दाह्री–जुँगा पाल्ने सोख त खासै छैन, तर काट्न के मिल्दैन के ! प्रमुख कारण अल्छीपन नै होला । धेरैपछि आज कपाल काट्न घरनजिकैको ‘रक एन्ड रोल’ सैलुन गएँ । नयाँ सैलुन हो यो, हाम्रो टोलमा । एकछिनको कुराइपछि मेरो पालो आयो । कपाल कटाइ सुरु भयो । कपाल काट्दा काट्दै मोबाइलमा ‘नोटिफिकेसन’ बज्यो । हजाम दाइलाई एकैछिन है भनेर मोबाइलमा के आएको रहेछ हेरेँ ।
नयाँ ‘प्रोफाइल पिक्चर’ मा कमेन्ट आएको रहेछ । छिन–छिनमा मोबाइल बजी नै रहन्थ्यो । म मौका मिलाएर यसो मोबाइल हेरी नै रहन्थेँ । यो सिलसिला तीन–चार चोटिसम्म चलिरह्यो । अन्तिमचोटि मैले फेसबुकमा आएको मेसेज रिप्लाई गर्दै गर्दा, दाइ पनि नजिकैको ढोकाबाहिर फर्केर चुरोट सल्काउन थाल्नुभयो । अब कुर्नेमा पालो मेरो । आधा चुरोट बाहिरै उडाएर दाइ मतिर धुवाँ नपरोस् भनेर छड्के चुरोट तान्दै कपाल काट्न थाल्नुभयो । मैले फोन ‘भाइब्रेसन’मा राखेर गोजीमा हालिसकेको थिएँ ।
‘दाइ, दिनको कति खिल्ली खानुहुन्छ ?’ मैले सोधेँ ।
‘दिनको एक बट्टा पिउँछु होला बाबु,’ दाइले अलिकति सोचेझैँ गरेर भन्नुभयो । ‘कति वर्ष भयो दाइ, खान थालेको ?’ मैले ऐनामा आफ्नो काट्दै गरेको कपाल हेर्दै सोधेँ ।‘३० वर्ष,’ यसपालि उहाँले हिसाबकिताब गरेरै बसेझैँ फ्याट्ट उत्तर दिनुभयो । ‘एक बट्टा ! त्यो नि ३० वर्षदेखि ? दाइ तपाईंलाई त नराम्ररी लत लागेछ चुरोटको,’ मैले अलि चिन्तित भएझैँ गरेर भनेँ । उहाँले तन्केको गुलेलीमा बसेको मट्याङराको झटारोभन्दा छिटो उत्तर फर्काउनुभयो, ‘बाबु, आपको त हाम्रोभन्दा पनि ठूलो लत लगेको छ, मोबाइलको ।’ ‘नोटिफिकेसन’को भाइब्रेसन छाम्न पाइन्टको खल्तीमा पुगेको मेरो हात रोकियो । हजाम दाइको उत्तरले मलाई नराम्रो झट्का हान्यो ।
०००
चुरोटखैनी खाँदा, रक्सी पिउँदा वा जुवा खेल्दा एउटा छुट्टै आनन्द आउँछ । सन्तुष्टि मिलेको अनुभूति हुन्छ । क्षणिक शान्ति मिलेझैँ आभास हुन्छ । त्यस्तो अनुभूति दिलाउने हार्मोन ‘डोपामिन’ हो । हाम्रो शरीरबाट निस्कने त्यही रसायनले नै मानिसमा जुवा, तास वा रक्सीको तलतल लगाउँछ ।सोसियल मिडिया चलाउँदा वा स्मार्टफोन चलिरहँदा पनि हामीलाई सन्तुष्टि मिल्छ । हाम्रो फोनमा कसैको सन्देश आयो भने हामी खुसी हुन्छौँ । हाम्रो फोटोमा कसैले कति राम्रो भन्यो भने वा कसैले स्ट्याटसमा लाइक ग¥यो भने खुसी लाग्छ । वा, क–कसले लाइक ग¥यो भनेर हेर्न हुटहुटी लाग्छ । ट्विटरमा फलोवर नबढ्दा किन बढेन भनेर छटपटी हुन्छ । यो उत्सुकता, उत्साह अनि सन्तुष्टि दिलाउन पनि हाम्रो शरीरबाट एउटा रसायन निस्कने रहेछ– ‘डोपामिन’ । हो, त्यही रसायन जुन चुरोट, रक्सी सेवन गर्दा वा जुवा खेल्दा निस्कन्छ । डोपामिनले आनन्द वा सन्तुष्टिको अनुभूति गराउँछ । केही अनुसन्धानकर्ताले ट्विट गर्ने बानी चुरोट वा रक्सी खाने बानीभन्दा कडा लत हुने तर्क गरेका छन् ।
