको मूल्य दलितले तोक्न पाएनन् । श्रमको मूल्य अरूले नै तोकेपछि हामीलाई सधैँ गरिब बनाइयो ।
मान्छे गरिब भएपछि आधारभूत आवश्यकता गाँस, वास, कपास, स्वास्थ्य, शिक्षा, सुरक्षामा कठिनाइ हुन्छ । त्यसो भयो भने त्यही चक्र घुमेर सताइरहन्छ । यो गरिबीको दुश्चक्रले हामी गरिब भयौँ । हाम्रो शिक्षामा पहुँच भएन, फलतः अशिक्षित भयौँ । जसले राम्रो रोजगारी र सीपसहितको काम पाउन सकिएन । आय बढ्न सकेन र आय नथपिँदा गरिबीको दुश्चक्र दोहोरिरह्यो ।
गरिबीकै कारण दलितले राम्रो भोजन पाउँदैन । शरीरले पोषक तत्व पाउँदैन । दुब्लो, पातलो, कमजोर शरीरमा कमजोर मानसिक शक्ति हुन पुग्यो । उसले गर्ने कार्यमा गुणस्तरीयता पनि आउन पाएन । उत्पादकत्व पनि राम्रो हुन सकेन । परिणामस्वरूप दलितहरूको आम्दानी राम्रो हुन सकेन । अन्ततः हामी गरिबको गरिब नै भयौँ ।
हामी दलित गरिबीबाट उन्मुक्त भयौँ भने हामीमाथि हुने विभेद पनि कम भएर जाने थियो वा विभेदको प्रकृति बदलिने थियो । सरकारले दलित गरिबको आयआर्जनमा पहुँचका नाममा दुई–तीनवटा बाख्रा, भैँसी, कुखुरा दिने गरेको छ । दिनभर एकजनाले के दुईवटा ब्राखा चराएर आफ्नो आयस्तर बदल्न सक्छ ? वा पढ्न गएका छोराछोरीलाई ती दुई बाख्रा चराउन जिम्मा लगाएर आफू मजदुरी गर्न जान्छ ? अन्तमा दुई बाख्रा, एक भैँसी वा केही थान कुखुराका चल्लाका कारण दलितका बालबालिकाको पढाइ छुट्छ । उनीहरूको फेरि गरिब नै बन्ने यात्रा सुरु हुन्छ ।
सामाजिक र सांस्कृतिक पक्ष
सामाजिक तथा सांस्कृतिक पराम्परागत मान्यता अशिक्षा र गरिबीभन्दा कम छैनन् । जजमानी प्रथा, विवाह, व्रत, काजक्रियाजस्ता कर्मकाण्ड पनि उत्तिकै विभेदकारी छन् । यी कर्मकाण्ड पनि ब्राह्मणलाई हितकर हुने गरी उनीहरूअनुकूल छन् । ब्राह्मणलाई आयआर्जन हुने किसिमले सामाजिक र सांस्कृतिक मान्यता निर्माण गरिएका छन् । हामी दलितले गर्ने कामलाई ‘अछुतो’ र आफूले गर्ने कामलाई ‘चोखो’ बनाएका छन् । जुनसुकै जातिको मान्छे मर्दा पनि घाटमा पण्डित जाने, पराम्पराअनुसार काजकिरिया गराउने र त्यहाँ चढाइएका अन्न तथा अन्य सामग्री ती पुरोहितले लैजान्छन् । मरेको मान्छेलाई दान गरेको सामग्रीमा छोइछिटो हुँदैन ।
मधेसी समुदायमा तीनपटकसम्म विवाह कार्यक्रम आयोजना हुन्छ । गौन र डोग गरेपछि मात्रै विवाह सम्पन्न हुने संस्कार विकास गरिएको छ । यो सामाजिक परम्पराले पनि दलितलाई झन् गरिब बनाएको छ । एकपटक विवाहको आयोजना गर्दा कति खर्च भन्ने कुरा आममानिसलाई थाहा छ । तर, त्यसो गर्दा पण्डितले दान गरेको सामग्री पाउँछन् र यो नियम जायज मानिएको छ ।
अर्को, पापबाट मुक्ति, लामो आयु र ग्रहदशाबाट मुक्तिका लागि भन्दै भागवत गीता पाठ गरी सप्ताह लगाइन्छ । यसले पनि पण्डितलाई लाभ हुन्छ । यस्ता भ्रमबाट मस्तिष्क यसरी भिजाइएको छ कि हामी मधेसी दलित झन् यो कुरा नकार्नै सक्दैनाँै । जसको कारण दलित झन् गरिब हुने र अन्नपात, सामग्री उठाएर सम्पन्नहरू झन् सम्पन्न भइरहेका छन् । समाजमा यस्ता मान्यतालाई व्याप्त बनाएर केही पक्षले न खेतमा धान रोप्नुपरेको छ न काट्न, कुट्नुपरेको छ । हामीजस्ता दलित गरिबलाई अझै गरिब बनाउने खेल मात्रै रचिरहेको छ ।
अरू जातिका मानिस पहिलेदेखि नै बलियो अवस्थामा छन् । उनीहरूको पेसा, व्यवसायको आधारमा विभेद गरिँदैन । उनीहरूको पेसालाई सम्मान गरिएकाले मनोबल उच्च छ र श्रमअनुसारको आम्दानी पनि पाएका छन् । एउटा उदाहरण हेरौँ, एकजना बाह्मणलाई गुरुबाबा भनेर गाउँभरि चिन्ने गरिन्छ । उनी एक गाउँको मात्र नभएर पूरै गाविस र त्योभन्दा धेरै गाविसका गुरुबाबा थिए । उनी हाम्रो गाउँमा महिनामा एक दिन अनिवार्य आउने र आउँदा हाम्रै घरमा बस्ने गर्थे ।
