बैकानले हजार रुपैयाँ हाली किन्यो

‘के हुन्छ र आइमाईको रेट ? जसले जति सक्यो उति लगाउन्या त हो’

निभा शाह निभा शाह
शनिबार, ५ पुष, २०७६
डिजिटल संस्करण

स्त्रीका इच्छाहरू भीरफूल हुन्
न छुन सकिने
न टिप्न सकिने
न नजिक जान सकिने
मात्र एक दूरी बनाएर हेरिहनुपर्ने
स्त्रीको जीवन कथा होइन
व्यथा हो 
व्यथाहरूको डल्लो
व्यथाहरूको डल्लो फाटे 
आगो निस्किन्छ भन्छन् ।

बस, रेलगाडी वा चिलगाडी जहाँसुकै होस्, जब सँगै सिटमा बसेर यात्रा गरिन्छ, त्यसबेला यात्रीसँग कहिलेकाहीँ बोलचाल सुरु हुन्छ, ती सोध्छन्, ‘तपार्इंको नाम के हो ?’ म भन्छु, ‘फलानी ।’ ती सोध्छन्, ‘तपाईंको घर कहाँ हो ?’ म भन्छु, ‘अछाम हो ।’ ती भन्छन्, ‘अछाम तपाईंको माइत हो कि पोइल हो ?’ म भन्छु, ‘अछाम मेरो घर हो ।’ ती पुनः सोध्छन्, ‘अछाम तपाईंको माइत घर हो कि ? पोइली घर हो ?’ 

कमिलाको दुलो हुन्छ । कमिलाको माइत र पोइल हुँदैन । कमिलाको दुलो कमिलाका लागि घर हो । घर पनि कतै माइत, पोइल हुन्छ ? चराको गुँड हुन्छ, चराको पनि माइत, पोइल हुँदैन । गुँड नै घर हुन्छ । माछाका लागि पानी घर हो, माछाको माइत, पोइल हुँदैन । गाईका लागि गोठ नै घर हो, गाईको पनि माइत र पोइल हुँदैन । तर यो दुनियाँमा एउटा स्त्री छे, जसको घर भएको न इतिहास छ, न वर्तमान छ । स्त्रीसँग छ त केवल माइत, पोइल र मावल भएको बिरासत छ । स्त्री सत्व बोकेको न आफ्नो इतिहास छ, न आफ्नो वर्तमान छ, न आफ्नो बिरासत छ । 

यो दुनियाँको भूगोलमा गोरुगाडा हुँदै जेट प्लेनमा यात्रा गर्नुहोस् । फनफनी पृथ्वी घुम्नुहोस् र खोज्नुहोस् स्त्रीको घर । स्त्रीको कहीँ घर भेटिँदैन । यो भूगोलको नक्सामा बाइनोकुलर लाएर स्त्रीको घरधुरी खोज्नुहोस्, कहीँ भेटिँदैन, स्त्रीको घर । भेटिन्छ त केबल टिकुली बजार, टिकुली हाट । युरोपको इतिहासमा जोन अफ दि आर्कलाई युद्ध मोर्चाको एउटा योद्धा, एउटा लडाकु एवम् उच्च सफल कमान्डर मानिन्छ । ती जोन अफ दि आर्कलाई आफ्नो देश फ्रान्सले बेलायतलाई बेच्यो । बेलायती सरकारले इक्विजिसन (धार्मिक अदालत) को फैसलाअनुसार जोन अफ दि आर्कलाई डायन भनेर चौबाटोमा नांगो पारी जिउँदै जलाई मारे । यो त भयो एउटा वीरङ्गनाको इतिहास । 

किनाराकृत स्त्रीको इतिहास र वर्तमान कस्तो होला ? जसले सत्ताको न नाप नक्सा बुझ्छन्, न सत्ताको सतरंजा बुझ्छन् । जसका पैतलाले न कहिले क्रेमलिङको बाटो हिँड्यो, न बर्मिङघमको बाटो हिँड्यो । न बालुवाटार र सिंह दरबारको बाटो हिँड्छन् । न साउथ ब्लक र ह्वाइट हाउसको बाटो हिँड्छन् । ती मात्र जीवनको डगरमा लालपुर्जा बोक्ने सत्ताद्वारा किनारै किनाराको बाटो हिँड्न बाध्य पारिन्छन् र बाध्य छन् । तिनको जीवन कस्तो होला ? स्वभाविक हो, छालबाट उछिट्टिएर बगरमा परेको छिटाहरू जसरी बगर हुन्छन्, त्यस्तै किनाराकृत स्त्रीको जीवन बगर हुन्छ । 