स्मार्टफोन खराब भन्न खोजेको होइन । सामाजिक सञ्जाललाई अभिशापका रूपमा चित्रण गर्न खोजेको पनि होइन । कुरा सन्तुलनको हो । चुरोट खानु नराम्रो होइन, धेरै चुरोट खानु नराम्रो हो । तास रमाइलोका लागि खेल्ने हो, तर तास खेलेपछि घरबार गुम्छ, रातको निद्रा गुम्छ भने त्यो कुलत हो । रक्सी खाने बानी हुनु खराब होइन, तर रक्सी खाएर आफैँलाई समाल्न नसक्नुचाहिँ डरलाग्दो रोग हो । नशा हो । कमजोरी हो । कुलत हो ।
वर्षगाँठमा हामी हाम्रो परिवारसँग पार्टीमा छौँ, तर त्यहाँ नभएका मानिससँग च्याट गरेर बसेका छौँ भने त्यो सही होइन । हामी मिटिङमा छौँ, तर वेलावेला मोबाइल चलाई नै रहन्छौँ भने त्यसले दिने सन्देश भनेको तिमीहरूभन्दा यो फोन महत्वपूर्ण छ भन्ने नै हो । श्रीमती वा प्रेमिका सँगै छिन् अनि हामी उनीसँग नबोली मोबाइल चलाउँदै छौँ भने हामी लतमा छौँ । यो लतले हाम्रो वास्तविक सम्बन्ध, समय अनि स्रोत बर्बाद गर्दै छ ।
सामाजिक सञ्जालको ‘भर्चुअल’ संसारले हामीलाई वास्तविक संसारभन्दा काल्पनिक संसारको निर्माणमा रमाउन सिकाउँदै छ । हामी सानो–सानो कुरामा दुःखी हुँदै छौँ । अनि सानो सानो कुरामा खुसी । खुसी हुने अनि दुःखी हुने कारणहरू नै कृत्रिम बन्दै छन् । हामी कसैले ‘फ्रेन्ड लिस्ट’बाट हटाउँदा दुःखी हुन्छौँ । मन परेको मानिसले मेसेन्जरमा सन्देश पठाउँदा खुसी हुन्छौँ । लाइक अनि सेयर धेरै हुँदा आफूलाई सफल ठान्छौँ ।
हामी सतही दुःखी वा खुसी हुन थालेका छौँ । फेरि वास्तविक जीवनमा हामी दुःखी हुँदाहुँदै संसारलाई देखाउन खुसी भएको स्ट्याटस वा फोटो राख्छौँ । त्यसमा आएका प्रतिक्रियाले फेरि सतही खुसी हुन्छौँ । हामी सामाजिक सञ्जालमा खुसी देखिन्छौँ, वास्तविक जीवनमा दुःखी । ‘भर्चुअल’ सम्बन्ध अनि अनुभूतिले वास्तविक अनुभूति अनि आत्मीयता घटाएको छ । ती हाफकट्टु लगाउने वेलादेखिका साथीहरू, ती झगडा, ती प्रेम अहिले कहाँ छन्, थाहा छैन ।
आज हामीलाई सँगै कक्षामा पढेको साथीभन्दा फेसबुकका साथी बढी प्यारा लाग्न थालेका छन् । आज हामी वर्षौंपछिको जमघटमा पनि साथीहरूसँग कुरा गर्नेभन्दा पनि मोबाइलमै व्यस्त हुन्छौँ । हामीले एक–अर्कामा सहानुभूति राख्न भुलेका छौँ । प्राथमिकता कायम गर्न चुकेका छौँ । हामीले असली जीवनका सम्बन्ध कसरी निभाउने भन्ने नै भुलिसकेका छौँ । सम्बन्धको मापन लाइक र सेयरमा हिसाब–किताब राख्न थालिएको छ । मेरी आमा नै पनि केही दिनअघि मलाई तैँले मेरो स्ट्याटस लाइक नै गर्दैनस् भनेर गुनासो गर्दै हुनुहुन्थ्यो । हामी बदलिएका छौँ । सम्बन्धहरू हलुका भएका छन् ।