उनी आएको दिन गाउँमा जसको घरमा राम्रो तरकारी फलेको हुन्थ्यो, दूध, दही, घिउ हुन्थ्यो सबैले त्यस्ता चिज ल्याएर ती गुरुबाबालाई बसुन्जेल मिठो मिठो परिकार बनाएर खुवाउँथे । त्यसरी सेवा गर्नेमा मेरा बुबाआमा पनि पर्नुहुन्थ्यो । आफूहरूले कहिल्यै घिउ नखाए पनि बाबा बस्दासम्म खुवाउने र बाबाकै सेवाजतनमा गाउँका मान्छे पालैपालो सक्रिय हुने गर्थे ।
बाबाले राति आफू ननिदाउँदासम्म कथा, कहानी सुनाउने गर्थे । उनको बिदाइको दिन गाउँभरिकाले चामल, दाल, नुन, तेल, खुसार्नी, तरकारी सबै दिएर बिदाइ गर्ने चलन थियो । जाँदा उनले त्यो सबै लिएर गए पनि बसुन्जेल हामीले पकाएर दिएको भने खाँदैनथे । उनको यो चलाखी कहाँसम्मको थियो ? म सानै हुँदा उनका लागि बाल्टीमा भरेर राखेको पानी छोइदिँदा त्यो फालेर अर्को भर्थे, तर हामीले दिएको चामल, दाल, नुन, तेल लग्दा छोइँदैनथ्यो ।
कुरा प्रस्ट छ, हातखुट्टाका नङ र छाला खियाएर मिहिनेत गर्ने, पसिना चुहाएर अरूको पेट भर्ने, अरूको शरीर ढाकेर इज्जत राखिदिने, बाँझो खेत उधिनेर अरूको रोजीरोटी चलाइदिने, सिमानाको रक्षा गर्ने नै आज २१औं शताब्दीमा आइपुग्दा पनि अछुत र गैरनागरिक बनेका छन् । ‘काम गर्ने कालु मकै खाने भालु’ भनेझैँ चलाखीपूर्ण तरिकाले हामीलाई नै छोइछिटो गरेर हाम्रो पसिनामा सित्तैमा विनामिहिनेत खानेहरू आज सम्पन्न र सुखी छन् ।
कुरा के हो भने दलितले बंगुर र सुंगुर नपालेको भए, सिनोको काम नगरेको भए, लुगा नसिएको भए आज सिंगो समाजले सुखसँग गन्धरहित सास र शरीर ढाकेर हिँड्न पाउँदैनथ्यो होला । दलितले लुगा सिउने र धुने काम नगरेको भए कथित उपल्लो जातिले आफ्नो इज्जतलाई ढाक्न पाउने थिएनन् होला । घरेलु हातहतियार नबनाएको भए पेटमा अन्न र घरमा वास हुने थिएन होला ।
दलितलाई पनि यस्ता काम गर्दा पीडा, थकान, घिन, मिहिनेत लागेकै हुन्छ । हाम्रा पनि हातखुट्टाका नंग्रा, छाला खिइएका हुन् । आँखा कमजोर भएका हुन् । शरीर उत्तिकै थाकेको छ । तर, पनि सधैँ आफ्नोभन्दा अरूकै हितका लागि लागिपरेका हाैं । यी काम गर्दैगर्दा के हामीलाई तालिम, शिक्षा, सीप, ज्ञानगुनका कुरा पनि लिन र गर्नुपर्छ भनेर हाम्रो मनमा नआएको होला र ? के हामीलाई पनि कालो अक्षर चिन्ने रहर थिएन र ? के हामीलाई पुस्तौँसम्म भिखमंगा जिन्दगी जिउन रहर भयो होला ? के हामीलाई सुख र सम्मानको जिन्दगी बाँच्न रहर भएन होला र ?
हामी त केवल श्रम, सीप बेचेर खान र अरूलाई खुवाउनमै तल्लीन भयौँ । अरूको शोषण गर्ने, धम्क्याउने, छिःछिः दुर्दुर् गर्ने, अपमान गर्ने, अमानवीय व्यवहार गर्ने सोच्न पनि सोचेनौँ । अपमान सहेर सम्मान दियौँ । यति गर्दागर्दै पनि हामीविरुद्ध एकतर्फी रूपमा लिखित तथा अलिखित नियम, कानुन र संस्कार बनाइए, लादिए । पानी नचल्ने जात भनेर दलित नाम दिइयो ।
दलितको अर्थ हो दलन गरिएको । दलित त्यस्ता मानिस हुन् जो आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा पछाडि पारिएका छन् । जसलाई आर्थिक, सामाजिक, राजनीतिक र धार्मिक रूपले प्राचीन कालदेखि उच्च वर्ग (बाहुन तथा क्षेत्री आदि) द्वारा शोषण र उत्पीडन गर्नका लागि वर्ग विभाजन गरियो र आज पनि छ ।
त्यो विभेद कहिले कामका आधारमा कानुन बनाएर त कहिले सीपका आधारमा गरियो । काम र सीपको आधारमा नै जात विभाजन गरियो । कर्मका आधारमा जात निर्धारण भएको हो भने आज धेरै दलितको कर्म, पेसा र सीप फेरिएको छ । बौद्धिक कर्ममा सक्रिय अम्बेडकर र आहुतिहरू ब्राह्मण हुनुपर्ने हो, तर उनीहरूलाई दलित कसले र किन बनायो ?