‘जारी भन्नु रे बैकिनी (आइमाई)को किनबेच भन्नु एकै त हो हजुर । मु कनि मेरा दोस्रा बैकान(पुरुष)ले हजार रुपैयाँ हाली किन्यो । त्यहाँदेखि मेरो नाउ पोइल हजारी रह्यो । माइत मेरो नाम किडी छ्यो । मेरा त केटाकेटीपन भयान एक खुट्टोपन लुलो भयो, अचेल सबै ए लुली भन्दाछन्, क्या गर्नु हजुर झाडन्या (प्यारालाइसिस) पड्या । अब का जाउ ? कैतिर जाउ ? मु लुलीकन को दिदो टेको ? गाउँ पसी मागी खादो हजुर ।’ भन्दै आफ्नो व्यथा सुनाउने किडी अर्थात् किराको स्त्रीलिंगीय शब्द किरी । ती किरी कहिले काहीँ मागी खान हाम्रो दैलोमा पनि आउँथिन् । यिनै किरीको मुखानी यिनै किरीको कहानी म सानो छँदा आफैँले सुनेकी थिएँ । 
यस्तै थियो यस्तै छ, बैकिनीको व्यथा । यस्ता किडीहरू हजारी, दोहजारी, बीसहजारी किडीहरू कति मरे, कति जीवित छन् । कसले लेखाजोखा राख्छ ? यो दुनियाँमा जो–जो कथा–व्यथा दुनुगाई हुन्छ, तिनकै कथा–व्यथाको नापतौल हुन्छ । बाँकी हरिबिर्सना । 

दुई–चार दिन भयो चिया पसलमा (अछाम) एकजना बुढो बालाई जारी प्रथासम्बन्धी सोधेँ । उनी भन्दै थिए, ‘उइल जारीको रेट जसले जति सक्यो, उति जारीको रेट लगाउँथे, पछि दुईदशको(२०२० साल) कानुन ट्याम लाग्यापछि जारीको मोल एक हजार भयो । त्यो दुईदशको हजार्या कानुन पनि बलियाले पैतलामुनि लिए, निर्धाले माने । के हुन्छ र आइमाईको रेट जसले जति सक्यो उति लगाउन्या त हो । कोइ त उइल भैसोसम्म बैकिनी साट्टा छिया कोइ उइल बल्ल(गोरु) सँग बैकिनी साट्टा छिया । कसै कसैले गाई बाख्रासँग बैकिनी साट्यो हे ।’ मैले सोधेँ, ‘गाईबाख्रासँग बैकनी साट्नु भनेको के हो ?’

उनले भने, ‘जोसँग नगद रकम हुँदैन । तिनीहरू गाईवस्तु नै जारीको रूपमा दिन्थे । कसैकसैले अनाजसँग बैकिनी साटेथे । यानिकि अनाज लिएर जारी रकम तिर्थे ।’ यसै भने ती बुढा बाले । कसैकसैलाई लाग्दो हो, महिला बेचबिखनको यो प्रक्रिया आठौँ आश्चर्य हो । तर, होइन । लालपुर्जा प्रथामा कुनै पनि पिरामिड आठौँ आश्चर्यमा पर्दैन । 

डेढदुई वर्षअघि जिल्ला कैलाली टीकापुर नजिकैको गाउँ भगरैया बस्ने रामलाल चौधरीसँग भेट भएको थियो । उनीसँग कुराकानी गरेको भिडियो क्लिप अझै पनि मसँग छ । उनले भने, ‘मेरो उमेर ११० वर्ष भयो, म बुरानमा जन्मिएँ, कैलालीको धनसिंहपुरमा हुर्किएँ, मेरो बाजेको नाम मथुरा हो । मेरो बाको नाम भगीराम चौधरी हो । आमाको नाम फकली हो । म सानो छँदा तिकुनिया (भारत) रेलगाडी थियो । मोहना नदी सानो थियो । गेरुवामा पानी थिएन, हाम्रो पुर्खा दाङ, कोइलावास हुँदै बुरान झरे । बुरानबाट कैलाली झरे । हाम्रो पालामा साठी रुपैयाँ जारी थियो । साठी रुपैयाँ गोइ थियो । गोइ अर्थात् एकजोडी हलगोरु । थारूमान्छेले पनि साठी रुपैयाँ जारी लिन्थे । पहाडी मान्छेले पनि साठी रुपैयाँ जारी लिन्थे । सक्नेले जति पनि जारी लिन्थे, जारीको कुनै निश्चित रेट थिएन ।’

उपरोक्त कथनहरूले प्रमाणित गर्छ, रामलाल चौधरी राणाकालका हुन् । राणाकालमा वैधानिक रूपमा साठी रुपैयाँ जारी थियो, जुन जारीलाई हलगोरुसँग पनि आइमाईसँग सटाहा गर्न मिल्थ्यो । त्यसपछि जारीको मूल्य २०२० सालमा हजार रुपैयाँ भयो । अवैधानिक रूपमा अहिले पनि महिलाको जारी लिइन्छ । जुन जारी प्रथाको लेनदेन पर्दाभित्र हुन्छ । यी सबै कुराले के प्रमाणित गर्छ भने महिलाहरू टिकुली हाट हुन् । रामकृष्णको पालामा पनि टिकुली हाट थियो । आदम, बुद्धको पालामा पनि टिकुली हाट थियो, अचेल टिकुली बजार छ, टिकुली मल (सपिङ कम्प्लेक्स) छ । हाटदेखि बजारसम्मको दौर(समय)हरू चलिरहँदा कम्पनी उही हो, धागाहरूको रङरूप फरक छ । के धागाहरूको रङ फेरिँदैमा महिलामुक्ति हुन्छ र ? 

पतझडमा ठुटो भएको वृक्षलाई पनि वसन्तको आशा हुन्छ । यी टिकुली बजारका टीकाहरूलाई पनि एक दिन आगोको टीका हुने आशा छ र त बाँचेका छन् करोडौँ करोड उत्पीडित टीकाहरू । 

सम्पादकको रोजाइ

सुझावित समाचार