एक दशकअघिको प्रेम सम्बन्ध अनि अहिलेको प्रेम सम्बन्धमा निकै फरक आइसकेको छ । त्यो लाज, त्यो जिम्मेवारीपन, त्यो डर अनि त्यो उत्सुकता अहिले फोन र मेसेजमा अड्किएर ट्राफिक जाममा फसेको छ । प्रेममा गहिराइ अनि त्यो कठिनाइ छैन । त्यसैले जीवनमा वास्तविक मजा पनि छैन । फेसबुकमा देखिएको मान्छे, वास्तवमा देखिएको मान्छे एउटै छैन । प्रेम फेसबुकको मान्छेसँग गरेको हुन्छ, वास्तवमा अर्कै मान्छे हुन्छ । हातले लेखेर दिएको प्रेमपत्रको त्यो महत्व अहिलेको मेसेन्जरको लभको चित्रले कति बोक्न सक्छ ? प्रेममा एका–अर्काको व्यवहारको स्वीकारोक्ति खोज्छ । भर्चुअल सम्बन्धले वास्तविक स्वीकारोक्ति दिँदैन । सम्बन्धका धागो नै कमजोर बनेका छन् ।
यो समस्या युवा अवस्थामा त झनै छ । अहिलेले स्कुल पढ्ने युवाहरू अधिकांश सबै फेसबुकमै रमाउँदै छन् । उनीहरूलाई आफ्नो वास्तविक सुख–दुःखभन्दा पनि फेसबुकबाट हुने सुख–दुःख महत्वपूर्ण लागिरहेको छ । जुवा खेल्ने होस् वा चुरोट खाने वा रक्सी खाने होस् वा फेसबुक चलाउने, यी सबैमा अर्को समानता के छ भने अधिकांशले यो सबै किशोरावस्थामा नै सिकेका हुन् । यो निकै महत्वपूर्ण उमेर हो, यही उमेरको सिकाइकै वरिपरि हाम्रो जीवन घुम्छ ।
युवा अवस्था आफैँमा फेरि निकै तनावयुक्त कालखण्ड पनि हो । सामाजिक तनाव, करियरको तनाव, आर्थिक तनाव अनि सम्बन्धको तनाव । यी सबै तनावलाई ह्यान्डल गर्ने कौशलता नसिकिसकेको हुनाले हामी अल्पकालीन राहत खोज्छौँ । अनि समाधान सामाजिक सञ्जालबाट प्राप्त सन्तुष्टिले दिएको अनुभूति गर्छौं । जुवा वा ‘निकोटिन’को लत र सामाजिक सञ्जालमा फरक के छ भने बरु चुरोट, रक्सी वा जुवाको लागि उमेरको हद छ, सामाजिक बन्धन छ, तर सामाजिक सञ्जालका लागि छैन ।
मेरो साढे तीन वर्षे छोरा फोन नभई भात खाँदै खाँदैन । अस्ति पानी परेको दिन, ‘बाबा म मोबाइलमै पढ्छु नि स्कुल जान्नँ’ भन्दै थियो । भोजमा जान्छु, मानिसहरू मोबाइलमै व्यस्त हुन्छन् । अस्ति एउटा बिहेमा त एकजना जोडीलाई मण्डपमै ‘टिकटक’का लागि भिडियो बनाउन साथीहरूले बिहे नै रोकेर पोज दिन लगाउँदै थिए । हामी संसारसँग जोडिँदै गर्दा आफ्नै वरिपरिका आफन्त अनि परिवारबाट टाढिएका छौँ । मलाई मेरै आफन्तहरूको के छ, के गर्दै हुनुहुन्छ थाहा छैन । अमेरिकाको फेसबुकको साथीको प्रत्येक पलको अपडेटले कति अर्थ राख्ला ?
हालका दिनहरूमा त सामाजिक सञ्जाल विकृतिका रूपमा पनि उदाएको छ । अभिव्यक्ति स्वतन्त्रताको नाउँमा चरित्र हत्याको शृंखला बढेको छ । फेक अकाउन्ट खोल्ने अनि भ्रम सिर्जना गर्ने प्रवृत्ति बढ्दो छ । एउटा कुरा सोचेर आफ्नो विचार राख्यो, विभिन्न असान्दर्भिक प्रतिक्रिया अनि गालीले सामाजिक सञ्जाल भरिन्छ । सामाजिक सञ्जाल आफ्नो असन्तुष्टि अनि ‘रिस पोख्ने डस्टबिन’ बनेको छ । ‘फेक न्युज’ र गलत शीर्षक वा भ्रमित शीर्षक राख्ने अनलाइनका समाचारहरूले हामीलाई नकारात्मक बनाउन थालेका छन् ।
हामी छिटो भाइरल हुने नाउँमा जिउँदै मानिसलाई श्रद्धाञ्जली दिन्छौँ । माइतीघरमा उभिँदा कार्यक्रमको मर्म बुझ्नुभन्दा पहिले फोटो खिचेर फेसबुकमा हाल्न हतारिन्छौँ । बाटोमा हिडँ्दा केही समस्या देखाप-यो भने हामी समाधान खोज्नेभन्दा पनि त्यो समस्यालाई फेसबुकमा हालेर समस्यालाई झन् ठूलो बनाउन थालेका छौँ । केही घटना घट्यो भने आफ्नो विचार पहिला राख्न आफैँ हतारिन्छौँ । हामी समाधानमुखीभन्दा पनि प्रतिक्रियावादी बन्दै छौँ । हामीलाई कहीँ पुग्ने हतारो छ । तर, कहाँ पुग्ने थाहा छैन । हामी सामाजिक सञ्जालको अर्धसत्यलाई आत्मसात् गरेर वास्तविकताबाट टाढिँदै छौँ ।
केही समयअघि म एउटा कार्यक्रममा थिएँ । म पार्टीको तर्फबाट ‘युवा अनि राजनीति’का बारे भाषण गर्दै थिएँ । मेरो अग्रपंक्तिमा आसीन मेरा लगभग सबै नेता साथीहरू मोबाइलमै व्यस्त हुनुहुन्थ्यो । हामी एक्लिँदै गएका छौँ । आज हामी आफ्नो कुरा सुनाउने अनि अरूको कुरा नसुन्ने परिपाटीको विकास गर्दै छौं । हामी विश्वव्यापी हुने लहडमा घरव्यापी वा आफ्नै वरिपरिका मानिसको पनि हुन सकेका छैनौँ ।
हाम्रो फोटोमा कसैले कति राम्रो भन्यो भने वा स्ट्याटसमा लाइक ग-यो भने खुसी लाग्छ । वा, क–कसले लाइक ग¥यो भनेर हेर्न हुटहुटी लाग्छ ।
ट्विटरमा फलोअर नबढ्दा किन बढेन भनेर छटपटी हुन्छ ।
हामी खाने वेलामा समेत मोबाइल छाड्न सक्दैनौँ । ट्वाइलेट जाने वेलामा हामीलाई मोबाइलविना ट्वाइलेट नै नआउने भइसकेको छ । मेरो एकजना साथी छन् । उनी सायद सुत्दा पनि मोबाइल हातमै लिएर सुत्छन् । बाटोमा समेत मोबाइलमा समाचार पढ्दै वा केही लेख्दै हिँड्छन् । अर्को एकजना साथी छ, जो कहिले केही पोस्ट गर्दैन । अरूको लाइक पनि प्रायः गर्दैन तर, साथीहरूको गतिविधि हेरेर बस्छ । लुकेर संसार हेर्छ । आफैँमा रमाउँछ ।
म आफैँ पनि केही पोस्ट गरेको दिन बाइकमा हुँदा पनि वेला–वेला बाइक नै रोकेर मोबाइल हेर्ने गर्छु । बिहान घरमा वाइफाई चलाएर ‘मर्निङवाक’का लागि निस्कन्छु । अनि, बाटोमा पनि डाटाबाट फेसबुक चलाउँदै हिँड्छु । र, वसन्तपुरको डबलीमा पुगेर फेरि कहिल्यै चलाउन नपाएको फ्री वाइफाई अनि संसार नै पल्टिएर मैले बचाउनुपर्ने जसरी त्यहीँ बसेर मोबाइल चलाएर ‘मर्निङवाक’को कर्मकाण्ड सकेर घर फर्कन्छु । हामी आज अस्तव्यस्त बनेका छौँ । केही कुराका लागि पनि समय छैन । दिनभरि फेसबुक अनि मोबाइल चलाएर बसेका छौँ, तर हामीसँग समय छैन । हामी व्यस्त छौँ । राति सुत्ने समय पनि छैन ।
हाम्रो स्मार्टफोन अनि ल्यापटपको स्क्रिनबाट निस्किने नीलो प्रकाशले मानिसको शरीरमा निद्रा लगाउन सहयोग गर्ने हर्मोन मेलाटनिनको उत्पादन कम गर्ने विभिन्न अनुसन्धानले देखाएका छन् । यदि रातको समयमा फेसबुक र ट्विटर चलाउँछौँ भने हाम्रो निद्रा खलबलिन्छ । यसको असर बच्चाहरूमा झन् बढी देखिने देखिएको छ । कम निदाएका कारण भोलिपल्टको कक्षामा उनीहरूको एकाग्रतामा असर पर्छ । आज हाम्रो स्मार्टफोन अनि सामाजिक सञ्जालले हामीलाई आफैँबाट अपहरण गर्दै छ । फेसबुकमा सुख–दुःख बाँड्ने नाउँमा हामी नांगिएका छौँ ।
बिस्तारै–बिस्तारै २१औँ शताब्दीको सबैभन्दा ठूलो सफलता नै यो शताब्दीको सबैभन्दा ठूलो लत बन्दै छ । स्मार्टफोन अनि सामाजिक सञ्जालले बर्बाद ग¥यो भन्ने होइन । यी आफैँमा नराम्रा होइनन्, कुरा सन्तुलनको हो । व्यवस्थापनको हो । दिनभरि फेसबुक अनि ल्यापटप वा मोबाइलमा ‘रिफ्रेस’ गरेरै बित्यो, अनि राति सुत्दा दिन त्यत्तिकै एउटा सानो उपलब्धिविनै बित्यो भन्ने लाग्छ भने यो हाम्रो समयको बर्बादी हो । फेमेली डिनरका लागि बाहिर जाँदा रेस्टुरेन्टमा परिवारका सब सदस्यहरू फोनमा नै व्यस्त छन् भने त्यो कसरी मानवीय भयो ? अनि बिहान उठ्नेबित्तिकै आफूसँग सुतेको मान्छेलाई गुड मर्निङ भन्नुअघि यदि मोबाइल हेरिन्छ भने त्यो लत होइन र ? दोष त्यो निर्जीव मोबाइल वा सामाजिक सञ्जालको होइन, सन्तुलन अनि व्यवस्थापन गर्न नसक्ने तपाईं–हाम्रै हो ।
अब फोन हाम्रो अधीनमा होइन, हामी फोनको अधीनमा पुगिसकेका छौँ । हामीलाई स्मार्टफोनले चलाउँदै छ । साथीको बर्थ–डे, मिटिङ, खाना खाने समय सबै फोनले व्यवस्थापन गर्छ । मलाई मेरै श्रीमती अनि आमाको मोबाइल नम्बर पनि याद रहेनछ । हामी स्मार्टफोनको निर्देशनमा अडिएका छौँ । हामी ‘मानव रोबोर्ट’ बन्दै छौँ । एक दिन मोबाइल, सामाजिक सञ्जालबाट बाहिर निस्केर वास्तविक साथीहरू, परिवार, छरछिमेक बिताउन मन छ । साथीहरूसँग विनामोबाइल अनि वाइफाई लामो यात्राका लागि निस्कन मन छ । युट्युबका ‘मोटिभेसनल कथा’ भन्दा बुढापाकाको संघर्षका कथा सुन्न मन छ । म पनि प्रयासरत छु, यो वास्तविक खुसीका लागि, सन्तुष्टिका लागि । चुरोटको लत त कहिले लागेन, यो सामाजिक सञ्जालको लतचाहिँ छुटाउन लागिपर्दै छु ।